जलवायू परिवर्तन र नेपालको कृषि क्षेत्र


आजको बिश्वका प्रमुख तिन चुनौती मध्ये तेस्रो चुनौती जलवायू परिवर्तन हो । आतंकबाद र भोकमरी तथा पिउने पानीको अभाव क्रमशः पहिलो र दोश्रो चुनौती हुन् । मानविय कृयाकलाप जलवायू परिवर्तनको प्रमुख कारण हो । प्राकृतिक रुपमा हुने जलवायू परिवर्तन भने एक सामान्य प्रकृया हो । मानविय परिवर्तनसँगै जलवायूमा परिवर्तन भईराखेको अवश्थामा जलवायू परिवर्तन न्युनिकरण गर्न स्वयं मानव नै परिवर्तन हुनु जरुरी छ । कुनै क्षेत्रको लामो अवधिको (सरदर ३० वर्षको) मौसमको सरदर अवस्था जलवायु हो ।

पृथ्वीको सतहको औषत तापक्रम १५ डिग्री सेल्सियस रहेको छ । यदि हरितगृह प्रभाव नभएको भए पृथ्वीको सतहको औषत तापक्रम माईनस १८ डिग्री सेल्सियस हुने थियो । हरितगृह प्रभावको कारणले मात्र पृथ्वीमा जिवको सम्भव भएको हो । तर, बिश्वमा औद्योगिक क्रान्तिको सुरुवातसँगै मानविय कृयाकलापबाट वायुमण्डलमा हरितगृह ग्याँसहरुः कार्वनडाईअक्साईड, मिथेन, नाईट्रस अक्साईड, हाईड्रेप्mलोरो कार्वन, परप्mलोरो कार्वन र सल्फर हेक्जाप्mलोराइडको अत्याधिक मात्रामा उत्सर्जन भयो र पृथ्वीमा हरितगृह प्रभाव नियमित भन्दा बढ्न थाल्यो । फलस्वरुपः पृथ्वी औषत भन्दा तात्न थाल्यो । बिश्व औद्योगिकिकरण पश्चात बायुमण्डलमा कार्बनडाईअक्साईड, मिथेन र नाईट्रस अक्साईडको मात्रा क्रमशः ४०, १५० र २० प्रतिशतले बढेको पाईन्छ ।

क्षेत्रगत रुपमा कृषि, बन तथा भु उपयोगबाट २४ प्रतिशत हरीतगृह ग्याँस उत्सर्जन हुने गर्दछ । कृषिबाट उत्सर्जन हुने हरितगृह ग्यासको ६६ प्रतिशत र मिथेनको ७८ प्रतिशत पशुपालनबाट उत्सर्जन हुने गर्दछ । धान खेतीबाट प्रमुख रुपमा मिथेन उत्सर्जन हुने गर्दछ । उर्जा, उद्योग, यातायात, आवास तथा सहरीकरण र अन्यबाट क्रमशः २५, २१, १४, ६ र १० प्रतिशत हरीतगृह ग्याँस उत्सर्जन हुने गर्दछ ।

उद्योगधन्दा, कोईला खानी लगाएत मानविय कृयाकलापबाट चिनले सबै भन्दा बढि ३० प्रतिशत र अमेरीकाले १५ प्रतिशत कार्बनडाईअक्साईड उत्सर्जन गर्दछन् भने प्रतिब्यक्ति कार्बनडाईअक्साईड उत्सर्जन अमेरीकाको १६ टन, चिनको ७ टन र नेपालको ०.३ टन छ । चिनले २६ प्रतिशत र अमेरीकाले १५ प्रतिशत हरितगृह ग्याँस उत्सर्जन गर्दछन् । बिश्वका १० वटा देशले तिन चौथाई हरितगृह ग्यास उत्सर्जन गर्दछन् । नेपालले जम्मा हरितगृह ग्याँसको ०.०२५ प्रतिशत उत्सर्जन गर्दछ । यि तथ्याङ्कले जलवायू परिवर्तनमा कुन देश बढि जिम्बेवार छ स्पष्ट हुन्छ ।

