गौरी जोशी अध्यक्ष पदका लागी योग्यः विशेष समिति

गौरी जोशी अध्यक्ष पदका लागी योग्यः विशेष समिति




गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा अध्यक्ष पदका लागि गौरी जोशी उम्मेदवार बन्न योग्य रहेको बिशेष समितिले निष्कर्ष निकालेको छ। जोशीको योग्यता सम्बन्धी विवाद केन्द्रमा पुगेपछि  गत आइतबार फ्रयाङफर्डमा सम्पन्न बैठकद्वारा गठित बिशेष समितिले जोशी एनआरएन अमेरिकाको उम्मेदवार बन्न योग्य रहेको निष्कर्ष निकालेको हो।

एनआरएन अमेरिकाको निर्वाचन कमिटीले अध्यक्ष पदमा उमेद्वारी दिएका गौरी जोशीको नाम योग्यताको कारण देखाउँदै हटाएपछि विवाद उत्पन्न भएको थियो। उक्त विवाद निरूपणका लागि केन्द्रले एनआरएन संरक्षक दिल गुरुङ, सल्लाहकार विश्वआर्दश पण्डित र पूर्वप्रवक्ता डा. हेमराज शर्मा सहित तीन सदस्यीय समिति गठन गरेको थियो। समितिले यससम्बन्धी प्रतिवेदन गैरआवासीय नेपाली संघ समक्ष पेश गरेको जानकारी गराएको छ।

समितिका तीनै जना सदस्यले सम्बन्धित पक्षहरूसँग परामर्श गर्दै संकलन गरेको राय र प्रमाणका आधारमा जोशी अध्यक्ष पदका लागी योग्य रहेको निश्कर्ष निकालेको बताएको छ। समितिले गैरआवासीय नेपाली संघ अमेरिकाको सस्थापना र अध्यक्ष पदका प्रत्यासी गौरी जोशीको योग्यताका सम्बन्धमा करिब ३० पेज लामो प्रतिवेदन छ। समितिले आफ्नो प्रतिवेदन पेश गर्नुअघि अध्यक्ष शेष घलेलगायतका गैरआवासीय नेपाली संघका पदाधिकारीसमेतसँग परार्मश गरेको जनाएको छ।

समितिको प्रतिवेदन आएपछि एनआरएन अमेरिकाको निर्वाचनसम्बन्धी विवाद अन्त्य हुने अपेक्षा गरिएको छ। साथै, जोशीलाई पनि निर्वाचनमा समायोजन गरिने  निर्वाचन  प्रक्रिया अगाडि बढ्ने बताइएको छ। यता दुई दिनअघि मात्रै समितिको प्रतिवेदन आउनुपूर्व निर्वाचन कमिटीले अन्तिम भन्दै जोशीको नाम हटाएर सूची प्रकाशित गरेको थियो। यसपछि पूर्वनिर्वाचन प्रमुखले एनआरएनको वर्तमान कमिटी र नयाँ निर्वाचन कमिटीप्रति गुनासो गरेका थिए। न्यायीक समितिको समेत अवज्ञा गर्दै निर्वाचन कमिटीले जोशीको नाम समावेश नगरी उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरेको थियो जससम्बन्धी सेतोपाटीले समाचार सम्प्रेषण गरेको थियो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.