थोराङ पासमा सेल्फी!


बिहान करिब १० बजे मनाङको पिसाङ पुग्दा, बारीमा फापर फूलेको देख्दा मनै हरर भयो। जीप रोकेर फापरको फूललाई क्यामेरामा कैद गर्न थाल्यौ।

हिमाल पारीको जिल्ला मनाङ पुग्न हप्तौ लाग्ने भए पनि दशक अगाडि नेपाली सेनाले ट्रयाक खोलेपछि लमजुङको बेशीशहरदेखि एकै दिनमा पुगिदो रहेछ।

साउनको तेस्रो साता रवि, दिपक, लियो, रोजा र सहयोगी पासाङसहित हामी थोरोङला जाने योजना बनायौ। हनुमान इटालिसँग आवद्ध ४३ वर्षे लियो पेशाले ईन्जिनियर र रोजा छुट्टी मनाउन र उपकारी कामको लागि नेपाल भ्रमणमा आएका थिए।

२ देखि ३ साता लामो  पद मार्ग भएको विश्वकै  उत्कृष्ट  १० पदमार्गमा पर्ने अन्नपूर्ण सेरोफेरोमा वर्षेनि हजारौ बिदेशी पदयात्रीले चुम्ने थोरोङला पास (५४१६मि) यसअघि मैले फोटो र कथामा मात्रै सुन्दै आएको थिएँ।

वर्षातको समयमा जिप यात्रा! त्यो पनि पहाडको कच्ची बाटो। मनभरी डर थियो तर, ‘डरके आगे जीत’ भनेझै थोराङ्पास जान पाएको खुसीले त्यस्तो डरमै म रमाउन थालेको थिएँ।

बेसिशहरको कच्ची बाटोहुँदै मर्स्याङ्दीको तिरैतिर उकालो लागियो। ७५० मि बेशिसहरदेखि, भुलभुले, स्याङ्गे, जगतहुँदै च्याम्चे पुगेर दिउँसो १२ बजे खाना खाना खाइयो।

त्यहाँको नेपाली किचनको साउनीको ब्यबहार अलि रूखो रहेछ, त्यै पनि भोक मिठो भन्दै खाना खाएर गन्तब्यतिर लागियो।

बाटाभरि छहरा, गाउँ, हरियालि डाँडा पाखा हेर्दै, म्यार्दिको भीर काटेपछि भने ढुक्क भयो। लगतै समथर मर्स्याङ्दी नदीको किनारमा बसेको सुन्दर ताल गाउँ (१७००मि)। गाउँको सिरानबाट बगेको झरना आहा! साच्चीकै रमाइलो थियो त्यो गाउँ। धारापानी, दानाक्यूहुँदै अगाडि बढेका हामी तिमाङको खोला बढेकोले हाम्रो जीप यात्रा त्यहीबाट रोकियो।

रात पर्न लागेको थियो। तल्लो तिमाङमा (२७५०मि) को एउटा लजमा गएर हामी बा बस्यौ।

भोलिपल्ट बिहान चियानास्ता पछि, ८ बजे चामे (२६७०मि) पुगियो, भीर पखेरा कच्चि बाटो ढिकुरपोखरी हुँदै पिसाङ (३२०० मि) पुग्दा राताम्मे फापरका फूलले मनै हरर भयो। आहा ! हिमालको काखमा बसेको क्या सुन्दर हिमाली गाउँ। फाँटमा फुलेको फापरले त्यो गाउलाई बेहुलीझै सिँगारेको थियो।

ङाबलको मुखिया दाई

हुम्देमा खाना खाएर मर्स्याङ्दीको झोलुंगे पुल तरेर उकालो लाग्यौ,  करिब २ घण्टाको हिँडाईपछि ङाबल पुग्यौ। त्यो मुखिया दाईको गाउँ थियो। बर्षातमा हिम कुहिरोले छपक्कै छोपेको गाउँका बारीमा फापरको फूलले सजाएको थियो। बाटा भरि भेटिएका थरि थरिका हिमालि फूलले गाउँको सुन्दरता बढाएको थियो।

३६७५ मिटर उचाइमा रहेको गाउँमा गुम्बा, छोर्तेन, समतल छानाको हिमाली शैलीका घर, लुङ्गडार र बुद्धिस्ट झण्डाले हामीलाई स्वागत गरेका थिए।