बिगत १०० वर्षको अबधिमा पृथ्वीको तापक्रम ०.८ डिग्री सेल्सियसले बढेको पाईन्छ भने प्रमुख रुपमा बिगत ३० बर्षको अत्याधिक तापक्रम (०.६ डिग्री सेल्सियस) बढ्यो । सन् २०१६ अहिलेसम्मको सबै भन्दा उच्च तापक्रम हुने बर्ष भयो भने दोश्रो र तेस्रो तातो हुने बर्षमा सन् २०१५ र २०१४ परे । यो तथ्याङ्कले पृथ्वी कुन गतीमा तातिराखेको छ भन्ने बुझ्न कठिन हुँदैन । जलवायु परिवर्तन सम्बन्धि अन्तर सरकारी नियोग (Intergovernmental Panel on Climate Change) का अनुसार २१ औं शताब्दिको अन्त्य सम्म पृथ्वीको तापक्रम सन् १८५० को तुलनामा १.५ डिग्री सेल्सियसले बढ्न सक्ने अनुमान गरेको छ । अहिलेको ४१० पिपिएम रहेको कर्बनडाईअक्साईडको मात्रा बढेर ५५० पिपिएम पुगेमा बिश्वब्यापी औषत तापक्रम १.१–२.९ डिग्री सेल्सियस, ७०० पिपिएम पुगेमा १.७–४.४ डिग्री सेल्सियस र ८०० पिपिएम पुगेमा २.०–५.४ डिग्री सेल्सियस सम्म तापक्रम बढ्न सक्ने अनुमान गरीएको छ । बिश्वब्यापी औषत तापक्रम २ डिग्री सेल्सियसको बृद्धि दरलाई खतरनाक अबश्था भनीएको छ ।

आजैको दिनमा हरितगृह ग्याँसहरुको उत्सर्जन सुन्यमा झार्दा पनि अहिले बायुमण्डलमा भएको हरितगृह ग्याँसहरुको मात्रा औद्योगिकरण पुर्वको अबश्थामा आईपुग्न १०० वर्ष भन्दा बढि लाग्दछ । हरितगृह ग्याँसहरुको उत्सर्जन बढ्दो क्रममा छ । कार्बनडाईअक्साईडको मात्रामा बृद्धि, तापक्रममा बृद्धि, बर्षामा फेरबदल र चरम मौषमि घटनाहरुले (खडेरी, अधिक बर्षा, बाढि, पहिरो, असिना) पृथ्वीमा प्रत्यक्ष असर गरीराखेका छन् ।

जलवायू परिवर्तनका असरले सबै भन्दा बढि मारमा विश्वका गरीब र अविकसित देशहरु पर्दछन् । नेपाल जस्ता प्राकृतिक विविधताले भरिएका देशहरुका प्राकृतिक स्रोत तथा साधनहरु सँकटमा पर्ने सम्भावनाले जोखिमको अग्रपंक्तिमा पर्दछन् । अर्को तर्फ, गरीब तथा अविकसित देशहरुको संकटसँग जुध्न सक्ने क्षमता न्युन हुने भएकोले क्षति बढि हुने अनुमान लगाउन सकिन्छ । चिन तथा अमेरीका जस्ता बिकसित देशहरु कृत्रिम वर्षा गराउन सक्ने क्षमता राख्दछन्, सम्भावित संकटसँग जुध्न सक्ने तयारीमा छन् । चिनले तिब्बति पठार क्षेत्रमा कृत्रिम बर्षा गराउने आयोजना यसको गतीलो उदाहरण हो । यि देशहरुले बाढि आउनु भन्दा पहिला नै त्यस ठाउँका सर्बसाधरणलाई तत्काल अन्यत्र सार्न सक्ने क्षमता राख्दछन् । हामीसँग जलवायू परिवर्तनसँग सम्बन्धित केहि निति तथा कार्यक्रम बाहेक कुनै तयारी छैन ।

