एनआरएन अमेरिका जोकर बनेको क्षण


 

 

काठमाडौं एयरपोर्टबाट घरतिर जँदै गर्दा बाटोमा चम्केका बत्तीले मनलाई प्रफुल्लित बनाइरहेको थियो। दिपावालीको आगमनले होला, राजधानी टल्कन थालेको रहेछ। त्यही पूर्णिमाको उज्यालो रात विश्व शेर्पा सम्मेलनको मौका छोपी मातृभूमि पुग्ने अवसर पाएकोमा म दंग थिए। भोलिपल्ट आफनै समुदायका सञ्चारकर्मीहरुसंगको भेटघाटसगै सम्मेलन तयारीबारे छलफल गर्ने सोचका साथ खाना खाएर रातको ११ बजे ओछ्यान पसे।

बिहानीपख बौद्ध टुसालको खाल्डाखुल्डी र धुलाम्य बाटो हुदैं बौद्ध पुगे। बौद्धनाथको दर्शन गरी दिउसो शेर्पा सेवा केन्द्र र शेर्पा संघको भवन पुगेर सम्मेलनको तयारी बारेमा जानकारी लिए। कुनै बेला गाउबाट काठमाडौं हुदै विदेशमा पुगेका शेर्पाहरुको ठुलो जमात यसपटक होटल रेडिसन र शेर्पा सेवा केन्द्रमा जम्मा भए। उनीहरुमध्ये कतिपयसगको भेट २५ वर्षपछि जुरेको थियो। नेपालको विभिन्न जिल्ला प्रतिनिधिसंगै विश्वका विभिन्न १७ मुलुकमा बस्ने शेर्पाहरुको त्यो उपस्थितिले सम्मेलनको आकर्षण बढेको थियो।

उद्घाटन कार्यक्रम सकेर शेर्पा सेवा केन्द्रमा चार दिन लगातार बिहानदेखि साझसम्मको सम्मेलनमा शेर्पा विज्ञहरुबाट भाषा, धर्म, संस्कृति, शिक्षा, राजनीति, वातवारण र मितव्ययीता सम्बन्धित विषयहरुमा भएको छलफलले राम्रै उपलब्धि मिल्यो। लामो समयदेखिन समुदायमा क्रियासिल अगुवाहरु र युवाहरुको सामुहिक सोचविचार आदानप्रदान गर्ने राम्रो मञ्चको रुपमा स्थापना बन्यो त्यही सम्मेलन। आप्नो भाषा, धर्म र संस्कृति जोगाउदै समाजमा देखिएका विकृतिलाई हटाउने सोचका साथ ११ बुदे घोषणापत्र जारी गरी विश्व शेर्पा मञ्च जाम्बुलिङ शेर्वी छोक्पाको नेतृत्व चयन गर्न सफल भयो यो सम्मेलन। सबैतिरको सहाभागितासगै सौहार्दपूर्ण वातवारणमा सम्पन्न पहिलो विश्व शेर्पा सम्मेलन एनआरएन लगायत अन्य समुदायमाझ नमुना कार्यक्रम बन्न सफल भएकोमा गौरवको महसुस भयो।

विश्व शेर्पा सम्मेलन सकिएको तीन दिनपछि एनआरएनको सम्मेलन हुदैं थियो। सम्मेलनस्थल हायत रिजेन्सी भएपनि त्यतिखेर पास लिने त्रिपुरेश्वरको उद्योग बाणिज्य महासंघको भवन तोकिएको रहेछ। त्यस्तै एनआरएन भेटघाट अन्नपूर्णमा राखिएको जानकारी पाए। सम्मेलनको अघिल्लो दिन पत्रकार महासंघले विदेशबाट आएको पत्रकार र एनआरएनको प्रत्यासीवीचको भेटघाट त्रिपुरेश्वरको युनाइटेड वल्ड ट्रेड सेन्टरमा राखिएकोले म पनि त्यही पुगें।

महासंघको कार्यक्रम सकिएलगतै अरु एनआरएनको डेलिगेटहरु जस्तै हामी पनि एनआरएनले पास दिइरहेको छ भन्ने सुनेपछि उधोग बाणिज्य महासंघको कार्यालयमा गयौं। त्यहासम्म जाने गल्लीको बाटोहरु पुरै जाम थियो। निकै कष्टका साथ त्यहा पुग्दा एनआरएनको डेलिगेटहरु सडकदेखि माथिसम्म लाइन लागेको देख्दा अचम्म लाग्यो। पुरै पसिनापसिन भएर लाइन लागेको डेलिगेटहरु देखेर निकै दया लाग्यो।

