अमेरिका: कमजोर एनआरएन, मजवुत स्थानीय संस्था


यो प्रवासी भूमिमा मैले हजार दिन विताएछु। यो समयभरी मैले धेरथोर समाजसेवाको नाममा काम गर्ने र साच्चै समाज सेवा गर्नेहरुसँग पनि समय बिताउने मौका पाएँ। यो तिनवर्षको अवधिमा कसैसँग करवलले त कसैसँग जाँगरले करिव ३ हजार घण्टा समाजसेवामा लाग्न आतुर रहने एनआरएनहरुसँग समय खर्च गरे छु।

यीँ सम्वादका घटनाक्रम र मातृभूमिमा भए गरेका घटनाक्रमहरु नियालेर यो शीर्षक छनौट गर्दे गर्दा स्वभाविक रुपमा अमेरिका पलायन भएकाको भीडमा उभिएर लिवर्टी अफ स्टयाचु देखि प्रशान्त र आन्ध्र महासागर सम्म अनि कोलोराडाको रक्कि माउन्टेन देखि डालास टेक्साससम्मका अनुभूतिका आधार यो आलेख उतार्ने जमर्को गरेको छु।

यी एक हजार दिन मध्ये मेरो दैनिकीले ठोकिने र बज्रिन आईपुगेका दुई तिहाई समय गैर आवासीय संघ एनआरएनको विषय वस्तुले मेरा सामाजिक सञ्जालहरु,एसएमएस र भाईवारमा मुद्दा मामिला लगायतका विवादित र आलोचित विषयहरु पोखिरहको पाएको छु।

यो एनआरएन भित्रका रोचक र रसिक पात्र देखि एकले अर्कोलाई सिध्याउने,कव्जा गर्ने र आफनो लठी वजार्नेहरु कै वोलवालामा समय गुजारेका घटनाहरु नै वढी पाएको छु। कहिलेकाही त लाग्छ नेपालीले प्रवासी भूमिमा अवसर सृजना गराउन सफल भएका छन र? अनि मेरा आँखाका सामुन्ने ज्याक्सन हाईटमा कारको दुर्घटनामा मारिएका नेपाली हुन या मेरिल्याण्डमा मृत्युको मुखमा पुगेका होनाहार युवाका तस्वीर नाचिरहे।

अनि टेक्सासमा मृत्यु भएका नेपाली हुन या अन्यत्र विविध कारणले मृत्यु वरण गरेका दर्जनौ नेपालीहरुको सुन्दर भविष्य चुडाएर लगेका पलहरुका श्रृखंला केलाउनका लागि डायरीका पानाहरुमा घोत्लिरहे। तर मैले त्यहाँ त्यो एनआरएन भन्ने संस्था (कसैको पेवा )लाई जोडन खोजे तर म कमजोर रहेछु किनकि त्यो विषय विश्व मानचित्रमा नेपालको नक्सा भन्दा पनि कम प्रतिशत नेपालीका लागि नेपाली भन्ने संस्थाको संलग्नता देखे, मलाई लाग्यो म तथ्यांकमा निकै कमजोर रहेछु।

यो आलेख तयार पार्न वस्दै गर्दा सन् २००३ तिर सम्झे। त्यो वेलामा हामी आर्थिक पत्रकारहरुको लागि अर्को शब्दावली थपिएर गैर आवसीय संघ एनआरएनका अभियन्ताहरु उपेन्द्र महतो, जीवा लामिछाने, जुगल भुर्तेल,राम थापाहरु न्यूज रुममा अक्षर मार्फत प्रवेश गरेका थिए।

त्यो वेलामा एनआरएन प्रति सकारात्मक सोच वनाउने विषयमा मलाई एनआरएनका संस्थापक उपेन्द्र महतोको एउटा भनाईले अहिले पनि घोचिरहन्छ। उनले भनेका थिए, ‘म व्यक्तिगत रुपमा जति धनी छु त्यती धनी भनेर तपाईहरु भन्नुहुन्छ तर मलाई नेपाली भएर अन्र्तराष्ट्रिय भूमिमा परिचय दिलाउने हरियो पासपोर्टलाई विदेशीहरुले गरिव देशको पासपोर्टको हैसियत प्रदान गर्छन्। यसलाई परिवर्तन गर्न नागरिक तवरले एनआरएनको अभियान शुरु गरेका हौं।’

