मोहनी लगाउने म्याग्दीः अंग्रेजलाई लोभ्याएको ‘सेतो पहाड’ र ‘सुन छहरा’ म्याग्दीका गौरव


प्राकृतिक सुन्दरता र भौगोलिक विविधताले सम्पन्न म्याग्दी जिल्लामा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई मोहनी लगाउने प्रशस्त सम्पदाहरु हुँदाहुँदै पनि समुचित प्रयोग,प्रचारप्रसार र व्यवस्थापनको अभावमा त्यस्ता सम्पदाहरु अझै पनि ओझेलमा परेका छन् ।

सन् १९४७ पूर्व भारतमा अंग्रेजहरुले शासन गर्दा भारतको उत्तरप्रदेशमा पर्ने गोरखपुरबाट उत्तरतर्फ हेर्दा देखिएको ‘सेतो पहाड’ (जसले उनीहरुलाई लोभ्याएको थियो र पछि खोजी गरेर पत्ता लगाएका थिए) धवलागिरि देखि सुनको खानी रहेको अनुमान गरिएको ‘सुन छहरा’म्याग्दीमा रहेका छन् ।

त्यसका साथै यहाँ दर्जनौं हिमश्रृङ्खलाहरु,छहरा,ताल,गल्छी,झरनाहरु रहेका छन् । पर्यटकलाई मख्ख पारेर धेरै दिनसम्म एकै ठाउँमा बसिरहुँ जस्तो वातावरण बनाउन आवश्यक पर्ने मनोरम प्राकृतिक दृश्यहरु म्याग्दीमा विद्यमान छन् ।

म्याग्दीका इतिहाँसविद् एवम् भूगोलका ज्ञाता कर्णवहादुर बानियाँका अनुसार म्याग्दीमा  मनमोहक वा अनौठा मानिने प्राकृतिक दृश्य वा संस्कृति उपलब्ध छन् । ती ठाउँहरुको समुचित प्रयोग र व्यवस्थापन गर्न सक्ने हो भने म्याग्दी पर्यटकीय आकर्षण र अनुसन्धान केन्द्रको प्रमुख स्थल हुनसक्ने बानियाँको भनाइरहेको छ ।

गल्छी तथा हिमालहरू

म्याग्दी जिल्लाको उत्तरी क्षेत्रमा संसारको सबैभन्दा गहिरो गल्छी रहेको छ जसलाई अन्धगल्छी भनिन्छ । यो जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने दाना गाउँमा काली गण्डकीले सर्वाधिक गहिरो गल्छी बनाएको छ जसको पश्चिममा धवलागिरी हिमाल (८,१६७ मी.) र पूर्वमा अन्नपूर्ण हिमाल (८,०९१ मी.) छन् । यी दुई हिमश्रृङ्खला बीचको दूरी करीब ३५ मिटर मात्र छ । दाना करीब १,२०० मीटरको उचाइमा अवस्थित छ । धवलागिरीको टाकुरादेखि दानासम्मको उचाइमा करीब ६,९६७ मिटरको अन्तर छ । धवलागिरीको चुचुरादेखि दानासम्मको त्यही उचाइको फरकलाई जमिनदेखि जमिनसम्मको उचाइको अन्तर मानिएको छ जसका कारण यो गल्छीलाई संसारकै सर्वाधिक गहिरो गल्छी मानिएको हो ।

हिम श्रृङ्खलाहरू 

म्याग्दी जिल्लाको उत्तरी भू–भागमा धवलागिरी हिम श्रृङ्खला रहेको छ । यो हिम श्रृङ्खला सेतो भएको हुनाले यसलाई धवलागिरी भनिएको हो भन्ने भनाइ छ । धवलको अर्थ ‘सेतो’ र गिरीको अर्थ ‘पहाड’ भन्ने हुन्छ । यो हिम श्रृङ्खला बिहानीको झुल्के घाममा चाँदी झैं टल्कने भएकोले यसलाई ‘सेतो पहाड’ अर्थात् ‘धवलागिरी’ भनिएको इतिहाँसविद् बानियाँको भनाइ छ । बानियाँका अनुसार अङ्ग्रेजहरूले भारतको गोरखपुरबाट उत्तरमा रहेको ‘सेतो पहाड’ देखेपछि यसको खोजी गरेका थिए । त्यसपछि सन् १८०० मईमा ब्रिटिस इण्डियन सर्वेयर टोलीले यो हिम श्रृङ्खलाको बारेमा केही कुरा सार्वजनिक गरेको थियो ।

