जून पोतिएको अनुहार

तस्विरः सेतोपाटी


उकालो चढ्न सक्यौं भने मात्र भेटिनेछ उमङ्ग यत्रतत्र। जीवन बगिरहेछ– कहिले उकालो र कहिले ओरालोमा।

वननदीको गति आफ्नै र अर्थपूर्ण हुनुपर्छ भन्ने पक्षमा लागिरहेको छु म। अप्ठेरोका बगरहरु, विवशताका आँधी हुरीहरु र अबरोधका मोडहरुमा भुइँचालो ल्याउने पक्षमा छु म। अँध्यारोसँग, युद्धसँग र फजितिसँग लाप्पा नखेल्ने हो भने अर्थ रहँदैन जिन्दगीमा कुनै सपना देख्नुको।

जिन्दगी चिन्न चिन्नु पर्ने रहेछ अरुको जिन्दगी। जिन्दगी बलियो बनाउन बल भन्दा धेरै भिड्नु पर्नेरहेछ समस्याका शृङ्खलाहरुसँग। जिन्दगीको भिडाईको क्रममा भेटिरहेछु हुम्लाका धावा बोल्ने हाँगाहरुसँग।

‘यात्राको अभियानमा जुट्ने हो भने जीवन्तता नहुने ब्रहमाण्ड छैन’— यस्तै बुझिरहेछु हुम्लाको हृत्कम्प छाम्दै अघि बढ्दा।
सपनासरि फैलिंदैछन् यात्राका पाइलाहरु।

बिहान उठ्दा त अर्कै भइसकिछौ तिमी। हिजो साँझ तिमी र म सँगै सुत्यौं। साँझ तिम्रा निधारहरु मात्र सेता थिए, चम्किला थिए। तलतिर कालो मुहार र अझ तल हरियो पटुकीमा सजिएकी थियौ। रातमै तिमीलाई ओल्टाइ कोल्टाइ पार्न चाहन्थें म। बेला बेलामा उठ्थें। झ्यालबाट चियाएर हेर्थें। तिमी निदाएकी थिइनौं। स्वाँ … स्वाँ … सुसाउँथ्यौ।

आकाशको जून लोभिदैथ्यो तिमीसँग। म के गर्दैछु त्यो पनि तिमीले थाहा पाइनौ। थाहा पाएर पनि वास्ता गरिनौ। आफ्नै काखमा लडिबुडी गरिरहेको प्रेमीलाई वास्ता गर्नु र नगर्नुको के अर्थ। वास्ता नगर्नु भनेको पुरै वास्ता गर्नु हो प्रेममा। म तिम्रो शिर हेर्दै निधार हेर्थें। अँध्यारो भित्र लुकेर हेर्थें। लुकेर हेर्दा हेर्दै स्याउहरुमा ठोक्किन्थें। सूर्यमूखीहरु मेरो चाला देखेर लज्जावती बन्थें। तिम्रो सौन्दर्यको सामु मेरो निदको के अर्थ। मेरा सपनाहरुको के अर्थ? म रातदिन जागा बनिरहेछु हुम्ला, तिम्रो चुलबुले आनीबानीहरुमा।

आँगनमा ओर्लनै पाएकी थिइनन् मिर्मिरे। हेर्दा हेर्दै पुरै हिउँका श्वेत वस्त्रले ढाकियो तिम्रो बक्ष। सिमकोटमा म उभिएको थिएँ। चारैतिरबाट क्वारक्वारती हेर्नथाले मलाई चाँदीका पर्खालहरुले। हेर्दा हेर्दै एकरातमै तिम्रो सर्बौङ्ग हिममय हुनु मेरो लागि चमत्कार थियो। तिम्रो हिमज्योतिको अँगालोमा बेरिंदा मैले जिन्दगीलाई अझ जिम्मेदार र अझ उज्यालो देख्न थालिरहेछु।

रातसँगै च्यातिएछन् आलस्य र निद्रा। आँखाको पहिलो स्पर्शमा फरक समय उदायो बिहानी रङ्गमा। चाँदीका बस्त्रहरु चाँदीका पटुकी र चाँदीले टमक्क टालिएको तिम्रो स्वरुप भित्र धेरै बुनें मैले जिन्दगीका जमराहरु।

जित्नेहरुको लागि हो जिन्दगी। हार्नेहरु लखेटिन्छन् जिन्दगीबाट।

मेरो साथमै पुगेका महेश भाइले तिम्रो हरक थेग्न सकेनन्। पुगेको पाँच दिन सम्म हल्का महसूस गर्न सकेनन् उनले। म तिम्रो, महकमा मात्तिएको छु, भाइ तिम्रो हरकमा आत्तिएका छन्। तिम्रो सुगन्ध र सप्तरङ्गमा मात लागेको छ मलाई, तिम्रो सुगन्ध नै गन्ध सावित भइरहेछ कसैलाई। तिम्रा उचाईहरु कसैको लागि पीडा र कसैको लागि बरदान हुने रै’छन्। पाँचदिनमा बिचरा भाइको दुईपटक नाथ्री फुट्यो। टाउको दुख्ने र वाकवाक लाग्ने त भइरहयो निरन्तर।

अघिल्लो साँझ भाइ र म पाउबाडाको उकालो चढ्दै थियौं। ‘सर मेरो सबै शरीर नीलो भयो’– एउटा कम्पन निस्कियो महेश भाइबाट। हेर्छु। सबै शरीर सर्पले डसेझैं नीलो छ। बोलीमा हडबडाहट छ, शरीरमा चिडचिडाहट छ। तुरुन्तै भाइलाई अस्पताल लगें।

डा. सर्बैस शर्माले भन्नुभयो– ‘अल्टिच्युडको शिकारमा पर्नुभयो भाइ। तुरुन्त हुम्लाबाट फर्काउनुपर्छ, अन्यथा गाह्रो छ ज्यून।’ अक्सिजन दिइयो। भाइ अलि ठीक त बने तर कुनै पनि बेला फेरि लेक लाग्न सक्ने डाक्टरको भनाइले भने तर्साइरह्यो। प्रमुख जिल्ला अधिकारीलाई विषयको गम्भिरता जानकारी गराएँ उहाँले सबैेरै मगाइदिनुभयो हेलिकप्टर।

नेपालगन्ज ओर्लने बित्तिकै शरीर पुरै शान्त, खुशी र हल्का महसूस गरें। मृत्युको मुखबाट बलजफ्ती बाहिरिएँ सर’— एउटा उत्साह र जीवनोदयको उज्यालो पोखे भाइले नेपालगंजबाट फोनमा। उचाईमाथि उभिएर सारा शिखरहरुलाई जित्नु पर्छ भनिरहेछु म।

