अमेरिकामा ५ लाखको जागिर छाडेर राजनीति गर्न नेपाल फर्केका युवक


दश बर्ष अघि सन् २००७ मा १९ बर्षको कलिलो उमेरमा अमेरिका भासिएको नवलपरासी प्रगतिनगरको कलिलो र बिन्दास ठिटो आलोक सुवेदीलाई कसैले राजनीतिको बारेमा कुरा गर्दै गर्दा उदेक लाग्थ्यो, उनको बिचारमा राजनीति भनेको फोहोरी खेल हो र यो त अशिक्षित र फटाहाहरुले मात्र गर्ने काम हो अर्थात यसमा उनी जस्ता युवा संग्लग्न हुनु भनेको ज़िन्दगीलाई अनिश्चिततामा धकेल्नु हो भन्ने थियो।

तर बितेको दश बर्षमै आलोकको बिचार एकाएक फेरियो। हिजो राजनीतिलाई सराप्ने तिनै आलोकले देश प्रेमले ओतपोत भएर दश बर्षे अमेरिकी बसाईलाई सधैको लागि बिट मार्दै राजनीतिले नै देश बन्छ भन्दै दशैँ अघि नेपाल फर्किए। पहिले आफूले घृणा गरेको राजनीति त देश बिदेश जहाँ गए पनि नशा नशामा बगेको हुने रहेछ भन्ने तितो सत्य उनले थाहा पाए।

२०४५ सालमा नवलपरासीको प्रगतिनगरमा जन्मेका आलोकको ज़िन्दगीमा त्यस्तो कुनै कमी थिएन, आम नेपाली जनताको जीवनस्तर भन्दा उनको जीवनस्तर राम्रै थियो। त्यसैले उनको ब्यक्तिगत जीवन बाहेक अरुको जीवन र जगत बारे उनलाई चासो थिएन।आलोकले आफ्नो प्राथमिक शिक्षा दिपेन्द्र प्रहरी स्कूल साँगा हुदै नवल सेकेण्डरी स्कूल प्रगतिनगर नवलपुरबाट माध्यमिक शिक्षा पूरा गरे। न्यू समिट कलेजबाट प्लस टु को अध्ययन संगै एपेक्स कलेजमा बि. बि.ए. मा दुई सेमेस्टर पढ्दा पढ्दै यसै बिच सन् २००७ मा उनी अमेरिका पढ्न जाने निर्णय गरे त्यस बेला उनको उमेर जम्मा १९ बर्षको थियो।

१९ बर्षे ठिटोको अमेरिका यात्रा बडो रोमान्चक त छँदै थियो तर कहिल्यै घर नछाडेका आलोकले शुरुमा घर परिवार र साथी भाइ मिस नगर्ने कुरै भएन। युनिभर्सिटी अफ सेन्ट्रल ओक्लाहोमामा पढाई शुरु भएपछि त्यहाँको कड़ा पढाई त्यस माथिको पढ़ाई ख़र्च जुटाउन काम पनि गर्नै पर्ने। शुरुवाती दिनहरुमा अमेरिका किन आएछु भनेर धेरै पटक एक्लै रोएको तितो अनुभव सुनाउँछन् उनी।

नेपाल छँदा सपनाको देश भनिने अमेरिका जब बिपनाकै देश बनिसकेपछि केहि बर्ष पछि उनी अभ्यस्त हुन थाले। उमेर अनुसारको रमझम र रमाईलोले उनलाई नछुने कुरै भएन। शुरु शुरुमा अमेरिकामा सेटल हुन गाह्रो भएपछि उनले बिचमा युनिभर्सिटीको पढ़ाई छाड्नुपर्यो। करियरको खोजिमा उनी धेरै भौतारिए, यो बिचमा त राजनीति भन्ने शब्द संग उनलाई अझ बढि घृणा थियो। नेपालमा भएका हरेक राजनीतिक घटनाक्रमले उनलाई इरिटेट गराईरहेका थिए। उनलाई नेपाल फर्कन मन भए पनि आफ्नो रोकिएको पढ़ाई र बिग्रिएको देश देखेर दुईटा डुंगामा खुट्टा राखे जस्तै भएका थिए।

