सुनको अन्नपूर्ण, चाँदीको अन्नपूर्ण


बिहान ब्युँझिदा आँखैअघि सिङ्गै अन्नपूर्ण हिमाल! एउटा ‘सरप्राइज’!

हिजो दिउँसो यहाँ त्यस्तो केही थिएन।

बिहान उठ्दा भने चाँदीको हिमाल गहनाको विज्ञापन झैं चम्किरहेको थियो। एकछिन अघिसम्म त सुनकै थियो रे। मेरो यात्राको अभिलाषा यही थियो- सुनको अन्नपूर्ण हेर्नु। टाढाबाट होइन। नजिकबाट। अन्नपूर्णको काखैमा बसेर। आँगनबाटै सेल्फी खिच्दै।

निन्द्राले बर्बाद गर्यो।

ब्युँझिँदा हिमालले भर्खरै सुनको जलप हटाएर चाँदीको जलप ओडिसकेछ। बिहान झुल्के घामसँग मात्रै हिमाल सुनको रङमा देखिन्छ। एकैछिनमा यसले रङ बदल्छ र चाँदी भइहाल्छ।

अघिल्लो दिन ‘वार्मअप’को थकानले सताएको थियो। पोखराबाट घान्द्रुक जान हिँडेको बस तल खिम्चेमै रोकियो।

‘ल ओर्लिनुस् है! बस यहाँसम्म मात्रै हो।’ खिम्चे पुगेपछि बस चलाकले जनाउ दिए।

घान्द्रुक पुग्न यहाँबाट डेढ घण्टा उकालो चढ्नु पर्ने। उकालोमात्रै हो र भन्या, नाकै ठोकिने उकालो। ढुंगा छापेका सिँढीँ उक्लिँदै एक घण्टामा घान्द्रुक पुगिने।

विदेशी पर्यटक लक्षित आधुनिक होटल र रेस्टुराँ पनि प्रशस्तै छन् घान्द्रुकमा। गुरूङ संस्कृति र ‘होमस्टे’का लागि प्रख्यात घान्द्रुक बस्ने मन यसै भइहाल्छ। अझ मौका मिल्यो भने रोदी क्लबमा रमाउन पनि पाइन्छ। एक घण्टा उकालो चढेर पसिना पसिना भएपछि त पहिले जुन घर भेटिन्छ, थचक्क त्यसैमा बसिदिउँ जस्तो हुन्छ।

गन्तव्य होइन भने मन मारेर घान्द्रुकलाई ‘सि यु’ भन्दै अर्को उकालो लाग्नु पर्ने हुन्छ। धेरैबेर थकाई नमारी उक्लिरहने हो भने अर्को डेढ घण्टा जतिमा पुगिन्छ कोम्रोङ डाँडा। २१ सय मिटर उचाइमा रहेको कोम्रोङ डाँडामा तीनवटा गेष्ट हाउस छन्। यी गेष्ट हाउसका पाहुना अन्नपूर्ण आधार शिविर पदयात्रा (एबीसी ट्रेकिङ)  जाने पर्यटक हुन्।

दिउँसो तीन बजे म यहाँ आइपुग्दा कुहिरोले सबैतिर ढाकेको थियो। नजिककै घान्द्रुक गाउँ पनि उति देखिएको थिएन। हिमालका त कुरै नगरौं। साँझ अलिअलि पानी पनि पर्‍यो। मैले यहाँबाट अन्नपूर्ण हिमाल यति नजिक देखिन्छ भन्ने अनुमान गरेको थिइनँ।

दिनभरको थकान बोकेर म निदाएको थिएँ। थकानको निन्द्राले बिहान निकैबेर छोडेन। यही निन्द्राले सुनको अन्नपूर्ण हेर्ने रहर पुरा भएन।

केही छैन, म त जाँदै छु अझै यही हिमालको काखतिर।

यही हिमालको फेदमा थियो मेरो गन्तव्य- अन्नपूर्ण आधार शिविर अर्थात एबिसि(अन्नपूर्ण बेस क्याम्प)। विश्वका उत्कृष्ट पदमार्गहरूमा पर्ने  यो पदमार्गमा बर्सेनी लगभग २० हजार विदेशी पर्यटकहरू हिड्ने गर्छन्। यो संख्या बढिरहेकै छ।

यति ठूलो संख्यामा विदेशी पर्यटक लोभ्याउने यही अन्नपूर्ण आधार शिविरबाट देखिने सुर्योदयको दृश्य प्रमुख हो। यही दृश्य हेर्ने आकांक्षा बोकेर पर्यटकहरू उकालो चढ्ने गर्छन्।

हो,  अब उकालो चढ्न सुरू गर्नु छ।

सात जना चिनियाँ पर्यटकको हुल लिएर आएका गाइड अविनास तामाङ सँगैको अर्को होटलमा बसेका छन्। उनले बेलुकी नै अफर गरिसकेका छन्, ‘दाइ, भोलि सँगै जानुपर्छ है। रमाइलो हुन्छ।’

यसमा मलाई आपत्ती केही थिएन। मैले हुन्छ भनेको थिएँ।

बिहान हिड्ने बेला उनले भने, ‘यहाँबाट किमरोङ खोला झरेर गयो भने दुई घण्टा छिटो हुन्छ। त्यतैबाट जानुपर्छ।’

मैले किन नाइँ भन्नु।

बिहान साढे सातमा सात पर्यटक, चार पोर्टर र अविनासको साथ लागेर म कोम्रोङबाट किमरोङ खोलाको ओरालो हान्निएँ।

अविनास भन्छन्, ‘चाइनिजहरू एकदमै छिटो हिड्छन्, गोराहरु दुई दिन हिड्ने बाटो एकै दिनमा हिड्छन्।’

मलाई ठीकै लाग्यो, चिनियाँहरूलाई संसारमा सबैभन्दा छिटो हिड्नु छ। अर्थतन्त्रमा युरोप-अमेरिकाले लामो समय लगाएर गरेको प्रगति उनीहरूले तीब्र गतिमा गरे। पूर्वाधार विकासमा उनीहरु नै सबैभन्दा छिटो छन्। संसारको सबैभन्दा तीब्र गतिको बुलेट रेल यही देशमा दगुर्छ।  पदयात्रामा पश्चिमाहरूले दुई दिनमा हिड्ने बाटो एक दिनमा हिड्नु उनीहरूको लागि स्वभाविक होला।

मैले ठट्टा गर्दै भनेँ, ‘म जति हिड्छन्?’

‘हामी ‘नेपाली’ले पनि भेट्न गाह्रो हुन्छ,’ उनले जवाफ दिए।

उनले ‘नेपाली’ भनेका गाइड र पोर्टर हुन्। नियमित हिड्ने भएकाले उनीहरू पर्यटकभन्दा चाँडो हिड्छन्। घुम्न जाने नेपालीलाई चाहिँ ‘नेपाली गेष्ट’ भन्ने गर्छन्। यो क्षेत्रमा काम गर्नेका लागि सबै विदेशी पर्यटक ‘गोरा’ हुन्। चाहे चिनियाँ हुन्, चाहे जापानी वा कोरियन वा थाई। ‘गोरा’ वा ‘खैरे’कै कोटीमा पर्छन् उनीहरूका लागि।

हिड्दै जाँदा अविनाससँग मैले ठट्टा गरेकैजस्तो भयो।

पर्यटकको हुलको पछिपछि बिस्तारै हिड्न मलाई झ्याउ लाग्यो। मैले बिस्तारै पाइलाको गति बढाउन थालेँ। जंगलको बाटोमा चराहरू आफ्नै भाषामा कुरा गरिरहेका थिए। चिनियाँहरू पनि चराकै भाषामा बोलिरहेका थिए। एक शब्द भेउ नपाएपछि मान्छेकै भाषा पनि चराको जस्तो लाग्दो रहेछ। उनीहरूले बोलीको लय ठीक चराकै जस्तो थियो। मानौं ती कुनै संगीत सिर्जना गरिहेका हुन्। ढुङ्गामा ठोक्किने ‘ट्रेकिङ स्टिक’को आवाजले अर्को संगीत थपिरहेको थियो।

