म्याग्दीको समृद्धिः‘रेमिट्यान्स र प्राकृतिक श्रोतको फ्यूजन’


शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले छैटौं म्याग्दी महोत्सवको उद्घाटन गर्दै म्याग्दी जिल्लासँग आफ्नो नजिकको सम्वन्ध रहेको र यस जिल्लाको समृद्धिका लागि आगामी सरकारले पूरापूरा सहयोग गर्ने बताएपछि म्याग्दीमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।

अधिकांश समय म्याग्दी जिल्लाको सम्भावना र यस जिल्लाको समृद्धिका बारेमा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले यहाँका प्राकृतिक श्रोतहरुको सहीरुपमा सदुपयोग गर्नु जरुरी रहेको बताए। कालीगण्डकी करिडोर,कोरला र नेचुङनाका र पूर्व पश्चिम रेलमार्ग जस्ता नेपालको विकासका लागि दीर्घकालीन महत्वका योजनाहरुसंगै म्याग्दीको समृद्धिका विषयहरुलाई समेत पूर्वप्रधानमन्त्री दाहालले निकै महत्वका साथ अभिव्यक्त गरेपछि म्याग्देलीहरु खुसी भएका थिए ।

वास्तवमा म्याग्दीको समृद्धिका आधारहरु राज्यको नीति,योजना र विकाससंग सम्वन्धित भएपनि समृद्धिको जग भने रेमिट्यान्सको सही सदुपयोग र यहाँ रहेका प्राकृतिक स्रोतहरुको प्रयोग नै भएको पाइएको छ ।

मन्त्री र राजनीतिक दलका नेतादेखि लिएर कार्यकर्ता र जनतासम्म सबैले  आर्थिक समृद्धिको कुरा गरिरहेको बेला प्रदेश नं ४ मा पर्ने म्याग्दी जिल्लाको समृद्धि वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको रेमिट्यान्स र जिल्लामा रहेका प्राकृतिक श्रोतहरुको सदुपयोगमार्फत सम्भव रहेको सरोकारवालाहरुले बताएका छन् ।

बैदेशिक रोजागर,जलविद्युत, पर्यटन, जडिबुटी,खनिज,पशुपालन र कृषि यी सातवटा श्रोतहरुलाई राम्रोसंग सदुपयोग गर्नसक्ने हो भने जिल्लाको कायापलट हुनसक्ने प्रशस्त आधारहरु रहेको म्याग्दीका राजनीतिकदलका नेताहरु र उद्योगी व्यवसायीहरुले बताएका हुन् ।

वार्षिक करिव ४ अर्वको हाराहारीमा रेमिट्यान्स भित्रिने म्याग्दीमा त्यो पैसालाई यहाँ रहेका प्राकृतिक श्रोतहरुको उपयोग गर्ने उद्यममा लगानी गर्ने हो भने १० वर्षमा नै म्याग्दी सबैकुराबाट समृद्ध बन्नसक्ने उनीहरुको भनाइरहेको छ । अहिलेसम्म बैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स जिल्ला बाहिर घर घडेरी जोड्ने र जिल्ला भित्र अनुत्पादक क्षेत्रमा नै खर्चहुने गरेको छ ।

‘करिब ५ वर्षसम्म म्याग्देली युवाहरुले विदेशमा कमाएर पठाएको पैसालाई अन्यत्र लगानी नगरी जिल्ला भित्रका प्राकृतिक श्रोतहरुको (पर्यटनका पूर्वाधार,जलविद्युत,खानी संचालन,पशुपालन,कृषि र जडिबुटी) क्षेत्रमा लगानी गरी त्यसबाट व्यवसायिक लाभ लिन सक्ने वातावरण सरकारले बनाउन सक्यो भने १० वर्षमा म्याग्दी समृद्ध जिल्ला बन्छ’ म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले भने।

समृद्ध र उज्ज्यालो म्याग्दीको भविष्य यहाँ रहेका जलविद्युत आयोजनाहरुको भविष्यसंग जोडिएको छ । ‘कालीगण्डकी,म्याग्दी,रघुगंगाजस्ता नदीहरुबाट म्याग्दीमा २२ सय मेगावाट जलविद्युत उत्पादन गर्न सकिने भएपनि राज्यको नीतिगत व्यवस्था झन्झिटिलो हुनुका साथै लगानीमैत्री वातावरण वन्न नसक्दा समस्या उत्पन्न भएको म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजेश शाक्यले बताए।

२२ सय मेगावाट विद्युत उत्पादनको श्रोत रहेको म्याग्दीका खोला तथा नदीहरुबाट अहिलेसम्म जम्मा २ मेगावाट विद्युत मात्र उत्पादन गर्न सकिएको छ । यद्यपि ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माणको चरणमा छ भने ५ मेगावाटको घलेम्दी खोला जलविद्युत आयोजना पनि अन्तिम चरणमा पुगेको छ ।