हार नखाएसम्म फैलिरहन्छ पारिलो घाम जीवनमा।
‘हजुर म रणशुर गुल्म, रानीवनको मेजर दिनेश रजौरे । हामीहरु खार्पुनाथ जाँदैछौं। हजुरको पनि फुर्सद छ भने सँगै जाउँ कि?’ एउटा विनम्र निम्ता आएको थियो अघिल्लो दिनमै। ‘यात्रा, खरिद र भेटघाट गर्ने मौका छुटायो भने पछुताउ पर्छ अन्तत्वगत्वा, त्यसैले छुटाउनु हुँदैन यो मौका’— स्वीकृतिको सङ्केत सम्पे्रषण गरें मैले दिनेशजीलाई। बिहानको कलिलो उज्यालोमै टुप्लुक्किनु भयो मेजर मेरो अघिल्तिर।

‘हाम्रो सुविधाकोलागि एउटा बन्दोबस्ती टोली खार्पुनाथ पठाईसकेको छु, विस्तारै जाऊँ हजुर, हतारले थकाउँन सक्छ शरीरलाई’—सैनिक अनुशासनलाई अदवपूर्वक प्रस्तुत गर्नुभयो मेजरले।

हुम्ला पुगेदेखिनै धेरैको मुखबाट सुन्दैथिएँ म खार्पुनाथ।

राष्ट्रिय अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत उत्तम खनाल, सुवेदार जनक के.सी. र हुम्लाका पत्रकार जयबहादुर रोकाया पनि पर्खिरहनु भएको रहेछ मलाई।  खार्पुनाथ हुम्लाको एउटा चल्तिको तीर्थस्थल। कर्णाली नदीको किनारमा प्रतिष्ठापित हिन्दुहरुको एउटा आस्थाबिम्ब।

समुद्र सतहबाट सिमकोटको उचाई नौ हजार पाँचसय फिट रहेकोमा खार्पुनाथ त्यस्तै चार हजार फिटको उचाईमा। सधैं शिखरमा बसिरहँदा कहिले काहिं रहर हुँदोरहेछ फेदीमा पनि लडिबुडी खेल्न। फेदीका मान्छेहरु चुचुुरालाई शाहससँग साँध्न चाहन्छन्। शिखरका बिजेताहरु फैलिन चाहन्छन् समथरमा पनि।

समथरको स्वप्निल सौन्दर्यलाई शिखरको सोलोडोलोसम्म मिलाउन हामी ओरालो झरिरहेछौं। ओरालो झरेपछि मात्र अवगत हुँदोरहेछ उचाईको उज्जरता।

रेखाहरु बाटो बनेका देखिन्छन् पहाडका पटुकी जस्तै। हामी रेखामाथि हिंडिरहेका लेडिवर्ड बनिरहेछौं। सिमकोटको पूर्वतिर छ शिवमन्दिर। शिवमन्दिरको पूर्वतिर भीरमा टुक्रुक्क बसेको छ बुराउँसे गाउँ। अलि तल भीरमै माहुरीको गोलाझैं गुटुमुटु परेको छ हेल्दुङ्ग गाउँ।

नजिकै बगिरहेछ हेल्दुङ्ग नदी। नदीभन्दा पारिपट्टि हरियो पाखो छ, बाँदर लड्ला जस्तो भिरालो तर, हरियो गलैंचा बिछ्याएजस्तो सुन्दर। त्यही पाखोको माझतिर पटुकी बाँधेजस्ता दुईवटा रेखाहरु।

ठेहे गाउँ समात्दा रहेछन् ती रेखाहरुले। तल हुम्ला कर्णाली सेतो साँपझैं कुलुलु बगिरहेको।

भर्खर फक्रन लागेका कमलफूलका कोपिला जस्ता पाँच चुचुरा बोकिरहेका पञ्चमुखी हिमालहरु।बाटाहरु भन्दा रेखाहरु बढी देखिन्छन् हामी हिंड्ने बाटाहरु। पहाडमा रेखाहरु भेट्नु पनि निकै सजिलो हुन्छ गन्त्व्य भेट्न। अन्यथा बिन्दू बिन्दूमा हराउन बेर लाग्दैनन् सपनाहरु।

बिहान घामले चुचुरादेखि फेदसम्म उज्यालो पोत्न शुरु गरेपछि हामी पाँचजना शिवमन्दिरबाट ओरालो गुड्यौं। भीरमा कतै बाटै थिएन। कतै ढुङ्गा र घाँस समातेर ओर्लनु पर्ने। गुड्यो भने आफै‌ं लोहोरोको तालमा तल पुग्ने। कतै कतै पाइला बल्ल टेक्न मिल्ने बाटो। बाटोमा आफू हिंड्नु भन्दा पनि शरीर आफैं हुत्तिन्थ्यो ओरालोमा।

हिंड्नुभन्दा पनि शरीर रोक्नतिर बढी ध्यान पु¥याउनु पर्ने। डाँडाहरु जता हेरेपनि खर ओडेका हरिया। ‘राम्ररी समातेर हिंड्नुस है हुत्तिनुहोला तलतिर’– सतर्क गराउनुहुन्थ्यो रोकायाजी। ‘धेरै नदौडिनुस् है सर भरे फर्कदा पैताला भरिएलान् पानी फोकाहरुले’—अनुभव पोख्दै हुनुहुन्थ्यो खनालजी। ‘अनुभवीको साथ, यात्राको राज’—त्यसै भनेका होइनन् अनुभवीहरुले।

हिंडाईमा तन्मयता उब्जिरहेछ। पर परसम्म फैलिरहेछन् मनका स्वप्नील बिरुवाहरु।

एकघण्टा झरेपछि पूर्वपट्टी पहाडको फेदीमा सात आठ घर भएको सुन्दर गाउँ देखियो— ‘स्याम्ने’। हेल्दुङ्ग खोलाको गीत र गतिको स्पर्शमा मख्ख छ स्याम्ने। टाढाबाट देख्दा फुस्रा खण्डहर जस्तो लाग्ने हुम्ली शैलीका घरहरु जागिरहेछन् खोंचमा। तलतिरबाट आउने र सिमकोटबाट फर्कनेहरुको बिसौनीपनि रहेछ स्याम्ने।

हातमा कुखुरा, पिठ्यौमा भारी र साना बच्चा र अर्को हातमा बोको डो¥याएर सिमकोट हिंडेका एकहुल भेटिए त्यहीं।
‘बिसौनी त रोकावट होइन यात्राको, थकाई छोड्ने र उर्जा उमार्ने स्यानो सङ्गम रहेछ’— स्याम्नेमा सुस्ताउँदा त्यही सोचें मैले।