एसो माथि तिर हेरेको अग्ला अग्ला पहाडका चेपबाट अन्नपूर्ण २ र ३ कुहिरोभित्र लुकामारी गर्दै हामीलाई नै चिहाइरहेका थिए।

काठमाडौंको गर्मीबाट गएका हामीलाई मुखिया दाईले तातो गार्लिक सुपबाट स्वागत गर्नुभयो। कान्छिले बनाएको सुप त्यो ठन्डीमा असाध्यै मिठो लाग्यो।

हिमाली त्यो गाउँमा पाहुनाको स्वागतका लागि करोडौ खर्चेर होटल बनाउन लागिपरेका मुखिया दाई अधिकांश समय निर्माण मजदूरसँग हुन्छन्। जतिसक्दो चाँडो होटल बनाएर पाहुनाको स्वागत गर्न आतुर देखिएका उनी कलात्मक नेपाली शैलीको होटल बनाइरहेका छन्।

पुराना काठको कलात्मक प्रयोगबाट बनाउन लागेको ङावल माउन्टेन होमको बिचमा स्तुपाले सुन्दरता थपेको छ।

दक्षिण फर्किएको चार कुने होटलमा डिलक्स रूमसहित सुविधा सम्पन्न रूमहरू बन्दैछन्। याकको गोबर र माटोले लिपेको भित्तामा आकर्षक कलाकृति कुद्ने उनले हामीलाई बताए।

कुहिरोको लुकामारीमा परेर हामीले नदेखेपनि मुखिया दाईका अनुसार उनको होटलबाट दक्षिणतिर हेर्‍यो भने दन्तेलहर हिमालहरू देखिन्छन्। अन्नपुर्ण २, ३, गङगापूर्ण, लमजुङ, तिलिचो, काङगरु आदि हिमाल खुलेको बेला अर्कै संसारमा पुगेजस्तो भान हुन्छ।

ङावल चुली पिक चढ्न र नार फु को प्रबेशद्वार मानिएको ङाबल गाउँमा करिब ३० वर्ष काठमाडौंमा होटल ब्यवसायी भएर काम गरेका उनले गाउँमै केही गर्न सकिन्छ कि भनेर होटल बनाउन लागेको बताए।

‘गाउँमा केही हुँदैन भन्दै युवाहरु पलायन भइरहेका छन्, यहाँ के छैन, सबथोक छ भन्ने सन्देश दिन मैले व्यवसाय गर्न लागेको हुँ,’ उनले भने।

पर्यटकहरुको लागि हिमाली जनजीवन र संस्कृति झल्काउने संग्रहालयसमेत बनाउने योजनामा रहेका उनले पर्यटकलाई टिपिकल गाउँले रूपमा अन्तर्राष्ट्रिय सेवा र सुविधा दिने दाबी गर्छन्।

‘शहरको शौखिन जिन्दगीभन्दा गाउँको अर्गानिक खाना, स्वच्छ हावापानी, मिलानसार गाउँलेमाझ रमाउँ पाउँदा यही उनका लागि विदेश हुन्छ।

दाईकै होटलमा बिहान साम्पा (गहुँको सातु) को ब्रेकफास्ट र चिया खाईयो। बाटोमा नास्ताको लागि भनेर दाईले प्याक गरिदिएको दुई पोका साम्पा लियोले राख्यो, तर यात्राभरि सातुको नाम निसाना देखिएन। बाटोको केही टिप्स दाईलेनै दिनुभो – पानी बेला बेला पिउनु, बिस्तारै हिड्नु, बिस्कुट, ड्राई फुड  खानु र मनाङमाथि आरक नखाने सल्लाह दिनुभयो।

ङाबलबाट तेर्सैतेर्सो करिब २ घन्टा हिँडेपछि ब्राका पुगियो, वरिपरि सुख्खा डाँडा, झट्ट हेर्दा मरूभूमि जस्तो बाटो तर फापरको फूल, छोर्तेन गुम्बाको सुन्दर दृश्यले यात्रा रोमाञ्चक बनाईरह्यो।
दिनको खाना मनाङमा खाएर हाम्रो पदयात्रा दाहिने हल्का उकालो लाग्यो। देब्रेतिर तिलोचो तालको सांकेतिक चिन्ह खाङसार हुँदै डेढ दिनको बाटो। ‘पियानो पियानो (ईटालिमा बिस्तारै बिस्तारै)!’ भन्दै लियो नाउर जस्तै अघि अघि हिड्यो, रोजाले पच्छाउदै थिईन्, पासाङ बानी परेको छिटो छिटो, रवी, दिपक र म भने पच्छ्याउँदै थियौ।

