२०८० सालको भदौमा मेरो सरुवा कर्णालीको सल्यानमा भयो, जुन मेरा लागि अहोभाग्यको विषय थियो। किनभने मेलै त्यसबेलासम्म कर्णालीको जमिन टेकेको थिइनँ।
सरुवा पत्र सार्वजनिक हुँदा नै शे-फोक्सुण्डो र रारा ताल घुम्न पाइने भयो भनेर मन आह्लादित भइसकेको थियो। कर्णालीका यी दुवै ताल नेपालका लागि प्रकृतिले दिएको सुन्दर उपहारहरू मध्येकै उत्कृष्ट हुन् भन्ने मैले धेरै सुनेको र पढेको थिएँ।
बेलाबेलामा साथीभाइले तालसम्मै पुगेर सामाजिक सञ्चालमा रङ्गीविरङ्गी तस्बिर पोस्टयाउँदा मेरो त्यहाँ पुग्ने हुटहुटी झनै उर्लेर आउने गर्दथ्यो। शे-फोक्सुण्डो ताल पुग्न मोटरबाटो डोल्पासम्म पुगेर थप दुई दिन पैदल यात्रा गर्नुपर्ने भएकाले परिवारसहित घुम्न लगभग असम्भव जस्तो लाग्यो। शे-फोक्सुण्डो कुनैदिन साइत जुराएर केटैकेटा जाउँला, पहिला परीवारसहित रारा नै पुग्नुपर्छ भन्ने उतिखेरै लागेको थियो।
सल्यान हाजिर भएपछि त्यो हुटहुटी पुरा गर्न झन्डै १० महिना प्रतीक्षा गर्नु पर्यो। अन्तत: २०८१को जेठ २३ गते रारा तालको पानी चुम्न सफल भइयो।
दमक झापाका भोला बराल दाइका परिवार र मसहित मेरी श्रीमतीसँगै रारा घुम्न जाने भनी योजना बनाएको करिब ४-५ महिना भइसकेको थियो। हामी योजना बनाउँदा नै राराको कल्पनामा पुलकित हुने गर्दथ्यौं।
पूर्व-योजना मुताविक रारा घुम्ने भनी बल्लतल्ल जम्मा ८ दिनको बिदा प्राप्त भयो। तर मलाई प्राप्त ८ दिनकै सदुपयोग गर्दै जसरी पनि कुलपुजामा सरिक हुन उदयपुरको गाईघाट पुग्नै पर्ने थियो। उसै पनि मेरो जन्मस्थान उदयपुर जाने भन्नासाथ मेरो मानसपटलमा छुट्टै उमंग उत्पन्न हुन्छ।
त्यसैले ३ दिन उदयपुरको लागि र बाँकी ५ दिन राराको लागि विभाजन गरें। यात्रा प्रारम्भ गरें, कुल पुजामा सरिक भएँ, बन्धुमीलनको मौका गुमाइनँ।
कुलपुजाको भोलिपल्ट २० गते उदयपुरबाट वास्तविक रारा यात्रा सुरू भयो। भोला दाइ र सरिता भाउजु दमकबाट मदन भण्डारी हाइवे हुँदै गाइघाट आइपुग्दा हामी चुहाडे चोकमा प्रतीक्षा गरिरहेका थियौं। शिष्टाचार भेटमै हामीले बाँकी ५ दिनभित्रै रारा भ्रमण सकेर सल्यान पुग्ने दुस्साहसी निर्णय गर्यौं। मदन भण्डारी हाइवेले पूर्वेलीलाई बि.पी. राजमार्ग हुँदै राजधानी जोड्न सहज र दुरी छोटो बनाएको छ।
मदन भण्डारी र बिपी हाइवेमा पर्ने नागबेली बाटोको मजा लिँदै साँझ काठमाडौं बास बसियो। २१ गते बिहान ६ बजे काठमाडौंबाट हामी भोला दाइकै गाडीमा नेपालगञ्ज पुग्ने भनी निस्कियौं। नागढुंगा-नौबिसे-गल्छी सडकखण्ड विस्तारका कारण सडकको दुरावस्था बारे हामी जानकार थियौं, त्यसैले सामाखुशी-टोखा हुँदै नुवाकोटको बाटोबाट गल्छी निस्कियौं। गल्छीसम्म ठिकठाकै पुगेका हामी त्यहाँबाट अगाडि बढ्न बडो मुस्किल पर्यो। झण्डै १ घण्टाको जाम छिचोलेर जसोतसो गल्छीबाट अगाडि बढ्दा ९ बजिसकेको थियो। हामी नारायणघाट खाना खान पुग्दा दिउँसोको एक बज्यो। जब नारायणघाटबाट बुटवलतर्फ अगाडि बढ्यौं, त्यस दिन नेपालगञ्ज बास बस्ने हाम्रो योजना बिफल होला जस्तो लाग्यो।
