उत्तरी गोरखाको मनास्लु हिमाल क्षेत्र प्रवर्धनमा क्रियाशील पर्यटन अभियन्ता लाक्पाढुण्डुप लामाको समूहले चितवनको पदमपुरमा सञ्चालन गर्दै आएको ‘मुनाल एण्ड मयुर रिसोर्ट’ले पर्यटकलाई मनास्लु घुमाउन हेलिकप्टर प्याकेज बनाएको छ।
घुम्न इच्छा भएका तर फुर्सद धेरै नभएका आन्तरिक पर्यटकलाई लक्षित गरेर ४ रात ५ दिनको प्याकेज बनाइएको हो।
यसमा सबै उमेर समूहका पर्यटक सहभागि हुन सक्नेछन्। प्याकेज मूल्य प्रति व्यक्ति १ लाख ३८ हजार रुपैयाँ छ। यसमा दुईतर्फी हेलि टुर, गाइड सुविधा, ब्रेकफास्ट, लन्च, डिनर र बेड सुविधा हुनेछ।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Social/Dashain/Ticket/Manaslu%20Package.png)
समूह बनाएर दशैं अगाडि नै पर्यटकलाई मनास्लु घुमाउन सुरु गरिने रिसोर्टले जनाएको छ।
प्याकेजअनुसार पर्यटकलाई चितवनको मुनाल एण्ड मयुर रिसोर्टबाट मनास्लु क्षेत्रको नामरूङसम्म हेलिकप्टरमा ओहोरदोहोर गराइनेछ। उनीहरूलाई पहिलो दिन नामरूङ गाउँ, नामरूङ झरना, बुढीगण्डकी नदी र अर्गानिक स्याउ बगान घुमाइनेछ।
दोस्रो दिन हिमालचुली बेस क्याम्पसम्म घुमाएर पुन नामरुङमै बास बसाइनेछ। बेस क्याम्प पदयात्रामा हिमालचुली, सृङ्गी र मनास्लु हिमालको दर्शनका साथै जंगली जनावर र चरा अवलोकन गराइनेछ।
तेस्रो दिनमा मनास्लु पदमार्गको ल्हो गाउँसम्म पदयात्रा गराइनेछ। ल्हो गाउँबाट मनास्लु हिमाल आँखै सामुन्ने देखिन्छ। त्यो रात ल्हो गाउँमै बसाएर चौंथो दिन नामरुङ फर्काइनेछ।
यात्राको पाँचौ दिन नामरुङबाट उडाएर चितवन, पदमपुरस्थित रिसोर्टमा पर्यटकको विदाइ गरिने आयोजकले जनाएको छ। विदाई अगाडि हरेक यात्रुलाई मनास्लुको अर्गानिक उत्पादन उपहार दिइनेछ।
नामरुङमा यही समूहले नमुना रिसोर्ट ‘नुब्री फोर सिजन रिसोर्ट’ सञ्चालन गर्दै आएको छ जुन मनास्लु पदमार्गकै सबैभन्दा महंगो र सुन्दर रिसोर्ट मानिन्छ। हेलि प्याकेजमा मनास्लु घुम्ने पर्यटकलाई तीन रात यही रिसोर्टमा राखिनेछ।
५ सिट क्षमताका हेलिकप्टर प्रयोग गरिने भएकाले समूहमा बुकिङ गर्दा सजिलो हुनेछ। सबै पर्यटकको बिमा गराएर यात्रामा लगिने रिसोर्टका सञ्चालक लामाले बताए।
‘हिमाली जनजीवन, भोटे संस्कृति र अर्गानिक वातावरणमा रमाउन चाहनेहरूका लागि हामीले यो प्याकेज बनाएका हौं’, पर्यटन अभियन्ता लामाले भने, ‘फेमिली, प्रेमिल जोडी र साथीसँगी मिलेर मनास्लु घुम्न सक्नेछन्। हामी सबैलाई स्वागत गर्न तयार छौं।’
यस प्याकेजले हिमाल र तराईलाई जोड्ने प्रयास गर्नेछ भने सुस्ताएको पर्यटनलाई चलायमान बनाउन मद्दत गर्नेछ।
पर्यटकको मागअनुसार तिहारसम्मै हेलि प्याकेज सञ्चालन गरिने रिसोर्टले जनाएको छ।
सम्पर्क
लाक्पाढुण्डुप लामा–९८५११५८०८८
सुशील चौधरी–९८६५३८१५१०