बोष्टन सप्ताह समाप्त भएको दुई दिनपछि सप्तरी कोइलाडी– ६ का ५ वर्षीय मृतक बालक कमल सदाको लास सार्वजानिक भयो। यो सामान्य लास मात्र थिएन। बाढीले मधेसलाई कति आक्रान्त पारेको छ भन्ने कुराको 'फुल पिक्चर’ पनि थियो त्यो। तराई जलमग्न भएर लास गाड्ने ठाँउ नभएका कारण मृतक बालकका काका देवकुमार सदाले लास पानीमा बगाइदिएका थिए।
नेपाल सरकारले १ सय ११ जनाको मृत्यु भएको र दर्जनौ बेपत्ता भइरहेको भन्दै मधेशमा आपतकालिन घोषणा गर्यो।
यो दुःख अमेरिका बस्ने हामी धेरैले फेसबुकका वालमा हेर्यौं। फेसबुकमा प्रेम र समवेदना पोख्यौं।
ठीक त्यही समय न्युयोर्कमा पण्डित दिनबन्धुलाई निम्त्याएर अर्को महापुराण गर्ने तयारी हुँदै थियो। बुद्ध, पशुपति मन्दिर र सामुदायिक भवन निमार्णको सहयोगार्थ महापुराण लाग्न लागेको थियो।
न्युयोर्कमा नेपाल झल्काउने सामुदायिक भवन बनाउन सहयोगको आवश्यकता जति थियो, त्यो भन्दा बढी सहयोगको आवश्यकता नेपालमा पारेको थियो।
अमेरिकाको नेपाली समुदायलाई यी दुई घटनाले दुई खेमामा बाढ्यो। एउटा पक्ष जन्मेको देशमा आपत बिपत परेका बेला सहयोग रकम जम्मा गरेर नेपाल दिनु पर्ने राय राख्यो। अर्कोले भवन निर्माण गर्न ढिला भइसक्यो, यसपाली जसरी पनि भवन बनाउनुपर्छ। सामुदायिक भवन निमार्ण भन्नेकै मत धेरै भयो।
त्यो निर्णय मलाई ठिक लागेन, तर अरू कतिलाई त्यहि निर्णय सही लाग्यो। त्यसमा धेरै माथापिच्ची गर्नुपर्ने कारण छैन। आखिर सामुदायिक भवन बनाउनु पनि नराम्रो काम होइन।
तर सामुदायिक भवन बनाउन सञ्चालित महापुराण त्यो बेला विवादमा पर्यो, जुन बेला यसको आर्थिक पक्षमाथि प्रश्न उठ्यो। प्रश्न किन उठ्यो भने त्यसको पारदर्शीता कायम हुन सकेन।
त्यही बिवादको घानमा मुछिए पण्डित दिन बन्धु पोखरेल।
बोष्टनमा अगष्ट ६ देखि १२ सम्म 'बोष्टन महापुराण' सम्पन्न भयो। सात दिनमा आयोजकले अनुमान गरेको भन्दा बढी पैसा उठ्यो। ३ लाख ६० हजार डलर नगदसहित करिब १६ लाख ६८ हजार डलर उठेपछि आयोजकले पुराण सकिएकै दिन पण्डित दिनबन्धुलाई २५ हजार डलर नगद दिएर पठाए।
यो दणिणा गुरूलाई चढाइएको भेटी र पण्डित नारायण पोखरेल प्रतिष्ठानको सहयोगार्थ उठाइएको रकम बाहेकको दक्षिणा थियो। बोष्टन महापुराणका संयोजक सुशील पौड्याल भन्छन्, ‘उनलाई चढाइएको भेटी र पण्डित नारायण पोखरेल प्रतिष्ठानको सहयोगार्थ उठेको रकमको हिसाब किताब हामीले राखेका छैनौँ। हामीले दक्षिणास्वरुप उहाँलाई २५ हजार डलर भने दिएका हौँ।'
'बोष्टन महापुराण' सकिएको एक सातापछि न्युयोर्कमा रिजउड नेपाली समाजले महापुराणको आयोजना गर्यो। बोष्टनमा जस्तै न्यूयोर्कमा पनि महापूराणमा आँकलन गरिएको भन्दा धेरै रकमको प्रतिबद्धता आएपछि कार्यक्रम संयोजकहरू हौसिएका थिए।
'हामीले सोचेको भन्दा कार्यक्रम बढी सफल भएको' भन्दै प्रचार प्रसारमा सहयोग गरेवापत संचारकर्मी सच्ची मैनालीलाई आयोजकहरुले ७ हजार डलर दिएको र दिनबन्धुले करिब ६० हजार डलर लगेर गएको भन्दै आन्तरिक बिवाद चुलियो।
तर पुराण आयोजकले त्यसबारे समयमै केही बताएनन्। यस्तो महत्वपूर्ण सामाजिक कामका लागि कति रकम उठ्यो, कहाँ कहाँ कति खर्च भयो र अब कति पैसा बाँकि छ भन्ने सार्वजनिक रूपमा जानकारी गराउनुपर्ने आयोजकको जिम्मेवारी थियो। यो जिम्मेवारी आयोजकले अहिलेसम्म निभाएका छैनन्।
