अष्ट्रियाको साल्सबर्गस्थित धमिलो पानी बगिरहने नदीको किनारमा ११ औँ शताब्दीमा पादरी गेभहर्टले बनाएको भयंकर ह्वयनसाल्स्वर्ग महल छ। यो दरवार मात्र हेर्न संसारभरीबाट वर्षमा १६ लाख भन्दा बढी पर्यटक आँउछन्।
महल घुमेर फर्किन नदिको छेउमा लाग्ने हाट बजार छिचोल्न पर्छ। यो हाट बजार छिचोल्दै गर्दा बिहानै सुभ कार्यमा बज्ने ठूलो शंखको आवाज सुनियो। यो आवाजको अगाडि अन्य साना हल्लाखल्लाहरु मधुरो भए। पर्यटकहरु त्यतै झुम्मिएको देखिन थाले। शंखपछि फेरि मन्दिरमा बजाइने घण्ट बज्न थाल्यो। ‘अष्ट्रियामा शंख र घण्ट!’ मैले मेरो मुटुको धड्कन अझै तेज चलेको अनुभव गरेँ।
अलिक टाढाबाट रातो नेपालको झण्डा देखियो। अब मलाई नजिक नगइ सुखै भएन। लगभग दुई मिनेटको दुरी छिचोलुन्जेलसम्म एक दर्जन बढी प्रश्न मनमा दौडिए। विज्ञानले भन्छ-बोलिरहने मान्छेको भन्दा मौन रहने मान्छेको मनमा एक मिनेटमा साविकभन्दा २५ गुणा बढी कौतुहलता हुन्छ। सोचेँ- नेपालीले पर्यटन प्रवर्धनको लागि स्टल राखे होलान्। पर्यटन बोर्डले नेपालमा पर्यटन भित्र्याउन वर्षमा करोडौ खर्च गर्छ। साचेँ-‘संसारका पर्यटक घुम्न आउने यो नदी किनारमा नेपालको सरकारले पनि घुम्न आउन निमन्त्रणा गर्दै रछ,’ मन खुसीले भरियो।
हाम्रो सरकारको उपस्थित अनिकालमा त हुँदैन विदेशमा कहाँ भेटिन्थ्यो र। 'टुरिजम प्रमोट' का लागि छुट्याएको बजेट सरकारी कर्मचारीलाई यूरोप धुमाएर कसरी सिध्याइन्छ भन्ने उदाहरण युरोपका धेरै पत्रकारसाथीहरु लेखिरहन्छन्।
नेपाली झण्डा फहराउँदै नेपाली घण्ट, शंख बजाउँने मानिसको नजिक पुगेँ। त्यहाँ न नेपालीले राखेको स्टल थियो न मैले अन्दाज गरेको जस्तै नेपाल सरकारले राखेको स्टल नै। अष्ट्रियन नागरिक मार्कस नेपालको झण्डा फहराउँदै उभिरहेका थिए र उनको वरिपरि झुम्मिरहेका पर्यटकलाई नमस्कार... गर्दै फरर... भन्दै थिए ‘नेपाल स्वर्गको टुक्रो हो। म नेपालमा २० वर्ष बढी बसेको छु। नेपाल जस्तो संसारमा अर्को कुनै मुलुक छैन। नेपालको चिनो चाहिन्छ भने लैजानु होला,’ उनले सामान बेच्ने काम कम र नेपाल चर्चा बढी सुनाउने गरिरहेका थिए।
मान्छेको भीड झन बढ्न थाल्यो। मार्कसले पत्नीलाई जर्मनी भाषामा भने 'हिल्फि जम कन्डेन' अर्थात ग्राहकलाई सहयोग गर।
नेपाली झण्डाको छेउमा उभिएका थिए उनी। 'दीस इज नेपाली फ्ल्याग!' मैले कौतुहलता मिसिएको स्वरमा सोध्न नभ्याउँदै मार्कसले म नेपाली भएको अड्कल मारे र नेपालीमै फरर बोल्न थाले। ‘नमस्कार मेरो नाम मार्कस्। अष्ट्रियामा नेपाली क्यूरियोहरू बेच्छु। तपाई नेपाली हो?’ यति शुद्ध र मिठो नेपाली। बरू हामी बिदेश पुगेका नेपालीले यति शुद्ध नेपाली बोल्न नसक्ने भैसक्यौँ।
'हो म नेपाली' उनी झन हौसिए ‘म नेपाल पुग्दा तपाईँ जन्मिनु भएको थिएन होला भाइ। अहिले त बरू नेपाल लथालिङ छ। ऊ बेला त नेपाल स्वर्ग थियो स्वर्ग!’ उनले नेपाल गएको समय सम्झिए। कलेज सकिएपछिको छुट्टिमा अष्ट्रिया जस्तै सानो भुपरिवेष्ठित मुलुक घुम्ने झोक चल्यो उनलाई। ‘उमेर पनि चकचके। एक ठाउँमा बस्न नसकिने। झन छुट्टीमा त के बस्न सकिन्थ्यो र! कलेजमा साथीहरुले सुनाइदिए ‘सगरमाथाको मुन्तिर पर्ने नेपाल भन्ने देश अष्ट्रियाको जस्तै छ। स्वर्गको टुक्रा छ!’
