गुरुकुल झैँ देखिने अमेरिकाको नेपाली पाठशाला


प्यागोडा शैली जस्तो नमुना भएको एक मन्दिरसहितको भवन, त्यही भवन भित्र लस्करै रहर लाग्दो तरिकाले बसेका

पहेलो बस्त्रधारी विद्यार्थीहरू, अनि , उनीहरू द्वारा नै बाचित गायत्री मन्त्रको कर्णप्रिय गुन्जाहट।

माथि आसनमा बसेका गुरु घरी मन्त्र सिकाइरहेका छन् त घरी जीवन भरि काम लाग्ने नैतिकताको पाठ। उमेरले अलि ठुला

झैँ देखिने सिनियरहरू फर्याकफुरुक गर्दै साना नानीहरूलाई सहयोग गरिरहेका छन् भने केही अभिभावकहरु दिउँसोको खाना र खाजा अनि अन्य आवश्यक सामग्री जुटाउन भागाभाग देखिन्छ्न्।

अनुशासन, शैली, शिक्षा र एकताको यो बेजोड दृश्य हेर्दा जो कोहीलाई पनि लाग्न सक्छ – यो कुनै गुरुकुल हो कि ?

तर संयोग, यो कुनै गुरुकुलको दृश्य होइन – यो त अमेरिकास्थित टेक्सस राज्यको डालस सहरमा स्थानीय नेपालीहरू द्वारा सञ्चालित नेपाली पाठशाला हो जहाँ अहिले दुई सय भन्दा बढी नेपाली बालबालिका आध्यात्म, संस्कृति, नेपाली संस्कार र नैतिकताका बारेमा विगत सातादेखि अध्यन गरिरहेका छन्।

नेपाली समाज टेक्ससको आयोजनामा स्थानीय हिन्दु तथा बौद्ध मन्दिर भित्र सञ्चालित यो पाठसालाको उद्देश्य बालबालिकालाई हाम्रो संस्कृति र संस्कार सिकाउने रहेको नेपाली समाज टेक्सासका सभापति कृष्ण लामिछानेले सेतोपाटीलाई जानकारी दिए। नेपाली पाठसाला त वर्ष भरि नै चलिरहन्छ तर यो समर क्याम्पको अवधि जम्मा दुई साताको रहेको लामिछानेले बताए।

तर एक सातामा नै क्याम्पको प्रभाव साना नानीहरूमा राम्रैसँग परेको महसुस गर्न सकिन्छ। फोन र भिडियो गेममा झुन्डिरहने एघार वर्षीय एलिना उप्रेती हिजो आज सकेसम्म फोनमा खेल्दैनन्। फुर्सदमा बरू आफ्नो सानो बहिनी सँग खेलेरे समय बिताउने सोभमलाई गुरुले भनेको ‘नो टेलिभिजन, ओन्ली भिजन’ वाक्य राम्रोसँग स्मरण छ।

दस वर्षीय निरभ पोख्रेल पनि हिजो आज गायत्री मन्त्र उच्चारण गर्ने भएका छिन्। नेपाली संस्कार र परम्परालाई ध्यानमा राख्दै सिकाइने विभिन्न मन्त्रहरुको वैज्ञानिक प्रभाव थाह नभए पनि निरभलाई यो मन्त्र सिकेकोमा निकै गर्व छ। ‘मलाई यो मन्त्र मन पर्छ, मन्त्र उच्चारण गर्दा राम्रो महसुस हुन्छ’, कनि कुथी निरभले नेपालीमा जवाफ दिए।

उमेरले जम्मा १२ लागेका प्रभाश दवाडीलाई त हनुमान चालिसा पनि कण्ठस्त छ। यो क्याम्पमा प्रभाशले हनुमान चालिसा सिकेका होइनन तर पनि क्याम्पले अरू अनुसासन सिकाएको उनले बताए।

यो समर क्याम्पले स- साना नानीहरू भन्दा उनीहरूका अभिभावक बढी उत्साही देखिन्छन्। ‘इलेक्ट्रोनिकस’ हरुमा समय बिताउनुभन्दा नेपाली समर क्याम्पमा गएर नेपाली भाषा र संस्कृतिका बारेमा केही सिक्छन् भन्ने बुझाई अधिकांश अभिभावकको छ।

आफ्नी छोरीलाई क्याम्पमा ‘ड्रप’ गरी सके पछि स्थानीय संचारकर्मी रामचन्द्र भट्टले फेसबुक वालमा आफ्नो भावना यसरी सार्वजनिक गरे ‘आजदेखि छोरीको यातनाबाट मोबाइल, कम्प्युटर, ट्याबलेट, टिभीले कम्तीमा ८ घण्टा भए पनि मुक्ति पाउने भए। ग्याजेटबाट मुक्ति र हिन्दु धर्म दर्शनबारे कमसेकम सिकुन् भनेर कक्षामा पुर्‍याएर आईयो।

