केही समययता अमेरिकाको टेक्सस राज्यमा नेपाली विद्यार्थीहरूको चाप बढ्दै गएको छ।
'नेपाली समाज, टेक्सस' का महासचिव विजय भुसालका अनुसार नेपालबाट विभिन्न राज्यमा अध्ययनका लागि भिसा पाएका विद्यार्थीहरू बिस्तारै टेक्ससतिर सर्दैछन्।
'अन्य ठाउँको भिसामा आएका धेरै विद्यार्थी ६ महिनापछि टेक्सस पुग्छन्। यसले गर्दा डालास फोर्ट वर्थ (डिएफडब्लु) क्षेत्रमा विद्यार्थीको चाप बढेको छ,' उनले सेतोपाटीसँग भने।
बढ्दो चापकै कारण टेक्ससका युनिभर्सिटीहरूमा सबै विद्यार्थीले काम पाउन सक्ने अवस्था छैन।
'माग कम छ, आपूर्ति बढी भयो। विद्यार्थीहरूले गर्न मिल्ने काम पाउन समस्या परेको छ,' उनले भने।
अमेरिकाको कानुन अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीले युनिभर्सिटी वा कलेजमा पढाइ चलिरहेको समयमा हप्ताको २० घण्टा र बिदाको समयमा हप्ताको ४० घण्टा काम गर्न पाउँछन्।
विद्यार्थीले युनिभर्सिटी तथा कलेजभित्र मात्रै काम गर्न पाउँछन्। अन्य रोजगारीदाता वा व्यावसायिक प्रतिष्ठानमा गर्न पाउँदैनन्। युनिभर्सिटीकै लाइब्रेरी, रेसिडेन्ट हल, कन्फरेन्स हल, किचेन लगायतमा काम गर्न पाउँछन्। यस्तो कामको कोटा सीमित हुन्छ। थोरै समयको कामले विद्यार्थीहरूलाई पैसाको समस्या पर्ने गरेको विजयको भनाइ छ।
गैरआवासीय नेपाली संघ (एआरएनए), राष्ट्रिय समन्वय परिषद, अमेरिकाका अध्यक्ष अर्जुन बञ्जाडे पनि विद्यार्थीको चाप अत्यधिक हुँदा डिएफडब्लु क्षेत्रमा कलेजभित्र काम अभाव हुन थालेको बताउँछन्।
कामको अवसर कम भएपछि कतिपय विद्यार्थीहरू चिन्तामा परेका छन्। खासगरी अन्डरग्र्याजुएट विद्यार्थीले यस्तो समस्या बढी झेल्नुपरेको छ।
'अमेरिकाका कलेजहरूले अन्डरग्र्याजुएट विद्यार्थीलाई छात्रवृत्ति दिँदैनन्,' अर्जुनले भने, 'धेरै विद्यार्थी आफै कमाएर खर्च धान्न सक्छु भनेर आएका हुन्छन्। अहिले काम नपाएर समस्या भएको छ।'
यस्तो समस्या हुँदाहुँदै पनि किन नेपाली विद्यार्थीहरू अन्य सहर छाडेर टेक्सस जाँदैछन् त?
पढाइकै लागि अमेरिका गएर लामो समयदेखि टेक्ससमै बसोबास गरिरहेका जीवन घिमिरेका अनुसार टेक्ससमा नेपाली समाज बाक्लो छ। अन्य धेरै सहरको तुलनामा टेक्सस सस्तो पनि छ।
'टेक्ससमा रोजगारीको अवसर पनि छ। अहिले विद्यार्थीको चाप बढेर उनीहरूका लागि अवसर कम भएको हो,' उनले भने।
जीवनका अनुसार अमेरिकाका राज्यहरूमध्ये सबैभन्दा धेरै नेपाली व्यवसायी रहेको पनि टेक्सस नै हो। भारतीय र पाकिस्तानी पनि प्रशस्त छन्। नेपाली, भारतीय र पाकिस्तानीहरू सक्षम व्यवसायीका रूपमा चिनिएका छन्। यस हिसाबले पनि टेक्सस नेपाली विद्यार्थीको रोजाइमा परेको छ।
टेक्ससमा नेपाली समुदायको ठूलो सांस्कृतिक र आध्यात्मिक केन्द्र पनि बन्दै छ। यस्ता विविध कारणले विद्यार्थी मात्र होइन, अन्य नेपालीहरू टेक्ससमै बस्न चाहेको उनले बताए।
अमेरिका नेपाली विद्यार्थीको निकै आकर्षक गन्तव्य मुलुक हो। हरेक वर्ष ठूलो संख्यामा नेपाली विद्यार्थी अमेरिका जाने गरेका छन्।
अमेरिकाको तथ्यांक विभागका अनुसार सन् २०२२/२३ मा १५ हजार ९० जना नेपाली विद्यार्थी अमेरिका पुगेका थिए। सन् २०२४ मा ९ हजार २०० जना पुगे।
धेरै विद्यार्थी अमेरिका पठाउने मुलुकमध्ये नेपाल एघारौं स्थानमा छ।
नेपालबाट प्रत्येक वर्ष औसतमा १० हजार विद्यार्थी अमेरिका जान्छन्। शिक्षा मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा ११ हजारभन्दा धेरै विद्यार्थीले अमेरिका जान अनुमतिपत्र (एनओसी) लिएका थिए।
यसरी जानेमध्ये स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीको संख्या तुलनात्मक रूपमा थोरै हुन्छ। धेरैजसो विद्यार्थी नेपालमा १२ कक्षा पूरा गरेर अन्डरग्र्याजुएट तह पढ्न जाने गरेका छन्।
यस्ता विद्यार्थी अध्ययनका लागि अमेरिका पठाउँदा अभिभावकहरू संयमित हुनुपर्ने गैरआवासीय नेपाली संघ (एआरएनए), राष्ट्रिय समन्वय परिषद, अमेरिकाका अध्यक्ष अर्जुन बञ्जाडेको भनाइ छ।
अमेरिका गएपछि काम पाइन्छ र काम गरेरै पनि पढाइ खर्च जुटाउन सक्छन् भनेर छोराछोरी नपठाउन उनको सुझाब छ।
'युनिभर्सिटीमा काम नपाउँदा कतिपय विद्यार्थी बाहिर समेत काम गर्न बाध्य हुन्छन् तर त्यसरी काम गर्नु गैरकानुनी हुन्छ। जुनसुकै दिन समस्या पर्न सक्छ,' उनले भने।
कतिपय विद्यार्थीले काम गर्ने प्रक्रिया थाहा नपाएर पनि दुःख पाउने गरेका छन्। रोजगारीदाताबाट 'अफर लेटर' पाएपछि बाहिरको कामका लागि बाटो खुल्ने नेपाली समाज, टेक्ससका महासचिव विजय बताउँछन्।
'अफर लेटर हेरेर सोसल सेक्युरिटीका लागि युनिभर्सिटीले नै सहयोग गर्छ। त्यसपछि सोसल सेक्युरिटी कार्ड बन्छ र 'इन्टरनल रेभेन्यु सर्भिस' मा दर्ता हु्न्छ। यसरी गरेको काम मात्र वैधानिक हुन्छ,' उनले भने।
नेपाली समाज, टेक्ससले नेपाली विद्यार्थीहरूलाई यस सम्बन्धी जानकारी पनि गराउने गरेको उनले बताए। अप्ठ्यारोमा परेका विद्यार्थीहरूका लागि विभिन्न संघसंस्थाको सहयोगमा राहत उपलब्ध गराउने गरेको पनि जीवनको भनाइ छ।