एक महिनाको यात्रा तयार पारे झोला बोकेर हिँडे नेपाल। ऊ वेला अष्ट्रियाको विकास पनि नेपालको बरावर थियो। अष्ट्रियाले विकासमा कुनै क्रान्ति गरिसकेको थिएन। ‘सन् १९७५ को नेपाललाई अहिलेको नेपालसँग के दाज्ने भाइ।’ झुम्मिएका ग्राहकलाई समाल्न पत्नीलाई आग्रह गरे र उनी गफमा अझ हौसिन थाले। अहिलेको बाँसबारीमा भुत आउँछ भन्थे मान्छेहरू। बेलुका झमक्क भएपछि कोही जान मान्दैन थिए। अर्कै ग्राहकको माटोमा पुगेजस्तो।’
सन् १९७५ मा नेपाल घुम्न पुगेका मार्कसलाई नेपालको अपनत्वपनले चुम्वकजस्तै तान्यो। एक महिनाको लागि नेपाल घुम्न पुगेका मार्कसलाई नेपाल छोड्नै मन लागेन। नेपाली मुलकी भारतीय युवतीसँग बिहा गर्ने निर्णय गरे। नेपालीभाषी पत्नीले काठमाडौंमा गरि खाने बाटो खोजिन्। 'स्यम्भूमा क्यूरियो सप चलाएर बस्ने मेरो पत्नीको इच्छालाई मैले पनि हुन्छ भनेँ,' मार्कस् सम्झिन्छन्।
'दुई दशक त एक छिनमै बितेछ।' क्युरियो पसल चलाउनलाई नेपाली सिक्न थालेँ। राजनीति बुझ्न थालेँ। भुगोल चिन्न थालेँ, भाई नेपाल बुझ्ने हुन्जेलसम्म आफू जन्मेको देशको भन्दा माया नेपालको लाग्ने भसकेको थियो। घर फर्किनै मन लागेन,’ उनले भने।
उनी नेपाल पुगेको दुई दशकपछि मुलुकमा माओवादीद्वन्द्व सुरू भयो। 'विकासको गति नेपालमा सुस्त थियो। तर मान्छेहरू बेइमान थिएनन्। शालिन थिए। संसारको जुनसुकै कुनाबाट बिदेशी नेपाल पुगेपछि आफ्नो घरमा पुगेको जस्तो सत्कार पाउँथे। उनले अगाडि भने- भाइ माओवादीको द्वन्द्वले मान्छेबीचको विश्वासलाई चिरा पार्यो,' माओवादीपछिको समय सम्झन्छन् उनी।
ब्यापारमा असहयोग, चन्दा र धम्की सामान्य नेपालीले भन्दा उनले बढी बेहोर्नु पर्यो। तै पनि नेपाल छोड्न मन थिएन। पत्नीले सुझाइन् ‘बरू यही क्युरियोको दुकान अष्ट्रियामा गरौँ।’ सन् १९९७ मा उनी अष्ट्रिया फर्किए। तर आफूसँगै नेपाल बोकेर फर्किए। ‘नेपालको चिनोलाई हामिले अष्ट्रियन मात्र होइन संसारभरका मान्छेहरुलाई बेच्ने गर्छौ। हाम्रो रोजी रोटी चल्छ। पर्यटकहरू नेपाल चिनेर र बुझेर जान्छन्,’ उनले भने।
उनको आधा दिन शंख र घण्टको आवाजले झुम्मिएका पर्यटकहरूलाई नेपालको बारेमा बर्णन गर्दै बित्छ। 'मलाई नेपाली हुँ भन्दा बढी खुसी लाग्छ भाइ खै के छ के छ नेपालीपनमा।’
विकासले सम्पन्न भुपरिवेष्ठित मुलुक अष्ट्रिया पुग्ने पर्यटकलाई हिमालको मुन्तिर पर्ने यस्तै अर्को मुलुक घुम्न जान प्रेरित मात्र गर्दैनन् मार्कस, ह्वयनसाल्स्वर्ग महलको पन्ध्र मिनेट दूरीमा नेपाली रेष्टुरेण्टमा गुन्द्रुक र मःमःको स्वादसमेत चाखेर जान अनुरोध गरिरहन्छन्।