काली गण्डकी र ठूली भेरीको बीचमा बसेको यो हिम श्रृङ्खलामा एउटा ८,००० मीटर भन्दा अग्लो चुचुरो छ भने तेह«वटा ७,००० मीटर भन्दा अग्ला र ४९ वटा ६,००० मीटर भन्दा अग्ला चुचुरा छन् । यसमा मुकुट, डोल्पा र गुर्जा नामका तीन उपश्रृङ्खला छन् । यसको पूर्वमा काली गण्डकी, पश्चिममा भेरी नदी, उत्तरमा वारबुङ खोला र दक्षिणमा जिरवाङ खोला छन् । सन् १८५८ मा विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा (माउण्ट एभरेष्ट) हो भन्ने कुरा पत्ता नलागुञ्जेल धवलागिरी हिमाललाई नै संसारको सर्वोच्च टाकुरा मानिन्थ्यो । तर अहिले धवलागिरी पहिलो विश्वको सातौं अग्लो चुचुरोको रूपमा रहेको छ जुन ८,१६७ मिटर अग्लो छ । धवलागिरी दोस्रो ७,७५१, धवलागिरी तेस्रो ७,७१५, धवलागिरी चौथो ७,६६१, धवलागिरी पाँचौं ७,६१८ र धवलागिरी छैटौं ७,२६८ मिटर अग्ला छन् । यस जिल्लाको उत्तर–पश्चिमी क्षेत्रमा रहेको अर्को हिमश्रृङखला गुर्जा हिमाल हो । यो हिमश्रृङखलाको सबैभन्दा अग्लो चुचुरो ७,१९३ मिटर अग्लो छ जसलाई गुर्जा हिमाल भनिन्छ । यस जिल्लाको उत्तर–पश्चिमी क्षेत्रमा रहेका अन्य हिम चुचुराहरूमा चुरेन (मुख्य) ७,३८५, चुरेन (पूर्व) ७,३७१, चुरेन (पश्चिम) ७,३७१, पुथा ७,२४६, फाल्स जंसन ७,१५०, जंसन ७,१०८, हवेली ६,१८२ र हिमचुली ५,९११ मिटर अग्ला छन् । धवलागिरीे हिमाल आरोहणको प्रयास सन् १९५० देखि नै शुरु भएको भएतापनि सर्वप्रथम सन् १९६० मा स्वीस, अष्ट्रियन र नेपाली पर्वतारोहण दलको संयुक्त टोलीले यो हिमाल आरोहण गरेको थियो । यस जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा रहेको अर्को हिमश्रृङखला अन्नपूर्ण हो ।

यो हिमश्रृङखलाको सबैभन्दा अग्लो चुचुरो अन्नपूर्ण पहिलो (८०९१ मि.) हो । नारच्याङमा निलगिरी नामक अर्को हिमाल पनि पर्दछ । म्याग्दीमा रहेका हिम श्रृङ्खलाका विभिन्न चुचुराहरू आरोहण गर्ने क्रम निरन्तर चलिरहेको छ । धवलागिरी हिम श्रृङ्खलाका पाँचवटा चुचुराको दक्षिण–पश्चिमतिर मोहडा रहेको छ । यी हिमालहरूले यो जिल्लाको पर्यटन विकासमा राम्रो टेवा दिएका छन् ।