यो संगीत बिस्तारै पछि छुट्न थाल्यो। म उनीहरूलाई उछिनेर सबैभन्दा अगाडि आइसकेको थिएँ। किमरोङ खोलाको पुल आइपुग्दा छिटो हिड्ने पर्यटक पनि निकैपछि छोडिइसकेका थिए। संसार जित्ने चिनियाँ गतिलाई पनि उछिन्न सकेँ, भलै पदयात्रामै किन नहोस्। अर्थतन्त्रमा, विज्ञानमा, पूर्वाधार विकासमा पनि यस्तो दिन आए हुन्थ्यो नि! मनको लड्डु घिउसँग खान किन नपाउनु! आखिर अब लामो बाटो एक्लै हिड्नु छ।

किमरिङ खोलाको झोलुङ्गे पुल तरेर वारी आएपछि पो थाहा भयो, कुन बाटो रोजिएछ भन्ने। यहाँबाट  ठाडो उकालो, दुई घण्टा बढी।

कोम्रोङ डाँडाबाट अर्को बाटो गएको भए छोम्रोङ पुग्न यस्तो उकालो हिड्न पर्ने रहेनछ। उकालो चढ्न थालेपछि लाग्यो- बरू दुई घण्टा ज्यादा हिड्नु बेश थियो। तर अब उपाय थिएन, पसिना पसिना भएर म उकालो चढ्न थालेँ।

उकालो चढ्न थालेसँगै पर्यटकहरू भेटिन थाले।

पश्चिमा पर्यटकहरूलाई बाटोमा देखेको मान्छेसँग नबोली हिड्न मन लाग्दैन कि के हो? माथिबाटै ‘नमस्टे’ गर्दै झर्छन्। आफ्नो सास फुलेर आवाज पनि नआउने भएको हुन्छ। तालैपिच्छे दोहोरिने ‘नमस्टे’देखि पनि झर्को लाग्छ। तर तिनको अनुहारमा फूलेको खुशी हेर्नुस् र नमस्ते फर्काउनुस्, ‘नमस्ते नमस्ते।’

अझ कोरियाली/जापानी पर्यटक त हात जोडेरै ‘नमस्ते’ गर्न सिपालु हुन्छन्।

कोही पर्यटक अलि गफ्फाडी हुन्छन्। सोध्छन्, ‘हाउ आ(र) यू?’

जवाफ दिनुस्, ‘गुड एन्ड यु?’

अझ बोल्दै गयो भने कुराकानी लम्बिन सक्छ। यो गफमार्ग होइन, पदमार्ग हो। गफ टुंग्याउनुस् र फटाफट पाइला चाल्नुस्।

चिनियाँ पर्यटकहरू भने बोलिहाल्न रूचाउँदैनन्। अंग्रेजी भाषा त्यति राम्रो नभएका कारण पनि उनीहरूसँग विदेशीसँग बोलिहाल्ने आत्मविश्वास पनि कम हुन्छ। स्वभावैले पनि उनीहरू छिटो नयाँ मान्छेसँग बोलिहाल्न रूचाउँदैनन्। तै पनि कोहीकोही चिनियाँ लवजमा ‘नमस्ते’ भन्दै हिड्ने गर्छन्।

चिम्सा आँखा भएका सबै पर्यटक चिनियाँ हुन् कि भन्ने पनि लाग्नसक्छ। त्यस्तो होइन, चिनियाँकै जस्ता अनुहार भएका दक्षिण कोरियाली पर्यटक पनि उत्तिकै हुने रहेछन् यो पदमार्गमा। जापानी र थाई पनि।

एबिसि पुगेर फर्किँदा म झुक्किएँ। दुई हँसिला युवती स्याँस्याँ गर्दै उकालो चढिरहेका थिए। म ओरालो झर्दै थिएँ। उनीहरूले परैबाट मीठो मुस्कानको तीर मारे।

‘हेलो,’ पुक्क गाला परेकी ह्याटवालीले भनी।

मलाई ती युवतीहरू चिनियाँ नै हुन् भन्ने लाग्यो, छातीमा हात राखेर निहुरेर भनेँ, ‘नि हाउ’। यो अभिवादनको चिनियाँ शब्द हो। नमस्ते  वा हेलो भनेजस्तै।

एउटी निकै हतार गरेर बोली, ‘नो नो, फ्रम कोरिया, कोरिया।’

‘ओ सरी!’ मैले माफी मागेँ।

एकै छिनमा उनीहरूले कोरियाली अविभादन सिकाउन भ्याए,’एन्योउङ हासेयु।’

मैले पनि शीर निहुराएर उनीहरूको सिको गरेँ,’एन्योउङ हासेयु।’

उस्तै अनुहार भएका दुईजना खुबै मिठोसँग हाँसे।

उनीहरू कोरियाली भए पनि यो बाटोमा अहिले चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढेको छ। पश्चिमाहरुले धेरै मन पराउने यो पदमार्गमा अहिले पश्चिमाभन्दा दोब्बर एसियाली पर्यटकहरु आउन थालेका छन्। यसमा सबैभन्दा ठूलो हिस्सा चिनियाँहरूकै छ। मैले बाटोभरी आधाभन्दा धेरै रङ्गीचङ्गी लुगा लगाएका चिनियाँ पर्यटक भेटेँ। चिनियाँहरूमा पनि अझ धेरै त युवतीहरू नै छन्।

सन् २०१५मा नेपाल आएका झन्डै ८ लाख विदेशी पर्यटकहरूमध्ये एक लाख चार हजार चिनियाँ पर्यटक छन्। यो भारतबाट नेपाल आउने पर्यटकको संख्याभन्दा १४ हजारले मात्रै कम हो। भारतीय पर्यटकहरूमध्ये धेरै पशुपति वा अन्य तीर्थ गर्न आउनेहरू पर्छन्। यति हुँदा पनि भारतीय पर्यटककै हाराहारीमा चिनियाँ पर्यटक आइरहेका छन्। यसले चिनियाँहरूमा बढ्दै गएको नेपाल भ्रमण मोह र चीनको आर्थिक विकास दुवै संकेत गर्छ।

यो शान्त बाटोमा कतै ठूलो आवाजवाला स्पिकर बोकेर बलिउडका गीत घन्काउँदै हिड्ने पर्यटक पनि भेटिन्छन्। नजिकै यस्तो स्पिकर बज्यो भने सोच्नुस्, भारतीय पदयात्रीसँग तपाईंको भेट हुँदै छ।

यस्तो बाटोमा स्पिकर बजाउनेहरू देखेपछि म गुरू अरूण गुप्तोलाई सम्झिन्छु। गुप्तो भन्छन्,’यस्तो ठाउँमा जाने त प्रकृतिको नजिक हुन हो। शान्ति अनुभूत गर्न हो। स्पिकर त घरमै बजाए हुन्छ, यहाँ त चराहरूको गीत सुन्ने हो।’

मलाई पनि यस्तै  लाग्छ। तर, सबैलाई यस्तै लाग्नुपर्छ भन्ने छैन।

हेलो र नमस्ते फर्काउँदै म उक्लिएँ। बल्ल तल्ल साढे दुई घण्टामा यो जंगलको उकालो काटेर पहाडको टुप्पामा आइपुगेँ।

फेरि अर्को गल्तीले अर्को दुई/साढे दुई घण्टाको उकालो आइलाग्यो।

पहाडको माथि आइपुग्ने बित्तिकै म तेर्सो लाग्नुपर्ने रहेछ। यहाँ थोरैथोरै उकालो ओरालो र हिडेरै छोम्रोङ गाउँ पुगिने रहेछ। मैले विचारै नगरी धेरै मान्छे हिडिरहेको बाटो पछ्याएँ र जंगलैजंगल ओरालो झरेँ।

अघि उकालोमा हेलो र नमस्तेले दिएको सास्ती अहिले तपाईंले अरू पदायात्रीमा देख्न सक्नुहुन्छ। उकालो उक्लिरहेका पदयात्रीलाई जोडले ‘हेल्लो’ भन्नुस्, सकिनसकी उसले जवाफ दिन्छ,’हेल्लो!’

