चैतको ४ गते बिहान पाँच बजे योजना थियो भेडेटार जाने। धरानबाट करिब सोह्र- सत्र किलोमिटरको दूरीमा रहेको भेडेटार पुग्न सवारी साधनलाई त्यस्तै चालीस पैंतालीस मिनेट लाग्ला। धरान, इटहरी, विराटनगरदेखि भारतका नजिकका क्षेत्रबाट छोटो फुर्सदलाई रमाइलो गरी बिताउने उचित गन्तव्य मानिन्छ भेडेटार।
सस्तो पनि, नजिक पनि र समथर फाँटबाट हल्का उचाइ भएकोले मनोरम पनि लाग्ने यो ठाउँमा जाने तीन जनाको सल्लाह थियो। हाम्रो हिँडेरै जाने योजना थियो।
घोपा क्याम्पको गेटमा भेट भयो( बालरोग विशेषज्ञ श्यामदाइ, औषधि विज्ञान विशेषज्ञ भावेश दाइ र म। सवा पाँच बजे हिँड्न सुरू गरियो।
सहर भर्खरै ब्युँझिँदै थियो भने हाम्रा खुट्टा छिट्छिटो चल्दैथिए। साधारण गफगाफमा बाटो कटेको थाहै भएन। फुस्रे पुगियो। पिच बाटो सकियो र कच्ची बाटो ओरालो लाग्दै सर्दुखोलाको किनारतिर लागियो। एक घण्टा बितेछ। भावेश दाइले चिनेका एक जना वृद्ध त्यहाँ एक्लै बस्थे रे र साइकल चलाउँदै गएर गफिनुहुन्थ्यो रे। उनको कुराकानीमा आधारित लेख लेख्ने भावेश दाइले योजना सुनाउनुभयो। उत्प्रेरक ती वृद्धलाई भेट्न हामीलाई पनि रहर लाग्यो।
त्यता नगएको धेरै भएछ। पुराना पसलहरू सारिएका रहेछन्। चिया खान पुल तरेर तलतिर लाग्यौं। चिया पसलमा त्यो एक्लै बस्ने वृद्धबारे सोधियो। उनी त दिवंगत भइसकेका रहेछन्। उनीसँगै उनको विचार र जीवनीमा आधारित लेख पनि यत्तिकै हरायो। हामी सबैलाई दुःख लाग्यो।
चिया सकेर उकालो लाग्दा साढे छ बजेको थियो। बीपी कोइरालाको सालिक भएको यो पार्कलाई बीपी पार्क पनि भनिन्छ। साथै यहाँ ओशो अनुयायीहरू जमघट हुने र ध्यान गर्ने सानो घर पनि भएकोले ओशो ध्यान शिविर वा आश्रम पनि भन्न सकिएला। ओशोका नशालु आँखा भएको तस्बिर र ‘ओशो महापरिनिर्वाण ध्यान केन्द्र’ लिखित परिचय पार्टीतर्फ एक नजर दिँदा मलाई एक दशकअगाडि त्यहाँ ध्यानको अवलोकन गरेर एक साँझ बिताएको याद आयो।
अलिकति अगाडि भने चर्चाको शिखरमा रहेका धरानका नगरप्रमुखसँग सम्बन्धित अर्को बोर्ड थियो। लेखिएको थियो ‘श्रम संस्कृति पार्क’।
पानीका मोटा नालाहरू तेर्स्याइएका, ससाना बिरूवाहरू रोपिएका, तल एउटा ट्यांकी पनि बनाइएको देखियो। जे होस्, त्यो कामको हामीले मुक्त कण्ठले प्रशंसा गर्यौं।
पैदलमार्गलाई कंक्रिटले पिच गर्ने काम धमाधम भइरहेको थियो। यो चाहिँ हामी तीनै जनालाई मन परेन। हाइकिङ जान र हिँड्न ढुंगा माटोको बाटो नै ठीक हुन्छ।
खोलालाई फेरि तर्नेबेलामा दुई नगर प्रहरी देखिए। सायद बिरूवा रूग्न बसेका होलान्। एउटा अस्थायी टहरो पनि थियो। मैले सोध्दा त्यहाँ माली बस्ने जानकारी पाएँ। बिरूवालाई पानी हाल्न पनि सानासाना पाइपहरू योजनाबद्ध राखिएका थिए। यस हिसाबले त्यो क्षेत्र केही सालमा राम्रा रूखहरूले भरिएलाजस्तो लाग्यो।