विवाद बढ्दै गएपछि संचारकर्मी सच्ची मैनालीले आफूले काम गरेवापत ७ हजार डलर लिएको भिडियो फेसबुकमा सार्वजनिक गरिन्। पहिले सम्झौता भएको ६ हजार र आयोजकले राम्रो काम गरे बापत दिएको ‘बोनस' एक हजारसहित सात हजार लिएको उनले खुलासा गरिन्।
झण्डै एक घण्टा लामो भिडियो पोष्टमा उनले अरू पत्रकारले पनि पैसा लगेको आरोप लगाईन्। केहि पत्रकारले समाचारनै लेख्न नमानेपछि आयोजकले पैसा दिएको पनि उनले आरोप लगाइन्। मैनालीले बोलेको फूल भिडियो सेतोपाटीसँग सुरक्षित छ।
हेर्नुहोस् उनले फेसबुकमा राखेको भिडियोको अंश-
https://www.youtube.com/watch?v=V4rPl7mOxTE&feature=youtu.b
पण्डित दिनबन्धुले लगेको रकम कति हो भन्नेमा पनि बिवाद भयो। दिनबन्धुले पैसा लैजानु हुन्थ्यो, हुन्नथियो वा कति पैसा लैजानु पर्थ्यो भन्ने बिवादनै होइन। आयोजक वा उनीबीचको सहमतिमा तय हुने विषय हो यो।
तर आयोजकले उनलाई कति पैसा दिएको हो वा अरू काममा कति पैसा खर्च भएको हो भन्ने प्रष्टसँग नभने पछि त्यसबारे अनुमान र शंका हुन थाले।
आयोजकहरु मध्येकै कतिले मिडियासँग असन्तुष्टी पोखे। 'यति पैसा’ खर्च भयो भनियो, तर हिसाब देखाईएन भन्ने आरोप लगाए।
बिवाद यति धेरै छताछुल्ल भएपछि आयोजकहरु बोल्नुपर्थ्यो, यति धेरै नेपालीले दान गरेर उठेको रकमको हिसाब पारदर्शी ढंगले सार्वजनिक गर्नुपर्थ्यो। तर त्यसो भएन।
बरू पण्डित दिनबन्धु अघि सरेर यसबारे बोल्न थाले। सेतोपाटीमा आएको समाचारको खण्डन गर्दै शुरूमा उनले 'एक पैसा लगेको छैन’ भने। केही घण्टा पछि केही रकम लगेको हो, तर कति लगेको नखुलाउने भने। त्यसपछि, एउटा भिडियो सार्वजनिक गर्दै आफूले ६० हजार डलर लगेको प्रमाण कसैले देखाए ६० सेकेण्डमै प्राण त्याग्नेसम्म बताए!
मैले माथिनै लेखिसकेको छु, यो पण्डित दिनबन्धुले कति पैसा लगे भन्ने विषयनै होइन। उनले कति पैसा लिने वा नलिने यो उनी र आयोजक बिच तय हुने विषय हो। पत्रकार ज्योतिकुमार श्रेष्ठसँग गरेको भिडियो कुराकानीमानै दिनबन्धुले पैसा आयोजकसँग ‘नेगोसिएसन’का आधारमा तय हुने जिकिर गरेका छन्। त्यो स्वभाविक रुपमा बुझिने कुरा हो। हेर्नुहोस् भिडियोमा-
https://www.youtube.com/watch?v=nRfsmZDvkUk
अस्वभाविक कुरा यहाँ के मात्रै हो भने सार्वजनिक कामका लागि अमेरिकामा बस्ने यति धेरै नेपालीले पैसा दान गरेपछि उठेको आम्दानी र खर्च पारदर्शी ढंगले राखिनु पर्थ्यो र त्यो बिवाद हुनु अघिनै सार्बजनिक गरिनु पर्थो। बिवाद भएपछि त झन् तुरन्तै सार्वजनिक गर्नैपर्थ्यो। ज-जसले यो कार्यका लागि रकम दान दिए कम्तिमा उनीहरुको मनमा उठेको शंका निवारणका लागि पनि यो सार्वजनिक हुनुपर्थ्यो।
सेतोपाटीसँग कुरा गर्दै आयोजकले सञ्चारकर्मी मैनालीलाई उनको कामका लागि सात हजार डलर दिएको र अरू कुनै पत्रकार पैसा नदिएको बताएका छन्। पण्डित दिनबन्धुलाई दिएको रकमसहित अन्य खर्च चाडै सार्वजनिक गर्ने बताएका छन्।
मलाई आशा छ, त्यो चाडैं सार्वजनिक हुनेछ।
एउटा पत्रकारका रुपमा सार्वजनिक कार्यका लागि सार्वजनिक रुपमा उठाइएको रकम कति संकलन भयो र कति खर्च भयो भनेर सोध्ने र खोज्ने मेरो दायित्व हो।