ताप्लेजुङको जस्तै पाथीभरा देवीको मूर्ति रहेछ भक्तपुरको गुण्डुमा। मन्दिर प्रांगणमा द्वारकाको मूर्ति, देवीको पाउ, हवन कुण्ड, भान्छा घर, पूजारी घरलगायत बनाइएको छ।
***
एउटा अनौठो कुरा, अन्यत्र गणेशको भुँडी ठूलो हुन्छ। अनन्तलिंगेश्वरका गणेश स्लीम छन्। पहिला गणेश खुला आकाशमुनि थिए, अहिले नयाँ मन्दिर भित्र राखिएको छ।
***
वि.सं. २०६६ भदौ ६ गते भारत उत्तराखण्डस्थित केदारनाथ पिठका पिठाधीश जगत गुरू भीमाशंकरले डोलेश्वर महादेवनै केदारनाथको शिरोभाग भएको घोषणा गरेका थिए।
रातो सारी सपक्क लगाएकी, सिंह माथि चढेकी, सुनौलो अनुहार भएकी देवी। ताप्लेजुङकी पाथीभराको जस्तै मूर्ति भक्तपुरको गुण्डुमा पनि बनेको रहेछ। केही समयअघि स्थापना गरिएको मूर्ति। यस्तै पाथिभराको अर्को मूर्ति लेले (ललितपुर) मा पनि छ।
काठमाडौं बस्नेले अब पाथीभरा दर्शन गर्न ताप्लेजुङमै पुग्नुपर्ने बाध्यता रहेन, गुण्डु वा लेले जता गए पनि हुन्छ। गुण्डुमा जंगल नजिकै रमणीय ठाउँमा छ पाथीभरा देवीको मन्दिर।
यहीँ गुण्डु पाथीभरामा प्रकृतिप्रेमी, निरोगधामका हामी सदस्यहरू हाइकिङका चैत्र १४ गते दोस्रो शनिबार पुगेका थियौं। हाम्रो समूहले स्वस्थ्य आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हरेक महिनाको चौंथो शनिबार हाइकिङ गराउँदै आएकामा यहीँ चैतदेखि महिनाको दोस्रो शनिबार पनि गराउन थालेका छौं।
दोस्रो शनिबारको पहिलो हाइकिङ चैत १४ गते हाम्रो पदयात्रा सूर्यविनायक नगरपालिकाको विरूवा बसपार्कबाट सुरु भएको थियो। त्यहाँबाट विन्ध्यवासिनी मन्दिर दर्शन गरी संकटमुक्तेश्वर महादेव पार्कबाट जंगलको बाटोहुँदै दधिकोटको अनन्तलिंगेश्वर डाँडा पुगेका थियौं। त्यहाँबाट हामी अनन्तलिंगेश्वर महादेवको दर्शन गरि खेतका हरिया फाँटबाट पाथीभरा मन्दिर पुगेका थियौं।
पाथीभराबाट ठाडै उकालो चढेर पाइलट बाबा आश्रम पुगेर घ्याम्पे डाँडाहुँदै सिपाडोलको डोलेश्वर मन्दिर हामीले १२ किलोमिटर पदयात्रा गर्यौं।
पदमार्ग वरपर खाजा पसल छन् भने पाइलटबाबा आश्रम नजिकै र घ्याम्पे डाडाँमा राम्रा होटल तथा रिसोर्ट सुविधा छ।
पदयात्राबाट आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ तसर्थ जहाँ पुग्यो त्यहाँका लोकल खाना, खाजा र कोशेली किन्नु राम्रो हुन्छ। यसले स्थानीयलाई टेवा पुग्छ। तर बुझ्नुपर्ने कुरा स्वास्थ्यका लागि हिँड्ने पदयात्रामा अखाद्य खाना खानु हुँदैन।
