विश्वको शक्तिशाली देश अमेरिकामा नेपाली समुदायको पनि बैंक होस्, भन्ने पाँच वर्ष अगाडि देखिएको सपनाले अहिले साकार रुप लिएको छ।
एभरेष्ट फेडरल क्रेडिट युनियन (इएफसियू) लाई अमेरिकी केन्द्रिय सरकार अन्तर्गत नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसनले बैंकिङ कारोवार संचालनको अनुमति दिएसँगै अहिले नेपालीमा उत्साह छाएको छ।
अमेरिकन एक्सप्रेस, डिस्कभरी, भिसा कार्ड, मास्टर कार्ड जस्तै नेपालीले पनि अब आफ्नै क्रेडिट कार्ड प्रयोग गर्न पाउने भएका छन्।
अमेरिकामा रहेका अन्य बैंकको तुलनामा एभरेष्ट फेडरलले सहुलियत दरमा निक्षेप संकलन, कर्जा प्रवाह, बचत, ब्याज, ऋण उपलब्ध गराउनसँगै सजिलै क्रेडिट कार्ड पनि दिने भएपछि यहाँका नेपालीमा उत्साह छाएको छ ।
बैंकमा खाता खोल्ने प्रत्येक नेपाली नाफाका साझेदार हुने भएकाले पनि अब अमेरिकामा नेपालीले कामदार होइन मालिकको रुपमा आत्मसम्मानको महसुस गर्ने सरोकारवालाको भनाई छ।
अमेरिकी सरकारले सामुदायिक बैंकलाई कर छुट दिने भएकाले पनि धेरै नेपाली यसबाट लाभ लिनसक्ने इएफसियूका पादाधिकारी बताउँछन्।
एभरेष्ट फेडरल क्रेडिट युनियनका अध्यक्ष डिल्ली भट्टले दुई महिनाभित्र संस्थाले न्युयोर्कबाट बैंकिंङ कारोबार शुरु गर्ने लक्ष्यसहित आफूहरू गृहकार्यमा जुटेको बताए।
आर्थिक कारोबार शुरु गरे पनि बैंकमा खाता खोल्ने प्रत्येक नागरिक नाफाको साझेदार हुने भन्दै भट्टले भने,‘एउटा विशेष किसिमको बचत खाता पनि हुन्छ। त्यसमा खाता खोल्ने ब्यक्ति अझ बढी नाफाको हिस्सेदार हुन्छ।’
बैंकले थोरै ब्याजमा ऋण प्रवाह गरी बचत गर्नेलाई बढी मुनाफा दिने लक्ष्य लिएकाले अमेरिकामा कम आय भएका नेपालीलाई ब्यापार ब्यवसायमा पनि प्रोत्साहन मिल्ने अध्यक्ष भट्टको भनाई छ।
एभरेष्ट फेडरल क्रेडिट युनियनका कार्यकारी समिति संयोजक मोहन ज्ञवालीले पाँच वर्ष अगाडि आफूहरूले देखेको सपनाले अहिले साकार रूप लिएको भन्दै उनले भने,‘अमेरिकामा नेपालीको पनि आफ्नै बैंक हुनेछ। यो भन्दा गर्वको विषय के हुनसक्छ । हाम्रो सपना बल्ल साकार भयो । यसलाई मूर्त रुप दिने अबको दायित्व भने प्रत्येक नेपालीको हो।’
अब अमेरिकामा पनि हाम्रो आफ्नो बैंक भएको छ। ‘अमेरिकामा आइरिस, पोलिस, इटालियन, चाइनीज र भारतीयजस्तै नेपालीको पनि बैंक होस् भनेर सामुदायिक बैंकिङ प्रणालीलाई हामीले पनि सुरुवात गरेका छौ,अबश्य यसबाट धेरै नेपालीलाई फाइदा पुग्नेछ’, ज्ञवालीले भने।
एभरेष्ट फेडरल क्रेडिट यूनियनमा १९१ चार्टर सदस्य रहेको जनाउँदै ज्ञवालीले यसलाई न्युयोर्कबाट शुरु गरी नेपालीको बाक्लो बस्ती रहेको क्यालिफोर्निया, डीसी, फ्लोरिडा, टेक्ससलगायतका स्थानमा विस्तार गर्ने योजना रहेको बताए।
ज्ञवालीले संस्थाले अनुमति पाएको उपलक्ष्यमा शनिबार न्युयोर्कमा एक विशेष कार्यक्रम गर्न लागेको जानकारीसमेत दिए।
एभरेष्ट फेडरलल क्रेडिट यूनियनको अध्यक्षमा डिल्ली भट्ट, महासचिवमा अञ्जन श्रेष्ठ, कोषाध्यक्षमा बिराज रिजाल छन्। त्यसैगरी, सदस्यमा आरसी पोखरेल, विजय पौडेल, राजन कर्माचार्य, जीवन बम छन्।
इएफसियूको सुभरभाइजर कमिटीमा डा. केशव पौडेल र डा. सुक गुरुङ छन्। त्यसैगरी, क्रेडिट कमिटीमा भने मोहन गिरी र नवराज केसी छन्। एभरेष्ट फेडरल क्रेडिट युनियनको एक्जीक्यूटीभ कमिटी कोअर्डिनेटरमा मोहन ज्ञवाली छन्।