गरीब तथा अविकसित देश भित्र त्यस देशका गरीब परिवारहरु जोखिममा पर्दछन् । तराईमा बाढि आउँदा सामान्य घर हुनेहरु दुई वा तिन तले घर हुनेहरु भन्दा पहिला डुब्ने हुन् । पहाडमा खडेरी पर्दा गैह्ी खेत (सिंचाई सुविधा भएका) भएका परिवार भन्दा आकाशको पानीको भरमा खेती हुने जग्गा मात्र भएका परिवारहरु पहिला जोखिममा पर्दछन् । संसारका ७८ प्रतिशत खाद्य असुरक्षित मानिसहरु आफ्नो जिबिकोपार्जनको लागी कृषिमा निर्भर छन्, तिनिहरु पहिला जोखिममा पर्ने हुन् । कृषि यस्तो पेशा हो जो उत्पादन गर्दछ उ नै बढि खाद्य असुरक्षित छ । ब्यापारी, डाक्टर, जागीरे, राजनितिज्ञ, वकिल आदिलाई एक महिना अघि वा पछि पानी पर्दा त्यति फरक पर्दैन जति किसानलाई पर्दछ । एकजना डाक्टरको अनुकुलन क्षमता एकजना किसानको भन्दा उच्च छ, त्यसैले उ सुरक्षित छ । गरीब परिवार तथा समाजमा त्यो परिवारका महिला तथा वालवालिका जलवायू परिवर्तनको उच्च जोखिममा पर्दछन् । विश्वमा जलवायू परिवर्तनका कारण विस्थापित हुने मध्ये ८० प्रतिशत महिला रहेका छन् । अधिकांश पुरुषहरु बैदेशिक रोजगारमा भएको अबश्थामा घरमा खाद्यन्न लगाएतको ब्यबस्थापन महिलाले गर्नु पर्ने बाध्यता छ । यो अबश्थामा महिला झनै जोखिममा परेका छन् ।

नेपालमा सरदर बार्षिक ०.०६ डिग्री सेल्सियसले औषत तापक्रम बृद्धि हुने गरेको छ । तापक्रम बढ्ने दर तराईमा भन्दा पहाडमा उच्च छ । केहि बर्ष अगाडी सम्म मानिसहरु तराईमा गर्मी हुन्छ, लामखुट्टे लाग्दछ भनेर पहाडबाट तराई बराईसराई गर्न चाहदैन थिए । अहिले पहाडमा पंखा, झुल लगाएर सुत्नु पर्ने अबश्था आईसक्यो । हामी तापक्रम बढेको अनुभव गरीराखेका छौं । जलवायू परिवर्तनको प्रभाव वर्षाको चक्रमा पर्दछ जसले कृषि क्षेत्रमा निरन्तर र अधिक खडेरी तथा बाढिको समस्या निम्ताएको छ । हजुरबुबा÷हजुरआमाको पालामा तिन हल गोरु लगाएर रोप्ने गरेको टारी खेत अहिले सिँचाईको अभावमा बँझाउनु पर्ने अबश्था छ । पश्चिम पहाड तथा कर्णालीमा खडेरीले कृषि क्षेत्रमा परेका समस्या बेलाबेलामा बिभिन्न पत्रपत्रिकामा आईराखेकै छन् । केहि बर्ष अगाडीसम्म पाँच मुरी मकै फल्ने बारीमा दुई मुरी मकै पनि फल्न छाड्यो । पुर्खाले अन्न बेचेर घर ब्यबहार चल्थ्यो, बच्चा बच्चि पढाउँथ्यौ भन्नु हुन्थ्यो, अहिले घरमा खाने अन्न पनि किन्नु पर्ने बाध्यता छ । कार्तिक देखि चैत्र सम्म हुने खडेरीले पहाडमा गहुँ लगायतका हिउँदे बालिको उत्पादनमा कमी आएको छ ।