हामीले भने पाइलटबाबा आश्रमको चौरमा बसेर खाजा खायौं। हामी आफैंले खाजा बोकेर लगेका थियौं। हाम्रो समूहले चौंथो शनिबार आयोजना गर्ने पदयात्रामा आफैंले स्वास्थ्यवर्द्धक खाजा खुवाउँछ भने दोस्रो शनिबारे पदयात्रामा पदयात्री आफैंले खाजा ल्याउनुपर्छ। हाम्रो पदयात्रामा अखाद्य पदार्थ, जंकफुड, फास्टफुड र मदिराजन्य खाना प्रतिबन्धित छ।
पदयात्रीहरुले खाजामा स्वस्थवर्दक आहाराहरू र मौसम अनुसारका फलफूलहरु र आफ्नो लागि २ देखि ३ लिटर पानी बोक्नुपर्छ। पदयात्रामा सबैलाई मध्यनजर राखेर मध्यम् गतिमा ठाउँ– ठाउँमा फलफूल ब्रेक गराउँदे हिडाउँने भएकाले बालकदेखि ७० वर्षसम्मका बृद्धाहरु सहभागि थिए।
हामीले खाजा खाएपछि केहीबेर स्वास्थ्यवर्द्धक अन्तरक्रियापछि घ्याम्पेडाँडाहुँदै डोलेश्वर महादेवसम्म पदयात्रा गर्यौं।
विन्ध्यवासिनी मन्दिर
पोखराको विन्ध्यवासिनी मन्दिर धेरै चर्चित छ। सूर्यविनायक नगरपालिका–३ भक्तपुरमा पनि विन्ध्यवासिनी छिन्। विरूवा बसपार्कबाट केही मिनेट हिँडेर ढुंगा ओछ्याइएको ठाडो उकालो १७२ वटा सिँढी चढेपछि पुगिन्छ जंगलको फेदमा रहेकी विन्ध्यवासिनी मन्दिर।
मन्दिर प्यागोडा शैलीको छ। भित्र सिंहमाथि बसेकी, आठ हात भएकी भगवती देवी छन्।
मूल मूर्तिको उचाइ ६ फिट छ भने चौडाइ ४ फिट। मन्दिर बाहिर उत्तरपट्टि राधाकृष्ण र सप्तऋषिका मूर्ति छन्। पूर्वदेखि दक्षिणसम्म लहरै शिवलिंग, वासुकी, तुल्सीनारायण, सरस्वती, वटुक भैरव, हनुमान र बुद्ध चैत्य छन्।
मन्दिर क्षेत्र करिब ३ रोपनीमा फैलिएको छ। मन्दिरको पूर्वमा चमेली सामुदायिक वन छ। पूजारी रत्नबहादुर श्रेष्ठकाअनुसार मन्दिरमा चैत्र अष्टमी, रामनवमी र बडादसैंको नवरात्रमा घुइँचो लाग्छ।
विन्ध्यवासिनी चमेली खैंजडी भजन समूहले मन्दिर संरक्षण गर्दै आएको छ। यहाँ विवाह, व्रतबन्ध, सप्ताह आदि धार्मिक अनुष्ठान गरिन्छ।
विन्ध्यवासिनी मन्दिर बनेको केही वर्ष भयो। पहिला त्यहाँ ढुंगे शिला थियो। त्यसलाई ‘मान्छे ढुङ्गा’ भनिन्थ्यो। देवीको अंश परेको छ भनेर पुजिन्थ्यो। एकपटक योगी नरहरिनाथ र शुष्मा माता घुम्दै त्यहाँ आइपुगे। योगीले शिलामा विन्ध्यवासिनीको अंश छ भनेर ओमकारयुक्त झन्डा गाडिदिए। त्यसपछि तिनै माताको सक्रियतामा ललितपुरका कलाकार राजु शिल्पकार झिकाएर मूर्ति कुँदियो।
