अमेरिकास्थित नेपलिज अमेरिकन च्याम्बर अफ कमर्शले नेपालको कोभिड राहतका हाल सम्म लागि करिब ९० हजार अमेरिकी डलर बराबरको सहयोग गरेको छ।
जसमध्ये ५० हजार नगद र ४० हजार बराबरका ५ वटा भेन्टिलेटर छन्।
नेपालका विभिन्न अस्पतालमा आवश्यक सहयोगका लागि नेपलिज अमेरिकन च्याम्बर अफ कमर्शले हिजो शनिबार मात्र महाबीर पुन प्रमुख रहेको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई २० हजार अमेरिकी डलर र करिब ४० हजार अमेरिकी डलर लागतका ५ भेन्टिलेटर (२ नयाँ पोर्टेबल र ३ ट्रेनिङका लागि) हस्तान्तरण गरेको छ।
सो अवसरमा च्याम्बर र आविष्कार केन्द्रबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। च्याम्बरका सभापति बाल जोशी र आविष्कार केन्द्रका प्रमुख महाबीर पुनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
नेपालमा कोभिडको दोस्रो प्रकोप सुरु भएपछि नेपलिज अमेरिकन च्याम्बर अफ कमर्शले अमेरिकामा सहयोग संकलन अभियान सुरु गरेको थियो। सहयोग संकलन अभियानका संयोजक सुरेस पोख्रेलका अनुसार च्याम्बरले मुख्यरुपमा नेपालमा झापाको बिर्तामोड, मेची अञ्चल अस्पताल, बाराको कलैया अस्पताल, गुल्मीको धुर्कोट स्वास्थ्य केन्द्र, बाँकेको भेरी अञ्चल अस्पताल, कैलालीको टिकापुर अस्पताल, सुर्खेतको पंचपुरी नगरपालिका तथा सालकोट स्वास्थ्य केन्द्र र अछाम जिल्लाका विभिन्न गाउँपालिकास्थित स्वास्थ्य केन्द्रहरुमा सहयोग गरेको छ।
यसैगरि बाँकेको नेपालगन्ज नगरपालिकामा निर्माणाधीन 'आइसोलेशन सेन्टर' का लागि च्याम्बरले नेपाली समाज टेक्सासको सहयोगमा १० लाख नेपाली रूपैयाको सहयोग गरेको संयोजक पोख्रेलले जानकारी दिए।
च्याम्बरले नेपालस्थित बागेश्वरी असल शासन क्लब र भेरी अञ्चल अस्पतालसँगको समन्वयमा र टेक्सास नेपाली मेडिकल एसोसियसनको सहयोगमा भेरी अञ्चल अस्पतालका कोभिड बिरामी र उनीहरुका परिवारका लागी २४/७ सहयोग गर्न एक सहायता कक्षको समेत स्थापना गरेको छ।
च्याम्बरले सुरु गरेको कोभिड राहतमा अमेरिकास्थित नेपाली र अन्य समुदाय लगाएत नेपाली समाज टेक्सास, टेक्सास नेपाली मेडिकल एसोसियसन, एभन्ट फाउन्डेशन, पुण्य फाउन्डेशन लगाएतका संस्थाहरुले आर्थिक सहयोग गरेका थिए।
संस्था स्थापनाको छोटो अवधि भित्रै विभिन्न परिमाणमुखी काम गरेर समुदायमा आफ्नो परिचय र औचित्य स्थापना गर्न सफल रहेको अमेरिकास्थित नेपाली ब्यवसायीको संस्था नेपलिज अमेरिकन च्याम्बर अफ कमर्शको अनुरोध स्वीकारेर नेपालको कोभिड राहतका लागि सहयोग गर्ने सबै संघ-संस्था तथा समस्त समुदायप्रति कृतज्ञ भएको बताउँदै संस्थाकी कोषाध्यक्ष स्मृति कार्कीले सहयोग गर्ने सबैमा आभार व्यक्त गरेकी छिन्।