बिस्तारै उकालो, स्वाँ स्वाँ गर्दै नाङ्गो ठाउँतिर यात्रा अगाडि बढ्यो।

याकखर्क (४००० मि.) मा  पुगेर बास बस्न हामीले ७ घण्टामा २२ किलोमिटर यात्रा हिड्यौ। बाटोमा जर्मन, फ्रेन्च र ईटालीयन पर्यटक भेटिए। होटलमा स्पेनिश टोली थियो। आकाश धुम्म थियो हामीलाई देखेर रिसाएजस्तो। जाडो निकै थियो।

दुःख छ, पैसा केहि, ईज्जत धेरै

सोलुखुम्बुका पासाङ शेर्पा १३ वर्षकै उमेरमा भरियाको रूपमा ट्रेकिङ क्षेत्रमा प्रवेश गरेका थिए। पछि सहयोगी, शेर्पा, कुक , गाईड र क्लाईम्बिङ गाईडसमेत भएका उनी फरासिला रहेछन्। कुनै काम गर्न नलजाउने उनी निकै फुर्तिला छन्। ‘हाम्रो काम पर्यटकलाई सकुसल पदयात्रा गराई सुरक्षित साथ फर्काउनु हो। यो पेशामा दुःख भए पनि , केही पैसा कमाईन्छ’, उनी भन्छन्, ‘पर्यटकहरुलाई सहि बाटो पहिल्याई, दुःख बिमार, राम्रो ठाउँमा बासको ब्यबस्था गर्नाले पनि पर्यटकले हाम्रो ईज्जत धेरै गर्छन्।’

कहिले काही कम्पनीहरुले गाइड पोर्टरको समस्या नबुझ्दा उनलाई दुःख लाग्छ। सरकार र यो क्षेत्रको संघ संस्थाले गाइड-पोर्टरको सुरक्षामा पनि ध्यान दिन उनको सुझाव छ। नेपालका आधा दर्जन हिमाल चढिसकेका उनी भारतको लद्दाकमा क्लाम्बिङ गाईडको रुपमा वर्षेनि जाने गर्छन्।

मध्यान्ह फेदिमा (४५०० मि.) लन्चपछि २ बजेपछि नाक ठोकिने उकालो, पसिना, श्वास ठूलो ठूलो फेर्दै बेलुका हाई क्याम्प (४८०० मि.) मा बास बस्यौ।

लेकमा अक्सिजन थोरै हुँदा केही असहज भए पनि मित्र लियो खुशी हुँदै गइन्। इटालीको सबैभन्दा अग्लो पहाड माउण्ट ब्लान्क (४८००मि) को उचाईसम्मै पुगेको उनलाई त्यहाँ पुगेपछि गन्तब्यै पुगेजस्तो भएछ।

थोरोङ पास काट्ने अन्तिम क्याम्प भएकाले पनि यहाँका अधिकांश होटलहरू पर्यटकहरुले भरिएका थिए। पर्यटकका लागि आराम गर्ने ठाउँ भएकाले केही  चिया, सुप पिउँदै थिए भने कोही तास खेल्दै थिए। कोहि कोही मोबाईलमा ब्यस्त देखिन्थे।

बाहिर हुस्सु र कुहिरोले चिसो बढ्दैं थियो। लियो, रबि, रोजा, दिपक र पासाङ गार्लिक सुपमा रमाइरहेका थिए। मलाई भने आरक चाख्न मन लाग्यो। यो उचाईमा आराक पिउन स्वस्थ्यलाई राम्रो मानिदैन तर म अनुभवका लागिनै भए पनि एक गिलास स्वाट्टै पारिदिए।

थोरोङ ला पास ( ५४१६ मि.)

