यात्रा अनुभूति हो, यात्रा नै परिपक्वता हो। जीवनरूपी यात्रा तय गरेर पनि चालीस बसन्त काटिएछ।
आन्तरिक पर्यटक त धेरैपटक बनेकी थिएँ। बाह्य पर्यटन पहिलोपटक थियो।
भारतको विभिन्न धार्मिक तथा रमणीय स्थलहरूको भ्रमण गर्ने उद्देश्यले काठमाडौंलाई बाइबाइ गर्दै थियौं। उत्साहित भएकाले मनै फुरूंग थियो। दुई महिनाअगाडि नै बन्दोबस्त मिलाएका थियौं। त्यसैले कुनै तनाव र चिन्ता थिएन। नौलो अनुभव बटुल्न आतुर भने निकै थियौं।
सायद म आफैं उत्साहित भएर होला।
‘भुइँमा खुट्टा छैन’ भन्दै थिए आफन्तहरू। आखिर हुनु पनि किन, पहिलो वैदेशिक भ्रमण जो थियो।
यो भ्रमण २०७५ साल असोज १० गते जुरेको थियो। आफ्नो इच्छा पूरा गर्न पाउँदा मान्छेले पहाड फोडेको पनि पत्तो पाउँदैन भन्ने सुनेकी थिएँ, हो रहेछ। मलाई पनि त्यस्तै भएको थियो। घुम्न जाने सूरमा एक महिनाको कामलाई एक हप्तामै सिनित्त पारिसकेकी थिएँ। फर्केर आउँदा दसैंले ढोकामै स्वागत गर्ने बेला थियो।
काठमाडौंबाट दिल्लीको लागि गाडी स्वयम्भूबाट छुट्थ्यो। गुर्जुधाराबाटै गाडी जाने भए पनि अलमल नहोस्, नछुटोस् भनेर काका र बाबु स्वयम्भू जाने निर्णय भयो।
हामी चाहिँ गुर्जुधाराबाटै गाडी चढ्ने भयौं। हामी यात्राकै विषयमा गन्थन गर्दै थियौं। अचानक घरै थर्काउने गरी गड्याङगुडुङ गर्दै बेमौसमी पानी दर्कियो। बाबु र काका पानी पर्दापर्दै छाता ओढेर घरबाट निस्कनुभयो। कलंकी कटेपछि फोन गर्छु भन्दै हामीलाई चनाखो हुन भन्नुभयो। फोन आउला भनेर कान ठाडो पार्दै काम गर्न थाल्यौं।
खाना खाएर काम सक्दा करिब दस बजिसकेको थियो। भान्सेको अवतार परिवर्तन गरी विदेशी पर्यटकको भेषमा तत्काल रूपान्तरित भयौं। सामान धेरै भएकाले फोन आउनुभन्दा अगावै कुम्लोकुटुरो चोकमा ओसार्ने निधो भयो। सामान रोडमा पुर्यायौं।
दिदीले गाडीमा खान भनेर निकै मीठो र नौलो कोरियन खाना 'किमबाब' बनाएर दिनुभयो। त्यो पोको पनि काखीमा च्याप्यौं। साढे ११ बजे बल्ल गाडी आयो। दिदी र आमासंँग आशीर्वाद लिँदै नेपाल भारतको सहकार्यमा सञ्चालित बस चढ्यौं।
बस निकै राम्रो, सफा र शीतल थियो। बिडम्बना गाडी थानकोट कट्नै मानेन। कलंकीको जाम खाएर वाक्कदिक्क भएका हामी पुनः धार्केसम्म करिब पाँच घन्टाको जाममा अल्झियौं। उराठलाग्दो पललाई गाडी भित्रको पर्दाले पन्छायो। बाहुबली भाग १ र २ दोहोर्याएर हेर्यौं। काकीले फेन्टाको जम्बो बोतल बोक्नुभएको रहेछ। अरूले किमबाब र फेन्टाको स्वाद लिए। मैले भने किमबाबको बासनालाई फेन्टाको घुट्कोले मात्र निलेँ।
जिब्रोलाई समातेर राख्न निकै मुश्किल त परेको थियो तर जित्न सकेँ।