भट्टसँग सहमत नहुने सायदै कोही होलान्।

नेपालबाट सात समुन्द्र पारिरहे पनि यहाँका नेपाली सन्ततिहरुमा आफ्नो दर्शन, संस्कृति र परम्परासंग परिचित गराई राख्न यो क्याम्पको आयोजना गरिएको क्याम्पका एक मुख्य अभियन्ता स्थानीय समाजसेवी डाक्टर मुरली अधिकारीले सेतोपाटीलाई बताए। हरेक दिन बिहान देखि साँझ सम्म क्याम्प मा नै समय बिताउने अधिकारी स्थानीय समुदायको उत्साहपूर्ण सहभागिताले थप हौंसिएका छन्। ‘नेपाली समाज टेक्ससको इतिहासमा पहिलो पटक यति ठूलो सङ्ख्यामा बालबालिकाहरु को उपस्थिति नै हाम्रा लागि गौरबमय हो,’ अधिकारीले भने।

अझ महत्त्वपूर्ण भनेको त आज भन्दा दश वर्ष पहिले यस्तै क्याम्पमा पहिलो पटक आएका विद्यार्थीहरू नै यो पाला ‘लिडर’ का रूपमा क्याम्प सघाई रहेका छन्। १७ वर्षीय कृतिमा लामिछानेलाई दश वर्ष अघि उनका माता पिताले पहिलो पटक नेपाली समर क्याम्पमा ल्याउँदा उनले यसको महत्त्व केही बुझेकी थिइनन्। ‘तर आज आएर नेपाली भाषा, संस्कार र संस्कृति सिकेकोमा गर्व लाग्छ, म विश्वको कुनै पनि कुनामा बसे पनि नेपाली हुँ भन्दा खुसी लाग्छ र यस्तै क्याम्पहरुले यो भावनाको विकास गरेका हुन्’, कृतिमाले आफ्नो भावना एकै सासमा पोखिन्। आफ्नो नेतृत्वमा क्याम्पका धेरै गतिविधिहरू सञ्चालित गरिरहेकि कृतिमा डालसको नेपाली समाज प्रति कृतज्ञ छिन् , भन्छिन् –‘समाजले हामीहरुलाई आफ्नो संस्कृतिका बारेमा सिकाएर नेपालसँग जोडेर राखेको छ र त्यस अर्थमा हामी धेरै भगवानी छौ।’

नेपाली समाज टेक्सासले सञ्चालन गरिरहेको नेपाली पाठशालामा नै नेपाली भाषा र संस्कृति सिकेकी २२ वर्षीय आयिशा ओझाको बुझाइमा यो खाले समर क्याम्पहरु अन्य राज्य र सहरका नेपाली समुदायले पनि गर्न आवश्यक छ। समर क्याम्पकि अर्की ‘लिडर’ आइशा भन्छिन् –‘ठूलो उमेरका नेपाली बालबालिकाहरु आफ्नो घर भित्र र घर बाहिरको फरक

संस्कारले बढी कन्फ्युज छन्, अंग्रेजी र नेपालीमा राम्रो दख्खल राख्ने गुरुको कारणले त्यो कन्फ्युजन हट्न सक्छ।’

यस्ता क्याम्पमा आएर अलि ठूलो उमेरकाले आफ्ना भावनाहरू पनि सेयर गर्ने र यसले गर्दा उनीहरूमा आउन सक्ने मानसिक समस्या पनि समाधान हुने आइशाको बुझाई छ।

नेपाली समाज टेक्सासले यो समर क्याम्पको सुरुवात दश वर्ष पहिले गरेको थियो। हिन्दु बिद्या पिठ नेपालका संस्थापक डाक्टर चिन्तामणी योगीलाई नेपाल बाट ल्याएर पहिले पटक २००७ मा समर क्याम्प गरिएको थियो। पहिलो वर्षको उत्साहजनक सफलता पछि हरेक वर्ष गुरु योगीलाई प्रत्यक वर्ष अनुरोध गरी क्याम्पहरु सञ्चालन गरिए र त्यसको सिलसिला कर्मिकरुपमा पाँच सम्म चल्यो। तर विविध कारणले विगत पाँच वर्ष सम्म गुरुको अमेरिका भ्रमण मिलेन। यो पटक लामो समयको प्रतीक्षा पछि डालस नेपाली समाजले गुरु चिन्तामणीलाई पायो र क्याम्पको सञ्चालन गर्‍यो।

अमेरिका लगायत विश्वका विभिन्न मुलुकहरुमामा ‘भ्यालु बेस्ड एजुकेसन’ को महत्त्व देखाउदै हिँड्ने डाक्टर योगी अमेरिकाको डालस समुदाय सँग आफू भावनात्मकरुपमा जोडिएको बताउछन्। आफूले नै दश वर्ष अघि सिकाएका नानीहरुले आज ‘लिडरसिप’ गरेका देख्दा दङ्ग परेका डाक्टर योगी आफ्ना प्रबचनका क्रममा यसो भन्छन्’ परिवार र समाजको सही उपलब्धि भनेको योग्य र सक्षम सन्तति हो, त्यसैले आजका नानीहरूलाई हामीले सके सम्म हाम्रो संस्कार र मान्यता सहितको नैतिक शिक्षा सिकाउन अति नै जरुरी छ।’

आफ्ना सन्ततिहरुलाई सफल भन्दा पनि समुदाय योग्य र नैतिकवान बनाउन डाक्टर योगीको आग्रह छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.