‘हाम्रो एनआरएन राम्रो एनआरएन’


गत ६ महिना लामो छलफल, विवाद र विभिन्न उतार चढाव पश्चात एनआरएन अमेरिकाले नयाँ कार्य समिति पाएको छ।

एनआरएन अमेरिकाको आज हुने नयाँ कार्य समितिको घोषणा र साधारणसभाको अवसरमा एक साधारण सदस्यका हैसियतले केही विचार तथा जिज्ञाशाहरू प्रस्तुत गर्दैछु।

१. महिलाहरू सम्बन्धी: नेपाली डायस्पोरामा सहयोग र जानकारीको अभावमा नेपाली महिलाहरु अनेकौ तनावमा गुज्रन बाध्य छन्। तिनीहरूलाई समेटी काउन्सिलिङ गर्न र कानूनी परामर्श , शिप मूलक तथा स्वास्थ्य सम्वन्धी आवस्यक सहयोग पुर्‍याउन एनआरएन अमेरिकाको भूमिका कस्तो रहन्छ?

२. यूवा तथा दोस्रो पीडि सम्बन्धी: अमेरिकी नेपाली समाज भित्रका नेपाली युवाहरु नेपालीभाषी संघ संस्थाबाटै उपेक्षित छन्। अमेरिकाभरि छरिएका यी युवा आ-आफ्नो तरिकाले भबिस्य निर्माणमा कस्सिएका छन्। दोस्रो पीडि यूवाहरूको सहभागिता र उनीहरूको उत्थानका लागि एनआरएन अमेरिकाको कस्तो भूमिका रहन्छ र के कस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ?

३. नेपाली भाषा, कला र संस्कृति संरक्षणमा एनआरएन अमेरिकाको भूमिका र कार्यक्रम कस्तो रहन्छ?

४. यूवाबीचको नेटवर्किङ सम्बन्धी: नेपालबाट आएका तथा अमेरिकामा जन्मे हुर्केका यूवाहरु बिचको नेट ओर्किङबाट आपसमा अनुभवको आदान प्रदान हुनेछ भने स्कुलको ग्राजुएसन पश्चातको अध्ययन अध्यापन, ‘जब’ लगायतका अन्य अवसरहरुको खोजीमा समेत सहयोग पुग्ने छ। यस तर्फ एनआरएन अमेरिकाको भूमिका र कार्यक्रम कस्तो रहन्छ?

५.  स्वतन्त्र र स्वायत्त एनआरएन अमेरिका: संघीय क़ानून अनुसार अमेरिकामा दर्ता भएको यो संस्था कुनै बाहिरी संस्थाको निर्देशनमा चल्नु हुँदैन। विधानमा स्वार्थ अनुरूप गरिएका संशोधनलाई पुनः संशोधन गरिनु पर्दछ र संघीय कानून प्रतिकूल हुने बुँदाहरूलाई हटाईनु पर्दछ।

६. राजनितिक हस्तक्षेप र पदाधिकारीहरूको चरित्र: परिवर्तन आजैबाट गर्नुपर्छ अनि आफैबाट गर्नुपर्छ। सामाजिक संघ-संस्थामा प्रवेश गरेपछि राजनीतिको खोलमा समाज भाड्ने गतिबिधि जो कोहीबाट भए पनि अबिलम्ब बन्द गर्नुपर्छ। त्यस्तै,नेपालका नेताहरूलाई रिझाउने , नेपालमा आफ्नो व्यापार व्यवसायको प्रवर्दन र विस्तार गर्ने र नेपालमा आफ्नो पहुँच र परिचय स्थापित गराउन एनआरएनलाई प्रयोग गर्नुहुँदैन।

एनआरएनको आफ्नो पहिलो प्रथमिकतामा अमेरिकामा रहेका नेपालीहरूको हितमा केन्द्रित हुनुपर्छ। यस तर्फ एनआरएनको भूमिका र कार्यक्रम कस्तो रहन्छ?

७. सदस्यता सम्वन्धी: अत्यन्त न्यून सदस्य रहेको एनआरएन अमेरिकाले चुनाव आउने वेलामा खुल्ला गर्ने सदस्यता वितरण प्रक्रियालाई खारेज गरी सदस्य हुन चाहनेका लागि बाह्रै महिना सदस्यता खुल्ला गरिनु पर्दछ।

८. उम्मेदवारी सम्वन्धमा: एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारीको लागि स्वार्थवसः लगाईएको अंकुशलाई हटाई कुनै पनि साधारण सदस्य उम्मेदवार हुन पाउने व्यवस्था गरिनु पर्दछ।

९. कार्यक्रम र प्रतिवद्दता: आफ्नो प्रतिवद्दता अनुसार एनआरएन अमेरिकाले आगामी दुई वर्षका लागि सञ्चालन गर्ने कार्यक्रमहरू समय तालिकासहित सार्वजनिक गरोस।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.