छहरा र तालहरू

म्याग्दी जिल्लाका विभिन्न ठाउँमा अनेकौं प्रकारका छहराहरू छन् । यो क्षेत्रको पर्यटन विकासमा छहराहरूको धेरै महत्व छ । किनकि ती छहराहरूले पर्यटकहरूको मन प्रफुल्ल पारिदिन्छन् ।

अर्जे छहरा ः म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारदेखि पश्चिममा रहेको अर्मन र बराङ्जा गाउँको धुरीबाट एउटा झरना तलतिर झरेको छ । यो छहरा बराङजा गाउँमा पुगेपछि अर्जे खोलाको नामबाट चिनिन्छ । यो नदी सिङतातोपानीनेर पुगेर म्याग्दी नदीमा मिसिन्छ ।

उडाइन छहरा ः बेनीबजारबाट करीब दुई कि.मि.पश्चिममा रहेको तोराखेत गाउँबाट बग्दै आएर म्याग्दी नदीमा मिसिने उडाइन छहरा निकै आकर्षक छ । यो छहरा गाउँको पुछारबाट तल पहरामा ठोक्किन्छ अनि पुनः तल झर्दछ र एकै ठाउँमा दुईवटा छहरा देखिन्छ । यसरी एकै ठाउँमा दुइवटा छहरा निस्कँदा पानी उडेजस्तो देखिन्छ । त्यसैले यसलाई उड्ने छहरा भनिन्छ । यो झरनाको स्थायी मूल नभएको हुनाले वर्षा याममा मात्र देख्न सकिन्छ ।

कोटगाउँ छहरा ः कोटगाउँबाट बग्ने घोप्टे खोलामा अत्यन्त मनमोहक झरना छ जसलाई कोटगाउँ छहरा भनिन्छ । यो झरनाको पानी रघुगङ्गामा मिसिन्छ ।

नारच्याङ छहरा ः नारच्याङ गाउँको शिरमा अन्नपूर्ण हिमाल पर्दछ । यो हिमालको दक्षिणतिर रहेको चुचुराबाट निस्कने मृस्तीखोला नारच्याङ गाउँभन्दा माथिबाट करीब ७,५०० फीटको उचाइबाट तल खसेर सुन्दर छहरा बनेको छ । यो छहरा हिमालबाट आएको पानीबाट बनेको हुनाले बाह्रैमास देख्न सकिन्छ । दानाबाट हेर्दा नारच्याङ छहरा अन्नपूर्ण हिमाल, नारच्याङको बुक्यान र ठूला–ठूला पहाडको मुखबाट धरातलसम्म झरेको लठ्ठी जस्तो विचित्रको सीधा सेतो छहरा देखिन्छ ।

महभीर छहरा ः महभीर गाउँबाट बग्ने छहरालाई महभीर छहरा भनिन्छ । यो छहरा समुद्र सतहदेखि करीब ६,००० फीट उचाइको महभीर लेकबाट झरेको छ । यसको दृश्य अन्य छहराभन्दा फरक किसिमको छ । किनभने यो छहरा पहाडको टुप्पाबाट सिधै धरातलमा नखसी पहाडको मुखबाटैे कुलो बनाए जस्तो गरी एक किसिमको गोलाकार मार्ग बनाइ बगेको छ र काली नदीमा मिसिएको छ । यो छहरा वर्षा याममा निकै ठूलो देखिएपनि हिउँदमा सानो हुन्छ । यसको वरपर अग्ला–अग्ला पहाडहरू, घना जङ्गल र कहाली लाग्ने भीर देखिने हुनाले यहाँ पुग्दा जो कोहीको पनि जीउ शिरिङ्ग भएर रोमाञ्चित हुन्छ ।