नारायणघाट-बुटवल सडकखण्ड पनि विस्तारका कारण उस्तै बेहाल रहेछ, ११४ किलोमिटर बाटो पार गर्न हामीलाई ६ घण्टा लाग्यो। हामीले नेपालगञ्जमा होटल बुक गरिसकेकोले जसरी पनि नेपालगञ्ज पुग्नु पर्ने दबाबका कारण हामी सबैको मन बिचलित भएको थियो।
बुटवल पुग्दा ७:३० भैसकेको हुँदा अब नेपालगञ्ज पुग्दा मध्यरात हुनेमा कुनै शंका थिएन। जाने कि नजाने भन्नेमा हामी दोधारमा परिसकेका थियौं। तर जसरी पनि नेपालगञ्ज पुग्ने अठोटका साथ काठमाडौं देखि निरन्तर गाडी चलाई रहेका भोला दाइलाई विश्राम दिँदै म चालक बनें। ४ घण्टा ३० मिनेटको यात्रा पुरा गर्दै रातको १२ बजे नेपालगञ्ज होटल पुग्यौं। रातको १२ बजे होटलको कोठाभित्र पस्दा साउना झैं बाफिएर तातो हावा पोको परेको जस्तो आभास भयो। मनमनै अनुमान लगाएँ- रातको १२ बजे यस्तो छ, दिनको १२ बजे कस्तो होला? होटल व्यवस्थापनले रातको १२ बजे भएपनि खाना खुवायो, थकानले मज्जाले निदायौं। अर्को दिन कालिकोट र जुम्लाको सीमाना नाग्मा पुगेर बस्ने योजना भएको हुँदा बिहान सबेरै ५ बजे उठेर यात्रा सुरू गर्ने भनिए पनि राति सुत्न अबेर भएकाले ७ बजे मात्र हिँड्न सक्यौं।
नेपालगञ्जको मट्का चिया पिउने सोचले बजार फन्को लगायौं तर त्यति बिहान मट्कावाला साथीहरूले जाँगर चलाएनन्। हाम्रो मट्का चिया पिउने लालसा पुरा भएन। खासगरि सरिता भाउजुलाई दुध चियाको साह्रै न्यास्रो लागेकाले चियाको लागि १५ मिनेट समय खर्चिने भनिए पनि त्यो प्रयास बिफल भयो। सुर्खेत पुगेर खाना खाइवरि हिँड्दा झन्डै ११ बज्यो। सुर्खेतबाट पहाडी बाटोमा गाडी चलाएको अनुभवी चालक सहित अर्को गाडीको प्रबन्ध गर्यौं।
म सल्यानबाट सुर्खेतसम्म २-३ पटक ओहोरदोहोर गरेको हुँदा सुर्खेत मेरा लागि खासै नौलो थिएन। तर जब सुर्खेतबाट दैलेखको गुराँसे हुँदै उकालो लागियो, मन रोमाञ्चित हुँदै गयो। हुन त कर्णाली हाइवेकै बाटो बड्डिचौर हुँदै पनि जान सकिने रहेछ तर गुराँसेको बाटो जाँदा यात्रा रमाइलो हुने जानकारी पाएकाले हामीले गुराँसे उक्लिँदै जाने निधो गरेका थियौं।
चिसो मौसम, डाँडाबाट कचौरा जस्तो देखिने सुर्खेत भ्याली, बाटैभरि फुलेका गुराँसका फूल र बाटोबाटोमा काफल र आरूबखडा बेच्न राखिएका दृश्यले यात्रालाई थप रोमाञ्चित बनाएको थियो। यात्राभर २ दिनदेखि गर्मीले आलसतालस भएका हामीलाई गुराँसेको डाँडाले राहत दिएको थियो।
कर्णाली हाइवे भेट्न हामी तल्लो ढुंगेस्वर पुग्यौं। त्यहीँ नजिकैबाट बगेको कंचन कर्णाली नदीले मन आनन्दित तुल्यायो। तल्लो ढुंगेश्वर पुग्दा हपक्क बाफिएको आत्मालाई कार्णालीको नीलो पानीले शीतलता प्रदान गर्यो। यस्तो लाग्यो- कंचन कर्णालीलाई नयनले पान गर्यो, दिमागले स्वाद लियो र आत्माले ‘छप्ल्याङ्ग’ शीतल महसुस गर्यो।