ज़िन्दगी अवसर र चुनौतिको श्रृंखला हो भन्ने कुरा बढ्दो उमेर संगै सिकेका आलोकले बिस्तारै बिस्तारै आफ्नो पढ़ाई सुचारू गरे, र सन् २०१३ सम्ममा एक कुशल प्रोजेक्ट म्यानेजमेन्ट एक्सपर्ट बनेरै छाडे। त्यसै क्रममा करियरकै खोजीका दौरानमा उनले २०१३ मा क्यालिफोर्नियाको सिलिकन भ्याली अर्थात स्यान होजे शहरमा नेपालको सर्वोच्च अदालतका सेवा निबृत्त प्रधानन्यायाधीस केदार प्रसाद गिरीका छोरा अधिवक्ता सन्तोष गिरीसंग भेट भयो, उनको एक्सपर्टी देखेर सन्तोष धेरै प्रभावित बने र संगै काम गर्ने योजना गरे। त्यस पछि भने उनको जीवनशैली संगै राजनैतिक चेतना एकाएक बदलियो।

लिगल सफ्टवेयर पहिलो पटक शुरु गरी नेपालमा राम्रो करियर बनाएका अधिवक्ता सन्तोष गिरीले सिलिकन भ्यालीमा स्थापना गरेको सिलिकन हायर एल एल सी (जसले स्थानीय शहरमा मध्यम तथा कार्यकारी तहका जनशक्ति बिभिन्न कार्यालय तथा उद्योगमा ब्यवस्थापन गर्छ)मा चिफ रिक्रुईटिंग अफिसर भएर काम गरे। त्यसका साथै लेक्सगिरी इन्कमा कर्पोरेट हेड भएर काम गरेका उनले मासिक सेलरी मात्रै ५२०० डलर बढि कमाउँथे।

संतोष गिरी संगको मित्रता र आवद्दतासंगै आलोकले आफूलाई आर्थिक, बैचारिक र राजनैतिक रुपमा फड्को नै मारे। आर्थिक रुपमा बलियो भए पछि पच्चीस बर्षे त्यो ठिटोको त्यतिबेला नेपालमा बिकल्प कुर्दै बस्ने कि आफै बिकल्प बन्ने भन्ने मूल नाराका साथ गठन भएको विवेकशील नेपाली दल र त्यसका अध्यक्ष उज्वल थापा उनका प्रेरक बने। विवेकशीलले तत्कालीन बिकृति र बिसंगति बिरुद्द उठाएका हरेक आवाजहरुले अमेरिकाको रमझममा रहेका आलोकलाई छुन थाल्यो। आफैले घृणा गरेको राजनीतिले देश बिदेश जहाँ भए पनि नशा नशा र पाईला पाईलामा पछ्याईरहेको हुन्छ भन्ने तितो सत्य उनले थाहा पाए।