रूप्से छहरा ः दाना गाउँमा पर्ने अन्धगल्छीको नजिकमा बग्ने रुप्से छहरा विश्व प्रसिद्ध झरना हो । यो छहराको पानी धवलागिरी हिमालबाट उत्पत्ति भएर कालीगण्डकीमा मिसिन्छ । यो झरना करीब १५,११७ फीटको उचाइमा रहेको रूप्से लेकबाट बग्दै आएको छ ।८ पहाडको मुखबाट बग्दै आएको पानी हुत्तिएर तल भुइँमा खस्दा वाफ वा धुवाँ उडेजस्तो देखिन्छ । पानीका ससाना कण बनेर हावामा उडेको जस्तो देखिने यो छहराको दृश्य विचित्रको छ । यसको धारा खस्ने धरातल कडा चट्टानले बनेको छ । पानी चट्टानमा ठोक्किंदा निस्केका ससाना जलकण सूर्यको किरणसँग मिसिंदा सप्तरङ्गी इन्द्र धनुषको आकार अर्थात् इन्द्रेणी परेजस्तो देखिन्छ । यो छहराको दृश्यबाट मुग्ध भएर यात्रीहरू बाटो हिंड्दाहिंड्दै लट्ठ परेर टोलाइरहन्छन् ।

लमसुङ छहरा ः यो जिल्लाको लमसुङ भन्ने ठाउँमा एक सुन्दर झरना छ । मुना र मुदी गाउँबाट नर्जा, लुलाङ र खोरियातिर जाने बाटोमा पर्ने यो छहरा दरखोलामा मिसिन्छ ।

सुन छहरा ः  मङ्गले र चिमखोला गाउँको धुरीबाट एक सुन्दर झरना बग्दछ । यो छहरा समुद्री सतहदेखि ६,००० फीटको उचाइ माथिबाट खसेको छ । स्थानीय मानिसले यो छहरा खस्ने ठाउँमा सुनको खानी छ भन्दछन् । त्यसैले यो छहरालाई सुन छहरा भनिएको हो । यो छहरा रघुगङ्गामा मिसिन्छ । काली गण्डकीको बालुवामा सुन पाइन्छ भन्छन् तर गलेश्वरभन्दा माथिको भागमा बोटेहरूले बालुवा केलाएर सुन निकाल्ने काम गरेको पाइँदैन । त्यो ठाउँदेखि तल मात्र बालुवा केलाएर सुन निकाल्ने काम गरिन्छ । त्यसकारण सुन छहरामा सुनको खानी हुन सक्ने कुरामा विश्वास गर्न सकिन्छ ।

तालहरू

यस जिल्लामा थुप्रै रमणीय तालहरू छन् । वानियाँका अनुसार यहाँका तालहरूलाई बराह ताल भन्ने चलन छ ।

(१) गुर्जाको बराह ताल ः यो जिल्लाको उत्तर–पश्चिमी क्षेत्र गुर्जा गाउँमा एउटा ताल छ जसलाई बराह ताल भनिन्छ । यो ताल ७०० वर्ग्मिटरमा फैलिएको छ । गुर्जा बेनीबाट तीन दिनको पैदल यात्रापछि मात्र पुगिन्छ । लुलाङ गाउँबाट उकालो चढेपछि देउराली पुगिन्छ जहाँबाट करिब तीन घण्टा जङ्गलको बाटो ओरालो झरेपछि गुर्जा गाउँमा पुगिन्छ । गाउँमा पुग्नुभन्दा पहिले बराह ताल आइपुग्दछ । यो तालको उत्तरतिरको मूल बाटोबाट पहिलो चोटी आएको नव आगन्तुक हिंड्न र घोडा लैजान हँदैन भन्ने चलन छ । नयाँ मान्छे सो बाटोबाट हिंडेमा वा घोडा लगेमा बराह रिसाउँदछन् र अनिष्ठ हुन्छ भनिन्छ । यहाँका जनतामा तालको माथिबाट नवागन्तुक हिंडेमा, घोडा हिंडाएमा वा देवतालाई नचढाइकन मकैको डाँठ चुसेमा बराह रिसाउँदछन् र असोजमा पानी पर्दछ भन्ने अन्धविश्वास छ । आश्विन महिनामा पानी पर्नु गुर्जाबासीका लागि अभिशाप मानिन्छ । किनकि यो महिनामा गाँजा माडेर चरेश बनाउने महिना हो । पान िपरेपछि गाँजाको चोप झर्छ र चरेश बनाउन मिल्दैन ।