पहाडको भिरालो जमिनको मल तथा माटोको पोषणतत्व बर्षामा कहिलेकाहिँ आउने तर चरम आउने वर्षाले बगाएर लैजादा माटोको उर्वराशक्तिमा ह«ास आएको छ । बैशाखको पहिलो हप्ता छर्नु पर्ने मकै पहाडमा पानी नपरेर कहिले जेष्ठको पहिलो हप्ता, कहिले असार, कहिले चैत्रमा छर्नु पर्ने बाध्यता छ । समयमा मनसुन नहुँदा तराईमा धानको विउ ब्याडमै फुलाउनु पर्ने बाध्यता छ, ठुलो मात्रामा खेत बाँझै राख्नु पर्ने बाध्यता छ । देशको जनसङख्याको ६६ प्रतिशत कृषि पेशामा आबद्ध छन् । खेतीयोग्य जमिनको तिन चौथाई क्षेत्रफल मनसुनको भरमा खेती गरीन्छ । पहाडका अधिकांश खेतीयोग्य जमिन बाँझै रहने र जलवायू परिबर्तनको कारण पहाडबाट बसाईसराईको गती बढ्न सक्ने देखिन्छ ।

जलवायु परिवर्तन सम्वन्धि अन्तर सरकारी नियोगले पुर्वि तथा दक्षिणपुर्वि एसियामा २१ आंै शताब्दिको मध्य सम्ममा कृषि उत्पादन २० प्रतिशतले बढ्न सक्ने अनुमान गरीएको छ भने सोहि अबधिमा मध्य तथा दशिण एसियामा ३० प्रतिशत सम्मले उत्पादनमा गिरावट आउन सक्ने अनुमान गरेको छ । सोहि अबधिमा बिश्वब्यापी कृषि उत्पादनमा १० देखि २५ प्रतिशत सम्मले गिरावट आउनसक्ने अनुमान गरीएको छ ।

कहिले पुर्वि त कहिले पश्चिम तराईमा डुवानले करोडांै रुपैंयाको धान बाली नष्ट भईराखेको छ । पाकेर काट्न तयार भएको धान बाली, फुलफुलेका फलफुल, तरकारी बाली चरम असिना पानीले नष्ट भईराखेको छ । यसबाट किसानले करोडौ रुपैया बराबर क्षति ब्यहोर्नु परेको छ । तापक्रमको बृद्धिले किराको प्रजनन चक्रको सँख्यामा बृद्धि ल्याई बर्षमा दुई पटक प्रजनन चक्र हुनेमा बर्षमा तिन पटक सम्म हुन सक्दछ । जसले किराको जनसंख्यामा उल्लेख्य बृद्धि हुनेछ । यो समस्या पहाडमा उच्च देखिन्छ । तराईमा अत्याधिक लु चल्ने र कृषि बालीमा असर गर्ने गर्दछ । तापक्रमको बृद्धिले जमिन तथा बोटविरुवाबाट पानीको बाफ बनेर जाने मात्रामा बृद्धि हुँदा जमिन तथा बोट छिटो सुक्नुको साथै बोटविरुवालाई बढि सिंचाईको आबश्यकता पर्दछ । तापक्रमको बृद्धिले पहाडमा नौला किरा तथा झारपातको समस्या उल्येख्य बढेको पाईन्छ । केहि पुराना बालि तथा पशुका जातहरु संकटमा पर्न सक्दछन् । भलै जलवायू परिवर्तन भन्न नसकौंला, तर त्यसका असर हामी सबैले भोगीराखेकै छौ ।