अमेरिकामा डेलिगेटको शुल्क २ सय ५० डलर तिरेर त्यहा पुग्दा कतिपयको नाम छुट्टाएको सुनेपछि हामी अचम्ममा पयौं। नाम हटाएको भन्ने सुनेपछि अमेरिकाबाट गएका डेलिगेटहरु एनआरएन अमेरिकाका पदाधिकारीहरुसग आक्रोश पोखिरहेका थिए।

उद्घाटनको दिन सम्मेलन स्थलमा बिहान ७ बजेदेखि नै पास लिन लाइन लागेको थियो। लामो समय लाइन लागेर पनि पास नपाउनेहरु होहल्ला र नाराबाजी गरिरहेका थिए। निकै आक्रोशित एनआरएन देखेर त्यही हयातमा बसिरहेका विदेशी पर्यटकहरु चकित खाइरहेका थिए। एकतिर विदेशमा सिस्टममा बसेर आएकाहरु प्रतिक्षा गर्न नसकेर होहल्ला गर्नु र अर्कोतिर आयोजक एनआरएनले अनलाइनबाट सवैको जानकारीको साथ डेलिगेटको शुल्क लिइसकेर पनि नेपालमा ग्रिनकार्ड र पासपोर्टको फोटोकपी माग्दै औठा छाप माग्नु निकै झन्झटिलो काम गरिरहेका थियो।

उनीहरुको कार्यप्रति मैले प्रश्न गरे सम्बन्धीत देशको एनआरएन एनसिसिले डेलिगेटको जानकारी र शुल्क पठाएपछि पनि ग्रिनकार्ड र पासपोर्टको फोटो कपी माग्ने र औठा छाप किन लिनु पर्यो? यदि कसैको महत्वपूर्ण कागजात दुरुपयोग भएमा को जिम्मेवारी हुन्छ? त्यहँ कार्यरत कर्मचारी भन्दै थिए, ‘सर हामीलाई यसबारे केही पनि थाहा छैन।’

तीन दिने सम्मेलनको पहिलो दिन आधाउधी सहाभागीको समय पास लिनमै बितेको थियो भने अन्य दिन कसलाई जिताउने, कसलाई हराउने र नेतृत्व लिन चाहनेहरुकै चहलपहलमै बित्यो। सम्मेलन परिसरमा पासको लाइन र मतदानको लाइनमा गरिएको नाराबाजी र होहल्लापुर्ण जात्रा हेर्दा कुनै गाउबाट सोरेर ल्याएको मतदाता झै लाग्थ्यो। सम्मेलन होहल्लाकै वीच निर्वाचन केन्द्रित बन्यो।

यो सम्मेलनले नेपाल र विदेशमा बस्नेहरुको हकमा एनआरएनएले के उपलब्धि हासिल गरयो अब के गर्छ भन्ने भनेर कमैलाई बाहेक धेरैजसोलाई कसले जित्यो र हारयो मै सीमित देखियो। यसपटकको सम्मेलनमा विश्वमाझ धेरै सदस्य बनाएर चर्चा कमाएका एनआरएन अमेरिका अरु मुलुकको वीच जोकर फाल्तु जस्तो देखियो। अमेरिकाबाट गएका उम्मेदवारहरु डेलिगेट्हरुलाई ध्यान दिनुभन्दा आफनै धुनमा व्यस्त थिए। कतिपय अमेरिकी एनआरएनकर्मिहरु भित्रभित्रै खुराफात गर्नेमा मस्त थिए। तर डेलिगेट भएर गएकाहरु विचरा यता न उता अलपत्र थिए।