स्थानीय जयराम घिमिरेले देवीको भाकल गरेपछि उनलाई अमेरिकाको डिभी पर्यो। उनले आर्थिक सहयोग गरे। साथै दधिकोट, सिरुटार र लुभुवासीको राम्रो सहयोग जुट्यो। र, २०६० सालमा मन्दिर बनाइयो।
त्यहीबेला खैंजडी भजन समूह गठन गरिएको थियो जसले खैंजडी, कर्ताल, मुजुरा, झ्याली बजाएर भजन गाउँछ। धार्मिक कथालाई भजन लयमा गाउँदै मुलुकका विभिन्न ठाउँमा उनीहरू नाचगान गर्छन्।
हरियाली जंगल नजिकै रहेको मन्दिर क्षेत्र रमणीय छ। मन्दिरको फेदीमा कुलमाया भगवतीको मन्दिर छ। स्थानीय घिमिरे परिवारले एक सय ३० वर्षअघि स्थापना गरेको मन्दिर।
मन्दिरको फेदमा पूजारीले खाजा पसल चलाएका छन् भने नजिकै रिसोर्ट र रेष्टुराँ सुविधा छ।
कसरी पुग्नेः अरनिको राजमार्गको कौशलटारदेखि विन्ध्यवासिनी साढे ६ किमि। कौशलटारबाट बालकोट, बिरुवाहुँदै मन्दिर फेदीसम्म सडक यात्रा। नयाँबाटो ठिमीबाट दधिकोट, चरखण्डी हुँदै साँढे ५ किमिमा मन्दिर। र, सूर्यविनायकबाट गुण्डु, तर्खगाल हुँदै मन्दिर ७ किमि।
अनन्तलिंगेश्वर
विन्ध्यबासिनी मन्दिरबाट ४ किमी जंगलको सितल बाटो हिँडेपछि पुगिन्छ सूर्यविनायक नगरपालिका–४ दधिकोटमा पर्ने अनन्तलिंगेश्वर महादेव मन्दिर मन्दिरभित्र विशाल शिवलिंग छ। त्यस्तै मन्दिर हातामा बासुकी, उमा महेश्वर, जलहरी, गणेश, अन्नपूर्णा, लक्ष्मी, वनदुर्गा, सरस्वती पादुका, बसाहा र गरुडलगायतका मूर्ति छन्।
एउटा अनौठो कुरा, अन्यत्र गणेशको भुँडी ठूलो हुन्छ। यहाँका गणेश स्लिम छन्। पहिला गणेश खुला आकाशमुनि थिए, अहिले नयाँ मन्दिर भित्र राखिएको छ।
इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठको पुस्तक ‘अनन्तलिंगेश्वर’ काअनुसार दधिकोट क्षेत्र लिच्छिविकालमै समृद्ध थियो। तिनताका अनन्तलिंगेश्वर भेकलाई हंशगृह भनिन्थ्यो जसका मुख्य देवता लोकपाल स्वामी नै अनन्तलिंगेश्वर हुन्।
अनन्तलिंगेश्वर कति पुरानो हो भन्ने यकिन भइसकेको छैन। यद्यपि भक्तपुरका राजा नरेन्द्रदेवले सातौं शताब्दीमा यसको जीर्णोदार गराएको शिलालेख छ।
अनन्तलिंगेश्वरबारे किंवदन्ती छ-उहिल्यै जंगलमा ऋषिमुनि तपस्या गर्थे। उनीहरू पानी खोज्दै डाँडाको काखमा पुगे। त्यहाँ कुवा खन्दा शिवलिंग फेला पर्यो। ३० फिट गहिराइमा पुग्दासमेत लिंगको फेद भेटिएन। बरू त्यसबाट रगत आयो।
त्यही बेलादेखि अनन्तलिंगेश्वर भनेर पुज्न थालियो। ऋषिहरूले नजिकै फेरि कुवा खने। त्यो अनन्त कुवाको पानी मिठो छ। खाँदा रोग निको हुन्छ भन्ने विश्वास छ। राणा प्रधानमन्त्री चन्द्र शमशेरले यहाँको पानी झिकाएर खान्थे भन्ने भनाई छ।