नेपालमा त्यति धेरै अनुसन्धान नभएता पनि अन्य देशमा भएका केहि अनुसन्धानहरुले बढ्दो कार्बनडाईअक्साईडमा उत्पादन गरीएका केहि खाद्य बालिको पोषणतत्वमा कमि आउने गरेको बताएका छन् । चरम बर्षाको कारण पहिरो तथा बाढिले कृषि उपज ढुवानीमा समस्या आउन सक्दछ । कृषि उत्पादनको मुल्यमा बृद्धि हुने गर्दछ । समग्रमा जलवायू परिवर्तनले गरीबि र भोकमरी झनै बढाउने अनुमान गर्न सकिन्छ ।

खडेरीको समस्यासँगै पशुपंक्षीलाई आबश्यक पानी तथा घाँसपातको उपलब्धतामा कमि आएको छ । तापक्रमको बृद्धिसँगै पशुपंक्षिमा नयाँनयाँ रोग र अन्तरीक तथा बाह्य परजिविको संक्रमण बढेको छ ।   यस्ता रोग तथा परजिविको नियन्त्रणको लागी प्रयोग गरीने औषधि उपचारले पशुको दुध र मासुको गुणस्तरमा कमि आउँदछ जो मानिसको लागी हानिकारक हुन्छ । तापक्रमको बृद्धिसँगै पशुको प्रजनन क्षमतामा कमि आई पशुमा बाँझोपन बढ्ने गरेको पाईन्छ । यसले पशुको उत्पादकत्वमा गिरावट ल्याएको छ ।

नेपाल बढि संबेदनशिल किन पनि हुनु जरुरी छ भने नेपाल जलवायू जोखिमको हिसाबले विश्वको चौथो नम्बरमा पर्दछ । नेपालका प्राकृतिक स्रोत तथा साधन हाम्रा अमुल्य गहना हुन्, त्यसैले हामीले चिन्ता लिनु पर्ने छ, कतै हाम्रा प्राकृतिक गहना जलवायू परिवर्तनका असरले लुटिईराखेका त छैनन् । हाम्रो देशका हिमाल, हिमाल मात्र हैनन् । ति हाम्रा पानीका मुहान हुन्, सम्भावना हुन् । हिमालबाट बगेका नदिका पानीले तराई तथा पहाडका हजारौ विगाहा जमिन सिंचाई गरी कृषिमा आत्मनिर्भर बनौंला भनेर सोचिराखेका छौ । भेरी–बबई सिंचाई आयोजना निर्माणाधिन अबश्थामा छ भने कालिगण्डकी–तिनाउ तथा सुनकोशि–कमला डाईभर्सन जस्ता ठुला सिचाई आयोजना निर्माण गर्ने सोचिराखेका छौ । जलवायू परिवर्तनले यस्ता आयोजनाहरुलाई भबिष्यमा संकट उत्पन्न गर्न सक्ने सम्भावना देखिन्छ । एक डिग्री सेल्सियसले तापक्रम बढेमा नेपालका हिमालको अत्याधिक मात्रामा हिउँ पग्लिने र कतिपय हिमालहरु हिउँ विहिन हुन सक्दछन् ।

नेपालमा कहिकतै के तर्क गरीन्छ भने बायुमण्डलमा कार्बनडाईअक्साईड बढेसँगै कृषिको उत्पादनमा बृद्धि भएको छ । अर्को तर्क, मनाङ, मुस्ताङ तथा कर्णालीको तापक्रम बढेसँगै त्यहाँ पनि धान उत्पादन गर्न सकिन्छ, त्यसैले नेपालमा जलवायू परिवर्तनले कृषिमा सकारात्मक असर गरीराखेको छ । हो बायुमण्डलमा कार्बनडाईअक्साईडको मात्रा दोब्बर हुँदा धान, गहुँ लगायतका सि३ बालीहरुको उत्पादकत्व बृद्धि हुने हो । तर, त्यस्तो अबश्थामा मात्र उत्पादकत्व बृद्धि हुन्छ जहाँ उचित तापक्रम होस् र चरम मौषमी घटनाहरु जस्तैः खडेरी, बाढि, रोग किराको प्रकोप, अधिक बर्षा, अधिक असिनाको समस्या नपारोस् । अर्को तर्फ, बायुमण्डलमा कार्बनडाईअक्साईडको मात्रा दोब्बर हुँदा झारपातको उत्पादन पनि बढ्ने गर्दछ किनकि अधिकतम झारपातहरु सि३ बालिमा पर्दछन् । झारपातको बृद्धिसँगै बालीलाई प्रत्यक्ष असर गर्दछ ।