दैलेखको तल्लो ढुंगेश्वरबाट कार्णालीको तिरैतिर अगाडि लाग्दा बाटोका खाल्डखुल्डी र ग्राभेल बाटोले हामीलाई मस्तैसँग हल्लाई राखेको थियो। राकम पुग्नै लाग्दा कर्णालीमा पुल देखेर हामीलाई पुल क्रस गरेर अछामको जमीन टेक्ने चाहना जाग्यो, त्यसै गर्यौं। टोड्केसालस्थित मित्र दमन विष्टका दाइको पसलमा कालो चियाको चुस्की लिनसमेत भ्यायौं।
दैखोलाबाट अगाडि लाग्दा चालक प्रेम भाइले 'रेलको बाट पुग्दै छ रे तिमी बस्ने शहरैमा, हुम्ला कहिले मोटर पुग्ला बसेको छु रहरैमा' भन्ने लेखराज गिरीको शब्द र सुरज पण्डितको आवाज रहेको मिठो गीत घन्काइ रहेका थिए। त्यति नै खेर कालिकोटको जिते आइपुगेछ, जहाँबाट हुम्ला जाने कर्णाली करिडोरको बाटो छुट्टिँदो रहेछ। चालक भाइले कर्णालीको बेलिब्रिज तर्फ देखाउँदै हुम्ला जाने बाटो देखाए- कर्णाली पारी तिरैतिर सेतो धर्सो। केही अघि लाग्दा तिला र कर्णालीको संगमस्थल हुल्मा रहेछ, वास्तवमा कर्णाली प्रदेशको रक्तनली भनेकै कर्णाली नदी र यसका सहायक नदीहरू रहेछन्।
गाडीमै पिङ खेल्दै कालिकोट जिल्लाको सदरमुकाम मान्मा पुग्दा साँझ ६ बजेको थियो। मान्मा डाँडा झन्डै १८०० मिटरको उचाइमा रहेछ, त्यसको प्रमाण चिसो सिरेटोले दिइसकेको थियो। निरन्तरको यात्रालाई केही क्षण विश्राम दिने हेतुले हामी कालिकोट जिल्ला प्रहरी प्रमुख मित्र अर्जुन केसीकहाँ गयौं। उनको हार्दिकतापूर्ण स्वागतसँगै चिया-पानी र अफिसमै फलेको आरुबखडा ग्रहण गरियो, उनले भलाकुसारी सँगै कालिकोटको बारेमा संक्षिप्तमा जानकारी गराउन पनि भ्याए।
थकाई केही मत्थर भए झैं लाग्यो, नाग्मा पुगेरै बास बस्ने भन्दै अघि बढ्यौं। मान्माबाट जति अघि बढ्यो त्यति साँघुरो बाटो, त्यति नै डरलाग्दो तिला नदीको छाँगो, सबैजना कति डराएका थिए भन्ने उनीहरूको अनुहारको भावभङ्गीले बताउँदै थियो।
सडकको माथितिर हेर्दा पनि उस्तै कहाँ हो कहाँ? त्यो भिर 'कहाँ सुरू, कहाँ अन्त' अत्तोपत्तो नपाइदो रहेछ। सबैभन्दा अचम्मित त केले बनायो भने त्यहाँका हेभी सवारी चलाउने चालकको आँट र कन्फिडेन्ट अजीवको थियो। हामीले सवार गरेको सानो गाडी मुस्किलले गुड्न सकेको जस्तो भान हुने सडकमा १० चक्के ट्रक, मिनी बस सहजै हुइँकिएका देखिन्थे। बाटो क्रस गर्नु परेको खण्डमा हाम्रो मुटु खङ्ग्रङ्ग हुन्थ्यो तर ती चालकहरू दुई इन्च पनि मार्जिन नराखी भिरको डिलमा गाडी रोकेर साइड दिने गर्दथे। हामीले डराइडराइ धेरै छेउ च्याप्न अनकनाउँदा एक जना ट्रक चालकले मुखै फोरेर भने- यस्तो पाराले त यो बाटोमा गाडी चलाउन सकिँदैन त हो! हामी उसको कुरा सुनेर मुस्कुरायौं मात्र।
पिलीको भिर विशेष डरलाग्दो थियो। द्वन्द्वको समयमा सुरक्षाकर्मी र विद्रोही पक्षबिच दोहोरो भीडन्त हुँदा त्यस ठाउँको नाम सुनेको थिएँ। ठूलो हताहति भएको थियो। मलाई पिली भन्ने नाम सुन्नासाथ त्यही कहालीलाग्दो कालखण्डको याद आयो। मनमनै सोचें- त्यस्तो डरलाग्दो भिरमा कति भयानक कारूणिक दृष्य देखियो होला! जसले जीवन उत्सर्ग गरे तिनीहरूप्रति हार्दिक श्रद्धा-सुमन!
