यो पटक हाम्रो दसैं थिएन। घुमफिरमा रमाइरहने हामीलाई एउटा राम्रो बहाना पनि भयो। दसैं बिदाको भरपुर सदुपयोग गर्न हामीले लामो यात्रा गर्ने विचार गर्यौं।
बेमौसमी वर्षाले हाम्रो यात्रामा असर गर्ने हो कि भन्ने शंका उब्जियो। तर विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रतर्फ जाने भएर होला निकै उत्साहित थियौं।
पहिलो दिन
असोज २७ गते बिहान ९ बजे हुनुपर्ने काठमाडौं-लुक्लाको उडान खराब मौसमका कारण दिउँसोको १ बजे मात्र भयो।
करिब आधा घन्टाको हवाई यात्रापछि २८६० मिटर उचाइमा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्ला पुगियो। करिब डेढ घन्टाको लुक्ला बसाइपछि हाम्रो पैदल यात्रा सुरू भयो।
मनमा उत्सुकता र उमंगले अनेकन भाव पैदा गर्दै थिए। पिठ्यूमा झोला, हातमा लट्ठी लिएर बिस्तारै यात्रा अघि बढ्दै गयो। करिब तीन घन्टापछि फाक्दिङ पुग्यौं। यो बेसक्याम्प जाने पदयात्रीका लागि पहिलो दिनको बास बस्ने ठाउँ रहेछ।
हाम्रो पनि बसाई यहीँ हुने भयो।
दोस्रो दिन
बिहानको खाजा पछि हामी नाम्चेबजारतर्फ अगाडि बढ्यौं। माथिबाट हेर्दा दूधझैं सेतो देखिने दूधकोशी तलतिर सुसाउँदै निरन्तर हाम्रो यात्रालाई साथ दिइरहेको छ।
चौंरी र खच्चडको घाँटीमा लगाएको घन्टीको आवाजले बेलाबेला बेग्लै किसिमको महशुस हुँदो रहेछ। आफूभन्दा ठूला भारी बोक्दै उकाली ओराली लागेको भरियाको जिन्दगीले परिश्रम के हो भन्ने सिकायो।
रमणीय स्थल, पदयात्रीको लस्कर, भीमकाय खोँचमा सुसाउँदै बगेको दूधकोशी, बेलाबेला आउने हेलिकप्टरको आवाजले यात्रालाई थप रोमाञ्चित बनाइरह्यो।
पाइलैपिच्छे भेटिने सानाठूला गुम्बा, माने, ढुंगामा लेखिएका अक्षर र ध्वजापताकाले आफूलाई कतै पुण्यभूमितिर पुगेको अनुभव भयो।
फाक्दिङबाट टोकटोक, बैंकर, मन्जो हुँदै सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार जोरसल्ले पुग्न करिब तीन घन्टा लाग्दो रहेछ। त्यहाँ पुगेपछि हामीले खाना खायौं।
जोरसल्लेमा निकुञ्ज प्रवेश शुल्क बुझाएर अगाडि बढ्नुपर्ने रहेछ। नेपाली सेनाले सामान जाँच गरेपछि हामीलाई भित्र जाने अनुमति दियो। त्यसपछि हाम्रो यात्रा नाम्चेतर्फ अघि बढ्यो।
दूधकोशी नदी कहिले वारी, कहिले पारी गर्दै यात्रा अघि बढ्दै रह्यो। नाम्चेबजार पुग्नुअगाडिको दुई घन्टा ठाडो उकालोले निकै थकित भइयो।
दिउँसो करिब ३ बजे नाम्चेबजार पुगियो। समुन्द्री सतहबाट ३४४० मिटर उचाइमा घोडाको टाप आकारमा फैलिएको यो सानो बजार सगरमाथाको प्रवेशद्वारका रूपमा चिनिन्छ।
दिनभरिको थकान आँखाको सामुन्ने टलक्क टल्किएका सेता हिमालका दृश्यले तुरून्तै भुलाइदियो।
हिन्दी सिनेमाको छायांकनले गर्दा नाम्चे बजारमा मानिसको बाक्लो उपस्थिति थियो। पहाडको काखमा अवस्थित ढुंगा छापिएका गल्लीका सफा पसलहरू पदयात्रीलाई आवश्यक पर्ने सबै सामान लिएर सेवामा तम्तयार थिए।
खुम्बु पासाङ ल्हामु गाउँपालिकास्थित नाम्चेबजार साँच्चिकै मनमोहक र सुन्दर रहेछ। हिमाली वातावरणसँग अनुकूल हुन नाम्चे बजारमै बास बस्ने निधो भयो।
यात्राको दोस्रो रात यहीँ नाम्चे बजारमा बित्यो।
तेस्रो दिन
बिहान झिसमिसेमै सगरमाथा देखिँदाको आनन्द शब्दमा व्यक्त गर्न सकिँदैन।
नाम्चेबजारबाट करिब एक घन्टाको उकालो हिँडेपछि स्याङ्बोचे विमानस्थल पुगियो जुन हाल सञ्चालनमा छैन। त्यहाँबाट एक घन्टाको यात्रापछि संसारको सबभन्दा अग्लो स्थानमा रहेको होटल एभरेष्ट भ्यू (३८८० मिटर) पुगियो।
