अमेरिकाको जन्मदर इतिहासकै सबभन्दा न्यूनमा झरेको छ।
सन् २०२३ को जन्म प्रमाणपत्रको तथ्यांकको अध्ययन गरेर सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले बिहीबार प्रकाशित गरेको प्रारम्भिक विवरण अनुसार अमेरिकाको जन्मदर पनि उसको प्रमुख प्रतिद्वन्द्वी चीनको जस्तै घट्न थालेको छ।
द वाल स्ट्रिट जर्नलका अनुसार गत वर्ष अमेरिकाको कुल प्रजनन दर (एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाको संख्या) घटेर इतिहासकै सबभन्दा कम १.६१ पुगेको छ।
जनसंख्याको आधा हिस्सा ओगट्ने पुरूषले बच्चा नजन्माउने भएकाले जनसंख्यालाई घट्न नदिन जनसंख्याको अर्को आधा हिस्सा ओगट्ने महिलाले आफ्नो जीवनकालमा कम्तीमा दुई बच्चा जन्माउनु पर्छ। केही बच्चाको सानैमा मृत्यु हुने भएकाले जनसंख्या सन्तुलनमा राख्न (रिप्लेसमेन्ट रेट) का लागि एक महिलाले आफ्नो जीवनकालमा २.१ बच्चा जन्माउनुपर्ने विज्ञहरू बताउँछन्।
सिडिसीका अनुसार गत वर्ष अमेरिकामा घटीमा ३५ लाख ९१ हजार ३२८ बच्चा जन्मिएका थिए। कोभिड महामारीपछि बच्चाको जन्मदर केही बढ्न थालेर २०२२ मा ३६ लाख ६७ हजार ७५८ बच्चा जन्मिएका थिए।
अमेरिकामा जन्मदर सन् १९७० को दशकदेखि नै रिप्लेसमेन्ट रेटभन्दा कम हुँदै गए पनि गत वर्षको दर भने इतिहासकै सबभन्दा कम हो।
जन्मदर घट्दै गयो भने काम गर्न सक्ने नागरिकको संख्या पनि बिस्तारै घट्दै गएर आर्थिक विकासमा नकारात्मक असर पर्ने अर्थविद्हरूको भनाइ छ।
स्वास्थ्य विज्ञान र स्वास्थ्य सेवाको विकासले मान्छेको आयु पनि बढ्दै जाँदा न्यून जन्मदर भएको देशमा काम गरेर कर तिर्नेको तुलनामा पेन्सन खाएर बस्नेहरूको अनुपात बढेर राज्यलाई झन् धेरै भार पर्छ।
पछिल्ला वर्षमा अमेरिकासँग प्रतिस्पर्धामा उत्रिएको चीनको पनि जन्मदर र जनसंख्या घट्दै गइरहेको छ।
चीनको कम्युनिष्ट सरकारले जनसंख्या नियन्त्रण गर्न सन् १९७९ देखि एक बच्चामात्रै जन्माउन पाउने नीति ल्याएर कडाइका साथ लागू गरेको थियो। साढे तीन दशकपछि सन् २०१५ मा सरकारले एक बच्चाको नीति हटाए पनि चीनमा जन्मदर बढ्न सकेको छैन।
एक बच्चाको नीति हटाए पनि जन्मदर नबढेपछि चीन सरकारले दुई वर्षअघि तीन बच्चा जन्माउन दम्पतीलाई प्रोत्साहन गर्ने निर्णय गरेको थियो। तेस्रो बच्चा जन्माउन प्रोत्साहनस्वरूप रिटायर्ड हुने समय सार्ने, युवाहरूलाई विवाह र परिवारबारे शिक्षा दिने, चाइल्ड केयर सेवा सुधार्ने र सुत्केरी बिदा बढाउने लगायत निर्णय गरिएको थियो।
तर पनि चीनको जनसंख्या र जन्मदर घटिरहेको छ। अहिले चीनको जन्मदर झरेर १.१५ पुगेको बताइन्छ। यो अमेरिकाको गत वर्षको सबैभन्दा कम दर (१.६१) भन्दा पनि धेरै कम हो। यसरी चीनमा पनि जापान, दक्षिण कोरिया र धनी युरोपेली देशको जस्तो जन्मदर घटेर जनसंख्या पनि घट्न थालेको छ। तर चीन भने धनी देश नभइकनै जन्मदर र जनसंख्या घट्न थालेको छ।
यस कारण बिस्तारै बढी उमेरका कारण काम गर्न नसक्ने भएकालाई जापान, दक्षिण कोरिया र धनी पश्चिमा देशको जस्तो धेरै खर्च गर्न चीनलाई गाह्रो हुनेछ। त्यही बुझेर नै एक दशकअघि सत्ता सम्हाल्ने बित्तिकै चीनका राष्ट्रपति सी जिनपिङले बुवा-आमालाई हेरचाह नगर्नुलाई गैरकानुनी बनाएका थिए।
कतिले मेसिन, रोबोट र आर्टिफिसियल इन्टेलिजेन्सको विकासका कारण काम गर्न सक्ने जनसंख्या घटे पनि देशले आर्थिक विकास गर्न सक्ने बताउँछन्।
त्यसो भयो भने चीनले पनि घट्दो जनसंख्याको कहर सहन सक्छ। भएन भने चाहिँ अमेरिकाको जस्तो काम गर्ने उमेरका अरू देशका आप्रवासी नभित्र्याउने भएकाले चीनलाई तुलनात्मक रूपमा गाह्रो पर्नेछ। अमेरिकामा जन्मदर घटे पनि आप्रवासीका कारण जनसंख्या थोरै भए पनि बढिरहेको छ। सरकारले जति प्रोत्साहन गरे पनि महिला जति शिक्षित र कमाउन सक्ने हुँदै जान्छन् जन्मदर बढाउन उति नै गाह्रो हुँदै जानेछ।
त्यसैले घट्दो जनसंख्याको नकारात्मक प्रभावबाट जोगिन चीनले पनि बिस्तारै अमेरिका लगायत धनी देशको जस्तो आप्रवासी भित्र्याउनुपर्ने हुन्छ।