विकसित मुलुक अमेरिकामा कार्डियाक सर्जरी (मुटुको शल्यक्रिया) पढाइ पूरा गर्ने, त्यहीँ काम सिक्ने र दक्ष भएपछि आफ्नै देश नेपाल फर्किने!
नेपाल फर्केर के गर्ने?
दुर्गम गाउँहरूमा सेवा गर्ने, त्यहाँका बिरामीको उपचार गर्ने र त्यस्ता ठाउँमा दक्ष चिकित्सक टिकाउने उपायहरू पहिल्याउने!
यही लक्ष्यका साथ अमेरिकामा 'कार्डियाक सर्जरी' पढ्दै छिन् नेपाली विद्यार्थी कृति मित्तल।
अमेरिका जानुअघि उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एमबिबिएस (चिकित्सा शिक्षामा स्नातक) पढिन्। त्यहीँ इन्टर्नसिप गर्ने क्रममा केही गाउँहरूमा पुग्दा उनले बिरामीको उपचारमा अनेक समस्या देखिन्।
काठमाडौंमा हुर्केबढेकी कृतिले ठूला र सुविधासम्पन्न अस्पतालहरू देखेकी थिइन्। गाउँमा कहाँ हुनु त्यस्ता अस्पताल! भएका कतिपय स्वास्थ्य चौकीमा प्राथमिक उपचारका लागि चाहिने जनशक्ति समेत नरहेको थाहा पाइन्।
आवश्यक न्यूनतम जनशक्ति नहुँदा ससानो स्वास्थ्य समस्यामै पनि कतिपयले ज्यान गुमाउनुपर्ने अवस्था देखिन्।
'गाउँमा एपेन्डिसाइटिसको अपरेसन (शल्यक्रिया) नहुँदा ज्यान गुमाएको देखेँ। अल्ट्रासाउन्ड गर्ने उपकरण छैन। सामान्य स्वास्थ्य समस्याले पनि साना बालबालिकाको ज्यान गएको थाहा पाएँ,' उनले भनिन्, 'यस्तो अवस्था देखेपछि मलाई हाम्रा गाउँहरू कति असहाय रहेछन् भन्ने लाग्यो।'
त्यही बेला कृतिको मनमा भविष्यमा गाउँका बासिन्दाको स्वास्थ्य सेवामा केही योगदान गर्ने विचार उत्पन्न भयो।
'गाउँमा सामान्य बिमारमा पनि उपचार गर्न सक्ने जनशक्ति छैन। चिकित्सक र स्वास्थ्यकर्मीहरू गाउँमा बस्नै नचाहने अवस्था छ,' उनी भन्छिन्, 'विकट गाउँमा पनि दक्ष जनशक्ति टिकाउने उपाय खोज्नुपर्छ भन्ने लाग्छ। म यसमा केही काम गर्न चाहन्छु।'
कृति हाल अमेरिकाको युनिभर्सिटी अफ कनेक्टिकटमा रेजिडेन्ट सर्जनका रूपमा पोस्ट ग्र्याजुएसन पढ्दै छिन्। उनी कार्डियाक सर्जरीमा फेलोसिपका लागि पनि तयारी गर्दै छिन्।
पढाइ पूरा भएपछि नेपाल फर्किने उनको योजना छ। यहाँ उनी विकट क्षेत्रमा सर्जन चिकित्सक टिकाउन अपनाउनुपर्ने उपाय पहिल्याउन चाहन्छिन्। चिकित्सकहरूलाई विकट क्षेत्रका गाउँमा बसेर काम गर्ने तालिम दिन चाहन्छिन्।
उनका अनुसार नेपालमा सर्जन महिलाको संख्या एकदमै कम छ। अझ कार्डियाक सर्जन महिलाको संख्या त नगन्य नै छ। यसकारण पनि उनले कार्डियाक सर्जन बन्ने बाटो रोजेकी हुन्।
'मैले चिकित्सकको धेरै सम्मान देखेँ। मैले पनि स्वास्थ्य क्षेत्रमै काम गर्ने लक्ष्य लिएँ। मान्छेको जीवन बचाउन सर्जनको भूमिका निकै महत्त्वपूर्ण हुन्छ भन्ने लाग्यो,' कृतिले भनिन्, 'कार्डियाक सर्जनको हातमा त मान्छेको धड्कन नै चलेको हुन्छ। यो धेरै ठूलो काम हो।'
कृति पढाइका लागि सन् २०२० जुलाइमा अमेरिका गएकी हुन्। कार्डियाक सर्जरी पढाइका लागि नेपालबाट जाने पहिलो महिला विद्यार्थी आफू नै रहेको उनको दाबी छ।
'अमेरिकामा सर्जरीमा भर्ना हुनै गाह्रो छ। यहाँ सर्जरी पढ्न मभन्दा अगाडि कोही पनि महिला आएको थिएन,' उनले भनिन्, 'अहिले पनि अमेरिकामा सर्जरी पढ्नेको संख्या निकै कम छ। यसमा नेपालबाट विद्यार्थी आउने क्रम केही बढेको छ।'
