चितवनको इच्छाकामना–२ तोबाङ (वीरपाती) का तिलु चेपाङले जागिर गुमाएको पनि ९ महिना हुन लाग्यो। कारण थियो लकडाउन।
लकडाउनसँगै सुनसान बनेको सौराहाबाट जागिर गुमाएर घर फर्कने सयौं मजदुर मध्येका एक थिए- तिलु।
सौराहास्थित सपना भिलेज लजमा वेटरको काम गर्ने तिलुलाई केही समय त जागिर गुमाउँदाको पीडाले निकै सतायो।
विपन्न चेपाङ परिवारमा हुर्किएका उनलाई बल्ल–बल्ल पाएको जागिर पनि गुमाउनुपर्दा कत्रो पीडा भयो होला, जो कसैले अनुमान गर्न सक्छ।
केही महिनादेखि भने उनी ती सबै पीडा बिर्सिएर गाउँमै रमाउन थालेका छन्। आफ्नै गाउँलाई पर्यटकीय क्षेत्र बनाउने हुटहुटीले उनलाई बाँधेको छ।
तिलुको गाउँ वीरपाती चितवनको सबैभन्दा उचाईमा रहेको ‘सिराइचुली’ को काखैमा छ। समुद्री सतहबाट १९४५ मिटर उचाईमा रहेको सिराइचुली हिमालको शिरबाट सूर्योदयहुँदै गरेको सुन्दर दृष्यावलोकन गर्न सकिने चितवनकै सबैभन्दा उच्च पहाड हो।
यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, गणेश, धौलागिरी, लाङटाङ, मनास्लुलगायतका हिमश्रृंखला छर्लङ्गै देखिन्छ। बादल फाटेको बेलामा चितवनका अधिकांश भूभागसहित, धादिङ, गोरखा, नवलपुरलगायतका जिल्लाका केही भूभाग स्पष्ट देख्न सकिन्छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Ghumfir/Beturchuli/bodoraschuli1.jpg)
यहाँ पुग्न कालिका नगरपालिकाको शक्तिखोरबाट चितवनको पुरानो सदरमुकाम उपरदाङगढी, चिसापानीहुँदै पैदल मार्गबाट उकालो चढ्नुपर्छ। प्रायः पर्यटकहरु भने पृथ्वी राजमार्गमा पर्ने धादिङ जोगिमाराबाट उक्लिएर हात्तीबाङहुँदै पनि यहाँ पुग्न गर्छन्।
तिलुको गाउँ वीरपाती हात्तीबाङको ठ्याक्कै पारी पर्छ। राष्ट्रिय फूल लालीगुराँसका बोटले ढाकिएको बोजोरतचुली डाँडोमा छ वीरपाती। बोजोरतचुलीबाट सूर्योदय मात्रै होइन सूर्यास्त पनि आकर्षक देखिन्छ। साथमा मुस्कुराउँदै गरेको हिमाल, हिमालसँग जोडिएका पहाडी श्रृंखला अनि तराईका समथर फाँटहरू पनि।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Ghumfir/Beturchuli/IMG_20201124_082609.jpg)
सिराइचुलीको काखैमा भएर पनि हेलामा परेको छ यो गाउँ। पृथ्वी राजमार्गबाट सवारीसाधनमा करिब एक घण्टा उकालो चढेपछि तोबाङ–वीरपाती पुगिन्छ। वीरपातीबाट १० मिनेटको उकालो पैदल हिँडेपछि बोजोरतचुली पुगिन्छ।
यहाँबाट सुन्दर दृष्य अवलोकन गर्दै करिब आधा घण्टा तेर्सै हिँडेपछि सिराइचुली पुगिन्छ।
सिराइचुलीलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य मानेर प्रवर्द्धन गर्न थालिएको करिब १५ वर्ष भयो।
पर्यटकीय नगरी सौराहालाई जिल्लाको सबभन्दा उचाइको भू-भागसँग जोड्ने ‘चेपाङ हिल ट्रेल’ सँगै सुरूआतमा पृथ्वी राजमार्गबाट हात्तीबाङ हुँदै जानेगरी बनाइएको रुट अहिले पनि चलिरहेको छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Ghumfir/Beturchuli/bodoraschuli4.jpg)
राजमार्गको रूट भएर जाँदा करिब एक घण्टा सवारीसाधनमा उकालो चढेपछि हात्तीबाङ पुगिन्छ भने यहाँबाट घना जंगल र खोलाको बाटो हुँदै एक घण्टा भन्दा बढी ठाडै उकालो उक्लनुपर्छ। पैदल रूटबाट पर्यटकलाई अकर्षण गर्ने खास केही देखिँदैन।
तिलु अहिले स्थानीयबासीलाई साथमा लिएर तोबाङ–वीरपातीलाई हात्तीबाङको विकल्पकारूपमा प्रचार गर्ने अभियानमा सक्रिय भएका छन्। उनलाई स्थानीय झमकबहादुर मगर, गणेशबहादुर मगर लगायतले दह्रो साथ दिएका छन्।
यस क्षेत्रका ६४ घरमध्ये ३ घर मगरका छन्। बाँकी सबै चेपाङका।
पर्यटकलाई राख्न अहिले गाउँलेले इच्छाकामना गाउँपालिकाको सहयोग लिएर होमस्टे निर्माण गरिरहेका छन्। ७ लाख रुपैयाँको लागतमा २० जना बस्न मिल्ने होमस्टे अहिले निर्माण भइरहेको छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Ghumfir/Beturchuli/siraichuli2.jpg)
‘हामी स्थानीयले आ–आफ्ना घरहरू पनि पर्यटक राख्न मिल्ने बनाइरहेका छौं। सबैले शौचालय र खानेपानीको व्यवस्था गरेका छन्,’ स्थानीय गणेशबहादुर मगरले भने, ‘तिलुसँग होटलमा काम गरेको अनुभवले पनि केही गर्न सकिन्छ कि भनेर हौसाएको छ।’