समग्रमा कमजोर नेतृत्वको कारण यसपटक एनआरएन अमेरिका अन्य मुलुकको तुलनामा निकै कमजोर सावित भयो। अरु देशको एनआरएन एकै ठाउमा भेला भई एकै स्वरमा र एकै समूहमा नेतृत्व चयनका लागि अघि बढे। दुर्भाग्य एनआरएन अमेरिकाका समूहसमूहमा विभक्त भयो। १० जना १० तिर फर्केका देखियो। जसको कारण एनआरएन अमेरिकाको नेतृत्वले कुनै प्रभावकारी भुमिका खेल्न सकेन। नेतृत्वको एउटै भुमिका आफैभित्र खुराफाती र समूहगत रुपमा कसैलाई हराउने र जिताउनमै सीमित रह्यो। यसपटकको ग्लोबल सम्मेलनमा एनआरएन अमेरिकाले डेलिगेटमा नाम राखेर पनि नजानेहरुको संख्या जति थिए डेलिगेट नबनाए पनि त्यहा पुग्नेहरुको संख्या बढी थियो। बास्तवमा सदस्य संख्याको आधारमा एनसिसीले पाउने डेलिगेट अनुसार जान इच्छुकहरुको नाम राख्न नसक्नु र अमेरिकामा बस्दै नबसेका मान्छेलाई अमेरिकाको डेलिगेट बनाउनु एनआरएन अमेरिकाको ठुलो गल्ती थियो। यसको साथै एनआरएन अमेरिकाको जिम्मेवारी व्यक्तिले आफुसग पकेट मत छ भन्दै अमेरिकाबाटै उम्मेदवार हुन गएकासग मोटो रकम लिन खोजेको घटनाले थप बदनाम बन्यो। यस्तै गल्ती देखाउदै एनआरएन अमेरिकाको अध्यक्ष डा केशव पौडेलमाथि सम्मेलन परिसरमा हातपात भयो। संस्थाको नेतृत्वले फराकिलो सोच्न नसक्नु र ससानो कुरामा अल्झेर विभाजित हुनाले यसपटक केन्द्रमा एनआरएन अमेरिकाले लज्जित हुनुपरयो। यसले संस्थालाई मात्र होइन संस्थामा आवद्ध सदस्यहरुले समेत लज्जाबोध गर्नु परर्यो।

यस पटक एनआरएन अमेरिकाबाट डेलिगेट हुनेहरुलाई अनलाइनबाट २ सय ५० डलर लिएपनि केन्द्रमा धेरैजसोले २ सय मात्र तिरेपछि एनआरएन अमेरिकाले ५० डलर बढी किन लिएका होलान भनेर धेरैको प्रश्न बन्यो। अमेरिका जस्तो मुलुकको एनआरएन नेतृत्वले अहिलेसम्म गरेको गल्तीहरु र कमी कमजोरीलाई अब बेलैमा आत्मासात गर्न नसके र सबैलाई मिलाएर जान नसके विश्वभरको एनआरएनको नजरमा कलंकित देखिनेछ।

आठौं सम्मेलन गर्दै गर्दा यति धेरै सम्मेलन आयोजना गरिसकेको एनआरएन ग्लोबल सम्मेलन भव्य र सभ्य हुन्छ भन्ने मैले सोचेको थिए। पहिलोपटक सहभागी हुदैं गर्दा ममा छुट्टै जोश र आशा छदै थियो। तर, आपसी किचलो, गुटबन्दी, तिकडमबाजी, नाराबाजी र अव्यवस्थित शैली पहिलो पटकमै भोग्नुपर्यो। तनावले वाक्क भए। मलाई जस्तै सायद धेरैलाई त्यही लागेको हुनुपर्छ। किनकि सम्मेलन सकिदैं गर्दा धेरैको अनुहारमा न्यास्रोपन दौडेको देखिन्थ्यो।

विगत झै यो सम्मेलन पनि गुटबन्दी र किचलो राजनितिकै वीच सकियो। यो सम्मेलनको भोगाईले धेरैजसोलाई अर्कोपटकको सम्मेलनमा डेलिगेट् भएर जाने उर्जा घटाइदिएको छ। पहिलोपटक भाग लिन पुगेकाले यस्तो समस्या झेल्नुपर्दा अर्को सम्मेलनमा किन भाग लिनु भनेर प्रश्न उठाउने ठाउहरु प्रशस्त राखिदिएको छ। एक त आफनै खर्चमा जानुुपर्ने, अर्को यस्तो झन्झट भोग्नुपर्ने, अनि सम्मेलनमा किन भाग लिने? .

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.