नेपालको धान उत्पादनको ८० प्रतिशत तराईमा उत्पादन हुन्छ । जलवायू परिवर्तनले तराईको धान उत्पादनलाई प्रत्यक्ष असर गर्दैछ । अन्तरराष्ट्रिय धान अनुसन्धान संस्थान (International Rice Research Institute) का अनुसार दक्षिण एसिया क्षेत्रमा एक डिग्री सेल्सियस तापक्रम बढ्दा धानको उत्पादनमा २० प्रतिशतसम्मले कम हुन सक्ने बताएको छ भने धानको फुलफुल्ने अबश्थामा तापक्रम एक घण्टा भन्दा बढि ३५ डिग्री सेल्सियस भन्दा माथि रहयो गने धानमा दाना लाग्दैन । यो तथ्याङ्कले हाम्रो तराईको धान उत्पादन कति संकटमा छ भन्ने प्रष्ट पार्दछ ।

जलवायू परिवर्तनमा नेपालको भुमिकाः पहिलो, जलवायू परिवर्तन न्युनिकरण गर्न अन्तराष्ट्रिय मञ्चहरु मार्फत धेरै हरितगृह ग्यासहरु उत्सर्जन गर्ने देशहरुलाई अनुरोध गर्ने र दोश्रो, देशको अनुकुलन क्षमता बढाउने हो । धेरै हरितगृह ग्यासहरु उत्सर्जन गर्ने देशहरु गरिव तथा अविकसित देशहरुलाई क्षतिपुर्तिमा भुलाउने निति अबलम्बन गरेको बुझ्न सकिन्छ । उनीहरुलाई प्रमाणसहित चर्को स्वरमा भन्न सक्नु पर्दछ तिमिहरुले गर्दा हाम्रा हिमालको हिउँ पग्लेर सकिन लाग्यो, हाम्रा बन्यजन्तु, चराचुरुङ्गीहरुको बासस्थान संकटमा पर्न थाल्यो, पानीका मुहानहरु सुकिसके, खाद्य असुरक्षा बढ्न थाल्यो ।

नेपालको हकमा, नेपालले सबै किसिमका उद्योगधन्दा, कलकारखाना, खेतीपाती बन्द गर्यो भने पनि जम्माजम्मी ०.०२५ प्रतिशतले जलवायू परिवर्तनमा कमि आउने हो । कम हरितगृह ग्यास उत्सर्जन गर्ने विश्वका १०० वटा देशको जलवायु परिवर्तनमा ३.५ प्रतिशत मात्र भुमिका छ । यो अर्थमा, विश्वका अविकसित र अल्पविकसित देशहरुले प्रमुख रुपमा गर्ने भनेको जलवायू अनुकुलन नै हो ।

नेपालमा नितिगत रुपमा केहि काम भएका छन् । जलवायु परिवर्तन नीति २०६७, राष्ट्रिय अनुकूुलन कार्यक्रम, स्थानीय अनुकूलन योजना बनेका छन् । साबिकका केहि गाउँ विकास समिति, नगरपालीकाले आफ्नो स्थानीय अनुकुलन योजना निर्माण पनि गरेका छन् । अब कमि छ त स्रोत र साधनको ।