यस होटलबाट सगरमाथा लगायत आमादब्लम, थामसेर्कु, नुप्से, लोत्से आदि सुन्दर हिमालहरू अवलोकन गरियो। केही समय विश्राम गरी यात्रा खुम्जुङ भ्यालीतर्फ अघि बढ्यो।
एक घन्टाको ओरालोपछि हेरिरहुँजस्तो लाग्ने खुम्जुङ गाउँ पुगियो। गाउँका सबै घरमा एउटै हरियो रङको छाना, सफा, शान्त अनि ध्वजापताका फहराइरहेको दृश्यले एकोहोरो हेरिरहुँजस्तै लागिरह्यो।
यहाँ आउने हरेक पर्यटकलाई मिल्ने भए यो गाउँ सुटुक्क चोरेर लैजाऊँ जस्तो लाग्ने रहेछ। संसारभर प्रसिद्ध खुम्बु नाम यही गाउँ र बस्तीबाट रहन गएको रहेछ।
दिउँसोको खाना र दिनभरिको अवलोकन भ्रमणपछि आफूलाई हिमाली वातावरणसँग अनुकूल हुन पुनः नाम्चे बजारमा बास बस्न आइयो।
चौथो दिन
बिहानै यात्रा सुरू गरी चारघन्टा पछि फुङ्गीतागा पुग्यौं। त्यहाँ खाना खाएर तेङबोचे पुग्दा चारैतिर आँखैअगाडि हिमालका लर्कन देखिँदा थकान हराएको पत्तो भएन।
तेङ्बोचे गुम्बा अवलोकन गरी कफी खाँदै हाम्रो यात्रा देउबुचे हुँदै पाङ्बोचे गएर रोकियो।
चौथो रात पाङ्बोचेमा आराम गरियो। उकाली ओराली अनि आँखाको चारैतिरको सुन्दर प्रकृति र मनमोहक दृश्य हेरेर मन खुसीले गदगद भयो।
पाँचौं दिन
बिहानै ३ घन्टाको ठाडो उकालो लाग्दै हाम्रो गन्तव्य आमादब्लम बेसक्याम्प पुगियो।
उकालो सहज थिएन तर इच्छाको अगाडि जति कठिन यात्रा पनि बाधा बन्ने कुरै भएन। संसारको सुन्दर हिमाल आमादब्लमको काखमा पुग्नु कम्ती खुसीको कुरा थिएन तर मौसमले साथ दिएन। हिमाललाई दिनभर हुस्सुले धपक्क छोपेर राखिरह्यो।
मौसम खराब भएपछि बेसक्याम्पबाट फर्कने योजना रद्द गरी त्यहीँ बस्ने निधो गरियो।
आमादब्लम हिमाल चढ्न आएका आरोहीको टोलीसँग दिनभर बेसक्याम्पमा रमाइलो गरी बिताइयो।
छैंठौं दिन
बिहान ५ बजेदेखि दुई घन्टासम्म मौसम सफा भयो र हाम्रो गन्तव्य पूरा भएको खुसीले आकाश छोयो।
बिहान करिब ४ घन्टाको समय कुराकानी र फोटो खिच्नमा बिताउँदै बेसक्याम्पबाट पाङ्गबोचेतर्फ ओरालो लगियो।
हाम्रो बेसक्याम्प यात्रा निकै अविस्मरणीय हुन गयो। अति मिलनसार र सहयोगी शेर्पा दाजुभाइको आतिथ्यले ४६१२ मिटरको उचाइ पनि रत्तिभर बिरानो लागेन। ‘हिमालको काखमा छ, मेरो सानो घर...’ भन्ने गीतको स्मरण भयो अनि हिमालमै हाम्रो घर भएको अनुभूति भयो।
पाङ्गबोचे झर्दै गर्दा मौसम फेरि खराब हुँदै गयो।
एघार बजे खाना खाएर हेलीमार्फत लुक्ला फर्कने योजनामा मौसमले साथ नदिएकाले यात्रा अघि बढ्न सकेन।
सातौं र आठौं दिन
तीन दिनसम्म निरन्तरको वर्षा र हिमपातका कारण हाम्रो बसाइ पाङ्गबोचमा लम्बियो। खुम्बु क्षेत्र बसाइ क्रममा सगरमाथा र यस भूभागबारे केही जान्ने अवसर मिल्यो।
सगरमाथा राष्ट्रिय निकुञ्ज सोलुखुम्बु जिल्लाको उत्तरी भागमा छ जसले सगरमाथा, ल्होत्से, नुप्त्से, चोयु, आमादब्लम हिमालहरू तथा वरिपरिको क्षेत्र ओगटेको छ।
सन् १९७६ मा स्थापना भएको यसको क्षेत्रफल ११४८ वर्गकिलोमिटर छ। यसलाई १९७९ देखि विश्व सम्पदा सूचीमा सूचीकृत गरिएिको छ। यो क्षेत्रभित्र बसोबास गर्ने मानिसको संख्या करिब ३ हजार छ जसमा मुख्य रूपले शेर्पा जातिको बसोबास छ।
यहाँका मुख्य बसोबास क्षेत्रहरू नाम्चे बजार, खुम्जुङ, थामे, थेङ्बोचे, स्याङ्बोचे हुन्। काटमार नहुने, कुखुरा र सुंगुर देख्न नपाइने यो ठाउँ साच्चिकै जीवनमा एकपटक जानैपर्ने रहेछ।
नवौं र दसौं दिन
यो यात्राले रहर पूरा भए पनि मन पूरा भएन र फेरि अर्कोपल्ट घुम्न आउने बाचा गर्दे घर फर्कन सुरू गरियो।
मौसम सफा भएपछि नाम्चे हुँदै हामी लुक्ला पुग्यौं र भोलिपल्ट दसौं दिनमा काठमाडौं आइपुग्यौं।
थप तस्बिरहरू: