ग्लोबल नेपाली
सात समुद्रपारिको विकसित मुलुकमा पेसा-व्यवसाय र बसोबास हुँदैमा आफ्नो मातृभूमि कहाँ बिर्सिँदो रहेछ र!
यही कारणले त २० वर्षअघि अमेरिका पुगेका चिकित्सक ईशान अधिकारी उतैबाट पनि नेपालमा बिरामीको उपचार गर्दैछन्। उनी एपिलेप्सी (छारे रोग), न्युरोमस्कुलर डिसअर्डर र अटोनमिक डिसअर्डर रोगका विशेषज्ञ हुन्। हाल उनी युनिभर्सिटी अफ टेक्ससमा अध्यापन गर्छन्।
यसअतिरिक्त 'हेल्थ कर्पोरेसन, अमेरिका' र अर्को एक संस्थामा आबद्ध भएर काम गरिरहेका छन्। उनी नेपालमा एमबिबिएस (चिकित्सा शिक्षामा स्नातक तह) पढाइ पूरा गरेर 'हेल्थ केयर म्यानेजमेन्ट' विषयमा एमएसएस (स्नातकोत्तर) पढ्न अमेरिका गएका थिए।
डा. ईशानका अनुसार त्यो समय नेपालका लागि हेल्थ केयर म्यानेजमेन्ट एकदमै नयाँ कुरा थियो। यसबारे नयाँ अवधारणा आएकै थिएन। एमएसएस गर्ने क्रममा उनले अमेरिकाका ठूल्ठूला अस्पतालमा काम गर्ने मौका पाए। त्यसबाट धेरै अनुभव हासिल गरे।
उनले भने, 'नेपालमा पढेको मेडिकल डिग्रीका आधारमा हेल्थ केयर डेलिभरी सम्बन्धी काम गर्ने मौका पाएँ। धेरै ठाउँको अनुभव भयो।'
अमेरिकामा डाक्टरलाई दिइने तालिम र त्यहाँको पढाइले उनी लोभिए। त्यसपछि उनले विशेषज्ञता हासिल गरे। पढाइ पूरा भएपछि युनिभर्सिटी अफ टेक्ससमा एसोसिएट प्रोफेसर भएर पढाउने अवसर पाए। हाल उनी अमेरिकाका विभिन्न अस्पतालमा स्ट्रोक, न्युरोमस्कुलर डिसअर्डरलगायत समस्यका भएका बिरामी हेर्छन्। युनिभर्सिटी अफ टेक्ससमा एसोसिएट प्रोफेसर छन्।
उनीसहितको टिमले नेपालमा एउटा क्लिनिक चलाएको छ। क्लिनिकको नाम 'मेधर्मा' राखेका छन्। यो क्लिनिकमा विभिन्न विधाका चिकित्सकहरू कार्यरत छन्।
'अमेरिकाका सहकर्मीको सहयोग र आफ्नो अनुभवका आधारमा काठमाडौंमा एपिलेप्सी (छारेरोग) मा केही काम गरियो। नयाँनयाँ औषधि पनि आउन थाल्यो,' उनले भने, 'अहिले मेरो यात्रा नेपालबाट अमेरिका र अमेरिकाबाट नेपाल हुँदै चलिरहेको छ।'
उनले नेपालमा छारेरोगसम्बन्धी धेरै समस्या देखेका छन्। आफूले देखेका समस्या समाधानका लागि मद्दत पुर्याउनु पनि उनको उद्देश्य हो। उनका अनुसार औषधि खाएरै छारेरोग रोग नियन्त्रण हुन्छ। मात्रा मिलाएर ठिक तरिकाले औषधि खाँदा साइड इफेक्ट पनि निकै कम हुन्छ। नेपालमा पनि नयाँ औषधिहरू उपलब्ध छन्।
छारेरोगको उपचारमा सर्जिकल प्रक्रिया (शल्यक्रिया) पनि सुरू भएको उनले बताए। यस सम्बन्धमा अमेरिका र युरोपमा प्रयोग भइरहेको प्रविधि चाँडै नेपाल आइपुग्ने उनको विश्वास छ।
विश्व स्वास्थ्य संगठनले विश्वका हरेक मुलुकको एक प्रतिशत जनसंख्यामा छारेरोगको समस्या रहेको देखाएको छ। यो रोग धेरै प्रकारको हुन्छ। प्रारम्भिक अवस्थामा रोग पहिचान र उपचार निकै कठिन हुन्छ। नेपालमा प्रयोग हुन सक्ने पछिल्लो प्रविधि र नयाँ औषधिले धेरै बिरामीको जिन्दगी सुधार हुने देखेकाले यसमा काम गर्न मन लागेको उनको भनाइ छ।
![dr-ishan-adhikari3-1738831759.jpeg](https://www.setopati.com/uploads/posts/dr-ishan-adhikari3-1738831759.jpeg)