मन लागे अझ सोध्नुस्, ‘आर यु ओके?’

पसिना पसिना भएको, स्वास फुलेर बोल्न पनि नसक्ने भएको जुन सुकै पदयात्रीले भन्छ, ‘या आ’एम ओके।’

यो ओरालो झिनो डाँडा झर्ने ओरालो रहेछ।

झिनो डाँडा प्राकृतिक तातोपानीका लागि प्रख्यात छ। नयाँपुल वा घोडेपानीबाट पदयात्रा सुरू गर्ने पर्यटक राती बस्ने एउटा ठाउँ पनि हो यो।

खासमा घान्द्रुकबाट पदयात्रा सुरु गर्नु झिनोबाट छोम्रोङ जाने ठाडो उकालो छल्नु पनि हो। मेरो आफ्नै असावधानीले म यहाँ आइपुगेको थिएँ। धेरै नसोची म उकालो चढ्न थालेँ। शरीरको तागत अघिकै उकालोले खाइसकेको थियो। बिहान कोम्रोङमा खाएको दूध र मुसलीको शक्तिले पनि अब धेरै धान्नेवाला थिएन। तै पनि मुलको पानी खाँदै म उकालो चढिरहेँ।

दुई घण्टा बढी  लगातार ढुंगा छापिएको सिँढी चढ्नु पर्यो। यो पदयात्रामा थकाउने यस्तै सिँढीँ हुन्। लगातारको नाक ठोक्किने उकालो हिँडेपछि छोम्रोङ पुगिन्छ। यो होटलैहोटलले भरिएको सुन्दर गुरूङ बस्ती हो। गाडीको बाटोबाट कम्तीमा एक दिन टाढा रहेको छोम्रोङ आधुनिक होटल र रेष्टुराँयुक्त छ। एउटा बेकरी पनि।

छोम्रोङको अर्को विशेषता धान खेती हो। लगभग २१ सय ७० मिटर उचाइको यो गाउँमा असोज दोस्रो साता नै धान पाक्न थालिसकेको थियो। सुनौला धानका बाला लहलह झुलिरहेका देखिन्थे। अर्को आश्चर्य यहाँ एउटा होटल छेउको भित्तामा रहेका चियाका बुट्टा थिए।

बिहान अविनास भाइले बेम्बुमा बास बस्न सुझाएका थिए। बेम्बु कतिबेला पुगिने हो, मैले अनुमान गर्न सकेको थिइनँ। त्यसैले म ती चियाका बुट्टाबारे सोधखोज गर्न नलागी फटाफट तिनै ढुंगा छापिएका सिँढी ओर्लिन थालेँ।

ओरालो झर्दै थिएँ, एउटा घरको झ्यालबाट युवतीले बोलाइन्। म त्यो घर भित्र नपसी तलतलैबाट हिड्न खोज्दै थिएँ। उनको इशाराले रोकिएँ।

नयाँ ठाउँ, नमानी सरासरी हिड्न पनि भएन। म उनले इशारा गरेतिर लागेँ। उनी र अर्की एक युवती झ्यालैमा बसेका थिए। बाहिर केही पर्यटक पनि थिए।

म त्यहाँ पुग्नै लाग्दा तिनै इशारा गर्ने युवतीले सोधिन्, ‘दाइ एबिसी हो?’

‘हो,’ मैले जवाफ दिएँ।

‘नेपाली कति जाना?’ उनले रजिस्ट्ररमा केही लेख्न खोज्दै सोधिन्।

‘नेपाली विदेशी जम्मै म एक्लै,’ मैले फेरि जवाफ दिएँ।

‘एक्लै घुम्नु जानु भाको?’ अर्की युवतीले छक्क पर्दै मेरो अनुहार हेरिन्।

‘हो एक्लै,’ मैले जवाफ दिएँ।

उनले नाम सोधिन् र रजिस्ट्ररमा लेखिन्। म हस्ताक्षर गरेर अगाडी बढेँ। यो पर्यटन सूचना केन्द्र रहेछ। अन्नपूर्ण आधारशिविरको पदयात्रामा जाने सबैले यहाँ विवरण टिपाउन पर्ने रहेछ।

यो दिन मैले तेस्रोपटक ठाडो उकालो चढ्न पर्‍यो। छोम्रोङ सकिएपछि आउने सिनुवा पुग्न फेरि उस्तै उकालो।

थाकेर लखतरान भइसके पनि स्याँ स्याँ गर्दै उकालो चढिरहेको थिएँ। मेरो अघिअघि हिडिरहेका चिनियाँ युवतीहरू एउटा रूखको छायाँमा थचक्क बसे।

म पनि रूखको शितल लिनलाई रोकिएँ।

नमस्ते आदानप्रदान गरेपछि एउटी हरियो ज्याकेटवाली युवतीले चिनियाँ लवजमा अंग्रेजी बोली। बस्नलाई रुखको जरो देखाउँदै भनी, ‘तेक रेस्त फर अ ह्वाइल।’

उकालो हिडेको बेला ठाउँठाउँ बसिरहनुभन्दा बिस्तारै हिडिरहन ठीक हुन्छ। मैले उसको प्रस्ताव अस्वीकार गरेँ। उसलाई ‘सि यु अन द वे’ भन्दै उक्लिन थालेँ।

यो बाटो यस्तै हो। ‘सि यु’ भने पनि फेरि भेट हुने नहुने केही ठेगान हुँदैन। मनमा भेट भए हुन्थ्यो भन्ने त कसको नहुँदो हो र?

उकालो र घामले लखतरान पारेको बेला अर्को चिनियाँ पर्यटक सानसँगले ओरालो झरिरहेको थियो। मलाई देखेपछि उसले माथिबाटै ‘नमस्ते’ गर्यो।

मैले पुरै ऊर्जाविहीन भएर नमस्ते फर्काएँ। उसले आफ्नो हात बलियो बनाउँदै केही भन्यो। अलि परै भएकाले, उसको चिनियाँ लवज ठ्याक्कै बुझ्न सकिनँ। उसको इशारा हिम्मत गर्, उत्साह राख् भन्ने थियो। मैले बुझेँ।

उसको यति इशाराले पनि निकै काम गर्‍यो। अनि जोड जोडले निगालोको लट्ठी टेक्दै म सिँढीँ उक्लिन थालेँ। जीवनमा प्रेरणा कति महत्वपूर्ण हुने है! यस्तो थकानमा पनि यति इशाराले उत्साह जगाउँछ।

झन्डै दुई बजे म माथिल्लो सिनुवा पुगेँ। बिहानै हिड्ने पर्यटकका लागि कि त छोम्रोङ कि त सिनुवा ‘लन्च’का लागि उपयुक्त ठाउँ हो। खाना खाएर सिनुवाबाट म फटाफट अघि बढेँ। यहाँबाट अघि बढिसकेपछि अब त्यस्तो नाक ठोक्किने उकालो चढ्न पर्दैन। अलिअलि उकालो, अलिअलि तेर्सो गर्दै एबिसि नै पुगिन्छ।