स्याम्नेमा हेल्दुङ्ग खोला पनि भेटियो। मैले हात चोबें। हिउँको लेदो बग्दै आएझैं चिसो थियो। खोलाले थाम्नै नसक्ने बल ब्युँतिरहेथ्यो पानीमा। रगत जम्ला जस्तो भयो हातको। अलितल ओर्लेको त्यही पानीमा एउटी बहिनी मज्जासँग जिउ माडेर नुहाइरहेकी थिइन्।

‘पानीले टोक्ला नि’– मैले भनें।

‘किन टोक्नु पानीले?’– बहिनी।

‘चिसो भएर’– मेरो जवाफ।

‘चिसोमा नुहाए पो तातो हुन्छ, अनि पो चढ्न सकिन्छ डाँडाकाँडा। तपाईंहरु तातोपानीमा नुहाउँनु हुन्छ अनि डाँडा चढ्दा गर्न थाल्नुहुन्छ स्याँ स्याँ’— पारी भीरबाट ओर्लदा हाम्रा तिघ्रा लगलग कामेको देखिसकेकी रहिछिन् बहिनीले।

हिउँबाट अग्नी निकाल्ने सूत्र छ गाउँलेहरुसँग। पानी भित्रबाट पाहार निकाल्ने तागत छ गाउँलेहरुसँग।

हेल्दुङ्गको समानान्तरमा नदीझैं बगिरह्यौं हामी पनि। ओरालो ओर्लन सजिलो त हो तर भकुण्डोझैं गुडेको शरीर भेट्नै मुस्किल पर्ला कि भन्ने डर बढिरहेथ्यो। बढी उचाईबाट कम उचाईतिर ओर्लंदा बढिरहेथ्यो तापको मात्रा। पाइलाहरु भन्दा छिटो कुदिरह्यो उत्सुकता भीर र खोंचहरु नाघ्दै।

‘के हो हँ डोकोमा?’

‘केरा हो हजूर’।

भीरमै मगमग बास आएपछि भरियादाइ र हाम्रो भयो भलाकुसारी। ‘हुम्लामा पनि केरा’– आश्चर्यमा म।

सबैै हुम्ला हिमाल हैन नि। कर्णालीको किनार र बाजुराको सिमानामा भाबरपनि छन्। श्रीनगर र कालिका गाउँमा त धान, केरा र सुन्तला झरिझुट्ट फल्छ। त्यतैबाट ल्याए हुन् यिन्ले। हो?’ – जयवहादुर रोकायाजीले खोतल्नु भयो यथार्थ।

भीरमा केरा भेटिएपछि के चाहियो र? दश रुपैयाँका दरले पाँच केरा किन्यौं र पक्यायौं। हेर्दा झप्री जस्तो खाँदा भने मालभोग भन्दा चौवर मीठो।

“हैन यो त अमृतको थुप्रो पो रहेछ कि क्या हो, कति मीठो”– मेजर दिनेशको अभिव्यक्ति।

“साँच्चै हो, हुम्लाको केरालाई कसैले भेट्न सक्तोरहेनछ, अमृतफल जस्तो”– अरु हामीले थप्यौं।
थप केरा खान सबैैलाई मन थियो, भरियादाइ भने स्याम्ने नाघेर डाँडामा चढिरहेका चाँचरी जस्ता देखिइसकेका थिए।
भीरमा गुल्टेको फर्सी बन्ने क्रम रोकिएको छैन।

नल्ना गाउँ नजिकै पुगेपछि कर्णालीमा मिसियो हेल्दुङ्ग नदी। झण्डै पैंतालीस मिनेट सँगैहिंडेको साथी छुट्यो। मानसरोवर नजिक राक्षस ताल उद्गम रहेको कर्णाली सेतो दूध जस्तै बगिरहेछ। हामीहरु हेल्दुङ्ग मिसिएको महानदी कर्णालीको किनारै किनार हिंडिरहेछौं।

नदीले हतार गर्दैन। प्रकृतिले हतार गर्दैन। आफ््नो गतिलाई कहिल्यै छोड्दैन पनि। बेगले बगिरहिन् कर्णाली। तिमी त कति राम्री हगि हुम्ला। हिमालमा छ्यौ। पहाडमा छ्यौ। सम्म खोंचहरुमा छ्यौ। नदीहरुमा बगिरहिछ्यौ। चर्को हावामा बहिरहिछ्यौ।

पारिपट्टी माउ र चल्लाहरु छरिबरि भएझैं नल्ला गाउँ टाँसिरहेछ भीरमै। कर्णाली नदीको हावाले बेस्सरी बताउँदोरहेछ नल्ला गाउँका दश घरहरुलाई। गाउँ वरिपरी मकै फलिरहेका थिए, कोदो झुलिरहेका थिए, राताम्य लट्टेको लहर थियो; बीच बीचमा सूर्यमूखी फूलिरहेका थिए। गाउँमा मान्छेको भने छायाँसम्म देखिएन।

पर पर तीन चार गोठालाहरु गीत गाउँदैथे। उनीहरुको आवाजसँगै कर्णाली सुसाइरह्यो। साँच्चै सुन्दर थियो नल्ना। नल्ना हिमाली परिवेशको गाउँजस्तो देखिएन। कोदो, मकै झुलेको तनहुँको भिमाद वरिपरी वा काभ्रेको फूलबारी डाँडागाउँतिरको झझल्को दिइरह्यो नल्नाले।

तलतिरबाट उँभो लाग्दै गरेका दुई पुरुष र दुई महिला हामी अघिल्तिर ठिङ्ग उभिए।

‘कहाँबाट आया हुन्?’ मैले हुम्ली शैलीमा सोधें।

‘सर पनि हुम्ली बन्न लाग्नु भो’ अब’–रोकायाजी हाँस्नुभयो।

‘अब एकवर्ष वस्नुभयो भने पुरै हुम्ली बनिहाल्नु हुन्छ नि’– मेजर दिनेश पनि हाँस्नुभयो।

‘छिप्राबाट आया हउँ’— एकजना अधबैंसेले जवाफ फर्काए।

पुरुषहरुले दौरा सुरुवाल लगाएका थिए। कालो दौरा सुरुवालमा सयभन्दा बढी टाला थिए। सिलाएदेखि नधोएझैं तिनका कपडाहरुमा काति जमेझैं च्यापच्याप्ती थिए। पुरुषहरुले भारी बोकेका थिए र एक एक ओटा बोका डो¥याएका थिए।

हिलाहरुको पहिरन अझ विशेष खालको थियो। चोलो, फरिया र स्पोर्टसुज लगाएका थिए। तर तिनीहरुको परिधान कतै पनि सग्लो थिएन।