साँच्चै प्रतिकूल अवस्थामा हामीले धैर्यधारण गर्न सक्यौं भने कठिन समय पनि लोभलाग्दो हुने रहेछ। त्यो दिनको पट्यारलाग्दो समय गाडीभित्र सिनेमा हेरी आनन्द लियौंं। सिनेमा हेर्दाहेर्दै उषा दिदीको फोन आयो। राजमार्गको जाम मलेखुसम्म फैलिसकेछ। बेलाबखत हाम्रो सुविधाको जानकारी लिनुहुन्थ्यो।
‘केही अत्यावश्यक सामान चाहिए भिनाजुलाई बाइकबाट पठाइदिन्छु’ भन्दा मेरो मन त्यसै भावुक हुन्थ्यो। सिग्देल भिनाजु र दिदीले दर्शाएको वास्तविक अपनत्वले द्रवीभूत भएँ।
बल्लतल्ल पाँच बजे मुग्लिन पुग्यौं। नारायणघाट पुग्दा अँध्यारो भइसकेको थियो। नारायणघाट भन्दा पश्चिमको भूगोल देखेको थिइनँ। आँखा हेर्न लालायित थिए। पश्चिम नेपालको थोरै भए पनि रमणीय दृश्यहरू हेर्ने आकांक्षालाई जामले धोका दिएको थियो।
नारायणघाटबाट पश्चिम लाग्दा आकाश र पूर्णिमाको जुनले पनि हामीलाई पछ्याउँदै थिए। आकाशले आफ्नो विशालतालाई अहंकारको कालो छायाले ढाकेको थिएन। ऊ काठमाडौं र नारायणघाटमा उस्तै थियो। सायद देशभरका सबै भूगोलबाट ऊ उस्तै थियो होला।
सुनौलीबाट भारतको गेटतिर पाइला बढेसँगै नेपाल टेलिकमको सिम र गोजीमा भएको नेपाली पैसाले काम गर्न छोडेको थियो। तर भौगोलिक दूरीका हिसाबले हामी नजिकै थियौं।
चन्द्रमा र आकाश हेर्दा मात्र शाश्वत रहेछ भन्ने भान भयो। धर्तीलाई त मानवले कठपुतली बनाई सकेको सुनौली बोर्डरमा छर्लंगै देखियो।
सामानसहित चेकिङको लागि लामबद्ध भयौं। एउटा खुट्टा नेपाल र अर्को खुट्टा भारतमा टेकिँदै थिए। निमेषभरमै दुवैखुट्टा भारत पुगेपछि गाडीमा सामान राखेर सिटमा थचक्क बस्यौं। थकाइ निकै लागेको रहेछ। राति कतिखेर भसुक्क भएँ, पत्तै पाइनँ।
बिहान चार बजे आँखा खोल्दा झ्यालबाहिर पूर्ण रूपको चन्द्र मलाई हेरी मुसुक्क हाँस्यो। काठमाडौंदेखि सँगैसँगै मलाई पछ्याउँदै आएको थियो। कस्तो नथाकेको होला, उही रफ्तारमा दगुरिरहेको छ। म मस्त निदाउँदा सायद उसले मेरो ख्याल पो राखेको थियो कि? भारतको भूमिमा कुदिरहँदा चन्द्रमा र आकाशले मलाई राम्रोसँग चिने। केवल धर्तीले चिन्न सकेन, फरक यति रहेछ। अँध्यारोमै झ्यालबाट बाहिर नियालेर हेरेँ। हामी लखनउ आइपुगेछौं।
मेरा आँखा निकै चनाखा भए। फराकिला रोड, भारतमा जनप्रतिनिधिमूलक सरकार भएको अनुभव भयो। राम्रो रोड भएको कारणले यो अनुभूति मोबाइमा लेख्न सफल भएँ। लखनउ र कानपुर पुग्दा गाडी आफ्नै गतिमा थियो, म आफ्नै। काठमाडौंका खाल्डाखुल्डीले गाडीमा बस्दा आफ्नो शरीरलाई थेग्न हम्मेहम्मे पार्छ, कैयौंंचोटि टाउको ठोक्किएको अनुभव पनि छ। यहाँ मलाई स्वर्ग नै लाग्यो।
नाक र मुख एकै ठाउँमा जोडिएको भारत र नेपाल आर्थिक रूपले निकै फरक छ। आर्थिक क्रान्ति त्यसै आउँदैन। निरन्तर मेहनत, उच्च नेतृत्व, दृढ संकल्प सम्भव हुने रहेछ। हाम्रा नेता नेपाललाई सिंगापुर र स्विट्जरल्यान्ड बनाउँछु भन्छन्। तर यातायातमा भारतले गरेको जति प्रगति गरे मात्र पनि कति सुविधा हुने थियो हामीलाई।