एउटा झरना नजिकैको ओरालो एकछिन ओर्लिएपछि बेम्बो पुगियो। बेम्बो गाउँ होइन। यहाँ चारवटा होटल मात्रै छन्। अन्नपूर्ण पदमार्गमा आएका पर्यटकले बिसाउने एउटा स्टेसन भएकाले नै यहाँ यी होटल बनेका हुन्। सिनुवादेखि यता गाउँ छैन। जति छन्, बाटाका केही होटल मात्रै हुन्।

बिहान अविनास भाइले यहाँ बस्न सुझाएका थिए। तर मसँग समय प्रशस्तै थियो। तीन पनि बजेको थिएन। मैले एक स्टेशन अगाडि जाने निधो गरेँ र चिया पिएर अगाडि बढेँ।

साढे चारतिर दोभान पुगेँ।

अब यहाँभन्दा अगाडि हिड्न सकिँदैन। लामो यात्रा नहिडेको महिनौं भइसकेकाले निकै गाह्रो भइरहेको थियो। यहाँका होटलमा म कोठा सोध्दै हिड्न थालेँ तर तीनवटै होटलमा कोठा खालि छैन।

यहाँ जम्मा तीन होटल मात्रै छन्। अर्को स्टेसन हिमालय पुग्न अरू दुई घण्टा हिड्न पर्छ। मसँग त्यति तागत थिएन।

म अक्क न बक्क परेर बसिरहेँ। एक कप अदुवा चिया मगाएँ।

 

बिहान बाटोमा भेटिएकी एउटी चिनियाँ महिला मेरो छेउ आएर भनी, ‘तिमी असाध्यै छिटो हिड्दो रहेछौ।’

‘छिटो हिडेर पनि के फाइदा भयो र!’

‘किन?’ उसले सोधी।

‘मैले कोठा पाइनँ, अब कता बस्ने?’

उनीहरुका लागि गाइडले पहिले नै फोन गरेर कोठा बुक गरेका थिए। फेरि यहाँका होटलवाला हत्तपत्त नेपालीलाई कोठा दिन चाहँदैनन्। एक्लैलाई अझ दिन गाह्रो मान्छन्। उनीहरूमा अझै विदेशीलाई मात्रै पर्यटक ठान्ने रोग बाँकी नै छ। पहिले पोखरा पनि यो रोग थियो। निको भएपछि पोखराको पर्यटनलाई आन्तरिक पर्यटकले चलायमान बनाएका छन्।

त्यसो त अन्नपूर्ण बेस क्याम्प पदयात्रामा जाने नेपाली पदयात्रीको संख्या पनि बढिरहेकै छ। सिमित बजेटमा आएका चिनियाँ वा अरू विदेशी पर्यटकभन्दा धनीमानी नेपालीहरूले नै बढी खर्च गर्न थालेका छन्। त्यसै पनि यताका मिनुमा दालभात सबैभन्दा महंगो छ। नेपालीलाई एक छाक भए पनि भात नखाइ चित्त बुझ्दैन।

मसँग गफ्फिइरहेकी महिलाका गाइडले नै मलाई चिनियाँ पर्यटकले कम खर्च गर्ने कुरा सुनाएका थिए। नभन्दै उनीहरूको लोभीपन देखिइहाल्यो। बेलुकी ‘डिनर अर्डर’ गर्ने बेला ती गाइडले ती दुई चिनियाँलाई दाल भात खान उकास्दै थिए। त्यही मसँग गफ्फिने महिलाले मूल्य हेरी। त्यहाँ खानाको मूल्य ६ सय जति थियो।

‘ओ माइ गड, इट्स टु एक्पेन्सिप,’ ऊ लगभग आत्तिएकै थिई, ‘वी विल चुज समथिङ इल्स।’

बेलुकी ती गाइड भन्दै थिए, ‘बिहान लन्च केही खाँदैन, माथि पुगेर बिरामी भयो भने मलाई तनाव हुन्छ। गाली गर्देको थिएँ, आज फ्राइड राइस खायो।’
म त्यही महिलासँग कोठाको कुरा गर्दै थिएँ। मेरो जवाफ सुनेपछि उसले पुरै आत्तिएर सोधी,’ओ माइ गड, ह्वाट विल यु डु नाउ?’

‘आइ डोन्ट नो,’ मैले जवाफ दिएँ।

यत्तिबेलै होटल सञ्चालक दाइ आइपुगे। उनले याचनाको स्वरमा भने,’भएसम्म म मिलाइदिन्थेँ, कुनै कोठामा एउटा मात्रै गेष्ट भए पनि ‘एडजस्ट’ गरिदिन्थेँ। अब केही उपाय छैन।’

‘अब के गर्ने त?’ मैले उनलाई सोधेँ।

‘डाइनिङमा सुत्नुस सर, तातो पनि हुन्छ, बेड पनि राम्रो छ,’ उनले सुझाए। मुख्य सिजनको बेला होटलमा कोठा पहिले बुक नगरी जाने मैले यति सजाय त भोग्नै पर्ने थियो।

म गुरूङ दाइको पछिपछि होटलको डाइनिङ रूममा छिरेँ। विदेशी पर्यटकहरू आ-आफ्नो स्वाद अनुसारको खाना खाइरहेका थिए। यति दुर्गमको यी होटलमा थरीथरीका चिनियाँ, इटालियन, अमेरिकन स्वाद चाख्न पाइन्छ। मम चाउमिन देखि पिज्जा बर्गरसम्म।

म यहाँ आएको डेढ घण्टा भए पनि बाहिरै बसिरहेको थिएँ। डाइनिङ रूममा पसेको थिइनँ। यहाँ पसेपछि बल्ल थाहा भयो, कोठाको वरीपरी पुरै खाट हालेर विछ्यौना हालिएको रहेछ।

गाइड र पोर्टरहरू यहाँ सुत्ने गर्छन्। सिजनमा पर्यटकहरु होटल अँट्दैनन्। अनि त उनीहरू पनि यहाँ सुत्ने गर्छन्। केही होटलले टेन्ट पनि भाडामा दिन्छन्।

आजको रात मैले यही डाइनिङमा सुतेर बिताउनु पर्ने भयो। विछ्यौना असजिलो थिएन, ओढ्ने चिसो थिएन। कोठामा आठदश जना सुत्नु छ भन्नेचाहिँ परिरहयो।

सात नबज्दै होटल साहुले खानाका लागि उर्दी जारी गरे। प्राय: पर्यटकले खाइसकेका थिए। अब गाइड र पोर्टरहरू बाँकी थिए।

होटलको मिनुमा जतिसुकै खानेकुराका नाम भए पनि दालभात अन्त आँखा गएन। थकान र जाडो दुवै भएकाले अरू विकल्प सोच्न पनि मन लागेन। जतिसुकै महंगो भए पनि दालभातले जस्तो सन्तुष्टी अरू खानामा नआउने नेपालीलाई। टन्न दालभात खाएर साढे सात पनि नभइ विछ्यौनामा पसेँ। यति चाँडै सुत्नु त मेरा लागि यातना नै थियो। तर, अलग कोठा नपाएपछि यो यातना सहनुको कुनै विकल्प थिएन। मोबाइलमा नेटवर्क पनि थिएन।

भोलिपल्ट बिहान सात बजे यहाँबाट यात्रा सुरु भयो। धेरै पदयात्रीको रोजाइको ब्रेकफास्ट मुसली दूध खाएर म उकालो चढ्न सुरु गरेँ। यहाँबाट अगाडिको बाटो उस्तो उकालो छैन। घरि तेर्सो घरि साधारण उकालो हुँदै हिमालय र देउराली पार भएँ। यी दुवै बेम्बो वा दोभानजस्तै पर्यटकका बिसौनीहरू हुन्। हिमालयमा तीनवटा र देउरालीमा पाँचवटा होटल छन्।