टम्म मिल्नेगरी बुनेको पोतेमाला, पहेंलो, रातो र नीलो रङ्गका पोतेका ठूला ठूला झुत्ता, घाँटीमा खगालो  त्यसमाथि रुपैयाँको सिक्का लहरै उनिएको ठूली कम्पनी माला र चवन्नी उनिएको सुकीमालाले बक्षस्थल पुरै ढाकिएको थियो। त्यतिमात्र हो र कानमा चक्री , नाकमा घुणी  दुवै खुट्टाको गोलिगाँठामा बढेमाका सेलजत्रा चाँदीका कल्ली, चुल्ठोमाथि तीनवटा चाँदीका सिक्का जोडेर बनाइएको काँटाले झकिझकाउ।

‘हुम्लीहरु लाहुरबाट फर्कंदा गहना बाहेक केही ल्याउँदैनन्। घरमा खाने गेडा नभएपनि गहनाले छापिन मख्ख पर्छन् महिलाहरु’— गहनाको रहस्य अथ्र्याउनु हुन्छ जयबहादुरजी। भारी बोकेका छन्, साना नानीहरु भारीमाथि बोकेका छन्, त्यसमाथि त्यतिविघ्न गहनाहरु।

गहना त छ, न त्यसको सफाई, न नुहाई धुवाई, जन्मेदेखि सिँगान नपुछेका जस्ता बच्चाहरु, आँखामा चिप्रै चिप्रा सबैैका। एउटा बच्चा पाँचदिनदेखी पखलाले लखतरान परेको रहेछ। तिनीहरु घरको अन्न र बोका सिमकोटमा बेचेर नून किन्ने सुरमा हिंडेका रहेछन्। ‘नून पाईंदैन, एक महिना भैसक्यो अलिनु खाएको’– ती मध्ये सिखटे दाइले आफ्नो पीडा ओकले।

च्चै कस्ती छ्यौ हगि हुम्ला तिमी। एक ढिका नून नपाएर तड्पिरहिछ्यौ तिमी। उता राजधानीका होटलहरुमा दिनहुँ सभा सम्मेलनको बहानामा लञ्च, डिनर र पार्टी मनाउनमै ब्यस्त छ राज्य। राज्य विदेशीले प्रायोजन गरेको रोडम्यापका शब्दहरु घोक्नमै व्यस्त छ। तिम्रातिर नून र औषधि नपुगेको के थाहा छ र उसलाई।

यात्रामा भेटिएकाहरुसँग धेरैकुरा सोधखोज गर्ने पक्षमा हुन्छु म सधैं। सोधखोजले नजिक भइन्छ स्थानीयताको। उनीहरुसँग पनि मैले धेरै कुरा सोधें। बताउन त्यति चाहेनन्। जयबहादुरजीले हुम्ली भाषामै कुरा गरेपछि अलि खुले उनीहरु।

‘यिनीहरुलेनै हुन हाम्रो पुल भत्काएका?’

‘यिनीहरुले होइन, यी त सरकारी मान्छे हुन्।’

‘ए हामीले त माओवादी ठानेको यिनीहरुलाई। बोल्यो भने हामीलाई पनि युद्धमा जाउँ भन्लान् भनेर तर्किएको हामी’।
जयबहादुर र उनीहरुबीच भएको कुराकानी नेपाली भाषामा बुझेपछि पो उनीहरु हामीसँग टाढिन खोजेको रहस्य खुल्यो। खार्पुनाथबाट छिप्रा जाने कर्णाली पुल द्वन्दको क्रममा भत्काइएको रहेछ।

त्यसले बेस्सरी रिसाएका रहेछन् गाउँलेहरु माओवादीसँग। ‘जे भएपनि पुल त भत्काउन हुन्थेन नि। काँडो समेत नउम्रने कर्णालीमा त्यत्रो मेहनतले बल्ल बनेको पुल भत्काइदिनेको पनि भलो नहोस्। अचेल यी यस्ता केटाकेटी र भारी बोकेर तारमा झुण्डेर तर्नु परेको छ कर्णाली।

कति गाउँले कर्णालीमा हेलिएरै मरिसके। पुल भत्काउनेले सोच्नु पर्दैन त्यो। राजनीति गर्नेले त जनतालाई दुःख दिने होइन नि। झन् तिनीहरुलाईनै वास दिनु पर्छ हामी गाउँलेहरुले। घरमा भएको खोलेपानी पनि खोसेर खाइदिन्छन्। फेरि सिपाही आउँछ। माओवादीलाई बास दिएको भनेर हामीलाईनै भकुर्छ। यस्तो पखेरामापनि चरा जसरी बाँच्न पाइएन’— हामी सरकारी मान्छे भन्ने थाहा पाएपछि मनका बह पोखे दाइले।

‘म पनि सिपाही हुँ, अब त्यस्तो हुन दिंदैनौ है त’— मेजर दिनेशले आश्वासन दिनुभयो। ‘लौ है सिपाही बाबु हामीलाई सन्तोषको श्वास फेरेर बाँच्न मिल्ने बनाइदेऊ’—उनीहरुले एकै स्वरमा भने।

गाउँलेहरु माथितिर लागे। ओरालो लाग्ने क्रम जारी थियो हाम्रो। उत्तिस ढपक्कै उभिएका थिए त्यतातिर। भाँगोघारी फाँड्दै हिंडिरह्यौं हामी बाटोमा। पाखाभरी राता नीला फूलहरुले ढाकेका थिए। भाँगोको चोप हातमा च्याटच्याटी लगाउँदै, चरेस संकलन गर्नेहरु प्रशस्तै देखिए। हामीलाई देखेपछि समात्लान् भन्ने डरले रुखमा छेको लाग्थे।

चरेसलाई स्थानीय भाषामा अत्तर भनिदो रहेछ। हुम्लाको अत्तर छिमेकी मुलुकहरुमा बेचेर मालामाल बन्ने गिरोह पनि बाक्लै छ भन्ने बुझियो रोकायाजीबाट।  ‘कता गएर आया हुन्?’ हाम्रो अघिपछि आएका सत्तरी बहत्तर वर्षे एक बूढालाई सोधें मैले।

बूढा दाइको पिठ्यौमा हल्का भारी थियो। दाह्री जुँगाले अनुहार सुकेको खरले ढाकेको तारेभीर बनेको थियो। हातमा एउटा लठ्ठी थियो। खुट्टामा औंलाजति पुरै देखिने चाइनिज जुत्ता।

‘सिमकोट’– छोटो जवाफ दिए दाइले। उनले हुम्ली खस भाषामा बोलेकाले बुझ्न गाह्रो भइरहेको थियो मलाई। दाइ लत्ता कपडा खरिद गर्न सिमकोट गएका रहेछन्। अघिल्लो साँझ त्यतै बसेका रहेछन्। सिमकोटमा स्वास्थ्य शिविर चलेकोले आँखा पनि जँचाएछन्। ‘गाउँ बाहेक कता पुग्नु भएको छ? – मैले सोधें।

