अमेरिकाको ग्रेडिएन हेल्थ सिस्टमले नेपालका ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर उपलब्ध गराउने भएको छ।
राष्ट्रिय आविस्कार केन्द्र, नेपाल अमेरिका मेडिकल फाउन्डेसन र ग्रेडिएन हेल्थ सिस्टमबीच सम्झौता भएको छ।
तीन वटै संस्थाले नेपालभरि छरिएका अस्पतालमा भेन्टिलेटर, आवश्यक प्राविधिक तालिम र निरन्तर प्राविधिक सहयोग गर्न सम्झौता गर्न पाउँदा खुसी लागेको बताएका छन्।
यो साझेदारी तिनै संस्थाले आ-आफ्नो क्षेत्रबाट नेपालमा गरेको कामको प्रतिफल हो। ग्रेडिएनले गुणस्तरीय मेडिकल सामग्री उत्पादन गर्छ, अमेरिका नेपाल मेडिकल फाउन्डेसनले नेपालमा क्लिनिकल सेवा र राष्ट्रिय आविस्कार केन्द्रले आविस्कार एवं बायोमेडिकल इञ्जिनियरिङको क्षेत्रमा काम गरिरहेको छ।
ग्रेडिएनद्वारा निर्मित यी ५० थान भेन्टिलेटर काठमाडौंको वीर अस्पताल र सिभिल अस्पताललाई उपलब्ध गराइनेछ। साथै अन्चलस्तरीय र क्षेत्रीय अस्पताल तथा शीक्षण अस्पतालमा आवश्यक अनुसार उपलब्ध गराइने भएको छ।
ग्रेडिएन भेन्टिलेटर बिजुलीको भरपर्दो व्यवस्था नभएर अक्सिजनको अभाव भएका ठाउँमा वितरण गरिनेछ। एक पटक चार्ज गरेपछि यो २१ घण्टासम्म चल्ने र जुनसुकै अक्सिजन उत्पादन गर्ने स्रोत र कन्सनट्रेटरमा सजिलै जोड्न सकिने हुन्छ।
बालकदेखि बृद्धसम्म जसलाई पनि दिन सकिने तरिकाले यी ग्रेडिएन भेन्टिलेटर निर्माण गरिएको सिस्टमले जनाएको छ।
‘यो साझेदारी जिम्मेवारी र दिगोपनसहित नेपालभरि सघन उपचारको उपलब्धता विस्तार गर्ने उद्धेस्यले गरिएको हो। हामी सेवा प्रदायक संस्था र बिरामीलाई मद्दत गर्न आबश्यक प्रबिधि, तालिम र प्राबिधिक सेवा निरन्तर प्रदान गर्न पाउँदा खुसी भएका छौं,’ ग्रेडिएन हेल्थ सिस्टमकी प्रमुख लिना सइदले भनिन्।
यो अभियानमा भेन्टिलेटरको स्थापना, बायोमेडिकल तालिम र भविश्यमा निरन्तर प्राविधिक सहयोगको लागि ग्रेडिएन हेल्थ सिस्टमको सहयोगमा राष्ट्रिय आविस्कार केन्द्रले नेतृत्वदायी भूमिका खेल्नेछ।
अमेरिका-नेपाल मेडिकल फाउन्डेसनले क्लिनिकल साझेदारको रूपमा काम गर्नुको साथै डाक्टर तथा नर्सलाई आवश्यक तालिमलाई बजेटको ब्यवस्थापनमा काम गर्नेछ।
प्राविधिक तालिम सम्बन्धित ठाउँमा र अनलाइन ग्रेडिएनको अनलाइन ट्रेनिङ स्कूल मार्फत प्रदान गरिनेछ।
प्राप्त सहयोगपछि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइरालाले यी सामग्री अहिलेको विपदको बेलामा मात्र होइन, जटिल बिरामीलाई भविस्यमा पनि काम लाग्ने बताए।
जटिल उपचारको पर्खाइमा रहेका नेपालीलाई यी उपकरणले ठूलो मद्दत पुग्ने र कोभिडको महामारीले ज्यानको खतरा भएका धेरै बिरामीलाई बचाउन सकिने अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले बताए।
यो अभियानका प्रमुख डाक्टर सन्तोस सापकोटाले अमेरिकामा बसेर नेपालका लागि यति सहयोग गर्न पाउँदा खुसी लागेको बताए।