यातायात नै पहुँचको आधार हो। अर्को कुरा खेती योग्य जमिनमा खेती नै गरेको देखियो, न योजना बनाएको। विशाल फाँट जति हेरे पनि नसकिने।
कानपुर पुगेपछि सबैलाई बिहानको नित्य कर्म गर्ने सुविधा प्राप्त भयो। अनि कानपुरको मिठो चिया मुखपुरमा पुर्याएर चंगा भयौं। केहीबेर कानपुरको जमिनमा कुँजिएका गोडा तन्कायौं। पुनः रमाउँदै गाडीको सिटमा आराम गर्दै आँखा झ्यालबाहिर ओछ्याएर भ्रमणको आनन्द उठाउन थाल्यौं। निकै बेरपछि फैजावादमा ओर्लियौं।
बसबाट झर्ने बित्तिकै तात्तातो घाम, हावा र गर्मीले एकैचोटि स्वागत गर्यो। दगुरेर होटलभित्र चिसोमा बसी फैजावादको आइसक्रिमले आकुल-व्याकुल भएको चित्तलाई चिसो बनायौं। मेरा आँखा घामको पर्वाह नगरिकन दायाँबायाँका रमणीय दृश्य मस्तिष्कमा कैद गर्न उत्सुक भइरहेका थिए। धन्न आँखामा कालो चस्मा थियो जसले तिरिमिरी झ्याइँ मार्ने उज्यालोलाई अलिकति भए पनि धमिलो पारिदियो।
फेरि गाडीमा उक्लिएर शान्त भयौं।
केही समयपछि हामी आगरा आइपुग्यौं। आँखाले ताजमहल देख्छ कि भनेर गाडीको झ्यालबाट बाहिर पुर्याएँ। अफसोच, संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा काठमाडौंबाट नदेखिएझैं आगरा पुग्दा ताजमहल पनि गाडीबाट देखिएन। मन अमिलो भयो। मिले दिल्लीबाट फेरि आगरा आउने योजना बनायौं।
रमाउँदै दिल्लीतिर हुँइकियौं। गाडी बेतोडले कुदे पनि आगराको सडक विस्तार र नवीन संरचनाले मन लोभ्याउन छाडेको थिएन। राम्रो कुरा देख्दा लोभ लाग्नु पनि स्वाभाविकै हो। बसको यात्रा पनि यस्तो आरामदायी र सुविधासम्पन भएको देखेर आफ्ना सुशील दाइ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिन मनले कन्जुस्याइँ गरेन।
हामी नोयडा सिटी आइपुगेछौं। नोयडा सिटीमा हाम्रो गाडीलाई भिआइपीको गाडीलाई जस्तै गरी स्वागत गरियो। बसलाई त दिल्ली पुलिसले स्कर्टिङ गर्दै साइरनका साथ गन्तव्यतिर ल्याउँदो रहेछ। हाम्रो गाडीलाई सडकमा अरू सवारीसाधनले हामीलाई बाटो छाडिदिँदै थिए। रोडका मान्छेहरूले निकै चाख दिँदै हाम्रो गाडीलाई हेरिरहेका थिए। म त मख्खै परेँ।
नोयडा सिटीलाई त्यहाँको यातायात, सडक विस्तार र हरियालीले चारचाँद लगाएको रहेछ। जंगल पो आइपुगियो भन्ठानेको, नोयडा सिटीको मुटुमै रहेछौं। सडकको हरियाली तारिफ गर्न लायक थियो। गाडीबाट मेट्रोपार्क, रेलको पहुँच छर्लंग देखिन्थ्यो।
यातायातको सुविधाले नागरिकको जीवन कति सरल र सुविधायुक्त बनाएको होला भन्ने आभाष भयो। मनमनै ईश्वरसंँग प्रार्थना गर्दै शिर निहुर्याएँ। हामी नेपालीले पनि सहज रूपमा सार्वजनिक यातायातको सुविधा उपयोग गर्न चाँडै पाऔं!