‘सिमकोट बाहेक अन्त छैन।’ दाइले जवाफ दिए।

के देख्यौ त सिमकोटमा? – रोकायाजीको प्रश्न।

“टि.भि. देख्यौं नि”– बूढादाइमा असाध्यै उमङ्ग रहेछ टेलिभिजन देख्न पाएकोमा। सिमकोटमा दुई महिना अघि बिजुली बत्ति बलेको र एकमहिना अघि मोवाइल सेवा सुरु भएकोले धेरै हुम्लीको लागि टेलिभिजन र सेलफोन अचम्मको वस्तु भइरहेथ्यो। सिमकोटबाट दुईदिन पैदल हिंडेपछि पुगिने राया गाउँका दलगिरी रावल रहेछन् उनी।

सत्तरी वर्षे उमेरमा दाइको जिन्दगीमा अघिल्लोदिन अचम्मको घटना घटेको थियो। ‘हैन टि.भि. भनेको त अचम्मै र’ैछ’– दाइले हुम्ली भाषामा बोले। रोकायाजीले त्यसलाई अथ्र्याउनु भयो। ‘के के देख्नुभयो त टि.भि. मा?’ मैले सोधें। ‘देखे’नि प्रचण्ड देखें, सीता देखें, रामलक्ष्मण देखें, रावण देखें’– बूढाले भन्दै गए।

‘जिन्दगीमा राम लक्ष्मण, रावण भन्ने सुनेको थिएँ, त्यस्ता भगवानको दर्शन पाउँला भन्ने लागेको थिएन। हैन कति राम्रा रहेछन् राम र सीता! भगवान भनेको भगवाननै हो रहेछन्, मैले त पाती चढाएर पूजा गरें तिनीहरुलाई। मैले हेरुञ्जेल बिचरी सीता रोइरहिन्, रावण बेसरी कराइरह्यो। कसरी अटाउन सकेका होलान् त्यति धेरै भगवानहरु त्यति सानो टि.भि.मा’– बूढा दङ्गदास परे। अनि प्रचण्ड कस्तो लाग्यो त?– रोकायाजीले बूढालाई खोतल्न खोज्नु भयो। रोकायाजी पत्रकार भएकाले कसरी अरुको मनको कुरा खोतल्ने राम्ररी थाहा थियो।

‘प्रचण्ड त भ्यालै रहेछन्’– बूढा थोते दाँत देखाएर हाँसे।‘प्रचण्ड त प्रधानमन्त्री छन्। नयाँ सरकार आएको छ। कस्तो लाग्या छ त तपाईलाई?– रोकायाजीले पत्रकार शैलीमा प्रश्न तेस्र्याउनुभयो।

‘जो भया पनि क्या हुन्छ र? आफ्नो दुःख आफैंलाई छन्। यी यस्तो तुइनमा त पैसा खान्छन्। ‘पुरालेकी दश ओरालेकी दश  छ। अनि सरकार भएर के, दुःखीलाई झन् दुःख। दलगिरि दाइको गाउँमाझ जान कर्णाली नदी तर्नुपर्ने रहेछ। नदी माथि तारमा रहेको एउटा कोक्रोलाई वारि तान्ने भए वारिकाले पारि जाने भए पारिकाले तान्नु पर्ने रहेछ र मान्छेलाई वारपार गराउनुपर्ने रहेछ। नेता र राजनीतिसँग भने असाध्यै रिस उठेको रहेछ दाइलाई।

‘हामी जस्ताको तस्तै छौं, सरकार जहाँको तहिं छ, अनि के मतलव हामीलाई सरकारको’– दाइले मनका कुरा खोले, ‘तर, प्रचण्ड हेर्दा त राम्रो मान्छे लाग्छ, किन मार्न लगाएको होला मान्छे?’– बूढाले प्रश्न पनि गरे हामीसँग। “हाम्रोतिर जाने हो? खुर्सानी ढिंडा जो मिल्छ सो लडकाउँला”— दाइको पवित्र आत्मा बोल्यो।

‘हैन, पछि आउँला।’– हामी बोल्यौं।

दाइ तुइन चढ्न थाले। हामी अघि बढ्यौं।

आफन्त ठानेपछि गाउँलेहरु ह्वात्तै खुलिहाल्छन्। उनीहरुको सुधोपन सामु कुनै पर्दा र पर्खालले काम गर्दैन।
हाम्रा पाइला खार्पुनाथ अघि रोकिंदा घाम हामै्र टाउको मास्तिर थियो।

पश्चिमबाट आएको हुम्ला कर्णालीमा उत्तरबाट आएको दोज्याम खोला मिसिदा बनेको दोभान किनारमा रहेछ खार्पुनाथ मन्दिर। ढुङ्गे पहाडको फेदको ककरामा खार्पुनाथ र हिन्दू र बौद्ध धर्मका पाँच सात वटा मूर्तिहरु राखिएको छ। ककरामै जोडेर कुटी बनाइएको छ।

हिन्दूहरु बगरमा पनि देवता देख्दछन्, ओडार र ककरामा पनि देवता देख्दछन्, खोंच होस् वा शिखर जहाँसुकै देवताको बास छ भन्ने ठान्छन् र मूर्ति ठड्याउँछन्। खार्पूनाथ पनि यसै संस्कारगत औपचारिकतामा बाँचिरहेछ।

कुटीबाट भित्रिएपछि एकजना मात्र छिर्ने दुलोबाट पस्नुपर्ने रहेछ। हामीले पालै पालो दर्शन ग¥यौं। खार्पुनाथको मूर्तिसँगै एउटा भारतीय पूजारी थिए।

‘खार्पुनाथ के हुन्, कसरी उत्पत्ति भए, महिमा के छ?’– मैले पूजारीलाई सोधें।

अवाक बने पूजारी। ‘ठूलो महत्व छ’— सुगाको बोलिमा रटिरहे। बाबाजीले दुई लैना गाई पनि पालेका रहेछन्। दूःध दही माग्दा चिया पसलेलाई बेचिसकेका बताए। ‘जोगीले गाई पाल्न थालेछन्, अब कुनदिन बिहे गर्न बेर छैन’— मैले ती बाबाको नक्कले चालातर्फ इङ्गित गरें। रोकायाजीबाट थाहा भयो ती बाबा त नाम मात्रका रहेछन्।

बाबाले गाउँका महिलाहरुलाई अनेकौं बहानामा छामछुम पार्दा रहेछन्। गाउँलेले थाहा पाउने डरले चुप रहँदा रहेछन् महिलाहरु। एकदिन शिवमन्दिर दर्शन गर्न आएकी महिला विकास अधिकृतलाईनै हातपात गर्न खोजेपछि उदाङ्ग भएछ उनको कर्तुत। त्यसपछि बाबालाई गाउँलेले निकाले शिवमन्दिरबाट। बाबा खार्पुनाथका नयाँ पुजारी बनेछन्।