 

वरपर कतै बस्ती छैन। नदीको दुईतीर डरलाग्दा अक्करेभीर छन्। कतै चट्टानी पहाड उभिएका छन्। यी पहाडको बीचैबाट बगेको छ मोदी नदी। यही मोदी खोलालाई पछ्याउँदै यो बाटो अन्नपूर्ण बेस क्याम्पसम्म पुग्छ। मोदी नदीलाई पछ्याउन घोडेपानीबाट नै सुरु हुन्छ र अन्नपूर्ण बेस क्याम्पसम्मै पुग्छ। बेसक्याम्पभन्दा थोरै माथिको तालबाट यो नदीको यात्रा सुरु हुन्छ। एउटा सानो झरनाको रूपमा। यही नदी घोडेपानी पुग्दा निकै विशाल भइसक्छ।

आकाशैबाट झरेजस्ता देखिने झरनाहरू यो बाटोको सबैभन्दा ठूला आकर्षण हुन्। सुन्दर झरना देख्ने बित्तिकै पोज पोजमा फोटो खिच्ने बानी छ भने यो बाटोमा तपाईं होसियार रहनुपर्छ। यति धेरै झरना भेटिन्छन् कि सबैमा फोटो खिच्न थाल्नु भयो भने हिड्नु पर्ने तपाईंको समय फोटो खिच्नमै बित्न सक्छ।

बादल लागेको समयमा यी झरना बादलबाट सिधै खसेजस्ता देखिन्छन्। चट्टानी पहाडमा यी झरना देखिन्छन्। अनि कहाँबाट आएका छन् भनेर हेर्दै जाँदा माथि बादलको साम्राज्य देखिन्छ। मानौं बादलले समुद्रबाट घैलाका घैला पानी बोकेर ल्याइरहेका छन् र ती झरनामा खन्याइरहेका छन्।

यी झरना हेर्दै रमाइरहेको मनको सात्तो त हिमपहिरोले खाइदियो।

देउराली नपुग्दै बाटोमा सानोसानै भए पनि हिमपहिरो गएको रहेछ। सानो होस् कि ठूलो, आक्कल झुक्कल हिउँ टेक्ने मान्छेका लागि हिमपहिरो त डरलाग्दो हुने भइहाल्यो। माथि चट्टानबाट सुन्दर झरना झरिरहेको थियो। त्यसमाथि हिमाल देखिँदैन थियो। यता पहिरो छ। माथिबाटै हेर्दा त पहाडमै गएको पहिरोजस्तो देखिने तर अलि कोट्याउँदा बरफैबरफ। ठूलाठूला सेता ढुंगाजस्तो देखिने गरी जमिरहेको हिउँ।

माथि हिमाल छैन, चट्टानी पहाडमात्र छ। यो हिमपहिरो कहाँबाट आयो?

मेरो दिमागले काम गरेन। फर्कँदै गरेका एकजना गाइडलाई सोधेँ।

‘त्यो पहाडभन्दा माथि हिमाल छ।  त्यो झरना पनि हिमालकै पानीबाट बनेको हो। त्यही हिमालबाट यो पहिरो आएको हो। तर, यो पहाडले हिमाल छलेकाले यहाँबाट देखिँदैन। पारिबाट हेर्‍यो भने देखिन्छ।’

यति स्पष्ट रूपमा बुझाउने गाइड दाइलाई धन्यवाद।

म हिमपहिरो छलेर उकालो लागेँ।

देउरालीपछि अर्को स्टेशन माछापुच्छ्रे बेस क्याम्प (एमबिसि) हो। यो ३७ सय १२ मिटर उचाइमा रहेको एमबिसिमा पाँचवटा होटल छन्।

माच्छापुच्छ्रे बेस क्याम्प नपुग्दासम्म अन्नपूर्णतिरको मौसम खुला थियो। माछापुच्छ्रे भने बादलले ढाकिसकेको थियो। माछापुच्छ्रेसँगको लुकामारी पोखरादेखि नै चलिरहेको थियो। म पोखरा पुगेको दिन र भोलिपल्ट बिहान पनि फेवातालमा माछापुच्छ्रे देखिएको थिएन। बस चढ्ने बेलामा भने बादल हटेको थियो। माछापुच्छ्रे प्रष्ट देखिइरहेको थियो।

म एमबिसी पुगेको एकैछिनमा चारैतिरबाट कुहिरोले ढाकिहाल्यो। खाना खाएर बाहिर निस्किँदा त सबै कुहिरी मण्डल भइरहेको थियो।

खाना खाइसकेर दुई बजेतिर यहाँबाट एबिसिको यात्रा सुरु भयो। कुहिरो र चिसो सिरेटो बढेकाले ज्यानले टोपी र पन्जा माग गर्‍यो।

एमबिसीबाट एबिसि जाने बाटो उस्तो उकालो छैन। दुरी पनि त्यति धेरै होइन। उचाइमा भएकाले यहाँ छिटो हिड्न सकिँदैन। धेरै उचाइमा भएकाले सास नफुल्ने गरी हिड्न पर्छ। लौरो टेक्दै बिस्तारी हिड्दै म अघि गएँ। साथै हिडेका काठमाडौंका ८ जवान अलि पछि परे। म सानो आकारको मोदी किनार पछ्याउँदै अघि बढिरहेँ। छेउमै बगेको भए पनि मोदी देख्न सकिँदैन थियो। कुहिरोले सबै ढाकेको थियो।

करिब डेढ घण्टा हिडेपछि कुहिरोभित्र घरजस्तो एउटा आकृति देखियो। अन्नपूर्ण बेस क्याम्प यही हुनुपर्छ।

मलाई खुशीले चिच्याउन मन लागेको थियो।

जोडले चिच्याउने प्रयास गरेँ। तर, दिनभरको हिडाइको धपेडीले घाँटी यस्तरी सुख्खा भएछ कि मुखबाट कुनै आवाज आएन। थर्मसबाट तातोपानी निकालेर खाएपछि बल्ल घाँटी खुल्यो। एमबिसिमा एक सय रूपैंया तिरेर ७५० मिलिलिटरको थर्मसमा एक थर्मस पानी भरेको थिएँ। यही पानीले यहाँ घाँटी खुलायो।

अलिकति मास्तिर सानो मोदी खोला नाघेर पारी जानसाथ पहेँलो साइनबोर्ड देखियो। साइनबोर्डले भन्यो, ‘नमस्ते… अन्नपूर्ण बेस क्याम्प(एबिसी ४१३० मिटर)….वार्मली वेलकम टु अल एक्सटर्नल एण्ड इन्टर्नल भिजिटर।’

अघि नआएको स्वर बल्ल आयो। म पटक पटक खुशीले चिच्याएँ।

अन्नपूर्ण बेस क्याम्पमा अर्को खुशी पनि मिल्यो। कमन रूम नै किन नहोस्, कोठा पाइयो। कोठामा पाँच छवटा खाट थिए। अधिकांशमा चिनियाँ पर्यटक थिए।

अन्नपूर्ण बेस क्याम्प आइपुगे पनि हेर्नु केही थिएन। यो ठाउँ कस्तो छ भन्ने समेत थाहा भएन। उस्तो चिसो नभए पनि ४१ सय ३० मिटर हो, चिसो त भइहाल्छ। म चिसो छल्न अदुवाचिया पिउँदै डाइनिङ रूममा बसिरहेँ।

एबिसि पदयात्रामा जानु भनेको संसारका धेरै ठाउँका मानिस भेट्नु पनि हो। डाइनिङ रुम छिर्नुअघि मसँग एकजना अमेरिकाको कोलोराडोका पर्यटक गफ्फिएका थिए।

‘कोलोराडो चिसो ठाउँ हो, त्यसैले मलाई खास चिसो लागेको छैन,’ उनी भन्दै थिए।

भित्र पस्ने बित्तिकै कुनामा किताब च्यापेर बसिरेहको एउटा केटो मुस्कुरायो। उसको छेउमा बस्दै मैले सोधेँ, ‘ह्वीच बुक?’

