रिजउड नेपाली समाजको आयोजनामा न्यूयोर्कमा सम्पन्न महापूराणमा आफूले कुनै पनि रकम नलिएको पण्डित दिनबन्धु पोखरेलले सेतोपाटीलाई बताएका छन्।
आयोजकले आँकलन गरिएको भन्दा धेरै रकमको प्रतिबद्धता आएपछि स्वयंसेवक र पण्डितलाईसमेत लाखौ रकम बाँढेको भन्ने समाचारमा आफुलाई मुसिएकोमा स्पष्टिकरण दिँदै पण्डित पोखरेलले आफूले कुनै पनि रकम नपाएका बताएका छन्।
‘मलाई २० हजार डलर दिने सहमति यसअघि भएको थियो, तर त्यो रकमसमेत मैले पाएको छैन कहाँबाट यत्रो रकम पाउनु,’ उनले भने,‘ म धार्मिक अभियान बोकेर हिँडेको मान्छे संसारभर कही पनि मैलै यति रकम भनेर लिएको छैन यो मलाई आयोजकले बदनाम गराउने खेल खेल्यो।’
केही समय अगाडि मात्रै अमेरिकामै एक सञ्चारकर्मीसँगको अन्तर्वार्तामा पोखरेलले आफूलाई ३० हजार दिने कुरा भएको बताएका थिए।
यसैबीच आयोजक तथा रिजउड नेपालीका समाजका अध्यक्ष रवि कोइरालाले भने दिनवन्धु पोखरेलले दक्षिणा स्वरूप २५ हजार रूपैयाँ लगेको बताएका छन्। उनले गुरूले दक्षिणा मात्र लगेको र अन्य कुनै पनि संचारकर्मीलाइ पैसा नदिइएको दाबी गरे।
रिजउड नेपाली समाजले अमेरिकाको सत्यनारायण मन्दिरमा गरेको महापुराणमा १५ लाख ५० हजार ४ सय ८२ डलर २१ सेन्ट संकलन गरेको थियो। त्यसमा करिब एक लाख डलर कार्यक्रमस्थलमा नै संकलन भएको र बाँकी मन्दिर निर्माण कार्य अगाडि बढ्दै गर्दा किस्ताबन्दीमा दिने सर्तसहित रकम दान गर्ने प्रतिबद्धता आएको थियो।