खोलापारि उकालो बाटो। अप्ठ्यारो त होइन, तर उचाइ लिइरहेको। सुकेका पातहरूमाथि हामी हिँडेको आवाज चराहरूको मीठा आवाजसँग मिसिएर एउटा सिम्फोनी बनेजस्तै लागिरहेको थियो। होंचा भए पनि बाक्ला रूखहरू थिए। कतैकतै राता फूलहरू मात्रै बोकेर उभिएका थिए अग्ला सिमल र फलेदोका रूखहरू।
श्याम दाइलाई वनस्पतिविज्ञ भने पनि भयो। उहाँले रूख बोटका धेरै नामहरू चिनाउनुभयो। खन्यूँ, अँगेरी, सिमल, फलेदो, चुत्रो आदि। बाटोको छेउछाउ गहिरा खाल्डाहरू थिए। श्याम दाइले ती वनतरूल खनेर बनेका खाडल भएको बताउनुभयो। गफहरू प्रकृतिकाबारे, मानव जीवनका बारे, मान्छेको सुविधाभोगी आदतले ल्याएका रोगहरूबारे हुँदै गए।
केही भ्लगमा हेरिएअनुसार हामीले बाटोमा कतै साँगुरीगढी भेट्नु थियो, तर अहँ, आइसकेको थिएन। हामी केही हतास पनि भयौं। त्यो ठाउँ त कतै छुट्यो होला भनेर मैले संशय पनि राखेँ तर एउटा साँघुरो भञ्ज्याङ आयो दुई सानै डाँडाको बीचमा चेप्टिएको।
यो अवश्य गढी हो भन्नेमा हामी एकमत भयौं, तर ती डाँडाको च्यापबाट उता निस्किँदा त बरू एउटा हेलिप्याड थियो र पिच बाटो पो!
उकालोतिर लम्कियौं हामी त्यो काम बिनाको हेलिप्याडको आलोचना गर्दै। आखिर के काम होला त्यहाँ त्यसको? अथवा काम भए पनि हामीलाई थाहा नभएको हुनसक्छ।
उकालोले हामीलाई सही मार्ग डोर्याएछ। सिमेन्टीका सिँढी र दुवैतर्फ फलामे बार भएको बाटो देखियो। अब भने ढुक्कै भइयो साँघुरीगढी आएछ भनेर।
सुरूमा शौचालय थियो। धाराको टुटी भने चोरिसकेछन्। उसो त यो पदमार्ग निर्जन नै हुँदोरहेछ क्यारे। त्यति मानवजन्य फोहोरमैला पनि बाटोभरि थिएनन्। डाँडाको टुप्पोमै गढीको संरचना थियो। यहाँ पुग्दा पौने नौ बजेछ। बिसायौं र सूचनापाटीमा लेखिएको जानकारी पढ्न थाल्यौं।
म संक्षेपमा त्यो जानकारी यहाँ प्रस्तुत गर्दछु।
धनकुटा जिल्लाको भेडेटारबाट उत्तरपश्चिममा (हाल साँगुरीगढी वडा नं ६) पर्ने यस साँघुरीगढीको उचाइ १४०० मिटर रहेको छ।
ऐतिहासिक रूपमा हेर्दा आठ अपीलिम्बू राजाहरू अर्थात् ऐतहाङलाई विद्रोहमा दश लिम्बू सरदारहरूले पराजित गरेछन्। त्यसपछि उनीहरूले विभिन्न दश भागमा गढ बनाउने भएछन्।
यस क्रममा यस ठाउँमा सायोकहाङ्गले दश कोठा भएको यो सायोक यक (गण) बनाएका रहेछन्।
यसको पर्खाल बनाउने ढुंगाहरू धरानको फुस्रे पारिको तामखाम खोलाबाट मान्छेको लस्करले हातहातै त्यहाँ पुर्याएका थिए रे।
किराँत कालमा लिम्बूवान क्षेत्र दश भागमा बाँडिदा यो भाग चाहिँ सोइयाकलाहो हांगले सांगोरियोकमा गढी अथवा शानगढीका रूपमा शासन गरेका रहेछन् जुन कालान्तरमा साँगुरीगढी भनी चिनिएको रहेछ।
