ग्लोबल नेपाली
कैलाश घिमिरे ललितपुरको ग्वार्कोमा रहेको काठमाडौं कलेज अफ म्यानेजमेन्टमा स्ट्याटिस्टिक्स् (तथ्यांकशास्त्र) पढाउँथे। तत्कालीन राजा वीरेन्द्र शाहका कान्छा छोरा अधिराजकुमार निराजन पनि त्यही कलेज पढ्थे। तर कक्षामा नियमित थिएनन्।
कक्षामा नआएर छुटेको कोर्स पढाउन दरबारमै जानुपर्थ्यो। दरबारबाट माग भए अनुसार कलेजले कैलाशलाई पठाएको थियो।
'कलेज नआएर छुटेको पाठ दरबारमै गएर पढाउनुपर्थ्यो। कलेजले पठाएपछि दरबारले आवश्यक प्रबन्ध गर्थ्यो,' कैलाशले भने, 'गएको दिनमा तीन–चार घण्टा पढाउनुपर्थ्यो।'
यसरी उनले निराजनलाई दुई महिना पढाए।
उनी सातामा तीन–चार दिन दरबार जान्थे। उनलाई लिन दरबारले उनकै घरमा सेनाको गाडी पठाउँथ्यो। गाडी घरअगाडि आएर रोकिन्थ्यो। उनी तयार भएर आएपछि चालक ढोका खोल्थे दरबारिया बोलीमा 'बसिबक्स्योस्' भन्थे।
गाडीमा चालकका साथ सधैं अर्का एक जना पनि हुन्थे। कैलाशलाई किन दुई जना आएका होलान् भन्ने लाग्थ्यो तर कहिल्यै सोधेनन्। दरबारभित्र जाँदा टोपी लगाउनै पर्ने नियम थियो तर कैलाश टोपीमा अभ्यस्त थिएनन्। उनका लागि चालकले गाडीमै एउटा ढाका टोपी राखिदिएका हुन्थे। उनको आउजाउ जय नेपाल सिनेमा हलतिरबाट हुन्थ्यो। दक्षिण ढोका पुग्ने बेलामा चालकले टोपी लगाउन भन्थे।
गेटबाट प्रवेश गर्ने प्रक्रिया उनीहरूले नै मिलाउँथे। तीन ठाउँमा सुरक्षा जाँच भएर मात्र आफू पुग्नुपर्ने ठाउँमा जाने अनुमति हुन्थ्यो। भवनमा पुगेपछि बाहिर निराजनका सुरक्षाकर्मी (एडिसी) लिन आउँथे, नआउन्जेल कुर्नुपर्थ्यो।
'बोहोरा थरका ती एडिसीले मलाई निराजन भएको कोठामा पुर्याउँथे। मेरो विचारमा त्रिभुवन सदन हुनुपर्छ,' कैलाशले ती दिन सम्झिँदै भने, 'म पुग्नुअघि नै निराजन तयार भएर बसेका हुन्थे। ध्यान दिएर पढ्थे।'
२०५८ जेठ १९ गते। निराजनले कलेजमा ब्याक–पेपर (अनुत्तीर्ण विषय) को परीक्षा दिएका थिए। त्यस दिन सो विषयमा निराजन मात्र परीक्षार्थी थिए। परीक्षा निरीक्षक थिए कैलाश।
'त्यही रात दरबार हत्याकाण्ड भयो,' कैलाशले भने।
उनका अनुसार हत्याकाण्डको भोलिपल्ट दरबारमा काम गर्नेहरूलाई शव देखाउन सैनिक अस्पताल छाउनीमा बोलाइएको थियो। कैलाश पनि गए। पालभित्र राजा वीरेन्द्र, रानी ऐश्वर्य, निराजन, श्रुति र राजपरिवारका अन्य सदस्यहरूको शव लहरै राखिएको थियो। युवराज दीपेन्द्र भने उपचारमै थिए।
'साह्रै नरमाइलो लाग्यो,' उनले सुनाए।
लमजुङमा जन्मिएका कैलाश अहिले अमेरिकामा छन्। उनी जर्जिया साउथ–वेस्टर्न स्टेट युनिभर्सिटीमा गणितका प्रोफेसर हुन्।