पहिला मन्दिर गुम्बज शैलीमा थियो। १२ वैशाख २०७२ को भूकम्पले क्षतिग्रस्त भएपछि यसलाई प्यागोडा शैलीमा पुननिर्माण गरिएको छ। विसं १९९० सालको भुइँचालो अगाडि पनि अनन्तलिंगेश्वर प्यागोडा शैलीमै थियो।
मन्दिरको फेदीमा चिया पसल छन् भने कैलाश डाँडामा होमस्टे र होटल। अहिले डाडाँमा भ्यू टावर बन्दैछ जहाँबाट हिमाल र उपत्यकाको छवि छर्लङ्ग देखिन्छ।
कसरी पुग्ने: अरनिको राजमार्गको नयाँ ठिमीस्थित शंखधर चोकबाट ५.५ किमिमा अनन्तलिंगेश्वर मन्दिर। ठिमीबाट अनन्तलिंगेश्वरको फेदसम्म बस चल्छ। त्यस्तै सूर्यविनायकबाट साढे चार किमिमा अनन्तलिंग।
पाथीभरा
अनन्तलिंगेश्वरबाट २ किमीमा पर्छ सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथीभरा मन्दिर। पूर्वी नेपालको ताप्लेजुङको पाथीभरा माताको झल्को दिने मूर्ति विसं २०७६ को बडा दशैंमा स्थापना गरिएको हो। अष्ट धातुबाट बनाइएको मूर्तिको तौल ३६५ किलोग्राम छ।
पाथीभराले मनोकामना पुरा गरिदिने जनविश्वास छ। मन्दिर प्रांगणमा द्वारकाको मूर्ति, देवीको पाउ, हवन कुण्ड, भान्छा घर, पूजारी घर र शौचालय बनाइएको छ।
श्रीमद्भागवत तथा गौ संरक्षण केन्द्रका संरक्षक पण्डित अरविन्द शास्त्रीको योजनाअनुरुप स्थानीयको सहयोगमा गुण्डुमा पाथीभरा बनाइएको हो। पाथीभराका भक्त अर्जुन बस्नेतले दान दिएको ६ रोपनी जमिनमा पाथीभरा मन्दिरका संरचना बनाइएको छ।
तिनै जग्गादाता बस्नेतको नेतृत्वमा मन्दिर व्यवस्थापन समिति बनेको छ। समितिले पाथीभरा क्षेत्रलाई व्यवस्थित बनाउने काम गरिरहेको छ। उसले गुजरात (भारत) को द्वारकाको जस्तै मन्दिर निर्माण, बृद्धाश्रम, गुरुकुल आश्रम, सभाहल, प्रवेशद्वार र आकर्षक गेटलगायतका संरचना बनाउने योजना बनाएको छ।
सूर्यविनायकबाट ४ किलोमिटर दक्षिणपूर्वमा पर्छ पाथीभराधाम। जंगलको काखमा रहेको तीर्थस्थल रमणीय छ। यहाँबाट २५ मिनेट पदयात्रामा पाइलट बाबा आश्रम पुगिन्छ भने २० मिनेटमा अनन्तलिंगेश्वर महादेव।
पाथीभरा मन्दिर नजिकै फूलप्रसादी बेच्ने पसल र खाजा घर छन् भने पाथीभराको शिर घ्याम्पेडाँडामा होटल तथा रिसोर्ट। पाथिभरा मन्दिरमा पनि पिकनिक स्पट बनाउन सके प्रत्येक हप्ता मन्दिर दर्शन गरी पिकनिक मनाउनेको घुइँचो लाग्नेछ।
कसरी पुग्नेः काठमाडौं–सूर्यविनायक १५ किमि। सूर्यविनायक–पाथीभरा ४ किमि। सूर्यविनायकबाट गुण्डु जाने बसमा चढेर पाथीभरा पुग्न सकिन्छ। मन्दिरसम्मै मोटर बाटो छ।