सौराहामा वेटरको काम गर्दा प्रायजसो लज भित्रै रहने तिलुले कहिलेकाहीँ विदेशी पर्यटकको साथमा डुल्ने अवसर पनि पाउँथे। उनी आधिकारिक गाइड बनिसकेका त थिएनन् तर ग्रामीण क्षेत्रमा पैदलयात्रा गर्न चाहने पर्यटकका लागि भने उनी गाइड सरह नै थिए।
उनले धेरै विदेशीलाई पदयात्रामार्फत शक्तिखोर, उपरदाङगढी हुँदै सिराइचुली पुर्याएका छन्।
‘जिल्लाको उचाइमा रहेको सिराइचुली पुर्याएपछि उनीहरूलाई आफ्नो गाउँ, घर पनि देखाएर फर्काउने गरेको थिएँ,’ तिलुले सुनाए, ‘उनीहरू हाम्रो गाउँ र यहाँबाट देखिने दृष्यले मोहित भएर फर्कन्थे।’
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Ghumfir/Beturchuli/bodoraschuli5.jpg)
होटलमा काम गर्दा गाउँको बारेमा सोच्ने फुर्सद नपाए पनि लकडाउनले फुर्सद फुर्सद मिलेपछि बल्ल गाउँलाई नै पर्यटकीय क्षेत्र बनाउन सकिन्छ कि भन्ने सोच पलाएको उनले बताए।
स्थानीयबासीको सक्रियतामा तोबाङबाट सिराइचुलीको पदयात्राका लागि बाटो बनेको छ। बाटो निर्माण गर्न गाउँपालिकाले ५ लाख रुपैयाँ दिएको थियो।
‘सिँढी सहितको बाटो, ठाउँ–ठाउँमा शौचालय र विश्रामस्थल बनाउनका लागि थप बजेट मागेका छौं,’ उनले भने, ‘गाउँलेले झारा गएर भए पनि बाटो राम्रो बनाउँछौं।’
२७ वर्षीय तिलु सौराहालाई आफ्नो गाउँसम्म जोड्न चाहन्छन्।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Ghumfir/Beturchuli/FB_IMG_1607523012569.jpg)
‘२०७० सालदेखि सौराहामा काम गरें, पर्यटक र पर्यटन क्षेत्रको विषयमा केही न केही अनुभव बनाएको छु,’ उनी भन्छन्, ‘अब यो अनुभव र सौराहासँगको सम्बन्धको आधारमा वाइल्डलाइफ टुरिजम् र हिल टुरिजम्लाई जोड्न प्रयास गर्नेछु।’
उनले यस क्षेत्रमा बहुमूल्य वनस्पती, जटिबुटी, हुँचिल, काँडे भ्याकुर, फिस्टेलगायतका लोपोन्मुख चरा, चितुवा, मृग, थारलगायतका जनावरहरू पनि देखिने गरेकाले यसको संरक्षणसँगै पर्यटनको विकास गर्ने लक्ष्य रहेको बताए।
‘चितवन आउने पर्यटकहरू वन र वन्यजन्तु मात्रै हेरेर फर्कन्छन्। उनीहरूलाई ग्रामीण भेगको संस्कृति, रहनसहन, परम्पराबारे देखाएर विदेशसम्म प्रचार गर्न सकिन्छ,’ तिलु भन्छन्, ‘यस भेगमा पर्यटकलाई लोभ्याउन सक्ने झरना, गुफाहरु पनि छन् तिनको प्रचार गर्नुपर्छ।’
उनले आफ्नो गाउँ र यस क्षेत्रका संभावनालाई उजागर गर्न वेबसाइट निर्माण गर्ने तयारी भएको बताए।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Ghumfir/Beturchuli/jpeg.jpg)
कक्षा १२ उत्तीर्ण गरेका तिलुले नै केही समयअघि आफूले काम गरेको सपना भिलेजमार्फत यो गाउँमा खानेपानीको व्यवस्था मिलाएका थिए।
सपना भिलेज सोसल इम्प्याक्टको संयोजनमा विभिन्न दातृ संस्थाहरुको सहयोगमा आएको ४७ लाख ६७ हजार रुपैयाँ खर्च गरेर यस क्षेत्रका ३४ घरधुरीका लागि आकाशे पानी संकलन गरेर फिल्टरगरी पिउन मिल्ने संरचना तयार पारिएको छ।
फागुनदेखि वैशाखसम्म खानेपानीको समस्या हुने यस गाउँमा तिलुकै सकृयतामा तोबाङ खानेपानी संकलन आयोजना पुगेपछि स्थानीयबासीले राहत महसुस गरेका छन्।
‘सबै संरचनाहरु तयार हुँदैछन्, अब गाउँलाई पर्यटकीय गन्तव्य बनाउँदै स्थानीयबासीको जीवनस्तर माथि उठाउन सकिन्छ कि भन्ने आशा छ,’ उनले सेतोपाटीसँग भने।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Ghumfir/Beturchuli/bodoraschuli2.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Ghumfir/Beturchuli/bodoraschuli3.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Ghumfir/Beturchuli/bodoraschuli6.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Ghumfir/Beturchuli/bodoraschuli7.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Ghumfir/Beturchuli/bodoraschuli8.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Ghumfir/Beturchuli/siraichuli1.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Ghumfir/Beturchuli/tilu1.jpg)