त्यो इजरायली इतिहासकार तथा प्रोफेसर युभल नोह हरारीको ‘ब्रिफ हिस्टोरी अफ ह्युमनकाइन्ड’ थियो।

‘पुस्तक केको बारेमा छ?’ नामैले थाहा पाउने भए पनि कुरा अगाडि बढाउन मैले सोधेँ।

‘आइ जस्ट स्टार्टेड,’ उसले भन्यो, ‘यो मानव सभ्यताको संक्षिप्त इतिहास हो।’

उसले किताब धेरै पढ्न भ्याएको थिएन। तै पनि एउटा विषयले उसको दिमाग हल्लाइहेको रहेछ।

‘मानव सभ्यता लाखौं वर्षको हो,’ उसले भन्यो,’यो फ्रेममा हेर्दा मान्छेले सहर बनाउन थालेको पनि कत्ति भएको छैन। हामीजस्तो इंग्लिस, इटालियन, स्कटिस वा आइरिस भएको पनि कत्ति भएको छैन। धर्ममा मानिसहरू बाँडिएको पनि धेरै भएको छैन। तर हामी यिनै कुराहरूमा व्यर्थको गौरव गरिरहेका छौं।’

म उकालो लाग्दा बामपन्थी तालमेलको कुनै संकेत चुहिएको थिएन। समाजिक सञ्जाल र पत्रपत्रिकामा राष्ट्रवाद नै मूल विषय थियो।

‘युरोपमा आधुनिक राज्यको जन्म भएको त दुईसय वर्ष हाराहारी हुँदैछ,’ मैले भने, ‘एसिया अफ्रिकामा त अझ पछि हो। हामी यसैलाई शास्वत सत्य मानिरहेका छौं।’
उसले थप्यो, ‘राष्ट्रहरू बनेको नै कत्ति पो भएको छ र?’

ऊ लन्डनको रहेछ। अंग्रेज राष्ट्रवादको ज्वरोले बेलायतलाई युरोपेली युनियनबाट अलग गर्‍यो। यही कुरा केन्द्रमा राखेर उसले सोचिरहेको थियो कि! जसरी नेपालमा मधेसका मुद्धा राष्ट्रवाद घानमा परेको कुरा मेरो दिमागमा थियो।

‘पहिलो पटक सहर बनेकै ६ हजार वर्ष हुँदै रहेछ,’ उसले भन्यो, ‘हामी नचाहिने कुरामा घमण्ड गरिरहेका छौं।’

यो किताब पढ्नुअघि उसले कहिल्यै यसरी सोचेको रहेनछ।

उसले अर्को पनि प्रसङ्ग निकाल्यो। मानिसहरू हज्जारौं वर्ष पहिले  अमेरिका, अष्ट्रेलिया, इन्डोनेसिया पुगेका रहेछन्। तर युरोपेली इतिहासमा कोलम्बसले अमेरिका पत्ता लगाए भनेर पढाइयो। अबेल तास्मानले अष्ट्रेलिया पत्ता लगाए भनेर पढाइयो।

‘मानिसहरू हज्जारौं वर्ष पहिले त्यहाँ पुगिसकेका रहेछन् त!’ उसले भन्यो, ‘हामी भ्रममा बाँचिरहेका छौं। यो किताबले आँखा खोल्छ।’

मैले अमेरिकामा अहिले नोम चोम्सकीहरूले चलाइरहेको बौद्धिक अभियानको प्रसङ्ग निकालेँ। उनले इतिहासमा अमेरिकी आदिवासीमाथि भएको अत्याचारको विषयमा सञ्चारमाध्यममा पटकपटक बोलिरेहका छन्। कोलम्बसले अमेरिका पत्ता लगाएका होइनन्, अमेरिकालाई उपनिवेश बनाएर आदिवासीमाथि अत्याचार र नरसंहार सुरू गरेको तर्क गरिरहेका छन्। उनले अमेरिकी आदिवासीलाई ‘रेड इन्डियन’ भन्न नहुने बताउने गरेका छन्।

अमेरिकामा यो बहस त्यति नयाँ होइन। हामी किताबका कुरा छोडेर आफ्ना कुरा गर्न थाल्यौं।

उसले हाँसेर भन्यो, ‘म फुटबल हो, म्यान्चेष्टर युनाइटेडमा खेल्छु।’

म ठूलै हाँसो हाँसेछु। त्यो पत्याउन पर्ने कुरा थिएन नि त! कोठाका धेरैले मलाई हेरे।

मेरो पनि पालो त आइहाल्यो।

‘म क्रिकेटर हुँ, नेपालको राष्ट्रिय टिममा खेल्छु, विश्वकप पनि खेलेको छु,’ पैंचो तिरेँ।

अनि थपेँ, ‘अलि राम्ररी हेर्‍यौ भने मलाई विराट कोहलीजस्तो देख्छौ। नाम पनि त रोहित शर्माको जस्तो छ।’

ऊ उसैगरी हाँसिदियो।

अब अरू के चाहियो! म उसलाई ‘म्यानयु’ भनेर बोलाउन थालेँ, उसले मेरो नामै क्रिकेटर राखिदियो।

बेलायतको डेनियल एउटा साधारण फाइनान्समा काम गर्छ। युरोपको मज्जा यही हो, साधारण निजी कम्पनीमा काम गर्नेहरू पनि मज्जाले विदेश घुम्ने पैसा बचाउन सक्छन्।

आठ बजेतिर दालभात खाएर विछ्यौनामा पस्दा मेरो कल्पनामा आँगनैबाट देखिने सुनौलो अन्नपूर्ण खेलिरहेको थियो। चिनियाँ कल्याङमल्याङसँगै बिहान ब्युँझने बित्तिकै ज्याकेट र टोपी कसेर म बाहिर निस्किएँ। रिमरिम उज्यालो थियो। अलि पर अन्नपूर्णको काखबाट आएको हिमनदीको विशाल  बगर देखियो। यही बगर हेरेँ अनि आकासतिर आँखा लगाएँ। अफसोस! आकास कुहिरोले ढाकिरहेकै थियो।

‘खुल्छ खुल्छ,’ नजिकै उभिएको कसैले भन्यो, ‘सवा छबजे घाम झुल्किन्छ, त्यतिबेलासम्म खुल्छ।’

अघिल्लो दिन मौसम एकदमै राम्रो देखिएकाले पनि खुल्छ भन्ने धेरैको आशा थियो। बिस्तारै उज्यालो बढ्दै गयो। हावा चल्न थाल्यो। कुहिरो माथिमाथि सर्न थाल्यो। अन्नपूर्ण साउथ अलिअलि गर्दै देखिन थाल्यो। मुख्य अन्नपूर्ण हिमाल पनि देखिन थाल्यो। सबको अनुहारमा खुशी सञ्चार गर्न थाल्यो। मेरो मनमा पनि उमंग उसैगरी उम्लिँदै थियो।

फेरि अफसोस! सवा छ भयो,  कुहिरो हटेन। सुर्योदय हेर्ने रहर, कुहिरोदय हेरेर चित्त बुझाउन पर्यो।