बाबाको सक्कली रुप थाहा पाएपछि उनीनै मेरोलागि बेचैनी बने। धर्मको नाममा सोझा जनतालाई शारीरिक र मानसिक शोषण गर्नेहरु कुना कुनामा छन्। मन्दिरसँग टाँसिएर बसेका। देवता र पुजारीको नाममा आफू नखाइ नखाइ सम्पत्ति सुम्पनु पर्ने बाध्यता सिर्जना गरेका छन् धर्माधिकारी भनाउँदाहरुले।

बास्तवमा इश्वर एउटा नहुने हो भने अलिअलि सन्तोषले बाँच्न पाउँथे कि सोझासाझाहरुले। नेपालका अनकन्टार गाउँहरुमा त्यस्ता बाबाहरुको बिगबिगी छ जो भगवानको रुप धारण गरेको भ्रम बाँडेर कयौं चेलीहरुको अस्मिता लुट्न अघि सर्दछन्।

खार्पुनाथ मन्दिर अगाडिको स्यानो बगरमा बन्दोबस्ती टोलीका पाँच जना सैनिक भाइहरु खानेकुरा पकाइरहेका थिए।
‘ए भाइ हो खाना तयार भो?’– मेजर रजौरेले सोध्नुभयो।

‘हुँदैछ सा’ब’– तनक्क तन्केर जमदारले जवाफ दिए। कर्णाली किनारमा खानपानको बन्दोबस्त गरिरहेछ बन्दोबस्त टोलीले। हामी पुगेपछि जन्ती भित्रिएको दूलहीको घर जस्तो हतारो छ सैनिक भाइहरुलाई। कर्णाली किनारको चौरमा कार्पेट र राडी ओछ्याइएको छ। कुर्सीहरु छन्। खाने, पिउने सामान र भाँडाकुँडाको अभाव छैन।

भाइहरु छिनमा काँक्रो, छिनमा अण्डा टोस्ट, छिनमा रोटी र मह, छिनमा चिया खुवाइरहन्छन् हामीलाई। उनीहरुमा अदव छ, अनुशासन छ। उनीहरुले प्रस्तुत गरेको अतिथ्यले मेटिन्छ सबै थकाई हाम्रो। मलाई त दरी छोडेर चौरमै पल्टिन र प्राकृतिक सौन्दर्य पिएर रमरमी बन्न मन लाग्यो। त्यसै गरें मैले।

‘फूर्सदै छ, केहीबेर घुमु कि?’– मेरो आग्रह।

‘हुन्छ जाऊ न त’– सबैको सहमति।

हामी दोज्याम खोलालाई दायाँ पारेर पाँच मिनेट अघि बढ्यौं। एउटा नाम मात्रको वस्ती रहेछ त्यहाँ— खार्पुनाथ। जम्मा चार टहरा थिए। आँगनमा एक अधबैंसे कपडा सिलाउँदै थिए। बेला बेलामा एउटी अधबैंसे उनको अघिल्तिर मासु र जाँड राखिदिंदैथिन्। दुवैले खान्थे। कपडा सिलाउँथे र मरिमरि हाँस्थे।

तिनीहरुको जिन्दगी दोज्याम खोलाझैं सफा र आनन्दी लाग्दै थियो— आफ्नै गतिमा बढिरहेको। सँगै अर्को एउटा होटल थियो। त्यो रोकायाजीको मितभाइको रहेछ। ‘दाइ खाना यही खाई जान्या हो?’ भेट्ने वित्तिकै ती अधबैंसे हौसिए।

‘हुन्छ नि, हामी धेरै छौं’ – रोकायाजीको ठट्यौलीपन देखियो।

‘बरु हिमाली जूस छ भने खान्या हो सर, हिमाली जुस खाने? साह्रै शीतल पो गर्छ?’– रोकायाजीले एकैपटक भाइ र मलाई पकड्नुभयो।

‘के जडिबूटीको हो र?’– मैले सोधें।

‘हो, हो, हिमाली जडिबूटीको रस’ – रोकायाजी, उत्तमजी र पसलमा रहेका सबैबाट हाँसो फैलियो।

‘हुन्छ खाउँन त’– मैले सहमति दर्शाएँ।

ती भाइले गिलास भरि भरि खैरो लेदी ल्याए। हेरें। बिग्रेको दहीमा उसिनेको गहुँ मिसाएझैं देखियो। मलाई घिन लाग्यो।
‘के हो यो यस्तो पनि जूस हुन्छ, म त खान्न’– मेरो जवाफले हाँसो नाघ्यो दोज्यामको पल्लो किनार।

‘यो त उवाको जाँड पो हो, सरलाई थाहा होला भनेर हिमाली जूस भनेको’ – तन्काउनु भयो मित्रहरुले।

मैले र मेजरले मात्र लिएनौ।

हामी बसेकै अघिल्तिर नौ केटाहरु तास खेलिरहेका थिए। तास त के खेल्थे, सबैै हिमाली जूसमा माछा चिप्लेझैं तास तानातान गर्दै थिए।

पैसठ्ठी सत्तरी वर्षे एक बूढा परतिरबाट ढलपल ढलपल गर्दै आए। हाम्रो अघिल्तिर आएपछि मलको डोको घोप्ट्याएझैं बुङ्लुङ्ङ लडे। विस्तारै उठे। हामी सबैैतिर फर्केर हात जोडे। मातमै पनि मातको पश्चताप झल्कँदैथ्यो बूढाबाट। त्यसैबेला टहरा छेउमै रोकिए एक हुल खच्चर। हिल्सादेखि सिमेण्ट बोकेर चार दिनमा त्यहाँ आइपुगेका रहेछन् उनीहरु।

तीन केटाहरुले धमाधम खच्चरको पिठ्यौबाट सिमेण्ट अनलोड गरे र एकठाउँमा चाङ लगाए। खच्चरहरु चर्नको लागि पाखातिर उकालो लागे। हरिया पाखाहरुमा पन्ध्र बीस खच्चरहरु गाह्रोमा फैलिएका कमिला जस्ता देखिए। गोठालाहरु होटलभित्र पसे। भात र हिमाली जूस गमक्र्याउँन थाले।

तिनीहरु एक अर्कासँग बेसरी छिल्लिदैंथे। होटलवाला भाइले हाँस्दै भने– यिनीहरु छोटी को कुरा गर्दैछन्। हिल्साबाट त्यता आउँदा एउटी तरुनीको घरमा ती गोठालाहरुको बास परेछ। एउटाले उनलाई फकाउँन खोज्दा नराम्ररी गाली खाएको घटनालाई अरु साथीहरुले हाँसोको विषय बनाएका रहेछन्।

