मानिस साइकलमा कति लामो यात्रा गर्न सक्ला?
बाल्यकालमा साइकल सिकेकाले किशोरावस्थामा म साइकलमै स्कुल जाने गर्थें। पत्रकारिता पेसा समातेपछि समाचार संकलनको दौडधूपका लागि मोटरसाइकल अनि पछि मोटर आवश्यक भए। तर, फूर्तिसाथ यताउता जान अहिले पनि मलाई साइकल नै सस्तो, सजिलो र प्यारो लाग्छ।
फुर्सद वा विदाको दिन काठमाडौं खाल्डोभित्र वा वरिपरिका पहाडी क्षेत्रमा साइकल चढेर रमाउन थालेको पनि एक दशक भइसकेको छ।
कुनै दिन साइकल चलाएरै काठमाडौंदेखि गौतम बुद्ध जन्मस्थल लुम्बिनी पुग्नेछु भनेर मैले कहिल्यै कल्पना गरेको थिइनँ।
अहिलेको कोरोना कहरभन्दा छ वर्षअघि र विनाशकारी गोर्खा भूकम्प आउनुभन्दा झन्डै एक वर्षअघि काठमाडौंदेखि लुम्बिनीसम्मको करिब ३०० किलोमिटर लामो साइकल यात्रा मेरो लागि सम्भव मात्रै भएन, निकै रमाइलो र भव्य भइदियो। त्यो यात्रा आफ्नै बलबुताले आफ्नो देश दर्शन गर्ने र नयाँ-नयाँ उत्साही एवं सृजनशील साथी भेट्ने अवसर बनिदियो।
त्यसपछि थाहा पाएँ मानिस साइकल चढेरै सहजै काठमाडौंदेखि लुम्बिनी पुग्न सक्दो रहेछ।
२०७१ सालको वैशाख पूर्णिमा
त्यो बेलाको साइत वा भनौं शुभ मुहूर्त पनि निकै सुन्दर थियो: २०७१ वैशाख ३१ गते परेको बुद्ध पूर्णिमा अर्थात् वैशाख पूर्णिमाको समय, सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व, निर्वाण प्राप्ति र उनले महापरिनिर्वाण प्राप्त गरेको पूर्णिमाको दिन।
'टुर-दे-लुम्बिनी: पेडल फर पिस' नाम दिएर शान्तिका लागि आयोजित साइकल यात्रामा त्यो वर्ष सहभागी हामी करिब १०० साइकलेहरू गुड्दै-गुड्दै अघिल्लो साँझ भैरहवा आइपुगेका थियौं। बुद्ध पूर्णिमाकै शुभ दिन बुद्ध जन्मस्थल लुम्बिनी प्रविष्ट भएका थियौं। जहाँ हामीले देश-देशावरबाट आएक भिक्षु-भिक्षुणी तथा तीर्थालुसँगै सरकारी पदाधिकारी एवं नेता गणलाई भेट्यौं।
त्यो बुद्ध पूर्णिमाको दिन आयोजित बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले हाम्रो मुक्तकण्ठले प्रशंसा गरिदिए: 'यस्तो चर्को घाम र गर्मीमा तपाईंहरू साइकल चढेर, त्यत्रो दु:ख गरेर काठमाडौंदेखि लुम्बिनी आइपुग्नुभएको रहेछ, तपाईंहरूलाई धन्यवाद।'
प्रधानमन्त्रीजीलाई थाहा थिएन, त्यहाँ धरानदेखि साइकल चलाएर आएका यात्री पनि साथै थिए।
आखिर मानिसले साइकलमा निकै लामो यात्रा गर्न सक्दो रहेछ।
साइलकमा त्यति लामो यात्राबारे सोच्दा पनि मेरो मन हच्कन्थ्यो, डराउँथ्यो। तर जब 'टुर-दे-लुम्बिनी' मा सहभागी हुन म २०७१ वैशाख २८ गते बिहानै बौद्धनाथ चैत्य प्रांगणमा पुगेँ, त्यहाँ लुम्बिनी पुग्न हतारिएका युवायुवतीको भिड देखेर म निकै उत्साहित हुन पुगेँ।
पुष्कर शाहले देखाएको बाटो
साइकल चढेरै ११ वर्षमा संसार घुमेर सगरमाथाको शिखरसमेत चुमेका पुष्कर शाह पनि त्यहीँ रहेछन्, मुस्कुराउँदै साइकलेहरूलाई हौस्याइरहेका।