काठमाडौंबाट त्यहीँ दिल्ली पुग्दा त मेरो हालत त्यस्तो थियो, अझ युरोप पुगे त के होला? मनमनै हाँस्दै पनि थिएँ। आफूलाई अर्कै दुनियाँमा पाएँ। खुसी र रमाइलोले त्यसै बालकझैं फुरूंग भएँ।
असोज ११ गते दिउँसो साढे ३ बजे दिल्ली गेट झर्यौं। अटो समातेर मन्डीहाउसतर्फ प्रस्थान गर्दा दिल्लीको तातोले झ्याम्मै छोपिहाल्यो।
करिब १५ मिनेट अटो रिक्सामा बसेपछि हामी मन्डीहाउस पुग्यौं। मेट्रो स्टेसन अन्डरग्राउन्ड रहेछ। द्वारिका मोडको टिकट काटेर मेट्रो चढ्यौं। विभिन्न स्टेसन पार गर्ने क्रममा सुभास नगर, रमेश नगर, कृति नगर हुँदै जनकपुरी पूर्व र जनकपुरी पश्चिम आएकामा हामी सबै मुखामुख गरेर हाँस्न थाल्यौं।
काकीले हसाउँदै भन्नुभयो, ‘लौ अनिता! तिम्रो माइती आयो। कता झर्छौ जनकपुरी पूर्व कि पश्चिम?’
हामी सबै गलल्ल हाँस्यौं। फेरि मेट्रो करायो ‘उत्तमनगर पूर्व र उत्तमनगर पश्चिमी’ हाम्रो हाँसोको बेग झनै तेज भयो। कस्तो संजोग माइती जनकपुर, दाजु उत्तम, काका रमेश, श्रीमान सुभाष मेट्रो हिँड्ने नगरहरू जम्मै आफ्नाझैं लागे। मेट्रोको रमाइलो अनुभव लिँदालिँदै द्वारिका मोड कति चाँडै आएछ। हामी सबै ताउरमाउर गर्दै मेट्रोबाट निस्केर सजिलै शोभा दिदीको घर पुग्यौं।
शोभा दिदीको घर मेट्रो स्टेसनबाट निकै नजिकै रहेछ। दिदीले हाम्रो लागि स्वादिष्ट भोजन तयार पारी राख्नुभएको रहेछ। हामी सबै फ्रेस भयौं। मीठो भोजनले यात्राको थकाइ त सिनित्तै लगेछ। टुकुचाको फोहोरलाई वर्षाको बाढीले बगाएझैं।
इन्डिया गेटअगाडि सेप्टेम्बर १६ देखि २७ सम्म पर्यटन मेला लागेको थियो। अमित बाबुले जानकारी गराएपछि त्यो दिन अन्तिम भन्ने कुरा थाहा पायौं। भिनाजु र अमित बाबुको सल्लाहअनुसार रात्रीकालीन घुमाइमा जाने निर्णय बनायौं। घुम्न भनेपछि कोही पछाडि हटेनौं।
दुई दिनको गाडीको थकाइलाई बिर्सेर हामी पुनः मेट्रो चढेर राष्ट्रपति भवनअगाडि पुगेर रमायौं। वास्तवमा इन्डिया गेट र राष्ट्रपति भवनको रमणीय दृश्य रातकै समयमा देखिने रहेछ। त्यो अवसर पाएर आफूलाई भाग्यमानी ठान्दै मेलाको भरपुर आनन्द उठायौं।
झिलिमिली बत्तीले राष्ट्रपति भवन र दिल्ली गेट बेहुलीझैं सिँगारिएको थियो। अझ त्यो मेलामा सम्पूर्ण प्रदेशको कला, संस्कृति र पहिचान झल्काउने सामग्री, नाचगान प्रस्तुत गरिएको रहेछ। कटन क्यान्डी र आइसक्रिम खाएर राती करिब १० बजे पुनः मेट्रोमा फर्कियौं।
घर आएपछि आराम गर्दै भोलिपल्ट छत्तरपुर घुम्ने योजन तय भयो। छत्तरपुर घुम्ने सपना आँखामा संगाल्दै थिएँ कतिखेर निन्द्रा छपक्कै आयो। भुसुक्कै निदाएछु।
क्रमशः