कृतिका अनुसार अमेरिकामा कार्डियाक सर्जरी पढाइका लागि १० हजार डलरसम्म खर्च हुन्छ। रेजिडेन्ट सर्जन भएपछि शुल्क तिर्नु पर्दैन। यस्तो विद्यार्थीले विश्वविद्यालयबाट भत्ता पनि पाउँछ। भत्ता सुविधासहित पोस्ट ग्र्याजुएसन पढ्न पाउँदा खुसी लागेको उनले बताइन्।
अहिले पढ्दै, सिक्दै उनले साताको ८० घण्टा काम गर्नुपर्छ। कुनै दिन त पूरै २४ घण्टा खट्नुपर्छ। यस्तो ड्युटीपछि आरामको समय पनि त्यति नै हुन्छ।
रेजिडेन्ट सर्जनका रूपमा काम गर्दाका प्रारम्भिक दिनमा बिरामीको ड्रेसिङ गर्ने, मुटुको धड्कन जाँच्ने, बिरामीको रिपोर्ट हेरेर अग्रज चिकित्सकलाई जानकारी गराउने काम हुन्थ्यो। आजकाल उनको धेरैजसो ड्युटी अपरेसन थिएटरमै हुन्छ।
'सिनियर हुँदै गएपछि अपरेसन थिएटरमा काम गर्नुपर्छ। जुनियरहरूलाई गाइड गर्नुपर्छ,' उनी भन्छिन्, 'अहिले सामान्य किसिमका केस बिमार म आफै हेर्छु।'
कहिलेकाहीँ आपतकालीन अवस्था पनि आउँछ।
केही दिनअघि उनी निकै जटिल एउटा अपरेसनमा संलग्न भइन्। बिरामी थिइन् ९६ वर्ष उमेरकी। उनी बाथरूममा लडिछन्, छात्तीमा चोट लागेछ। उपचार हुँदै गर्दा ती बिरामीलाई अचानक रक्तचाप ह्वात्तै घट्ने समस्या देखियो। चिकित्सक टिम तुरून्तै अपरेसन गर्ने निर्णयमा पुग्यो। निकै ठूलो जोखिम लिएर त्यति वृद्धाको अपरेसन भयो। बिरामी ठीक भइन्। बिरामीका परिवारमा छाएको खुसीले कृति पनि खुसी भइन्।
अहिलेसम्म उनी मेन्टरको सहयोगमा काम गर्दै थिइन्। केही दिनअघि मात्र मेन्टरबिना सबै काम गर्ने अभ्यास सुरू गरेकी छन्। अमेरिकामा मेहनती व्यक्तिलाई सबैतिरबाट राम्रो सहयोग र हौसला प्राप्त हुने उनको अनुभव छ।
कृतिको पारिवारिक पृष्ठभूमि व्यावसायिक हो। उनी चिकित्सक बन्नु, अझ कार्डियाक सर्जन बन्नु उनको परिवारमा अनौठो कुरा थियो। बुबाआमा उनलाई पनि व्यवसायमै देख्न चाहन्थे।
चिकित्सक नै बन्छु भनेपछि बुबाआमा र परिवारका सबै सदस्यबाट हौसला पाइन्।
'मेरा बाबा काठमाडौंमा व्यवसाय गर्नुहुन्छ। आमा घरमै हुनुहुन्छ। म परिवारसँग धेरै समय टाढा भइरहन सक्दिनँ,' उनी भन्छिन्, 'अहिले आफ्नो सपना पछ्याउने क्रममा अमेरिकामा छु। पढाइ सकेर काममा पोख्त भएपछि आफ्नै देश फर्किनेछु।'
कृतिका अनुसार अमेरिकामा पढेर सर्जन बन्न चाहने युवाहरूलाई कलेज छनोट र तयारी लगायतका विषयमा उचित मार्गदर्शन नहुँदा धेरै अनावश्यक दुःख पाएका छन्।
कोही कार्डियाक या जुनसुकै सर्जरी अध्ययनका लागि अमेरिकामा आवेदन गर्दैछ भने आफूले जानेबुझेको र भोगेको कुरा बाँड्न आफू तयार रहेको उनले बताइन्।
यस पक्षमा आफूले केही युवाहरूलाई सहयोग गरिरहेको पनि उनी बताउँछिन्।
उनी भन्छिन्, 'अमेरिका ठूलो देश छ। युनिभर्सिटी रोज्ने र तयारी गर्ने विषयमा मार्गदर्शन चाहिन्छ। गाइडेन्स नहुँदा मलाई पनि धेरै गाह्रो भएको थियो।'
सहयोग तथा सुझाव चाहनेले आफूलाई इमेल (kritti_mittal@hotmail.com) गर्न सक्ने उनले बताइन्।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्)
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com