कृषिमा तत्कालीन र दिर्घकालीन जलवायू अनुकुलन योजना बनाई कार्यन्वयनमा ल्याउन ढिला गर्नु हुँदैन । संकटासन्न अबश्थामा परेका परिवारहरु पहिचान गरी उनिहरुको जिविकोपार्जनको बैकल्पिक उपाय अबलम्बन गर्न सहयोग गर्नु पर्दछ । कृषिमा जलवायूमैत्री प्रबिधिको छनौट र बिस्तार गर्नु पर्दछ । पानीका स्रोतहरुको पहिचान गर्ने, संरक्षण गर्ने, संकलन गर्ने र कृषिमा पानीको प्रभावकारी प्रयोग गर्न सक्नु पर्दछ । बालि छनौटमा बिशेष ध्यान दिई उपयुक्त ठाउँलाई उपयुक्त बालि छनौट गर्नु पर्दछ । चरम मौसमी घटनाहरुसँग जुध्न सक्ने गरी आपतकालिन योजनाहरु निर्माण गर्ने र स्रोत तथा साधनयुक्त बनाउन सक्नु पर्दछ । सुख्खा, खडेरी तथा अधिक बर्षा सहन सक्ने बालिका जातहरुको अनुसन्धान र बिकास गरी प्रयोगमा ल्याउनु पर्दछ । खेतियोग्य जमिनको प्रयोग र ब्यवस्थापन नयाँ ढंगले गर्ने र बालि बिबिधिकरणमा ध्यान दिनु जरुरी छ । माटोको गुणस्तर सुधार गर्न र कार्बनको मात्रा बृद्धि गर्न माटोमा प्राङ्गारीक पदार्थको मात्रा बृद्धि गर्नु पर्दछ ।

पशुपंक्षीमा नश्ल सुधारका साथै जलवायूमैत्री बासस्थान, आहारा तथा स्वास्थ्यका कार्यक्रमहरु बनाई पशुको उत्पादकत्व बृद्धि गर्न सक्नु पर्दछ । तराईमा बाढि र नदि कटानको समस्यालाई न्युनिकरण गर्न नदि तटबन्ध कार्यक्रमलाई प्रभावकारी बनाउँनु पर्दछ । बिभिन्न माध्यमबाट जनस्तरमा चेतनामुलक कार्यक्रम ल्याउने तथा उनिहरुको अनुकुलन क्षमता बढाउने कार्यक्रमहरु संचालनमा ल्याउनु पर्दछ । मौषम पुर्वअनुमानलाई प्रबिधियुक्त बनाई सर्बसाधरणको पहुँच सम्म पुर्याउने र चरम मौषमि घटनाबाट हुन सक्ने धनजनको क्षति न्युनिकरण गर्न सक्नु पर्दछ । आबश्यक निति निर्माण गर्न तथा अन्तराष्ट्रिय मञ्चहरुमा प्रस्तुतीकरणको लागी जलवायू परिवर्तनले पारेका र पार्नसक्ने जोखिमहरुमा आधारित खोज र अनुसन्धान गरी सहि तथ्याङ्कक संकलन गर्नु जरुरी छ ।

कतिपय विकास निर्माणका कामले हाम्रा सामाजिक सम्पतीको संरक्षण गर्न सकेन । अहिले अधिकाँश पहाडी जिल्लाहरुमा पुराना पानीका कुवाहरु तथा पोखरीहरु संकटमा पर्ने गरेका छन् । समुदायमा भएका परम्परागत कुवा, पोखरी तथा पानीका स्रोतहरु संरक्षण गरौं जसले जमिन रिचार्जको काम गर्दछन् र तल्लो भेगका पानीका मुहानहरु सुक्नबाट बचाउने काम गर्दछन् ।  बिगतमा हाम्रा पुर्खाले यस्ता सम्पदा सरकारी बजेटमा संरक्षण गरीका थिएनन् । यस्ता सामाजिक सम्पतीको संरक्षण गर्ने जिम्मा समाजको हो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.