उनले यो पनि भनेका थिए विश्वभरका विमानस्थलमा जाँच गर्ने कर्मचारीहरुको मनकस्तिष्कबाट यो हटाउनु छ। आज स्वयं पंक्तिकार विश्वका नाम चलेका विमानस्थलहरुमा यात्रा गर्दछ र उनले भनेका कुराहरु अनुभव गर्न पाएको छ। तर मलाई लाग्छ, महतोको यो सपना हाम्रो जीवनकालमा असम्भव प्राय भएको छ। यसको धेरै दोष अरुलाई दिएर म उम्किन चाहन्न। किनकि प्रवासको भूमिमा जीवन व्यतित गरिरहेका हरेक नेपालीलले आफूलाई केन्द्रमा राखेर जव म  एनआरएन हुँ र मेरो क्षमता नभएपनि मलाई पद चाहिएको छ भन्ने सोच विकसित गरिरहन्छन तवसम्म हामी जहाँको तही हुनेछौं। साँच्चै भन्नु पर्दा अहिले एनआरएनमा लागेकाहरु एउटा विज्ञप्ति तयार गर्न नसक्ने मिडिया डाईरेक्टर, एउटा माईन्यूटको मस्यौदा लेख्न नसक्ने महासचिव हुने अनि संस्था कसरी मजवुत होस्?

यदि प्रवासमा रहेका सवै नेपालीहरु अमेरिकाको एनआरएनमा जस्तै तछाडमछाड गर्ने हो भने यिनीहरुले नेपाललाई लगानी गर्ने र रोजगारी सृजना गर्ने गफ ग्लोवल कन्फेरेन्सका पानामा मात्र सीमित हुनेछ। यो तितो यथार्थ भन्न म किन विवश छु भने हामी झगडा गरेर अदालत गुहार्छौ अनि त्यसको शुल्क हरुवा पक्ष एनआरएन नामको संस्थाले हामीहरुको सदस्यता शुल्कको रकम काटेर तिरिरहन्छ। कामना गरौं यो पटकको चुनाव पछि यस्तो नहोस्।

यस्ता घटना र प्रवृत्तिको श्रृङ्खला नै छ ,जसले एनआरएनलाई दिनानुदिन कमजोर वनाएको छ । शायद अन्र्तराष्ट्रिय समन्वय समिति भन्ने लाई लागेको होला अमेरिकामा विवाद हो हामीको मा छैंन्, तर भनिन्छ कुनै संगठनको हाँगा विगा मजवुत छैंनन भने त्यो वृक्षमा वस्ने जाँगर मानिसलाई हुदैंन् । आखिर सुकेको रुखका हाँगामा चराले समेत गुँड लगाएको हुँदैन् । त्यसमाथि अहिले एनआरएनमा यस्तो डरालाग्दो विऊ रोपिएको छ, मलाई लाग्छ अवका केही वर्षमा ती विषय र हर्कतले विष वृक्षको रुप धारणा गरेर आउनेछ । पंक्तिकार अहिले वसिरहेको स्थान अमेरिका र यहाँको  उमेदवार दिने र लिने गुट र उपगुट अनि झुण्ड र कुण्डको नाटक मञ्चन पछिल्ला महिनाहरुमा जसरी भयो, त्यो सवै एनआरएनको वालुवाटारमा वन्दै गरेको ईटहरुलाई कमजोर वनाउन अष्ट्रेलिया,रसिया काठमाण्डौं हुँदै अमेरिकामा सल्किएको एउटा रोग हो, अव यसले त्यही एउटा भएको एनआरएनलाई नै खाने हो अरु त मठाधिशहरुको वल बुद्धि र रकममा गणना गर्ने विषय हुन सक्छ ।

स्थानीय परिवेश

यही कमजोर धरातलमा अमेरिकामा स्थानीय संघ संस्थाको मजवुत भएको विषयमा चर्चा गर्न चाहन्छु । मेरिल्याण्डमा स्याल हुईया शैलीमा एनआरएनले नेपाली भाषालाई सवारी चालक अनुमति पत्रका लागि मोटर भेईकल एडमिनिष्ट्रेशनमा पहल गरयो भनेर प्रचार गरियो, तर यथार्थ के हो भने यहाँ रहेका अरु धेरैको समेत पहलमा त्यो संभव भएको हो । यो विषयमा कसैलाई चित्त नवुझे पंक्तिकार वहश गर्न प्रमाण सहित तयार छ । त्यही च्याप्टरको अर्को रोचक कहानी पाठकका सामु पस्किन चाहन्छु , एक पटक त कति सम्म भएको छ भने एनआरएन कै च्याप्टरको कार्यक्रममा स्वागत भाषण गर्न उपाध्यक्षलाई भनियो,महासचिवलाई भनियो , के केलाई भनियो अन्त्यमा कोषाध्यक्षले मेरो जिम्मा कोषको विषयमा वोल्ने हो, तर पनि यहाँहरुलाई स्वागत छ भनेर स्वागत मन्तव्य व्यक्त गरेका थिए भन्दा त्यो संस्थामा आवद्धहरुको मनमा कति अमिलो भयो होला ? तर भनिन्छ नि गैडाको छालालाई एक दुई लठीको के मतलव ?