(२) नागीको बराह ताल

नागी गाउँको शिरानमा रहेको अन्नपूर्ण हिमालको काखमा रहेको लेकमा एक सुन्दर ताल छ जसलाई नागीबराह भनिन्छ । यो ठाउँमा ऋषितर्पणी अर्थात् जनै पूर्णिमाको दिनमा मेला लाग्दछ ।

(३) निस्कोटको बराह ताल ः म्याग्दीको सदरमुकाम बेनीबजारदेखि पश्चिममा रहेको दरवाङ बजारबाट दक्षिणतिर पर्ने निस्कोट गाउँको सिरानमा यो ताल रहेको छ । करिब ६५० वर्ग मिटरमा फैलिएको यो ताल जङ्गलको बीचमा छ ।

(४) पाउद्वारको खयरबराह ताल ः पाउद्वार गाउँको शिरमा एउटा ताल छ जसलाई खयरबराह ताल भनिन्छ । स्थानीयहरू यो ताललाई ‘खयर भारानी’ भन्दछन् । पाउद्वार गाउँबाट उकालो लागेपछि झण्डै दुई दिनमा पुगिने यो ताल समुद्र सतहबाट ४,४३० मी. को उचाईमा रहेको छ । पाउद्वार गाउँबाट एक दिनको हिंडाइमा खोप्रालेक (३,६६० मी.) पुगिन्छ । त्यहाँबाट पनि एक दिन हिंडेपछि मात्र अन्नपूर्ण हिमालको काखमा रहेको सुन्दर खयरबराह तालमा पुगिन्छ । यो ताल करिब १० हजार वर्ग फिटको क्षेत्रमा गोलाकारमा अवस्थित छ । यो ठाउँमा ऋषितर्पणी अर्थात् जनै पूर्णिमाको दिनमा मेला लाग्दछ ।

(५) मङ्गलेखानीको बराह ताल ः म्याग्दीको उत्तरमा अवस्थित धवलागिरी हिमालको दक्षिणपट्टि रहेको मङ्गले गाउँदेखि माथिको जङ्गलमा विभिन्न किसिमका साना ठूला तालहरू छन् । यो गाउँको पश्चिमपट्टिको शिरमा ऋषार नामक एक रमणीय ताल छ जसलाई ‘रिगात् बराह’ भनिन्छ । यो बराह तालमा ऋषितर्पणी पूर्णिमाका दिन पूजा हुन्छ र यसको नजिकमा रहेको देउराली डाँडामा मेला लाग्दछ । रिगात् बराहकासाथै यो क्षेत्रमा दहखर्क बराह, ठूलीधुरी बराह, रुवाचौर काली बराह, रुवाचौर पाताल्नी बराह र श्रीखर्क बराह नामका छ वटा तालहरू छन् ।

पर्यटन विकासका लागि पर्यटकलाई लाभयाउने मनोरम प्राकृतिक दृश्य हुन आवश्यक छ जुन कुरा म्याग्दीमा उपलब्ध छ । यो जिल्लाको अन्धगल्छी, धवलागिरी र अन्नपूर्ण हिमाल जस्ता प्राकृतिक दृशयहरू विश्व प्रसिद्ध छन् । त्यसका साथै यहाँ अनेकौं झरना र तालहरू पनि छन् जसले यो जिल्लाको प्राकृतिक सौंदर्यको श्रीबृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन् । प्रकृतिको यो अनुपम उपहारलाई सही सदुपयोग गर्न सकेमा म्याग्दीको समृद्धिमा टेवा पुग्ने छ र म्याग्दीबासीको भविष्य उज्ज्वल हुने वानियाँले दावि गर्नुभएको छ  ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.