आफ्ना गाउँका धार्मिक, साँस्कृतिक र पर्यटकीय स्थलहरूको खोजी गर्न थालेका छन्।
अहिले सामाजिक सञ्जालमा फोटो, भिडिओमार्फत् विभिन्न ठाउँका बारेमा जानकारी दिन थालेपछि अधिकांश मान्छेहरू आफ्ना गाउँका पनि खोजी गर्न थालेका हुन्।
दोलखा कालिञ्चोक गाउँपालिका सुनखानीका पुण्य प्रसाद शिवाकोटी पनि यस्तै धार्मिक र ऐतिहासिक स्थलहरूको खोजीमा लागेका वर्षौं भइसक्यो। धार्मिकसम्बन्धी पुस्तकहरू पढ्ने र सोही अनुसारको आफ्नो गाउँ ठाउँमा रहेका धार्मिक, ऐतिहासिक स्थलहरूको खोजी गर्न सजिलो भएको शिवाकोटीको भनाइ छ।
सुनखानी आफ्नै घरैमाथि ठूलो भीरमा श्रृङ्ग ऋषिले तपस्या गरेको किंवदन्ती उनले कुनै समय पढेका थिए।
ठूलो भीरको बीचमा अहिले पनि गुफा छ। त्यही गुफामा श्रृङ्ग ऋषिले वर्षौं तपस्या बसेको अहिले पनि सुनखानीका जोहीले सुनाउँछन्।
साहसिक युवाहरू अहिले पनि भीरको बीचमा रहेको गुफामा जाने र त्यहाँको बारेमा अध्ययन, अनुसन्धान गर्ने गर्छन्।

पुण्य प्रसादले आफ्ना गाउँमा आएका पाहुनालाई त्यही श्रृङ्ग ऋषिको गुफा देखाउने र त्यसैको वरिपरि रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरू देखाउँदै आएका छन्। उमेरले ८० काट्न थालेता पनि पुण्यप्रसाद हातमा किताब बोकेर पाहुनाहरूसँगै आफ्ना गाउँमा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरू घुमाउन पाउँदा खुसी मान्छन्।
यस क्षेत्रमा श्रृङ्ग ऋषिको गुफा मात्र होइन, नजिकै नागथान र कालिञ्चोक भगवती माईको थापना पनि छ।
यी स्थानमा शिवाकोटीहरू वर्षमा एक पटक दर्शन गर्न पुगेका हुन्छन्।
यस ठाउँबाट दोलखाका अधिकांश भूभाग नजिकैबाट नियाल्न सकिन्छ।
गौरीशंकर त झन हात लम्ब्याउँदा छोएलाझैं लाग्छ। माइथान डाँडाबाट सदरमुकाम चरिकोट, कालिञ्चोक, शैलुङ, चेर्दुङ, हनुमन्तेडाँडा, तामाकोशी नदी लगायतका स्थानहरू राम्ररी नियाल्न सकिन्छ।

२ हजार ५ सय मिटर उचाइमा रहेको यस स्थानलाई गाउँपालिकालगायत यस क्षेत्रमा काम गर्ने निकायले ध्यान दिन सकेमा आन्तरिक धार्मिक पर्यटकलाई तान्न सकिने सामाजिक अभियन्ता हरि ओलीको भनाइ छ।
सुनखानीको सोती बजारबाट करिब एक डेढ घण्टा हिँडेपछि पुगिने ठाउँ भएकाले शनिबार र बिदाको दिन युवाहरू घुम्न जाने गरेका छन्।