त्यति बेलाका मुख्य सचिव लीलामणि पौडेल आफैं एउटा साइकल चढेर अघि लाग्दै साइकल यात्रा शुभारम्भ गरियो। केहीबेरमै यात्रीहरूको टोली अर्को विश्व सम्पदा क्षेत्र, काठमाडौंको हनुमानढोका दरबार क्षेत्र पुग्यो।
जब साइकलका पेडल चल्न थाले, केही बेरमै टोली अर्को सम्पदा क्षेत्र स्वयम्भुनाथ चैत्य पुग्यो।
त्यसको केही बेरमै टोली थानकोट पुग्यो, जहाँ हाम्रा यात्रा चिकित्सक डा. सुवास प्याकुरेलले साइकल यात्रीलाई 'हाइड्रेसन' अर्थात् पानीको महत्त्वबारे सजग गराउँदै भने, 'यो गर्मीमा धेरै बेरसम्म लगातार साइकल चलाइराख्ने हो भने हामीले थोरै-थोरै पानी पिइराख्नुपर्छ।'
'शरीरमा पानी कम भएर 'डिहाइड्रेसन' हुन सक्छ, त्यस्तो बेला एउटा पूरै पुरिया जीवनजल एक लिटर मिनिरल वाटरको बोतलमा मिसाएर पिउन सक्छौं। तर त्यो पूरै पानी तपाईं आफैंले २४ घन्टाभित्र पिइसक्नुपर्नेछ। नत्र भने शरीरमा 'इलेक्ट्रोलाइट्स्' असन्तुलन हुन सक्छ,' उनले भने।
त्यसपछि सबै साइकल यात्री आफूलाई चाहिने पानी वा जीवन जलले सुसज्जित भए। यात्रा अब थानकोटबाट ओरालो लागेर नौबिसेमा पृथ्वी राजमार्गमा समाहित हुन पुग्यो, जसमा सदाझैं बस, ट्रक र अन्य सवारीसाधनको तँछाडमछाड तीव्र थियो। हामी छेउबाट गुड्ने साइकल चालकलाई समेत ज्यान जोगाउनै कठिनजस्तो।
पहिलो दिन: काठमाडौं-कुरिनटार
हामी पहिलो रात कुरिनटार-चितवन, दोस्रो रात अरुणखोला-नवलपरासीमा बिताएर तेस्रो रात मात्र लुम्बिनी नजिकैको सहर भैरहवा पुग्ने योजनाअनुसार अघि बढ्यौं। बैरेनी पुग्दा बेसरी गर्मी भयो।
'टुर-दे-लुम्बिनी' का एक परिकल्पनाकार तथा नदी संरक्षण अभियानकर्ता मेघ आले दाइ मेरो थोरैपछि थिए। केही बेर रोकियौं र मीठो दालचिनी र सुकुमेल हालेको लस्सी पियौं।
केही बेरपछि ओरालो सकियो र राजमार्ग फेरि गजुरीतर्फ उकालो लाग्यो। ठाउँ-ठाउँमा स्थानीय युवा तथा समुदायले टोलीको न्यानो स्वागत गर्दै हौसला र ऊर्जा बढाउने काम गरे। पहिलो दिन हामीले काठमाडौंदेखि कुरिनटारसम्मको करिब सय किलोमिटर दूरी पार गर्नुपर्ने थियो। तर साइकल चलाउँदै गर्दा ज्यान थाक्न थाल्यो। पहिलो रातको बासका लागि कुरिनटार कहिल्यै आइपुगेन।
निकै बेर साइकल चलाएपछि कृष्णभीर आइपुग्यो, जहाँ पहेँला, मीठा केराहरू हामीजस्तै भोकाका प्रतीक्षामा थिए।
रोकिएर केही केरा खायौँ। कृष्णभीरको ओरालोबाट देवेन्द्र बस्न्यात दाइले अर्का युवा साइकलधारीसँग कुरिनटार पुग्न प्रतिस्पर्धा सुरू गरे। विश्व साइकल यात्री पुष्कर शाह अघिपछि कतै थिए, सायद सहयात्रीलाई हसाउँदै अघि बढ्दै थिए। साइकल प्राविधिक सन्तोष राई भने बिग्रिएका साइकल तत्काल ठिक गर्न चनाखो थिए।
साँझ झमक्क परेपछि कुरिनटार पुगियो, जहाँको रिभरसाइड स्प्रिङ रिसोर्टका कोठा र चउर त्यो रात साइकल यात्रीको आश्रयस्थल बन्न पुगे। तातो दाल-भातपछि म भने पुष्कर शाहका संसार घुमाइका भोगाइ सुन्न व्यस्त रहेँ अबेरसम्म।