नारामा एनआरएन भन्ने गर्छ एक राज्य एक कम्युनिटी सेन्टर तर नेपालीहरु वाहुल्यता भएको क्यालिफोर्निया, टेक्सास,भर्जिनिया,मेरिल्याण्ड हुँदा हुदा न्यूयोर्क र वोष्टनमा समेत सामुदायिक भवन वनाउन स्थानीय राज्य स्तरका साना संस्था सफलता तर्फ उन्मुख भईसके अव हामी भनौं किन चाहियो एनआरएन ?

अर्को छ नारा भनौं या यसका स्वघोषित मठाधिशहरुको भाषण गर्ने विषय – दोश्रो पिढीलाई एनआरएनमा सहभागी वनाउने नारा । तर पंक्तिकार समेत आवद्ध रहेको अमेरिकामा रहेका करिव दशहजारको सहभागितामा एउटा सामाजिक सञ्जालको ग्रुप छ, त्यसमा एनआरएनको एक दिन नाम लिएको पंक्तिकारले अनुभूति गरेको छैंन् । र ,उनीहरुलाई युवा कोअर्डिनेटर पनि चाहिएको छैंन् । केवल उनीहरु कुन विद्यार्थीलाई के समस्या पर्छ, अहोरात्र खटिएका हुन्छन् । विचरा हाम्रा एनआरएनका मठाधिशहरु न्यूयोर्क र टेक्सास, क्यालिफोर्निया र डिसीमा भृकुटीमण्डपको सामान मोलमोलाईको शैलीमा तलाई यो पद र मलाई यो पद भनिरहेका छन् , अनि उनीहरुको त्यो डाक्टरको पद, ईन्जिनियरको पद कसलाई दिने होला कहिलेकाही त हेर्दा र पढदा यस्ता विषयले उदेक लाग्छ ।

त्यसैले कमजोर स्थानीय संस्था रिजऊड सोसाईटी भवनको शिलन्यास गर्न खोज्दैछ अनि मजवुत एनआरएन अदालतको ढोका ढक्ढक्याउन कुददै छ । शायद मेरो एक हजार दिनको अनुभव अलि काँचो पनि हुन सक्छ, आखिर करेलोको तितो सुगरका विरामीलाई पो हो त ।

रुपान्तरणको कुरा

केही समय अगाडि मातृभूमि पुगेको थिए, त्यहाँको केही आशालाग्दा विकासका नमूनाहरु भित्र एनआरएनलाई खोजे तर त्यसमा मैले खोजेको प्रविधिको रुपान्तरण होईन परिधिको रुपान्तरण मात्र खोजे, जहाँ एनआरएनका अगुवा गृहमन्त्रीसँग फोटो खिच्न,वालुवाटार पुग्न र नयाँ मन्त्रीहरुलाई स्वागत गर्न आतुर थिए । लाग्यो शायद एनआरएन रुपान्तरण भएर प्रचार,सम्पर्क र व्यक्तिगत लाभको चास्नीमा डुवेको छ ।अहिलेको अवस्था कस्तो छ भने देशले आफनै गतिको विकासको रेलमा कुदन थालेको छ एनआरएनका अभियन्ताहरु हिथ्रो,फयांकफर्ट, मस्को,न्यूयोर्क,पेरिस, सिडनीका महलहरुमा नक्सा कोर्देछन् क्यार ।

अन्त्यमा, एनआरएन अमेरिकाको हकमा निर्वाचनको मितिका विषयमा जति लफडा भएको छ । यो एउटा संकेत मात्र हो, यसले एनआरएनको समग्र प्रक्रियालाई ओझेल पार्ने छ । यसमा जोजसको नाम विवादमा मुझिएको छ ति व्यक्तिहरुले आफूलाई आत्मालोचन गरेर स्वच्छ र प्रतिस्पर्धी संस्था वनाउन पहल गरुन । होइन यो हामीहरुको क्लव हो भन्ने लागेर मपाईत्वका साथ एनआरएन आईसिसिमा हालीमुहाली चलाउने नै हो भन्ने हो भन्नु केही छैंन् । त्यस्ता मठाधिशहरुको क्रियाकलापले भने एनआरएनलाई १४ वर्षको कलिलो उमेरमा नै प्रवासी नेपालीको साझा संस्था भनेर गर्व गर्ने दिन सकिनेछ । शायद विश्वभर छरिएर रहेका एनआरएनका शुभेच्छुकहरुले यो संस्थालाई कमजोर हुनवाट जोगाउन भन्ने अपेक्षा गरौं ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.