रोकायाजी र खनालजी हिमाली जूसमा मस्त बन्नुभएको थियो। मेजर दिनेश र म ती चर्तिकला देख्दैमा मुग्ध बनिरहेथ्यौं।
दुईतिर आकाशै ढाक्ने पहाडहरुका बीचमा दोज्यामको किनारमा त्यसरीनै बाँच्दोरहेछ खार्पुनाथ बजार। आकाश छेक्ने अग्लो पहाडमाथि एकातिर ठेहे गाउँ र अर्कोतिर याङ्चु गाउँहरु पर्दारहेछन्।

तर, ती दुवै गाउँ देखिदैनन् खार्पुनाथ बजारबाट। देखिन्छन् त केबल दुवैतिर बाँदर लड्ने अग्ला चट्टाने पहाड। पहाडको भिरालो भागमा चरिरहेछन् घोडा, खच्चर र गधाहरु। बाटोनै नदेखिने पहराबाट उकालो ओरालो गरिरहेका मान्छेहरु। जस्तोसुकै अप्ठ्यारोमा पनि मान्छेहरु आनन्द लिइरहेछन्, रमाईरहेछन्, तर जिन्दगी कहाँसम्म पुग्ने हो उनीहरुको – कुनै लक्ष्य छैन जस्तो लाग्छ।

बजारको अलि अगाडि दोज्याम खोलामाथि एउटा तुइन तारमा झोलुङ्गो ओहोरदोहोर गरिरहेथ्यो। दिनेशजी र म तुइनको नजिक गयौं र तस्विरमा कैद भयौं। दुईवटी अधवैंसे पिठ्यौमा भारी बोकेर बच्चा हिंडाउँदै आइपुगे।
‘कहाँ जान लाग्या हौ?’ मैले सोधें।

‘देउडा नाच्न’– तिनीहरुले सिधा जवाफ दिए।

गौरा पर्व चलिरहेकोले मेला भर्न उनीहरु ठेहेबाट याङ्चु जाँदै थिए।

‘फोटो खिचौं है?’ – मेजर दिनेशले सोध्नुभयो।

‘नाईं’– लजाए तिनीहरु। मानेनन्, मुख छोपे।
‘अहिल्यै हेर्न मिल्छ क्या तिमीहरुको फोटो’– मैले भनें।

त्यसपछि तस्बिर खिच्न माने। खिच्नुभयो मेजरले। देखाइदिनुभयो। तस्बिरमा आफूलाई देखेपछि भर्खर फके्रको लाहुरेफूल जस्तो देखियो उनीहरुको अनुहार। तस्बिर खिच्न मिल्छ भन्ने थाहै थिएन रे तिनीहरुलाई। ‘भाइ पनि छ’– सानी बच्ची कराई तस्बिरमा आफूलाई देखेपछि।

भाइलाई पनि तस्बिरमा देखेपछि बुद्रुक्कै उफ्रिई बिचरा। तिनीहरु तुइन चढेर हिंडे याङ्चुतिर। संसार कहाँ पुगिसक्यो। बिचरी हुम्ला, तिमी अझै कति सादा र सुधी बाँचिरहेकीछ्यौ, एकटक हेरिरहें मैलै टाढा टाढासम्म।

भोकले बेस्सरी हुँडलियो पेट। हामी फक्र्यौं खार्पुनाथ मन्दिर। सैनिक भाइहरुले साह्रै मीठोसँग खाना खुवाए। रणशुर गुल्म रानीवनमै फलेको फर्सी, साग र त्यहीं तयार गरेको गुन्द्रुकको परिकार बिर्सिनसक्नु थियो। भोकको बेलामा तातो गुन्द्रुकको झोल र भात। पेट भरिसक्ता पनि मनले मागिरहेथ्यो।

भोको जुकाले भैंसी भेटेजस्तो ग¥यौं हामीले। मेरोलागि दही, दूध समेत जुटाउन लगाउनु भएछ मेजर दिनेशले। भान्छे भाइहरु फूर्तिला, लायकी र आज्ञाकारी थिए।

सेना वास्तवमा अनुशासनमा चलेको हुन्छ। सेनाबाट अनुशासन झिकिदिने हो भने त्यो विनाशको जग बन्छ। मेजर दिनेश पनि असाध्यै पुखला, मिलनसार र आफूभन्दा तलकाको असाध्यै हेरबिचार पु¥याउने खालको हुनुहुँदोरहेछ। ती भाइहरु मेजरलाई अभिभावक मानिरहेथे।

नीलो आकाश सेता हिमालहरु र हरिया पहाडहरु हुँदै ओर्लिएको छ खार्पुनाथमा। जताततै हरियाली फैलिरहेछ। पर पर डाँडाहरुमा गाई वस्तुहरु चरिरहेछन्। धेरै समय आँखा घुमाएपछि मात्र कतै कतै छायाँ जस्तै देखिन्छन् मान्छेहरु।

अनवरत मूच्र्छना निकालिरहेछन् कर्णाली र दोज्यामहरुले। चराहरु खेलिरहेछन् खोलाहरुसँग जुहारी। अर्धमूदित रुपमा हेर्ने र चिम्लने गर्दैछन् बादल छेडेर घामका आँखाहरुले। निर्वाङ्ग प्रकृतिको अन्वितिमा भित्रदेखि फक्रिएको छु म। उद्याम आनन्द बर्सिरहेछ हावासँगै। खार्पुनाथ प्राकृतिक बगैंचा बनेर ब्युँझिरहेछ।

मसिना फूलहरुको रङ्गीबिरङ्गीले महक छरिरहेछन् अनन्तसम्म। फगत त्यो स्वाद लिने मान्छेहरुको कमी छ त्यहाँ। त्यहाँका जल, जमिन, आकाश र जीव–जन्तुले कविता लेखाइरहे मलाई।खाना खाँदै थियौं। सिमसिम वर्षियो पानी। पानीमा भिज्दै भोक मेटाउँनुमा मजा फैलिरह्यो कर्णालीको कञ्चन फैलावटझैैं। दोज्याम र कर्णालीको मिलनले सुसाई अझ सुरिलो बनिरहेथ्यो। पानी र स्याँठको सङ्ग्रालोबाट बच्न घामसँगै उकालोतिर लाग्यौं हामी।

उकालो चढ्दछौं। पानीले मुसालाई भैंm चुट्दैछ। सैनिक भाइहरुले ओडाएको छाताले थेग्न सकेन। डाँडाबाट बगेको भेलले बगाउला जस्तो छ। न बाटो, न घाटो स्याम्नेमा। केहीबेर ओत लागेपछि बल्ल बढ्यो बाँच्ने शाहस। स्याम्नेदेखि त नाक ठोकिने उकालो चढ्नु पर्छ। पहाड उचाई, थकाई, पीडा, अप्ठेरो, भय सबै पहाड बनेर उभिइहेछ।