यसपटक सुनका हिमाल हेर्न पाइएन।

‘प्रकृतिको कुरा हो, हामीले के गर्न सक्छौं र,’ बेलुकी डेनियलले भनेको सम्झिएँ।

पौने सात बजेतिर बल्ल आकासमा घामजस्तै उज्यालो देखा पर्यो। कुहिरोको ढकनीबाट छिर्दै घाम हिमालमा पोखिन थाल्यो। एकैछिनमा माछापुच्छ्रेबाहेक सबैतिरबाट बादल हट्यो। बिहानको घाममा चाँदीका हिमलहर टलल टल्किन थाल्यो।

‘त्यो हिउँचुली, त्यो अन्नपूर्ण साउथ, त्यो गंगापूर्ण, त्यो अन्नपूर्ण मेन,’ म सबका सब हिमाल हेर्न थालेँ।

हिमाल सधैं हेरिरहेको हो तर हिमालकै आँगनबाट हेर्नुको मजा अर्कै, खुशी अर्कै। यत्ति हिडेर गएर हेर्नुको खुशी अर्कै।

‘गुरूङ ब्रेड’ र मसला चियाको बिहानी नास्ता लिएर फेरि एकछिन हिमालसँग रमाएँ। यतिबेला त माछापुच्छ्रे पनि खुलिसकेको थियो। सुनको हिमाल हेर्न नपाए पनि चाँदीका हिमाले नै मन भर्‍यो। हिमालसँग सेल्फी खिच्दाखिच्दै फेरि कुहिरो उकालो चढ्न थालिहाल्यो।

कुहिरो उकालो चढ्न थाल्यो, म रूकस्याक भिरेर ओरालो झर्न थालेँ। सधैं कुहिरोमा हराएर हुन्न, आफ्नो बाटो पहिल्याउनै पर्छ। म हिमाल चढ्न गएको थिइनँ, अब मेरो बाटो ओरालै थियो।

मोदी किनारमा एक हुल भेडा चरिरहेका थिए। तस्बिर खिच्न खोजेँ तर बाक्लो कुहिरोले भाँजो हाल्यो। यसको क्षतिपूर्ति माछापुच्छ्रे बेस क्याम्पमा भेटिएको भेडी बथानले गरेँ। यतिबेला फेरि कुहिरो हटिसकेको थियो।

हिमाली कुहिरो साह्रै हतारमा हुन्छ। यो रफ्तारमा दौडिन्छ, अनि हिमालका चुचुरा ढाकेर बसिदिन्छ। एकैछिन अगाडि गम्लङ्ग ढाक्ने कुहिरो अहिले पातलिएको थियो। फेरि दिउँसो बाह्र नबज्दै उस्तै गरी फैलिहाल्यो।

माछापुच्छ्रे बेस क्याम्पको भेडीबथानको फोटो खिच्दै गरेकी युवतीलाई मेरो फोटो खिचिदिन आग्रह गरेँ। उसले भेडीबथानसँग मेरो फोटो खिचिदिई।

युरोपेली रंग भए पनि चिम्सा आँखा भएकी यो युवती रसियाबाट आएकी रहिछ। इवाना, उसको नाम। मस्कोबाट एक्लै नेपाल घुम्न निस्किएकी। एउटा गाइडको साथमा पोर्टर पनि नलिइ एबिसि ट्रेकिङमा आएकी।

हिड्नमा पनि उत्तिकै तेज। माछापुच्छ्रे बेस क्याम्पमा एकैछिन अल्मलिएको मैले भेट्न धौधौ पर्‍यो। उसलाई पनि भेट्न नसकेपछि मलाई लाग्यो, म निकै ढिलो हिडिरहेको छु। मैले हिडाइको गति बढाएँ। माछापुच्छ्रे बेसक्याम्प र देउरालीको बीचमा थोरै भए पनि फाँटिलो जमिन छ, बगर। यहाँ पुगेपछि बल्ल उसलाई जितेर अगाडि जान सकेँ।

लगभग बाटोभरि नै ऊ मेरै गतिमा हिडिरही। कहिले अघिअघि कहिले पछिपछि।

एबिसिबाट फर्कनेहरूको बासस्थान प्राय: बेम्बो वा दोभानतिर हुन्छ। मैले छोम्रोङ पुग्ने योजना बनाएको थिएँ। पर्यटकका लागि यो दुईदिनको बाटो हो। त्यसैले मैले बेम्बो पुगेर मात्रै खाना खाने निधो गरेँ र पाइलाको गति बढाएँ। अब इवाना पनि पछि पर्दै गई।

बेम्बो आइपुग्दा दिउँसोको एक बजेको थियो। बेम्बोमा खाना खाएर एकछिन थकाई मारेँ। दुई बजेपछि फेरि रूकस्याक कसेर लम्किन थालेँ।

म हिडेको मात्रै के थिएँ, पछिपछि एकजना चिनियाँ पर्यटक पुरै तेज गतिमा दौडिरहेको देखेँ।

उसको पोर्टर विक्रम पौडेलले भनेका थिए, ‘यो म्याराथन दौडिने मान्छे रहेछ, भेट्नै सकिँदैन।’

नभन्दै ऊ हिडिरहेको थिएन, दौडिरहेकै थियो। त्यही दिन पोखरा पुगौंला झै गरी। एकैछिनमा मलाई उछिनेर ऊ अघिअघि दौडिन थाल्यो र ओझेल परिहाल्यो।

विक्रमसँग भोलिपल्ट बाटोमा भेट भएको थियो।

‘बिहान १२ बजे नै पोखरा पुग्यो रे!’ उनले सुनाए।

सोचेँ, ‘आउँदा चिनियाँ गतिलाई जित्छु भन्ने सोचेको थिएँ, भ्रम मात्रै रहेछ।’

चीनकै गतिमा विकास गर्ने नेपाली सपना पनि भ्रम मात्रै हो? कि कुनै दिन साकार होला कि!

चीनको कुरा छोडौं, मस्कोकी इवानालाई उछिनेर मैले चित्त बुझाएँ। सिनुवामा चिया खान बसेको बेला फेरि ऊ मेरो अघि भई।

‘डोन्ट यू रेस्ट?’ मैले सोधेँ।

‘नट नाउँ,’ ऊ हतारमै थिई।

बाटोमा थकाई मारिरहेको बेला मैले फेरि भेटेँ।

‘हेलो फास्टम्यान!’ उसले बोलाई।

‘फास्ट बट नट फर्स्ट,’ मैले भनेँ।

‘तिम्रो अगाडि को छ र?’ उसले सोधी।

मैले चिनियाँ पर्यटकको रामकहानी सुनाएँ।

‘दौडिने र हिड्नेको तुलना गर्न मिल्दैन, हिड्नेमा तिमी फर्स्ट छौ,’ उसले भनी। फुरूक्कै पारी ।

‘लौ त, बिस्तारै है,’ म अघि लागेँ।

सिनुवाको ढुंगे सिँढीको ओरालोले खुट्टा दुख्न थालिसकेको थियो। शरिरको सबै भार खुट्टामै थोपरेजस्तो भइरहेको थियो। ओरालो सक्किनेबित्तिकै सुरू भयो छोम्रोङको उकालो। बेम्बो नआइपुग्दै पानी पर्लाजस्तो भइरहेको थियो। लेकतिर कुहिरोबाट तप्‌तप्प पानी चुहिए पनि परिहाल्दैन र मात्रै। त्यै पनि पर्दैन भनेर त कसरी ग्यारेन्टी गर्नु। म हतारमा थिएँ। तर, यो ऊकालोलाई हतारले जित्न सकेन। बल्लतल्ल सवा पाँचतिर उकालो छिचोलेर माथि पुगेँ।