त्यसबेलासम्म झमक्कै साँझ परेकाले बाटोमा भेटिने झुपडी घरका पिलपिले बत्ति बाहेक अरू देख्न सक्ने अवस्था थिएन। सुन्नको लागि गाडीको संगीत भन्दा तिला नदी सुसाएकै आनन्दमय थियो। अग्ला पहाड आकारका कालो छायाँ भने देखिन्थ्यो। हामीले गफिँदै जाँदा कुरा गर्दै थियौं- बाटाको घर र अन्य परिवेश हेर्दा नाग्माको बसाइ त्यति सहज होला जस्तो छैन भनेर। तर राति ९ बजे नाग्मा पुग्दा सोचेको भन्दा फरक अनुभूति भयो। सानो ठिकठिकैको बजार, बजारभित्र चौडा सडक, हामी बस्ने भनेको होटल पनि ठिकै रहेछ। खाना पनि अपेक्षा गरेभन्दा राम्रो र कोठा पनि त्यस्तै पायौं। थकान र भातको मातले झुप्पै ढाल्यो, त्यो रात अपेक्षा गरे भन्दा गज्जबले बितायौं। बिहान सबेरै ६ बजे हामी तयारी भइवरि फेरि यात्रा सुरू गरियो। हामी बसेको नाग्मा बजारबाटै जुम्लाको सदरमुकाम जाने सडक र सिंजा भ्याली हुँदै मुगु तिर जाने सडक फाटिँदो रहेछ, सो स्थान हिमा र तिलाको संगमस्थल समेत रहेछ।
हामीले हिमा नदीको तिरैतिर मुगुतिरको बाटो समात्यौं।
नाग्माबाट जति अघि बढ्यो उति मनोरम दृष्य आउँदै गएको आभास भयो। हिमा नदीमा कलात्मक ढंगबाट निर्माण गरिएका काठेपुल हिमा नदीका गहना झैं देखिन्थे। नभन्दै खस नेपली भाषाको उद्गमस्थल भनेर चिनिएको खुब नाम सुनिएको जुम्लाको 'सिंजा उपत्यका' भेटियो, सिंजा उपत्यका काट्नै करिव एक घण्टा कच्ची सडकको यात्रा गर्नु पर्ने रहेछ। वास्तवमै सिंजा सुन्दर रहेछ। हिमा नदी सिंजा उपत्यका चिर्दै बग्दिरहिछिन्। त्यहाँको उर्वरताको प्रमुख प्राण नै हिमा रहिछिन्। समुन्द्र सतहदेखि २०००-३००० मिटरको उचाइमा राम्रो उत्पादन हुने भनिएको मार्सी धान रोपारहरू समूहमा रोपाइ गर्दै गरेको दृष्यले यात्रा गर्ने जो कोहीलाई रोमाञ्चित बनाउँदो रहेछ, हामी पनि भयौं। बाटोमा पर्ने स-साना बजार, हिमा नदी वारिपारिका बस्ती, बस्ती वरपरका फाँट र बान्की परेका रुख विरुवाले सिंजा उपत्यकालाई थप सिङ्गार्दो रहेछ। यस्तो लाग्थ्यो- रारा जाने यात्रीलाई थप प्रेरित गर्न सिंजा उपत्यकालाई बाटैमा तैनाथ गरिएको छ।
सिंजा उपत्यका पार गरेपछि भुलभुले बजार पुगियो, त्यसको केही अगाडि कस्मिरी भाइब दिने अर्को अत्यन्तै सुन्दर स्थान भुलभुले पाटन पुगियो। फराकिला हरिया खर्क, खर्कमा चर्दै गरेका भेडा, घोडा, खच्चर, गाई-भैंसीका बथान र बगैँचामा सजाउन छाँटेर राखेका जस्ता रूख विरुवाले हामीलाई गाडीबाट झरेर फोटो नखिची अघि बढ्नै दिएन। हल्का वर्षा भएर रोकिएको रहेछ, चिसो कुहिरोको झोक्काले ठिहिर्याउने गरी झापड हान्दै थियो। यति मनोरम दृष्य थियो कि- सो स्थानमा एक रात बस्न पाए हुन्थ्यो जस्तो भएको थियो। तर त्यो सम्भव थिएन किनकी एक त समयको पाबन्दी अर्को कुरा त्यहाँ नेपाली सेनाको गुल्म बाहेक अन्य घर, होटल देखिएन। आत्मा तृप्त नहुँदानहुँदै केही थान क्लिकक्लिक पछि बाटो लाग्यौं।