जति माथि चढ्यो त्यति अक्सिजन कम, त्यति श्वास प्रश्वासमा अवरोध। छाति पड्केला जस्तो हुन थाल्यो। ‘लेक लाग्यो कि क्या हो– मनमनै डराएँ। ‘अलि विस्तारै हिंडुँ है’– अघिल्लो पङ्तिमा हिंडिरहनुभएको मेजरलाई अनुरोध गरें।

उहाँको हिंडाई एकनासको। नथाक्ने किसिमको। तैपनि त्यो पहाडमा म नौलो थिएँ। त्यहाँको उचाई त्यति मसँग भिजिसकेको थिएन। उभिने बाहेक टुसुक्क बस्ने ठाउँ छैन उकालोमा। धेरै माथि पुगेपछि बल्ल एउटा थाप्लो भेटियो। एकक्षण सुस्ताउँदा सबै थकाई मेटियो।

पहाडमा हिंड्नुको मजानै त्यसैमा हुन्छ। त्यहाँबाट कर्णाली र हेल्दुङ्ग दुवै देखिन्थ्यो। कर्णालीतिरबाट कुहिरो आइरहेथ्यो। हेल्दुङ्गमा इन्द्रेणी फैलिरहेथ्यो। सिमसिम पानी र पसिनाले लुछुप्प थिए कपडा। हामीले तातोपानीसँग ग्लुकोज खायौं। शरीर झन् ताजा भयो। यात्रा त आर्मीसँग गर्नुपर्ने रहेछ, सबैैकुरा व्यवस्थित, सबैकुरा सहज’– मनमनै सोचें।

बिसौनीमा सुस्ताइरहेको बेला माथितिरबाट झरे एक गाउँले। ‘एकक्षण बसौं न ’– मैले आग्रह गरें। बस्न अनकनाए उनी। मैले बढी जोड गरेपछि बल्ल अलि पर बसे, छोइएलाझैं गरेर। पहिले त कुरा गर्नै मानेनन्। बल्लतल्ल कुरा गरे। बुराउँसेका रहेछन् तिनी।

‘आज दिउसो मसानमा खाना खान्या तिमीहरुनै हऊ?’

‘कुन मसान?’

‘ऊ क्या खार्पुनाथ मन्दिर अगाडि।’

‘त्यो मसान हो र?

‘हो त मान्छे पोल्ने ठाउँ मसान नभए के त? मसानमा त भूतले मात्र खान्छ। मान्छे पोल्ने ठाउँमा चुल्हो बालेर खानेसँग बोल्नु पनि हुँदैन, छुनुपनि हुँदैन।’

हामीले खाना खाएको ठाउँ त मूर्दा पोल्ने ठाउँ पो रहेछ। आपसमा हेराहेर ग¥यौं हामीले। थाहा नपाएपछि रछ्यान र ओछ्यानको भेद हुँदोरहेनछ केही पनि। दिनभर मसानमा बसेर खाएछौं भन्ने थाहा पाएपछि एकाएक खरानी बन्न थाले खुशीहरु। मृत्युका लहरहरुले गिज्याए जस्तो लाग्यो हामीहरुलाई।

उकालो चढ्ने क्रम रोकिएको छैन। दुईमिनेट के हिंडेका थियौं, थचक्क परें म त। एक्कासी खुट्टा बाउँडिए। ‘प्यारालाइसिस पो हुन लाग्यो कि क्या हो’— मनमनै डराएँ। लौ न मेरा दुवै खुट्टा त हल न चल भए— चिच्याएँ म।

हत्त र पत्त लौरो दिनुभयो रोकायाजीले। ‘बिस्तारै हिंड्नुपर्छ हजुर, नसा तातेपछि ठीक हुन्छ’– मेजर र उत्तमजीले ढाडस दिनुभयो। हिंडे। बिस्तारै ठीक हुँदै गयो। उकालो यात्रामा अविराम गति पनि औषधि हुँदोरहेछ कहिलेकहीं।

उकालो चढ्न पाइयो र पो महसूस गर्न सकियो सर्बौच्च आनन्द। जति उकालो ओरालो गरेपनि जिन्दगी छ र पो खप्न सक्छ सबै दुःख। संसारका कति मान्छेहरुले पो टेक्न सकेका छन् र यी हिमाली उकाली ओरालीहरुलाई। जिन्दगीलाई सर्बैोच्च ठान्छु म प्रकृतिसँग नाङ्गिएर माया साट्ने मौका पाएकोमा।

उकालाहरु सपनाका पहाड बनेर फक्रिए मेरा यात्राका बिरुवाहरुमा।

कुहिरोले पुरै अँगालो मारिरहेथ्यो सिमकोटलाई। दिनभर नेटवर्क भन्दा टाढा रहेकोले चुप थियो मोवाइल। पार्वती र छोरी प्रसुनसँग गफिंदा आधा थकाई त त्यसै बिलायो। उकालो ओरालो र झरीमा झाँटिएको पीडा सुन्दा बरु उनीहरुनै थाके होलान् बरा।

साँझको बर्कोमा सिँगारिंदा झन् झन् लोभलाग्दी देखिंदैछयौं तिमी। निधारहरु उज्याला बन्दैछन्। कुहिरोको खास्टो ओड्दा सुहागरातमा भेटिएकी दुलही बनिरहेछ्यौ तिमी। शीतलमा असाध्यै शीतल छ्यौ, तिमी। शान्तमा असाध्यै शान्त छ्यौ, तिमी। तिम्रो काखमा लडिबुडी गर्दा म प्रकृतिको सर्बैोच्च आनन्द बटुल्दैछु। टह टह जून लोभिएर हेर्दैछ तिमीलाई। जून पोतिएको तिम्रो अनुहारबाट आनन्दका सहस्र धाराहरु बगेको भेट्दैछु म।

गाढा आँध्यारोसँगै मौन आतङ्क फैलाउँदैछ सिरोटो। अँध्यारो होस् या उज्यालो तिम्रो सामिप्यताले बढाइरहेछ मेरो मनमा स्वप्निल सौन्दर्य। उमङ्गका पखेंटाहरु फिंजारिदैछन् इन्द्रेणी लहरहरुमा।

पहाड नाघिसकेपछि भेटिएको बिश्राम जीवन्त बन्दोरहेछ उर्बर गरो जस्तै।

निष्पट्ट रातलाई चिर्दै अझै चढौं नयाँ शृङ्खलाहरुमा – छङछङी उत्साहका नदीहरु उर्लिए तिम्रो धापको न्यानोमा।
अप्ठेराहरुलाई लडाउँन सकुञ्जेल फुलिरहन्छ जिन्दगी उत्साहका रङ्गहरुमा। तिम्रा अङ्ग अङ्गमा लुटपुटिंदा जीवनमा फेरि बज्न थाल्यो हिमालझैं सुन्दर जिन्दगीको अमीट मूर्छ्ना।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.