समस्या त्यही हो, सिजनको बेला नेपाली पर्यटकलाई कोठा दिन गाह्रो मान्छन् यहाँका होटल। एक्लै भनेपछि त झनै दिन्नन्। दुई-तीन जनासम्म भए दिइहाल्न पनि सक्छन्। उनीहरू मान्छे गनेर पैसा लिन्छन्। एउटा कोठामा कम्तीमा दुईटा बेड हुन्छ। एकजनालाई दिँदा घाटा लाग्छ भन्ने सोच उनीहरूको हुन्छ।

एउटा होटलमा त लगभग भनाभनै पर्‍यो। मलाई कोठा छैन भनेका होटलवालाले मेरो आँखैअघि दुई चिनियाँ पर्यटक राखे। थाकेर लोत भएको बेलामा त झनक्क भइहाल्ने। मेरो केही जोर चलेन। म अगाडि बढेँ। लगभग छ बजिसकेको थियो। म छोम्रोङसम्म आउनुको अर्को कारण यहाँ होटल धेरै भएकाले पनि थियो। तर जति धेरै भए पनि होटल मिल्ने छाँट थिएन।

फिस्टेल गेस्ट हाउसका सञ्चालक एकजना युवाले एकदमै हार्दिकका साथ कुरा गरे। मैले होटल नपाएको कहानी बताएँ।

‘नेपाली पर्यटकलाई गर्ने व्यवहार अझै सुधार्न सकिएन,’ उनको पनि गुनासो रहेछ। तर के गर्नु, होटल उनको पनि भरिइसकेको थियो।

‘पाँच मिनेट अगाडि आउनुभएको भए  एउटा बेड मिलाउन सक्थेँ,’ चिया समाउँदै गरेको एउटा पश्चिमा पर्यटकलाई देखाउँदै उनले भने, ‘ऊ त्यो गोरालाई दिएँ।’

‘म आजै एबिसिबाट हिडेको, एकदमै थाकेको छु,’ मैले आफ्नो दु:ख पोखेँ, ‘लौ न, केही गर्नुस्।’

उनले त्यहीँबाट कसैलाई फोन गरे र भने, ‘एकजना नेपाली गेस्ट हुनुन्छ, माथिबाट आउनुभएको, जसरी पनि मिलाएर राख्दिनु है।’

फोनवार्ता सकेर उनले मलाई भने, ‘तपाईं ह्यावन गेष्ट हाउसमा जानु, मैले भनेको भन्नु।’

म ओरालो लागेँ। बास पाइन्छ भन्ने भएपछि सोचेँ, ‘उता होटल नपाएर ठिकै भयो, अलिकति भए पनि बाटो काटियो।’

ह्यावन गेष्टहाउस झिनो डाँडाबाट जाने बाटोमा भेटिने छोम्रोङको पहिलो होटल थियो। त्यसैले बिहान झिनोडाँडा झर्न मलाई निकै सजिलो भयो।

थकानले लखतरान भएको र कोठा नपाएको बेला यो गेष्ट हाउस मेरा लागि साँच्चिकै स्वर्ग जस्तै भयो- ह्यावन गेष्ट हाउस।

यहाँ माथितिर जाँदै गरेका केही नेपाली पाहुना भेटिए। मैले आफ्नो अनुभवका आधारमा होटल ‘बुक’ गर्न सुझाव दिएँ। उनीहरुले होटलका नम्बर त बोकेका रहेछन्, तर फोन गरेका रहेनछन्।

मैले भनेपछि फोन गरे। बेम्बो देखि माथिका कुनै होटल खालि थिएनन्। सबै पहिल्यै बुक भइसकेका।

म फर्किएका दिनमा पर्यटकको घुँइचो एकदमै बढेको थियो। बाटोमा भेटिएका मान्छेकै आधारमा अनुमान लाउन सकिन्थ्यो, यो होटलले थेग्न सक्ने संख्याभन्दा धेरैमाथि छ। दसैंको बिदा मनाउन जाने नेपालीहरूकै संख्या पनि उल्लेख्य थियो।

‘नेपाली गेष्टहरू धेरै आएको छ,’ होटल सञ्चालक विश्वास गुरूङ सुनाउँदै थिए। अन्नपूर्ण पदमार्गका लागि यो राम्रै कुरा हो। यहाँका होटल सञ्चालको सोच र व्यवहारमा पनि परिवर्तन आउला भन्ने आशा यो संख्याले देखाउँछ।

विश्वास भन्दै थिए,’यति धेरै मान्छे यता आएको त मैले कहिल्यै देखेको थिइनँ। यसपाली त अचम्मै मान्छे आएको छ।’

विश्वासका पाहुना पनि अब जे पर्ला, बरू डाइनिङमै सुतौंला भन्दै आफ्नो कोठातिर लागे।

आउने बिहीबारबाट अन्नपूर्ण पर्यटन महोत्वस हुँदै छ। बिहीबार अन्नपूर्ण आधार शिविरमा यसको उद्‌घाटन हुनेछ। आशा गरौं, यस्ता महोत्सवले पदमार्गका होटल सञ्चालकले नेपाली पर्यटकमाथि गर्ने व्यवहार बदल्न सघाउला।

‘बाटोमा भेट्दा ‘इवाना’ले सि यु इन छोम्रोङ भनेकी थिई, भेट भएन,’ विछ्यौनामा ढल्केर सम्झिएँ।

बेस क्याम्पमै डेनियलले पनि सँगै जाउँ भनेको थियो।

‘हामी चारजना छौं, तिमी हामीसँगै जान सक्छौ,’ उसले भनेको थियो।

‘तिमीहरू म जति हिड्न सक्दैनौ, अनि कसरी सँगै जाने?’

मेरो प्रश्न सुनेर ऊ हाँस्यो। उनीहरू पनि छोम्रोङमै थिए। तर, भेट भएन।

बिहान अबेर उठेर आठ बजेतिर चिया खाँदा डेनियलको टोली ओरालो झर्दै थियो।

‘हे क्रिकेटर! गुड मर्निङ।’

बाटैबाट उसले बोलायो।

‘हे म्यानयु! मैले भनेको थिएँ नि म तिमीहरूभन्दा छिटो हिड्छु भनेर।’
ऊ हाँस्यो!

‘सि यु इन झिनोडाँडा!’ उनीहरू ओरालो लागे।

बेलुकी यहाँ पानी परेको थियो। बिहान मौसम एकदमै सफा थियो। हिमालहरू छ्याङ्ग देखिएका थिए। तलतलसम्म हिउँ परेको थियो।

‘एक दिन छिटो भएँछु,’ अलि नरमाइलो लाग्यो। फेरि डेनियलले भनेको सम्झिएँ, ‘प्रकृति हो, हाम्रो हातमा केही हुन्न।’

म छोम्रोङबाट झिनो डाँडातिर झरेँ। मोदी नदी किनारको तातोपानीमा पुग्दा डेनियलको टिम र इवाना पोखरीमै थिए।

धाराको तातोपानीमा नुहाएर म पनि पोखरीमा पसेँ।

एकजना दाइलाई फोटो खिचिदिन आग्रह गरेँ। इवाना छेउमै थिई।

‘फोटो,’ इवाना अझ नजिकै आई।

यात्रा भन्नु यसरी नै सम्झना पोको पार्दै हिड्नु हो। कुनै बेला फुर्सतमा पोको खोलेर रमाउन हुन्छ।

यहाँबाट उनीहरूसँगको मेरो बाटो छुट्टियो। उनीहरु ‘न्यूब्रिज’बाट लान्द्रुक हुँदै घोडेपानीतिर जाने योजनामा थिए। म सिवाइ निस्किएर पोखराको गाडी चढेँ।

सुनको अन्नपूर्ण हेर्ने रहर! चाँदीको अन्नपूर्णले दिल खुश बनाएँ। कुहिरोलाई के भनौं र खै!

ट्वीटर- RohitKhatiwada

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.