त्यहाँबाट कतै जंगल त कतै २-४ घरका बस्ती पार गर्दै हामी सल्लेरी पुग्यौं, सडक बाटो त्यहीँसम्म मात्र पुग्ने रहेछ। रारा ताल घुम्नेहरूको लागि त्यही स्थान नै गाडीको अन्तिम गन्तव्य रहेछ। त्यस भन्दा एक-डेढ किलो मिटर अघिसम्म गाडी लान सकिने रहेछ तर नेपाली सेना र राष्ट्रिय निकुञ्जको नियन्त्रित इलाका भएकाले गाडी इन्ट्री गराएर २० मिनेट मात्र पार्किङ गरी राख्न मिल्ने रहेछ। करिव आधा दर्जन सामान्य खालका होटल, खाजाघर रहेछन्।
हामीले गाडी पार्किङ गर्ने ठाउँ खोज्दै गर्दा एक जना भद्र मनुवा झुल्के र सोधे- 'दाइ खाना खाने हो?'
हामी पनि खाना खाने ठाउँ खोज्न पर्ला भन्ने कुरा गर्दै थियौं, शायद त्यही भेउ पाएर उनले सोधेको हुनु पर्छ। हामीले मीठो खुवाउने भए खान्छौ भन्यौं। उनले आफ्नो होटलतर्फ अघि बढ्न इसारा गरे।
'दाइ रातो कि सेतो भात खाने?' उनले पुन: सोधे।
म अल्मलिएँ, 'कस्तो रातो कि सेतो भनेको?'
'मार्सी भात खाने हो भने रातो, तराईबाट ल्याएको खाने हो भने सेतो,' उनले प्रष्ट्याए।
मैले मार्सी पाए कसले सेतो खान्छ भने। उनले फेरि सोधे, 'च्याङ्ग्रा कि ब्रोइलर दाइ?'
मैले सोही पारामा जवाफ दिएँ, 'च्याङ्ग्रा पाए कसले ब्रोइलर खान्छ।'
उनी मासुम मुस्काए।
खाना खाइवरि गाडी जान मिल्ने स्थानसम्म पुगेर हामीलाई ओरालेर गाडी फर्काउँला भनेर सेनाको चेक प्वाइन्टमा इन्ट्री गराई अघि लागियो। फेरि, सय मिटर नपुग्दै राष्ट्रिय निकुञ्जले रोक्यो, प्रतिव्यक्ति १०० रुपैयाँ चलान काट्नु पर्ने रहेछ, चालकलाई भने छुट दिँदा रहेछन्। त्यसरी गाडीमा जाँदा एक-डेढ किलो मिटरको पैदल दुरी छोट्टिदो रहेछ।
गाडीबाट ओर्लने साथ छिन्द्रिङछिन्द्रिङ घोडा बजाउँदै आएका घोडा चालक भाइहरू भन्दै थिए- 'ल है दाइ-दिदीहरू तालपारिसम्म भए १२०० वारिसम्म भए ६०० मात्र। हामीले कौतुहलतापूर्वक सोध्यौं- 'अब कति टाढा हो र ? तालसम्म पुग्न।'
'हैट तालपारि त तपाईहरू जस्ता महिला केटाकेटीलाई त ३ घण्टै लाग्ला धेरै टाढा पो छ त, तालवारि चाहिँ आधा घण्टा लाग्छ,' एक भाइले अलि बढाइचढाइ गर्दै भने।
भर्खर २ मात्र बजेकाले हामीले पैदलै मजा लिने सल्लाह गर्यौं। हामीले त्यसरात तालपारि बस्ने गरी फोनबाटै एउटा होटलमा रुम भनिसकेका थियौं। मलाई कतिबेला ताल देख्न पाइन्छ भन्ने व्यग्रताले गाँजिसकेको थियो। म वर्षौंको बिछोडपछि भेटिन लागेकी प्रियतमासँगको सुखद् मीलनका निमित्त हतारिए जस्तो अधीर थिएँ। मैले फटाफट पैदलको गति बढाएँ, भोला दाइ, भाउजु र मेरी श्रीमती जी छाडिइ सक्नुभएको थियो। फेरि श्रीमती जीको आज्ञाले रोकिँदै पर्खदै अघि बढें।
