ग्लोबल नेपाली
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सम्हालेलगत्तै आप्रवासीहरूका लागि कडा नीति लिएका छन्।
ट्रम्प प्रशासनले गैरकानुनी तरिकाले बसेका आप्रवासीहरूलाई डिपोर्ट समेत गरिसकेको छ। गैरकानुनी तरिकाले बसेकालाई मात्र होइन, कानुनी रूपमै बसेका र स्थायी बसोबासको अनुमति पाएकाहरू समेत कतिपय अवस्थामा डिपोर्ट हुन सक्छन्। तर अमेरिकाको आप्रवासनसम्बन्धी कानुन उल्लंघन नगरेकाहरू भने डराउन नपर्ने अमेरिकाको न्यूयोर्कमा रहेका कानुन व्यवसायी वासु फुलाराले बताए।
उनले ट्रम्प प्रशासनको आप्रवासन नीति अन्तर्गत ग्रीन कार्ड होल्डरहरूले विदेश यात्रा गर्दा विशेष सावधानी अपनाउनु पर्ने बताए। विदेश यात्रा गर्नुअघि ध्यान दिनुपर्ने केही कुराहरूलाई उनले सुझाएका छन्।
चोरी, ठगी, घरेलु हिंसा, लागूपदार्थ तस्करी, हतियार अपराध, हत्या वा यौनजन्य हिंसा जस्ता गम्भीर अपराधमा संलग्न ग्रीन कार्ड होल्डरहरू देश निकाला हुन सक्ने भन्दै उनले पाँच वर्ष वा सोभन्दा बढी सजाय हुने गरी एकभन्दा बढी फौजदारी मुद्दाहरू भएमा पनि अमेरिका छिर्न प्रतिबन्ध लाग्ने बताए।
फुलाराका अनुसार लगातार छ महिनाभन्दा बढी समय विदेशमा बसेमा स्थायी बसोबास त्यागेको ठहर हुन सक्छ। यदि कुनै ग्रीन कार्ड होल्डर एक वर्षभन्दा बढी विदेशमा बस्छन् र पुनःप्रवेश अनुमति छैन भने उनीहरूले आफ्नो स्थायी बसोबासको अधिकार गुमाउन सक्छन्।
'यदि नागरिकता वा ग्रीन कार्ड नवीकरणको निवेदन विचाराधीन छ भने, विदेश यात्रा गर्दा जटिलता आउन सक्छ, ढिलाइ हुन सक्छ, वा पुन:प्रवेशमा समस्या हुन सक्छ,' उनले भने, 'ग्रीन कार्ड होल्डरहरूले अमेरिकाको बासिन्दाको रूपमा कर तिर्नु पर्दछ र आफ्नो आम्दानी रिपोर्ट बुझाउनु पर्छ। यदि कर नतिरेमा वा गैर-निवासीको रूपमा झुटो दाबी गरेमा, उनीहरू देश निकालाको प्रक्रियामा पर्न सक्छन्।'
सार्वजनिक सुविधाहरूको दुरूपयोग गरेमा वा झुटो विवरण दिएमा समेत देश निकाला प्रक्रियालाई निम्त्याउन सक्ने उनले बताए।
उनका अनुसार भिसाको अवधि नाघेर बसेका, आप्रवासन निवेदनमा झुटो विवरण दिएका, वा अमेरिकी नागरिकता झुटो रूपमा दाबी गरेका व्यक्तिहरूलाई पुन:प्रवेशमा समस्या हुन सक्छ। धेरै वर्ष अगाडि कानून उल्लंघन गरेको रहेछ भने पनि कारबाही हुनसक्छ। त्यस्तै, अमेरिकाको विशेष निगरानीमा रहेका देशबाट आउनेहरूलाई समेत विशेष कडाइ हुन सक्ने उनले बताए।
'यदि कसैको सशर्त ग्रीन कार्ड सकिएको छ र I-551 स्ट्याम्प मात्र प्रमाणको रूपमा छ भने पुन:प्रवेश चुनौतीपूर्ण हुन सक्छ। विशेष गरेर यात्रा गरिरहेको व्यक्तिविरूद्ध हटाउने प्रक्रिया (removal case) चलिरहेको छ वा Notice to Appear (NTA) जारी गरिएको छ भने, सीमा अधिकारीहरूले प्रवेश नदिन सक्छन् वा थप कारबाहीका लागि होल्डमा राख्न सक्छन्,' उनले भने, 'यदि सशर्त ग्रीन कार्डको निवेदन अस्वीकृत हुन्छ भने, I-551 स्ट्याम्प वैध रहे पनि, व्यक्ति कानुनी रूपमा स्थायी बसोबासको लागि योग्य मानिँदैन। सीमा अधिकारीहरूले यो पत्ता लगाएर पुन:प्रवेश अस्वीकार गर्न सक्छन् भने तत्काल देश निकाला प्रक्रिया अगाडि बढ्न सक्छ। यस्तो अवस्थामा, यात्रु हिरासतमा पर्न सक्छन् वा अदालतमा मुद्दा लड्नुपर्ने हुन सक्छ।'
त्यसैले आप्रवासनसम्बन्धी कुनै समस्या भएमा कानुन व्यवसायीसँग परामर्श लिनुपर्ने, ग्रीन कार्ड वा पुनःप्रवेश अनुमति साथामा राख्नुपर्ने फुलाराको भनाइ छ। लामो समयसम्म अमेरिका बाहिर बस्न नहुने वा बसेमा अनुमति सुनिश्चित गर्नुपर्ने भन्दै उनले सीमा अधिकारीहरूसँग इमानदार र सचेत भएर रहनुपर्ने उनको सुझाव छ।
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com