उनी भन्दै थिए, '… एक रात न्यूयोर्क सहरमा एक नेपाली एक्लै घर फर्कँदै रहेछ। अचानक एकान्तमा देखिएको एउटा बन्दुकधारीले भएजति पैसा निकाल्न धम्की दिएछ। विचरोसँग पैसा रहेनछ र छैन भनिदिएछ। त्यसपछि बन्दुकधारीले उसलाई सबै कपडा खोल्न लगाएर कपडा चाहिँ आफूले लिएर उल्टै केही पैसा दिएर हिँडिदिएछ … ।'
दोस्रो दिन: कुरिनटार-अरुणखोला
कुरिनटारको चउरमा डा. सुवास प्याकुरेल र म एउटा त्रिपालभित्र थियौं। बिहान उठेको एक घन्टापछि म अन्य साइकल यात्रीको पछिपछि साइकलमा मुग्लिन पुगे, जहाँ तत्कालीन चितवन प्रहरी प्रमुख सर्वेन्द्र खनालसँगै पत्रकार ईश्वर जोशी दाजु भेटिए।
छोटो-मीठो भेटपछि म अन्य यात्रीलाई भेट्टाउन मुग्लिन-नारायणघाट राजमार्गमा बतासिन थालेँ। बस वा कारमा हुइँकिएजस्तो कहाँ हो र, साइकल त आफ्नै बलबुताले मात्रै दौडिने।
साइकलले आफ्नै समय लियो। तर नारायणी नदीको शीतल हावासँगै बिहानको साइकल चढाइ रमाइलो भयो। नारायणघाटमा साइकल यात्रीको न्यानो स्वागत-सत्कार भयो। पूर्व र पश्चिम नेपालको मिलन हुने नारायणघाटमा काठमाडौंबाट गएका यात्रीसँग धरानबाट आएको साइकल टोलीको मधुर मिलन भयो। अब दुवै टोली मिलेर एउटै भेल बनेर पश्चिम हानिन तयार भए।
मध्याह्नतिर हाम्रो साइकल यात्रा नारायणीको पुल तरेर नवलपरासी जिल्ला प्रवेश गर्दै पूर्व-पश्चिम राजमार्गको पश्चिम खण्डतर्फ सोझियो।
साइकल यात्रीबीच प्रतिस्पर्धा चल्दै थियो। बाहिरको तापक्रम ४० डिग्री सेल्सियस पुगेको हुनुपर्छ, मलाई भने अचाक्ली गर्मी भएर 'डिहाइड्रेसन' सँगै टाउको दुख्न थाल्यो।
दोस्रो दिनको यात्रा पनि लामै थियो: करिब ९० किलोमिटर। म विस्तारै अघि बढिरहेँ।
चर्को घाममा साइकल चलाएर नवलपरासी छिचोल्न निकै कठिन भइरहेको थियो। बाटैमा 'टुर-दे-लुम्बिनी' को बस भेटियो। केही बेर साइकल र आफू दुवैलाई बस चढाइदिएँ। बसको झ्याल खोलेर शीतल हावा खान थालेँ। साँझको बास बस्ने अरुणखोला पुग्ने बेलासम्म बसभित्र थप केही साइकल यात्रु पनि मिसिन आइपुगिसकेका थिए।
तर बसको झ्यालबाट देखेँ, अधिकांश साइकल यात्री भने साइकल चलाएरै अघि बढ्दै थिए नवलपरासीको समथर र उकालीओराली भूभाग छिचोल्दै।
अरुणखोला पुगेपछि साइकलहरू बिसाइए र यात्रुहरू खोलामा सन्ध्याकालीन स्नान गर्न गए। म पनि त्यही हुलमा मिसिएँ। त्यहाँको विद्यालय प्रांगणमा रहेको चौर त्यो रात हाम्रो आश्रयस्थल बन्न पुग्यो।
तेस्रो दिन: अरुणखोला-बुटवल-भैरहवा
यो हाम्रो यात्राको लगभग अन्तिम दिन थियो, जस क्रममा हामीले लगभग ८० किलोमिटर तय गर्नु थियो।
अरुणखोलाबाट सुरू यात्रा दाउन्नेको सानो पहाडतर्फ सोझियो। केही बेर समथरमा गुडेपछि उकालो सुरू भयो। दाउन्नेमाथि चिसो पेय, लस्सी आदि पिउँदै हामी रमाउन थाल्यौं। त्यसपछिको ओरालो बर्दघाटमा पुगेर रोकियो। अनि सुरू भयो पश्चिम तराईको समथर भूभाग जहाँको गर्मीलाई छोड्ने हो भने यात्रा सहज नै मान्नुपर्छ।
बेला बेला विश्राम गर्दै निकै अघि बढेपछि हामीलाई स्वागत गर्न बुटवलका केही साइकलप्रेमी अलि वरै आइपुगेछन्। त्यसपछि केही बेरमा बुटवल चोक पुगियो। त्यहाँ पनि लुम्बिनीका लागि गुडेका साइकल प्रेमीको न्यानो स्वागत भयो।