आहा! रारा। मैले सुस्केरा हालें। यस्तो लाग्यो- रारा साँच्चिकै स्वर्गझै रहेछ। लगभग ३००० मिटरको उचाईमा अवस्थित रारा कुनै कञ्जुस्याई नगरी नि:सङ्कोच आफ्नो सुन्दरता प्रदर्शन गर्दोरहेछ।
रारा ताल देख्ने छुने व्यग्रता अन्तत: पुरा भई छाड्यो। रारा ताल जति स्वच्छ, सुन्दर र विशाल थियो त्यस वरपरका हरिया मिलेका डाँडा, जंगल पनि उति नै सुन्दर थिए। छुँदा दाग लाग्ने राराको मुहारमा डाँडाका हरिया छायाँले सुन्दरता थपिई दिएको भान हुन्थ्यो। राराको रसास्वादन गर्दै फटाफट तस्बिर खिच्नमा व्यस्त भइयो। हाम्रो यात्रामा सहभागी चारै जना यति हतारमा तस्बिर खिच्दै थियौं कि लाग्थ्यो-एक छिन पछि रारा त्यहाँबाट अलप हुनेवाला छ।
तालतिरमा हिँड्दै गर्दा मेरा मनमा अनेक तर्कना खेलिरहेका थिए- राराले जति हार्दिकताको साथ स्वागत गर्छ, के साच्चै हामीले राराको सुन्दरताको प्रचार गर्न सक्यौं? राराउपर गर्नुपर्ने न्याय हामीले गर्न सक्यौं? अवश्य पनि गर्न सकेका छैनौं। राराको अस्तित्व अक्षुण्ण राख्दै भावी पुस्तालाई जस्ताको तस्तै रारा हस्तान्तरण गर्ने अभिभारा हामी सबैको हो भने स्वदेशी तथा विदेशी सबै शारीरिक अवस्थाका पर्यटकले रारा घुम्न सक्ने वातावरण निर्माण गर्नु पनि हामी सबैको साझा कर्तव्य पनि हो। तब मात्र रारा प्रति हामीले न्याय गरेको ठहरिएला।
तालपारिको बसाइ भौतिक सुबिधाको हिसाबले उत्कृष्ट नभए पनि जसोतसो गुजारियो, बिहान डुंगाबाट तालवारिसम्म आउने र फिर्ती यात्रा प्रारम्भ गर्ने भनी डुंगा सवार गर्यौं। डुंगा अलि अघि बढ्दै गर्दा ताल किनारबाट एकजना बहिनीले चिच्याउँदै डुंगा फिर्ता गर्ने फर्मान जारी गरिन्। डुंगा फिर्ता भयो, तिनी बहिनीले १० वटा जति सेता बोरा धमाधम लोड गर्न थालिन्। मैले त्यति धेरै भार थाम्न नसक्दा सुरक्षा खतरा हुने तर्फ सचेत गराउँदा सातो काडिन्- त्यो निकुञ्जको इलाका हो रे, उनी निकुञ्जको कर्मचारी भएकीले डुंगाले जति पनि भार पार गर्न सक्ने भन्दै तथानाम बोल्न थालिन्। हाम्रो डुंगामा सवार एक जना महिलाले उनी कर्मचारी नै हुन् भन्ने नाम सहितको विवरण दिइन्। हामी स्तब्ध भयौं, त्यस घटनाबारे मैले जिल्ला प्रहरी कार्यालय, मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापालाई टेलिफोन गरेर जानकारी गराएँ र बाटो तताएँ।
अन्तमा, रारालाई धन्यवाद ज्ञापन गर्न चाहन्छु, किनकी राराको बहानामा मैले संक्षिप्तमै भए पनि कर्णालीको सभ्यता, रहनसहन, जीवन पद्दति, संस्कृति, भुगोल र यहाँको सम्पदा बारेमा अवलोकन गर्ने, महसुस गर्ने मौका पाएँ। हार्दिक नमन! प्रिय रारा।
(लेखक जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हुन्।)