ग्लोबल नेपाली
सन् २००० मा अमेरिका गएका चन्द्र गिरी अहिले अमेरिकाको 'ड्युक युनिभर्सिटी' मा प्राध्यापक छन्। हाल उनी समुद्र किनारमा हुने जंगल (म्याङग्रोभ फरेस्ट) को अनुसन्धानमा संलग्न छन्।
चन्द्रका अनुसार उनको नेतृत्वमा सन् २०११ मा विश्वभर म्याङग्रोभ फरेस्टको अनुसन्धान भएको थियो। त्यस किसिमको अनुसन्धान पहिलो पटक भएको उनको दाबी छ।
उनको टोली जंगल, जमिन र कृषिबारे अध्ययन–अनुसन्धानको काम गर्छ।
हाल उनी वातावरण संरक्षण सम्बन्धी अमेरिकी निकाय इन्भाइरोंमेन्टल प्रोटेक्सन एजेन्सी (इपिए) को अफिस अफ रिसर्च एन्ड डेभलपमेन्टमा वरिष्ठ सल्लाहकारका रूपमा कार्यरत छन्।
अमेरिका जानुअघि उनले आठ वर्ष थाइल्यान्डमा काम गरे। थाइल्यान्डबाटै कोलम्बिया युनिभर्सिटीमा आवेदन गरे। अनुसन्धान वैज्ञानिकका रूपमा अमेरिका गए। कोलम्बिया युनिभर्सिटीको काममा सन्तुष्ट हुन सकेनन्, छाडेर साउथ डाकोटा गए। त्यहाँ स्याटलाइट टेक्नोलोजी र स्याटलाइट इमेजमा काम गर्ने अवसर पाए।
उनले भने, 'साउथ डाकोटा संसारमा सबैभन्दा धेरै स्याटलाइट डेटा भण्डार भएको ठाउँ हो। मेरो रूचि अनुसारको काम पाएपछि न्यूयोर्क सहरबाट टाढा गएँ।'
उनी सन् २०१५ सम्म साउथ डाकोटामा रहे। त्यसपछि नर्थ क्यारोलिना पुगे। सन् २०१६ देखि इपिएमा कार्यरत छन्। इपिएमा रहेर उनले गर्ने काम जंगल, जमिन र कृषिसम्बन्धी अध्ययन–अनुसन्धान मुख्य हो।
'मेरो क्षेत्रमा काम गर्नेका लागि एपिए राम्रो ठाउँ हो। म जमिनको सतहभन्दा ८५० किलोमिटर माथिबाट विश्वको वातावरण निगरानी गर्छु,' चन्द्रले भने, 'दिनमा कम्तीमा एक पटक वा दुई पटकसम्म निगरानी हुन्छ। पहिला त दिनमै १५ पटकसम्म हुन्थ्यो। म हरेक दिन दुईपटक काठमाडौं म्यापिङ गर्छु।'
उनी नेपालको सहरीकरण र वनजंगल पनि अध्ययन गर्दै छन्। नेपालमा कृषिजमिन, जंगल र सहरीकरणबारे आफ्नो टोलीले निरन्तर म्यापिङ गर्ने गरेको उनको भनाइ छ। यसरी उनी विश्वभर जमिन प्रयोगमा भइरहेको परिवर्तन अध्ययन गर्छन्।
नेपालका मुख्य सहरी क्षेत्रमा चौतर्फी विकास हुँदै गएको र जंगल पनि बढ्दै गएको उनको विश्लेषण छ। उनका अनुसार पछिल्ला तथ्यांकले नेपालमा ठूल्ठूला भवन द्रुत गतिमा बन्दै गएको र वन निरन्तर बढ्दै गएको देखाउँछ।
'सामुदायिक वन अवधारणाले नेपालको वन क्षेत्र बढ्दै गएको हो। पहाडमा मात्र होइन, तराईमा पनि जंगल बढ्दै छ,' उनी भन्छन्, 'केही ठाउँमा घटेको पनि देखिन्छ तर समग्रमा बढेको छ।'
उनको अर्को मुख्य कार्यक्षेत्र समुद्र किनारको म्याङग्रोभ फरेस्टको अवस्था अध्ययन गर्नु हो। उनकै नेतृत्वको टोलीले विश्वभर म्याङग्रोभ फरेस्ट कति छ, कुन देशमा कति क्षेत्रफलमा छ र कस्तो अवस्था छ भन्ने अध्ययन गरेको छ।
सन् २०११ मा भएको अनुसन्धानमा एपिए, अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) र नासा संलग्न थिए।
'नासाको आर्थिक सहयोगमा हामीले अनुसन्धान गरेर जर्नल प्रकाशन गर्यौं। त्यो जर्नल निकै प्रख्यात भयो,' उनले भने।
अध्ययनले संसारभर म्याङग्रोभ फरेस्टको क्षेत्रफल एक लाख ३७ हजार वर्गकिलोमिटर रहेको देखायो। यो क्षेत्रफल पहिलो पटक पत्ता लागेको उनको भनाइ छ। विश्वका ११७ देशमा यस्तो जंगल रहेको देखियो। क्षेत्रफलका हिसाबले सबैभन्दा धेरै (२३ प्रतिशत) इन्डोनेसियामा फेला पर्यो। दोस्रोमा अस्ट्रेलिया र तेस्रोमा ब्राजिल देखिए।
सन् २०११ पछि म्याङग्रोभ फरेस्टको विश्वव्यापी अध्ययन भएको छैन। भारत, श्रीलंका, बंगलादेश, म्यानमार र अन्य केही देशमा भने अध्ययन भएको छ। अधिकांश समुद्र किनार पर्यटकीय क्षेत्र हुन्छ। त्यहाँ जग्गा निकै महँगो हुने भएकाले म्याङग्रोभ फरेस्ट जोखिममा परेको हुन्छ।
'सन् २०११ को अनुसन्धानबाट मात्रै म्याङग्रोभ फरेस्ट कति संरक्षणमा छ र कति खतरामा छ भन्ने जानकारी भएको हो। यसको महत्त्वबारे बिस्तारै जनचेतना बढ्दै गएकाले संरक्षणको क्रम पनि बढेको छ,' चन्द्र भन्छन्, 'कतैकतै यो जंगलको धार्मिक र सांस्कृतिक महत्त्व पनि छ। केही समुदायले यो जंगलको पूजा गर्छन्।'
म्याङग्रोभ फरेस्टले समुद्री छाल र ठूला तुफान रोकेर बस्ती बचाउन मद्दत गर्छ।
म्याङग्रोभ फरेस्ट समुद्र किनारको दलदले माटोमा हुन्छ। यसमा साना बिरूवादेखि निकै ठुल्ठुला रूखको घना जंगल हुन्छ।
चन्द्र संसारका १२६ देशमा पुगेका छन्। यीमध्ये अधिकांश मुलुकमा कृषि र जंगलको अध्ययन तथा तालिमका क्रममा पुगेका हुन्। पर्यटकका रूपमा पनि केही देश घुमेका छन्। हालसम्म उनका ६ वटा किताब र १२५ भन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशित छन्।
गीतसंगीतमा पनि उनको रूचि छ। आफूले लेखेको 'आऊ तिमी अँगालोमा...' बोलको गीत एक करोडभन्दा बढीले हेरेको–सुनेको उनले बताए।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com