पाइलटबाबा आश्रम
सूर्यविनायक मास्तिर घ्याम्पेडाँडाको पुछारमा पाइलट बाबाको आश्रम छ। पाथीभराबाट करिब १ किमी जंगलको ठाडो उकालो चढे पुगिन्छ सूर्यविनायक नगरपालिका–७ मा पर्ने आश्रम। आश्रम हातामा सोमनाथ मन्दिर, ध्यान कक्ष र गुरुकुल विद्यालय छन्। १३ रोपनी क्षेत्रफलमा फैलिएको आश्रम योग र ध्यानका लागि उपयुक्त छ।
आश्रम प्रवेशका लागि २० रुपैयाँको टिकट काट्नुपर्छ। आश्रम अध्यात्मको केन्द्र त हुँदै हो, प्राकृतिक बरदान पाएको ठाउँ पनि हो। यहाँ (१,६५० मिटर) बाट हिमाली सौन्दर्य, हरिया डाँडापाखाहरू देखिन्छ। हरपल चराको चिरबिर सुनिन्छ। आश्रम नजिकै जंगल भएकाले जंगली जनाबरसँग जम्काभेट हुन सक्छ। आश्रम हाताबाट काठमाडौं र भक्तपुर शहरका दृश्य छर्लङ्ग देखिन्छन्।
आश्रमबाट १० मिनेट उकालो चढेमा घ्याम्पेडाँडा पुगिन्छ जुन आफैंमा पर्यटकीय केन्द्र हो। यहाँ होटल तथा रेष्टुराँको सुविधा छ। त्यसो त आश्रमको मुलगेट बाहिर पनि खाजाघर छन्।
घ्याम्पेडाँडामा जिपलाइन खुलेको छ। यहाँबाट पनि सूर्योदय, सूर्यास्त र हिमाली दृश्य देखिन्छ। त्यसैगरि घ्याम्पेडाँडाबाट ३ किमि उकालो चढेमा ऐतिहासिक भूमि रानीकोट पुगिन्छ। रानीकोट क्षेत्रमा बाघभैरबको मन्दिर छ। भ्यूटावर छ। यस क्षेत्रमा पनि आधुनिक होटल खुलेका छन्।
कसरी पुग्नेः काठमाडौं–सूर्यविनायक १५ किमि। सूर्यविनायक–घ्याम्पेडाँडा ४.५ किमि। घ्याम्पेडाँडा–रानीकोट ३ किमि। सूर्यविनायकबाट घ्याम्पेडाँडासम्म सडक कालोपत्रे गरिएको छ।
डोलेश्वर
पाइलटबाबा आश्रमबाट घ्याम्पेडाडाँ हुँदै ओरालो झरेपछि करिब ५ किमीमा पुगिन्छ डोलेश्वर महादेव। डोलमा बसेकाले ‘डोलेश्वर’ भनिएका महादेवलाई अचेल केदारनाथको शिरका रुपमा पूजिन्छ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा प्यागोडा शैलीको डोलेश्वर मन्दिर बनाइएको छ। पहिला मन्दिर गुम्बज शैलीमा थियो। मन्दिरभित्र विशाल शिला छ।
मन्दिर हातामा घण्ट, नन्दी, त्रिशूललगायत सम्पदा छन्। डोलेश्वर क्षेत्रलाई नमुना पर्यटनधाम बनाउने काम भैरहेको छ। मन्दिर क्षेत्र करिब १८ रोपनीमा फैलेको छ। यहाँ शिवरात्रि, बालाचतुर्दशी, साउने सोमबार र भदौ ६ गते मेला लाग्छ।
विसं २०६६ भदौ ६ गते भारत उत्तराखण्डस्थित केदारनाथ पिठका पिठाधीश जगत गुरु भीमाशंकरले डोलेश्वर महादेव नै केदारनाथको शिरोभाग भएको घोषणा गरेका थिए।