बिशेष गरी नेपालको कर्मचारी प्रशासन र राजनैतिक बृत्तमा भएको भ्रष्टाचार, कमिशनतन्त्र, भनसुन र दण्डहीनताले उनको मन कुँडियो। आफ्नो आँखा अगाडि भएको अमेरिका चाहिँ बिकासको शिखरमा उक्लिरहँदा नेपालमा चाहिँ नाम मात्रको खुला दिशामुक्त क्षेत्र घोषणाले उनको टाउको भारी भयो, बोक्सी र बोक्साको आरोपमा मल मूत्र खुवाउने देखि हत्या गर्ने घटनाले उनी भाव विह्वल भए, जातियताको मुद्दाले नेपाली दाजु भाइले एक अर्कालाई शरणार्थी र बिदेशी क़रार गर्दा उनी धेरै पटक भक्कानिए, दण्डहीनता देखेर उनलाई उदेक लाग्यो, राज्यका संवैधानिक निकायमा दलीय भागवण्डा देखेर उनी आक्रोशित बने।राजनैतिक पार्टीहरुले सत्ताको लागि सांसद किनबेच गर्ने, बन्द हड़ताल गर्ने, ठेक्का पट्टा र कमिशन अनि कालोबजारी गर्ने समाचार अमेरिका जस्तो देशमा उनका अमेरिकी साथी सहपाठीहरुले तेरो देशमा यस्तो हुन्छ? भनेर सुनाउँदा उनी यो सबै आफैले गरे जस्तै गरी लाजले शिर झुकाउँथे।

त्यसै गरी सिटामोल खान नपाएर मान्छे मरिरहने देशमा नेताहरु राज्यकोषको दुरुपयोग गरेर बिदेश उपचार गर्न जाने, भुकम्पले थिलो थिलो भएको बेला पुनर्स्थापना त कहाँ हो कहाँ राहत रक़म र सामग्री समेत हत्याउने, गुण्डा र डनहरुलाई संरक्षण गर्नेहरुले नै चुनावमा अनेक प्रलोभन देखाउँदै फेरि चुनाव जितेर लूट मच्चाएको सुन्दा उनी मनमनै भाव बिभोर हुन थाले। यता अमेरिकाको सुशासन र बिकास देखेर नेपाललाई यस्तो बनाउन कहिले सकिएला भनेर चिन्ता गर्न थाले।पचास लाख युवा बाहिर राखेर उनीहरुको रगत र पसिनामा रज़ाई गरी लोकतन्त्रको हवाला दिएको कुराले उनलाई गहिरो गरी बिझाउन थाल्यो।

सन् २०१५ मा उज्वल थापाको अमेरिका भ्रमण र उनको हाम्रै जीवनकालमा नेपाल परिवर्तन गर्ने सोँचको आलोक फ्यान नै भए। उनी जस्ता लाखौँ युवा बिदेशिनु पर्नेको मुख्य कारण बिग्रेको राजनीति नै हो जसलाई हामीले दुत्कारेर हैन काँध थापेर मात्रै देश अघि बढ्छ भन्ने कुरामा उनी दृढ़ बने।

गत संबिधान सभाको चुनाव तथा पहिलो र दोश्रो स्थानिय चुनाव तत्कालीन विवेकशील नेपाली दललाई अमेरिकाबाट आर्थिक, नैतिक र प्राविधिक रुपमा उनी र उनको टिमले राम्रो सहयोग गर्यो। देशलाई साँच्चै परिवर्तन नै गर्ने हो भने शिक्षित र सचेत नागरिक घर फर्कनै पर्छ र देशको लागि केहि गर्नै पर्छ भन्ने उनको उत्साहलाई रविन्द्र मिश्रले बिबिसीको लोभलाग्दो जागिर छोडेर साझा पार्टी स्थापना गरेपछि अझ बल पुग्यो।

केहि बर्ष अघि मात्र भारतको राजधानी दिल्लीमा आम आदमी पार्टीले हासिल गरेको लोकप्रियता र फ्रान्सको राष्ट्रपतिको रुपमा ३८ बर्षे इम्यानुएल म्याक्रों नयाँ पार्टीबाट एकाएक राष्ट्रपतिको चुनाव जितेर बिश्व राजनीतिमा उथलपुथल ल्याईदिए पछि नेपालमा पनि बैकल्पिक शक्तिको उदय सम्भव छ भन्ने कुरामा उनी पनि बिश्वस्त भए।