न्युरोमस्कुलर डिसअर्डरमा पनि उनको विशेषज्ञता छ। बालबालिकामा हातखुट्टा सुक्दै जाने समस्या न्युरोमस्कुलर डिसअर्डर अन्तर्गत मस्कुलर डिस्ट्रोफी हो। उनका अनुसार यस रोगमा औषधिको निकै कमी छ। पछिल्लो समय भने औषधि विकास हुने क्रम बढ्दै छ।
नेपालमा न्युरोमस्कुलर डिसअर्डर सम्बन्धी जनचेतना बढाउन पनि आफूले काम गरिरहेको उनले बताए।
डा. ईशान 'अटोनमिक डिसअर्डर' का समेत विशेषज्ञ हुन्। उनी यस रोगको उपचारका लागि पनि नेपालमा काम गर्दै छन्। मेधर्मा क्लिनिकमा यसको मेसिन चाँडै ल्याउने पहल भइरहेको उनले बताए।
उनी अमेरिकाका अस्पतालमा बिहान ड्युटी गर्छन्। त्यहाँ रात परेपछि नेपालको मेधर्मा क्लिनिकमा आएका बिरामी उतैबाट बिरामी हेर्छन्।
'अमेरिकामा बिहानको ड्युटी सकिएपछि साँझ खाली हुन्छु। साँझ ७ बजेतिर नेपालको क्लिनिकका लागि तयार भइसकेको हुन्छु। म अमेरिकाको समयमा राति ८ बजेदेखि साढे १२ बजेसम्म नेपालका बिरामी हेर्छु,' उनले भने।
यस्तो सेवाका लागि उनलाई नेपालमा सहकर्मी चिकित्सकहरूले सहयोग गर्छन्। उनी टेलिमेडिसिन सेवा दिन्छन्। अमेरिकामै बसेर नेपालमा सेवा गर्न उनलाई एआई र अन्य आधुनिक प्रविधिले सहज भएको छ। अमेरिकामा हासिल गरेको अनुभव नेपालमा काम लागेको छ।
'प्रभावकारी ढंगले काम गर्न आफूलाई सधै अपडेट गरिरहनुपर्छ। नयाँनयाँ प्रविधिको विकास भइरहेको छ। नयाँ प्रविधिले आफ्नो ज्ञान र सीप बढाउन मद्दत पुगेको छ,' उनले भने, 'अहिलेको सूचनाप्रविधि कति रमाइलो छ भने अमेरिकामा भएका अध्ययनहरू म नेपालमै पनि कम्प्युटरमा लगइन गरेर पढ्छु। काममा चुनौती छ तर हामी गर्न सक्छौं।'
टेलिमेडिसिन सेवा जति बढायो त्यति नै नेपालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय सेवा दिन सक्ने उनको विश्वास छ। उपचारमा अमेरिकी प्रविधि र सीप भित्र्याउन पनि आफूले प्रयास गरिरहेको उनले बताए।
उनका अनुसार अमेरिकामा नेपाली चिकित्सक ठूलै संख्यामा छन्। तीमध्ये अधिकांश चिकित्सकमा आफ्नो देशका लागि कुनै न कुनै हिसाबले सहयोग गरूँ भन्ने भावना छ। यसबाट नेपालले फाइदा लिनसक्ने ठाउँ उनले देखेका छन्।
टेलिमेडिसिन सेवा काठमाडौंसँगै अन्य सहरी क्षेत्रमा पनि विस्तार गर्न सके बिरामीहरूले सहजै उपचार पाउने थिए, सामान्य रोगको उपचारका लागि काठमाडौं धाउनुपर्ने थिएन भन्ने उनलाई लागेको छ।
'म मेरो क्लिनिक (मेधर्मा) मा आएका बिरामीबारे मेरा सहयोगीसँग पहिल्यै कुरा गर्छु। त्यसपछि बिरामीसँग कुरा हुन्छ,' उनले भने, 'म कम्प्युटरमा हुन्छु। डाक्टरसाबहरू त्यहाँ (नेपालमा) हुनुहुन्छ। यसरी सजिलै उपचार गर्न सकिन्छ।'
जटिल किसिमका रोगको उपचारमा पनि बिरामीलाई विश्वास हुने गरी नेपालमै काम गर्ने आफ्नो योजना रहेको उनको भनाइ छ।
'प्रविधिका कारण अमेरिकामा चिकित्सकहरूलाई आफ्नो काममा धेरै सजिलो छ। नेपालमा पनि त्यस्ता प्रविधिहरू बिस्तारै आउँदैछन्,' डा. ईशानले भने, 'नेपालमा चिकित्सकहरू क्वालिफाइड (दक्ष) हुनुहुन्छ तर क्वालिफाइड भएर मात्रै पनि हुँदैन; प्रविधि हुनुपर्छ, देशको सिस्टम राम्रो हुनुपर्छ। यसो भयो भने चिकित्सक पलायन हुनु पर्दैन।'
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com