कोरोना महामारी कम हुँदै गएपछि दाङका पर्यटकीयस्थलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । घोराही उपमहानगरपालिका–१३ सेवारमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाह्रकुने दह पर्यटकको रोजाइको क्षेत्र बनेको छ ।
तुलसीपुर–६ की सम्झना आचार्य बुधबार साथीसँग बाह्रकुने तालमा घुम्न आइन्। ‘पुरानो डुङ्गाको ठाउँमा नयाँ डुङ्गा आएको रहेछ, साथीहरुसँग सेल्फी लिँदै जलविहार गर्दा मज्जा आयो’, उनले भने, ‘गाउँका अरु साथीलाई पनि बाह्रकुने जानु भन्छु । मन्दिर पुग्ने जोकोहीलाई डुङ्गाले झनै आकर्षक बनाएको छ।’
घोराही–१४ का विशाल पौडेल वनभोजका लागि साथीसँग बाह्रकुने पुगेका थिए। ‘वनभोजका लागि उपयुक्त स्थान छ। आधुनिक डुङ्गा देख्दा घुमौघुमौ लाग्योे, डुङ्गामा सरर ताल परिक्रमा गर्दा छुट्टै आनन्द आयो’, उनले भने।
![](https://www.setopati.com/uploads/editor/2021-03-25/RA-Deukhuri-DungamaSarara.jpg)
दाङसहित सल्यान, प्यूठान, रोल्पा, रुकुम र छिमेकी देश भारतबाट पनि उल्लेख्य मात्रामा भक्तजन आउने बाह्रकुने धार्मिक समितिका अध्यक्ष टेमन बुढाले जानकारी दिए। ‘धार्मिक र पर्यटकीय हिसाबमा मानिसको सहभागिता हुन्छ, माघेसङ्क्रान्तिका दिनमा भक्तजनको ठूलो मेला लाग्ने गर्दछ’, उनले भने, ‘पुस महिनादेखि नै भक्तजनको उल्लेख्य सहभागिता हुने गर्छ। दसैं, तिहारपछि वनभोज खानेहरुको भीडभाड नै हुने गर्छ।’ पछिल्लो समय विद्यार्थी, युवा र ज्येष्ठ नागरिकको बाह्रकुने ताल रोजाइको क्षेत्र बनेको छ ।
घोराही बजारबाट उत्तर–पश्चिम तीन किलोमिटरको दूरीमा रहेको दह पाँच हेक्टर जमिन छ। बाह्र वटा कुना रहेको सो ताल प्राकृतिकरूपमा निर्मित जानकार बताउँछन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो ताल लुम्बिनी प्रदेशको नमूना तालमा पर्छ। बजारबाट अटो रिक्सामा सजिलै यो ठाउँमा पुग्न सकिन्छ।
सो तालमा काठका पुराना दुई वटा डुङ्गा थिए । पर्यटकको चाप भएको समयमा पालो कुरेर बस्नुपर्ने बाध्यता थियो। बाह्रकुने जल तथा यातायात प्रालिले आधुनिक चार वटा डुङ्गा सञ्चालनमा ल्याएको छ। एउटा डुङ्गामा चार जना बसेर शयर गर्न मिल्ने प्रालिका सचिव लीलाजीत नेपालीले जानकारी दिए।
![](https://img.setoparty.com/uploads/posts/barakune%20dahaweb_01635404994.jpg)
मन्दिर व्यवस्थापन समितिसँग पाँच वर्षे सम्झौता गरी तालमा आधुुनिक खालको फाइवरको डुङ्गा सञ्चालनमा ल्याएपछि पर्यटकलाई सजिलो भएको छ। प्रा.लि.का अध्यक्ष जगत् दर्लामीले ताल घुम्न आउने पर्यटकलाई सेवा दिन आधुनिक डुङ्गा ल्याएको बताए।
स्थानीय चार युवाले १२ लाख लगानी गरी डुङ्गा सञ्चालनमा ल्याइएको उनको भनाइ छ। डुङ्गामा सयर गर्दा लगाउने लाइफ ज्याकेट र २० जनाको दुुर्घटना बिमासमेत गरिएको प्रालिले जनाएको छ। डुङ्गामा बसेर तालको एक फन्को लगाए ५० रूपैयाँ शुल्क तिर्नुुपर्ने छ। ज्येष्ठ नागरिक र विद्यार्थीलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष दर्लामीले जानकारी दिए।
यसअघि तालमा काठको डुङ्गा सञ्चालनमा रहेको थियो । वार्षिक ६० हजार रूपैयाँ प्रालिले मन्दिर संरक्षण समितिलाई बुुझाउने सम्झौता भएको छ। रासस