उनले उक्त युनिभर्सिटीमा पढाएको १८ वर्ष भयो। केही वर्ष गणित डिपार्टमेन्ट हेड (विभागीय प्रमुख) भएर पनि काम गरे। असिस्टेन्ट प्रोफेसर पदबाट पढाउन सुरू गरेका उनी प्रोफेसर भएको ६ वर्ष भयो।
कैलाश पढाइकै सिलसिलामा अमेरिका गएका थिए। त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको पढाइ पूरा गरेपछि काठमाडौं विश्वविद्यालयबाट एमफिल गरेका थिए। त्यसपछि पिएचडी (विद्यावारिधि) का लागि सन् २००२ मा अमेरिका गए। उतै पढाउन थाले।
'त्यस बेला देश सशस्त्र द्वन्द्वमा थियो। कतिपयले त सुरक्षाका लागि पनि देश छाड्नुपर्ने अवस्था थियो। म चाहिँ पिएचडीकै लागि आएको थिएँ,' उनले भने, 'मेरा आफन्तहरू अमेरिकामा हुनुहुन्थ्यो। सजिलो हुने भएकाले मैले अमेरिका रोजेँ।'
उनका अनुसार अन्य विषयको तुलनामा गणितमा पिएचडी गर्न अमेरिका जाने नेपालीको संख्या कम हुन्छ। हाल गणितमा पिएचडी गरेका करिब दुई सय जना नेपाली अमेरिकामा भएको उनको अनुमान छ।
यीमध्ये धेरैजसो व्यक्ति विश्वविद्यालयमा पढाउँछन्। कोही रिसर्च (अनुसन्धान) को काममा छन् त कोही उद्योगमा काम गर्छन्।
कैलाशले पढाउने विश्वविद्यालयमा करिब चार हजार विद्यार्थी छन्। अन्य विषयको तुलनामा गणितमा विद्यार्थी निकै कम छन्।
'अमेरिकामा पनि गणित गाह्रो विषय हो भन्ने भ्रम छ। त्यसले गर्दा धेरै रूचि भएका विद्यार्थी मात्र गणित पढ्छन्,' उनले भने।
उनी आफ्नो विश्वविद्यालयका विद्यार्थीहरू लिएर हरेक दुई वर्षमा नेपाल आउँछन्।
'स्टडी अब्रोड भन्ने एउटा कोर्स हुन्छ, त्यसैअन्तर्गत उनीहरूलाई लिएर आउँछु। उनीहरूले नेपालको संस्कृति, इतिहास लगायत विषय पढ्नुपर्छ,' उनले भने।
पछिल्लो पटक विश्व सम्पदा सूचीमा रहेका नेपाली सम्पदाको अवलोकन तथा अध्ययनका लागि विद्यार्थीहरू लिएर आएको र उद्देश्य पूरा भएपछि फर्केको उनले बताए।
त्यसरी आउने विद्यार्थीले सेवाको काम पनि गर्नुपर्ने नियम हुन्छ। पछिल्लो पटकका विद्यार्थीहरूले बन्दिपुर नजिकैको विष्णु माध्यमिक विद्यालयमा केही समय काम गरे।
त्यसरी आउने विद्यार्थीहरूले आफ्नो सेवा क्षेत्रमा केही आर्थिक सहयोग पनि गर्छन्।
'फर्केर गएपछि विद्यार्थीहरूले आफ्नो अध्ययन र सेवाबारे प्रस्तुति दिनुपर्छ। यस्तो प्रस्तुति सुन्न अतिथिहरू पनि निम्त्याइका हुन्छन्,' कैलाशले भने, 'यसबाट विदेशीहरूलाई नेपालबारे जानकारी हुन्छ।'
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com