बुटवलको विश्रामपछि साँझपख समथर बाटोमा गुड्दै गुड्दै हामी भैरहवा पुग्यौं, जहाँको होटलमा फोटोग्राफर किशोर श्रेष्ठसहित हामी 'अन्ताक्षरी' गाउँदै रमायौं, अबेरसम्म।
बुद्धपूर्णिमामा गौतम बुद्धजन्मस्थल
लुम्बिनी प्रवेश गर्नुअघि हामी भैरहवाको लुम्बिनी प्रवेशद्वारमा तस्बिरका लागि लामबद्ध भयौं। लुम्बिनी प्रवेश गर्न साइकलहरू दुईवटा लाइनमा लामबद्ध भए।
त्यो द्वार प्रवेश गर्दाको क्षण विशेष रह्यो। हामी आँपका रूखैरूख भएको बाटोमा गुड्दै विस्तारै बुद्ध जन्मभूमितर्फ अघि बढ्यौं। लुम्बिनी पुगेपछि हामीलाई स्थानीय अधिकारी तथा विभिन्न देशका गुम्बामा रहने भिक्षु-भिक्षुणीले न्यानो स्वागत र सत्कार गरे।
साइकल चढेरै लामो यात्रा तय गरेर लुम्बिनी पुग्दा हामीले सन्तोषको सास फेर्यौं। पवित्रस्थलमा पुगेकाले होला मन निकै आनन्दित भयो। त्यहाँको भव्य जापानी होटलमा पनि हाम्रो स्वागत सत्कार भयो।
मध्याह्न बुद्ध जयन्ती मूल समारोहपछि फेरि श्रीलंकाली गुम्बामा बुद्धले दिएको ज्ञान र उनको दर्शनबारे एक नेपाली भिक्षुले दिएको प्रवचन सुन्यौं। धेरै ज्ञान प्राप्त भएको अनुभूति भयो।
बुद्धको ज्ञान आज विश्वव्यापि भएको छ। तर के हामी नेपालीले गौतम बुद्ध र उनले दिएको ज्ञानलाई बुझ्न सकेका छौं?
यतिखेर म वरिष्ठ पत्रकार विजयकुमार पाण्डेयले हालै एउटा कार्यक्रममा राखेको धारणा स्मरण गरिरहेको छु: 'हामी नेपालीहरू … 'बुद्ध वाज बर्न इन नेपाल' भन्छौं… बुद्धको विषयमा हामी धेरै गौरव गर्छौं, तर हामीले बुद्धका बारेमा निकै थोरै थाहा छ।'
कोरोना कहरमा 'टुर-द-लुम्बिनी'
फ्रान्समा सन् १९०३ देखि चालू विश्वप्रसिद्ध साइकल रेस 'टुर-दे-फ्रान्स' कोभिड-१९ को महामारी बेला पनि रोकिएको छैन। करिब ३,३०० किलोमिटर लामो दूरी २१ चरणमा पार गर्नुपर्ने 'टुर-दे-फ्रान्स' का साइकल दौड अर्को महिना हुने कार्यक्रम छ।
फ्रान्सका समथर भूभागदेखि एल्पस् पर्वतमालासम्म पुग्ने 'टुर-दे-फ्रान्स' कै ख्याति र सफलताबाट प्रभावित भएर नेपालमा 'टुर-दे-लुम्बिनी' सुरू गरिएको परिकल्पनाकार मेघ आले बताउँछन्।
भविष्यमा 'टुर-दे-लुम्बिनी' का माध्यमले नेपालमा खेल तथा सांस्कृतिक पर्यटनको विकास गर्न सकिने प्रवर्द्धकहरूको सोच थियो। तर २०७० सालमा सुरू गरिएको यो साइकल यात्रा २०७२ सालको भूकम्पपछि प्रभावित भयो र दुई वर्षदेखि जारी कोरोना कहरका कारण स्थगित हुन पुगेको छ।
यसपटक 'टुर-दे-लुम्बिनी' भौतिक रूपमा सञ्चालन हुन नसके पनि यो यात्रामा सहभागी भइरहने साइकलप्रेमीले फरक तरिकाले यसलाई जीवन्त राख्ने प्रयत्न जारी राखिरहेका छन्।
त्यस क्रममा साइकल यात्री देवेन्द्र बस्न्यातले काठमाडौंकै चक्रपथ वरिपरि साइकल चलाउने योजना बनाएका छन्। उनले काठमाडौंदेखि लुम्बिनीसम्मको ३०० किलोमिटरभन्दा लामो दूरी यहीँ चक्रपथमै पूरा गर्दैछन्। त्यस क्रममा उनी कोभिड-१९ पीडितहरूका लागि सहयोग पनि जुटाउने योजनामा छन्।