त्यस्तै आफ्नै उमेर समूहका प्रतिक्षा शाक्य र अनुशा थापाले अमेरिकामा एक्सपर्टी हासिल गरिसकेपछि नेपाल फर्केर गरेको राम्रो प्रगतिको छाप र पछिल्लो समयमा रन्जु दर्शनाको लोकप्रियताले उनलाई लाग्यो: जीवनका सबैभन्दा रमाईला र उत्पादनशील समय राज्य बिहीन, आवाजविहीन र पहिचानबिहीन भएर बस्नु अघोषित दासता पो हो, परदेशमा जतिसुकै प्रगतिको शिखर चुमे पनि छालाको रंग हेरेर अमेरिकीहरुले ‘ईफ यु डोन्ट माईन्ड ह्वेयर आर यु फ्रम’ भन्दा आफ्नो स्वाभिमान गिरेको देखे उनले।

त्यसैले उनी ग्रीन कार्डको चक्करमा कहिल्यै परेनन्। पचास लाख युवाको नोट चल्ने तर भोट नचल्ने र उनीहरुकै आँखा अगाडि भ्रष्टहरुले चुनाव जितेर रजगज गरेको देख्दा घर फर्कने अभियान आफैबाट शुरु गर्नुपर्छ भन्ने तर्फ उनी दृढ भईरहे। अझ समान उद्देश्य र सिद्धान्त बोकेका दुई पार्टी विवेकशील र साझा पार्टी एकीकरण गरी विवेकशील साझा पार्टी गठन भएपछि त आलोकको खुशीको सिमा नै रहेन। उनको घर फर्किने अभियानमा उनका आदर्श पात्र सन्तोष गिरीले पनि छिट्टै साथ दिने वचन दिएका छन्।

यसै बिचमा पूर्व प्र.न्या. पुत्र लिगल एक्सपर्ट सन्तोष गिरीसंग मिलेर खोलेका ब्यवसायिक प्रतिष्ठान सिलिकन हायरलाई नेपालमा पनि बिस्तार गरी दुई बर्ष पहिले शाखा समेत खोलिसकेका थिए उनीहरुले। लेक्सगिरी डट कम र लिगल इण्डस्ट्रीका लागि बिभिन्न सफ्टवेयर सम्बन्धि उद्दमशिलतालाई नेपालमा पनि शुरु गर्ने, नेपालमा नीजि साझेदारी लगानी बोर्ड स्थापना गरी बिदेशमा भएका नेपालीहरु संग मिली आयमूलक परियोजना संचालन गर्ने उनीहरुको योजनालाई मूर्त रुप दिन दुबै जना राजी भए।

यति मात्र होईन एउटा परियोजना बिज्ञको रुपमा रही कुशल क़ानून ब्यवस्थापकीय तालीम गराई कुशल ब्यवस्थापक तयार पार्न तथा प्रवर्धनका लागि उनी सधैका लागि नेपाल फर्किएका छन्। आफ्नो उद्यमबाट समय छुट्याएर देश बनाउन राजनीतिको जग बसाउन भरपर्दो बिकल्पको रुपमा उदाएको विवेकशील साझा पार्टीबाट सकृय राजनीति पनि गर्ने उनको योजना छ।

अझ विवेकशील साझा पार्टीले काठमांडौबाट संस्कारको राजनीतिका खम्बा संयोजकद्वय रवीन्द्र मिश्र,उज्वल थापा तथा सदस्यहरु पुकार बम,अनुपा श्रेष्ठ,सुवुना बस्नेत र मिलन पाण्डेलाई प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उमेदवारमा उठाएपछि त झन् उनको उत्साह बढेर दोब्बर भएको छ।

यी आँटिला आलोकको लोक बनाउने आँट र हिम्मतमा साथ दिन शिक्षित र सचेत युवाले घर फर्कनै पर्छ भनेर सोच्ने बेला आएको छ। आलोकको यो अभियानबाट प्रेरित भएर सबै युवा घर फर्कने हो भने देश बन्न कति समय लाग्ला र?

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.