म्याग्दीको विकास र समृद्धिको ढोका मानिएको उत्तर—दक्षिणजोड्ने कालीगण्डकी करिडोर निर्माणले तिब्रता पाएसंगै म्याग्दीमा उज्ज्यालो भविष्यको आशा गर्नेहरु बढेर गएका छन् ।   भारतसंग सीमाना जोडिएको सुनौलीदेखि हिमाली जिल्ला मुस्ताङ हुँदै तिब्बती नाका कोरला जोड्ने कालिगण्डकी करिडोरको निर्माणसंगै प्राचिन समयमा भारत र भोट (तिब्बत)को प्रमुख व्यापारिक नाका मानिएको बेनीबजारको भविष्य पुनः चम्किलो बन्नसक्ने आशामा स्थानीय व्यापारी,व्यवसायीहरु रहेका छन् ।

वार्षिक ५० हजार भन्दा बढि विदेशी पर्यटकहरु भित्रिने म्याग्दीमा समृद्धिको भरपर्दो आयश्रोत पर्यटन व्यवसाय नै हुने कुरामा कसैको पनि दुईमत छैन । तर,पर्यटकका लागि आवश्यक पूर्वाधारहरुको कमी भने यस क्षेत्रको मुख्य चुनौति रहेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।‘म्याग्दी जिल्लामा वार्षिक १ लाख सम्म पर्यटकहरु आउनसक्ने स्थान र सम्पदाहरु छन्’पर्यटन व्यवसायीसमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमवहादुर गर्वुजा (पुन)ले भने। ‘तर व्यवस्थित सडक,पदमार्ग,सूचना र संचारको सहज पहुँच,सबै ठाउँमा स्तरीय र अनुकूलयुक्त होटल तथा रेष्टुरेन्ट,आधुनकि सूचना केन्द्र,स्वास्थ्य जस्ता पूर्वाधारहरुको अभावले गर्दा समस्या उत्पन्न भएको छ ।’पछिल्लो एक तथ्याङ्क अनुसार पर्यटक मार्फत म्याग्दीमा वार्षिक डेढ अर्व रुपैयाँभन्दा बढि आम्दानी हुने गरेको छ । यसमा राज्यवाट पाउने रोयल्टी समावेश गरिएको छैन । त्यसैगरी जिल्लामा रहेका धार्मिक तथा ऐतिहाँसिक  स्थलहरु  गलेश्वर, मालिका, खोप्रा,पौलस्त्य पुलह क्षेत्र,रिखार,जस्ता दर्जनौं स्थलहरु प्रचारप्रसार र आवश्यक भौतिक पूर्वाधारका अभावमा अझैसम्म पनि ओझेलमा परेका छन् । गलेश्वर क्षेत्र वाहेक अन्य धार्मिक तथा ऐतिहाँसिक स्थलहरुको बारेमा कसैको पनि चासो गएको पाइएको छैन । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्नसक्ने,प्राकृतिक रुपले पनि अत्यन्तै सुन्दर ती ठाउँहरु पनि समृद्धि म्याग्दीका लागि अत्यन्तै सहयोगी हुनसक्ने कुरालाई विर्सनु हुँदैन ।त्यसबाहेक जिल्लाभित्रका एकदर्जन तातोपानी कुण्डले जिल्लालाई सबैभन्दा बढी पहिचान दिलाएका छन् । ती कुण्डहरुको समूचित व्यवस्थापका साथ अझै प्रचारप्रसार हुन आवश्यक छ ।

त्यसैगरी उद्यमशीलताको नारा अव बजारमा मात्रै लगाउने होइन गाउँगाउँसम्म उद्यमी उत्पादन गर्ने ठोस योजना सहित अघि बढ्न आवश्यक देखिएको छ । जिल्लाका ग्रामिण क्षेत्रहरुमा रहेका खानी संचालनका लागि सम्वन्धित पक्षले पहल गर्दै आवश्यक लगानी र उपकरणहरुको व्यवस्था गर्न सक्नुपर्दछ । ओखरबोटको तामाखानी, रुम र खिवाङको स्लेट खानी,शिलाजित,यार्सागुम्बा लगाएतका अन्य जडिबुटीहरुको उत्खनन् तथा संकलनमा सहज नीति  र व्यवस्थाको आवश्यकता देखिएको छ ।

जलविद्युत,पर्यटन र खनिज पछि समृद्ध म्याग्दीको प्रमुख श्रोत भनेको कृषि र पशुपालन हो । कृषिमा पनि म्यादी अब्बल छ । वर्षेनी करिब  १२ करोड रुपैयाँ सुन्तला मात्र विक्रि गरेर यहाँका कृषकहरुले आयआर्जन गर्दछन् । त्यसैगरी तरकारी र फलफूलबाट पनि बार्षिक १ अर्वभन्दा बढी यहाँका किसानहरुले आम्दानी गर्ने गरेका जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क रहेको छ । कृषि पछि पशुपालन पनि म्याग्देलीको प्रमुख आयआर्जनको माध्यम बनेको छ । पछिल्लो समय कुखरा,बाख्रापालनसंगै व्यवसायिक दुग्ध उत्पादनका लागि गाई भैसी पाल्ने कृषकहरुको संख्या पनि बढेर गएको छ । म्याग्दीको समृद्धिसंग सरोकार राख्ने यी सबै क्षेत्रहरुको सही रुपमा प्रयोग र व्यवस्थापन गर्न सक्ने हो भने समृद्ध म्याग्दीका लागि धेरै समय कुर्नु नपर्ने सरोकारवालाहरुको बुझाई रहेको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.