अन्नपूर्ण सेरोफेरो पदमार्गको सबैभन्दा अग्लो र विशेष भञ्ज्याङ हो थोरोङ ला।

चिसो र थकाईले होला, त्यो साँझ छिट्टै निदाएछु। राति झसंङ्ग बिउँझदा पासाङ मस्त निन्द्रामा थिए। मलाई टाउको दुखेर गरूङ्गो भएको महसुस भयो। लामो लामो सास फेरेँ, घडी हेरेको भर्खर १२ बजेको रहेछ।

अहो! लेक पो लागेछ कि क्या हो- मन मनै सोचेँ। त्यसपछि मुश्किलले केहि समय निदाए। बिहान ४ बजे उठेँ। बाहिर अध्यारै थियो।  मास्तिर किचेन तिर हल्ला खल्ला अघिदेखि रहेछ। बत्ति बालेर हतार हतार समान प्याक गर्न थालियो, त्यसपछि सिधै किचेन तिर। अरु पर्यटकहरु ब्रेकफास्ट खादै थिए, कोही हिड्ने तरखर, कोहि बाटो लाग्न तयार, हामी पनि सुप, तिबेतियन ब्रेड र चिया पिएर टर्च लाईटको सहारामा उकालो लाग्यौ।

५४१५ मि. अग्लो पास निकै सहासिक र कठिन मानिन्छ। यो यात्राको सबैभन्दा रोमाञ्चक पदमार्ग रहेछ थोरोङला। बिस्तारै अध्यारोमै, पदयात्रीको लश्कर, तिलि तिलि हेडलाईट र टर्चहरु को लश्कर माथिसम्मै देखिन्थ्यो।

बिस्तारै उकालो चढ्दै गर्दा, बिस्तारै उज्यालो हुँदै थियो। पछाडि सेताम्मे हिमालहरु चुलु इस्ट, वेस्ट, अन्नपूर्ण १,२,३,४, थोरोङ पिक, खुल्दै थिए। निकै कठिन साढे २ घन्टाको उकालो यात्रा, बगरको बाटो, अच्चम्मै रोमाञ्चक दृश्यहरु, यादगार रह्यो थोरोङ्ला उकालो।

यात्रा अघि बढ्दै गयो। हिमाल त्यती खुल्न मनेको थिएन। बिहानै काट्नपर्दो रहेछ यो उकालो, घाम छिपिए पछि हावा चल्ने भएकाले सकिदैन रे।

बिहानको ८:१५ बजे थोरोङ्गपास टेक्यौं। वाह! ५४०३ मिटर उचाइरहेका रहेको यहाँ आउँदा मलाई अर्कै संसारमा पुगेजस्तो लाग्यो। सगरमाथानै चढेको भान भयो।

बुद्धिष्ट झण्डा राखियो। नेपालको झण्डा फरफराएर छिटोछिटो सेल्फी खिच्न थाल्यौ।

मुस्ताङको भुभाग हुँदै पट्यारलाग्दो ४ घण्ट गोरेटो बाटो भएर ओरालो लागियो। धेरै बेर माथि बस्न हुन्न रे हावा चल्यो भने गाह्रो हुनेरहेछ।

४ घण्टा हिँडेपछि बाटोमा नाउरका एक हुल चरिरहेको देख्यौ।

चिप्लो, हिलो बाटोहुँदै फेदिमा केहि बेर नास्ता गरेर मुक्तिनाथ (३८०० मि.) पुगि बास बस्यौ।

बिहानै मुक्तिनाथ मन्दिर दर्शन गरेर ४ वटा गाडि फेरेपछि बल्ल जोमसोम झरियो। मध्यान्हको १२ बजे पनि जोमसोममा हावा बेस्सरी चल्नेरहेछ कालीगण्डकि तिरैमा रुहेको जोमसोम बजार पुग्नासाथ एउटा गीत अनायसै गुन्जियो-‘जोमसोमे बजारमा १२ बजे हावा सरर…, हे हजुर अहिलेसम्म भा’छैन घरबार…!

जोमसोमबाट सिधै बस चढेर मार्फा, टुकुचे, लेते, घाँसा, कहालिलाग्दो हिलाम्मे काभ्रे भीरहुँदै दाना भएर तातोपानीमा डुबुल्की  मार्यौ। मित्र रबि भन्दै थिए-मुक्तिनाथमा पाप पखालियो, तातोपानिमा थकाई!

हेर्नुहोस् यात्राका केही तस्बिरहरू

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.