मूलतः यो गढी व्यापारिक प्रयोजन र अपराध नियन्त्रणखातिर सेना खटाएको इलाका रहेछ। यो प्रयोजन वि.सं २०३६ सम्म नेपाल प्रहरीले पनि कायमै राखेको थिए।
वि.सं १८३१ मा अभिमानसिंह बस्न्यातले यहाँ गोर्खाली सैनिक पठाएका रहेछन् तर कुनै लडाइँ नभई कब्जामा लिइएको रहेछ। र त्यो फौज तमोर हुँदै पाख्रीबास लेगुवाघाट चैनपुर र अन्त्यमा हात्तीसुँडे पुगेपछि लिम्बू भारदारसँग तीन पटकसम्म युद्ध भएको रहेछ।
त्यसै सालको साउन २२ गते लिम्बूले गोर्खासँग एकीकरण भएको मान्ने र गोरखाले पनि सेन राजाले दिएका अधिकार लिम्बू भारदारलाई दिने सम्झौता भएको थियो।
हामी सबैले केहीबेर यी जानकारी पढ्यौं। भावेश दाइले चाउचाउ बोक्नुभएको रहेछ। पानी सबैको झोलामा थियो नै। चौधरी ग्रुपलाई धन्यवाद दिँदै भोकलाई उपचार गरियो तर कुरैकुरामा चाउचाउ कुपोषणको मूल कारक रहेको प्रसंग पनि उठ्यो।
आखिर घरमा पकाइतुल्याइ खाइने खानेकुरा पो ताजा र पोषक हुन्छ त। कारखानामा निम्नकोटिका कच्चापदार्थ प्रयोग गरी बनाइने, अझ धेरै टिकोस् भनेर रसायनहरू हालेर बजार पठाइने अनेकौं जङ्क खानेकुराहरूले कहाँ नगरून् कुपोषण!
गफ र खाजा सकेर अर्कोतिरका उस्तै सिँढी लाग्दा नौ बजिसकेको थियो।
सिँढी सकेपछि पिच बाटो भेटियो जुन सरासर गए भेडेटारको इलाकामा पुगिन्थ्यो, तर बाटो काटेर जङ्गलभित्र पस्यौं हामी।
यहाँ पनि कम प्रयोग हुने तर रमाइलो पदमार्ग थियो नै। दुई/चार रूखमा गुराँसहरू मुस्कुराउन थालेछन्। भर्खर, भर्खर भएकोले धेरै फूलहरू थिएनन्। उकालै उकालो लाग्दा पाथीभरा मन्दिरमै पुगिने रहेछ यो बाटो।
मन्दिरमा भक्तजनको थामीनसक्नु घुइँचो थियो। घण्टहरू बजेको मधुर ध्वनिमा रमाउँदै केहीबेर बिसाइयो। अनि सिँढीको बाटोतिर लाग्यौं। म यता नआएको त दशक नै भएको हुँदो हो। पूरै संरचनाहरू फेरिएको पाएँ।
बाटो पनि मजाको बनाएछन्। बार लगाएर सुरक्षित पारेछन्। फेरि मन्दिरसम्म पुग्न धागो टाँग्दै जाने प्रचलनले एकतिरको दृश्य झनै मोहक थियो। अब भने गन्तव्य पुगिहालियो। दश बज्यो। भोक पनि लाग्यो।
ढिलो गरे पनि ताजा खानेकुरा बनाउने ठाउँ छ भन्दै भावेश दाइले परिचित खाजाघरमा लग्नुभयो। मीठो पोर्कको फ्राइ र चिकेन थुक्पा खाएपछि हामीले फर्कन साविकको सडकमार्ग रोज्यौं।
धरानको जिरो पोइन्टसम्म आधा घण्टामै झरियो र पुनःएक घण्टा पैदल हिँडेर यात्रालाई बिट मारियो।
पर्यटकीय र ऐतिहासिक महत्व त छँदैछ, जंगल र प्रकृतिसँग नजिक रहेर कतै टाढाको ट्रेकिङ गएसरी भान दिने यो बाटो मलाई औधि मन पर्यो। त्यसैले यो चैतको ४ गतेलाई सुखद शनिबार भन्न मन लाग्यो।
यो पनि: यस्तो पो त यात्रा ! (तस्बिरहरू)