किंवदन्तीअनुसार महाभारतको युद्वपछि पाण्डवहरू स्वर्ग जान लाग्दा केदारनाथको दर्शन गर्न गए, तर भगवानले आफ्ना सन्तान नाश गरेर आएका भनी उनीहरूलाई दर्शन दिन चाहेनन्। भगवानले राँगो रूप धारण गरेर त्यहाँबाट भाग्न खोज्दा भीमले पुच्छर समाते, शिर भने उछिट्टियो। त्यो शिर नै डोलेश्वर भएको कलियुगमा आएर प्रमाणित भयो।
डोलेश्वरलाई नेपाल भाषामा ‘सिपारे माद्यो’ भनिन्छ। यिनलाई हिमवत्खण्डमा विमलेश्वर भनेको पाइन्छ। उहिल्यै नेपाल मण्डलका राजाले डोलेश्वर महादेवको मन्दिर छानायुक्त (प्यागोडा शैली)मा तीनतले बनाएका थिए। तर, मन्दिर कहिले बनाइयो भन्ने चाहिँ यकिन भएको छैन।
विसं १९९० को भुइँचालोमा क्षतिग्रस्त भएपछि गुम्बज शैलीमा बनाइएको थियो। राजा भूपतिन्द्र मल्लले वि.सं. १६२९ मा डोलेश्वरको जीर्णोद्धार गरी सुनको कलश चढाएको शिलालेख पाइएको छ। मन्दिर नजिकै पाण्डवहरू स्वर्ग जाँदा बसेको ‘पाण्डव ढुङ्गा’ छ। मन्दिर हातामा फूलप्रसादी बेच्ने पसल, खाजा घर र होटल सुविधा छ।
कसरी पुग्ने: काठमाडौंबाट अरनिको राजमार्ग हुँदै १५ किमिमा जगाती। जगातीबाट ४ किमि दक्षिण पूर्वमा डोलेश्वर मन्दिर। काठमाडौंबाटै डोलेश्वरसम्म सार्बजनिक बस चल्छन्।
पदयात्रा मार्गको विषेशता
मन्दिरहरूको दर्शन, जंगलको सितल गोरेटो, चराको चिरविर, मौसम खुल्दा उत्तरतिर सेता हिमाल, तलतल काठमाडौं उपत्यकाको सुन्दर दृश्य। पदमार्ग छेउछाउमा बाहुन क्षेत्री, नेवार, तामाङलगायतको बस्ती पर्छ। अहिले ऐंसेलु फूलिसक्यो अबका केही दिनमा ऐंसेलु हाइकिङ गर्न सकिन्छ।
काठमाडौं नजिकैको काँठ क्षेत्र भएकाले खेतीयोग्य जमिन बाँकी नै छ। त्यसैले मौसमअनुसारका हरिया बाली हेर्दै हिँड्न पाइन्छ। यतिवेला आलुका पात र लहलह झुलिरहेका गहुँ हेर्दै, चराको चिरविर सुन्दै, मन्दिरहरू दर्शन गरेर पदयात्रा गर्न सकिन्छ।
हाइकिङ मात्र होइन, साइक्लिङका लागि पनि यो रुट उपयुक्त छ। त्यसैले ऐंसेलु खाँदै र चराको चिरविर सुन्दै हाइकिङ गर्ने कि ?
कसरी पुग्नेः सूर्यविनायकको विरुवा बसपार्कसम्म गाडीमा। त्यहाँबाट विन्ध्यवासिनी मन्दिर, संकटमुक्तेश्वर पार्क, अनन्तलिंगेश्वर भ्यू टावर, अनन्तलिंगेश्वर महादेव, गुण्डु पाथीभरा, पाइलटबाबा आश्रम, घ्याम्पेडाँडा हुँदै डोलेश्वरसम्म पदयात्रा गर्ने।
विरुवा–अनन्तलिंगेश्वर महादेव ४ किमी, अनन्तलिंगेश्वर–पाथीभरा २ किमी, पाथीभरा–पाइलटबाबा आश्रम १ किमी ठाडो जंगलको उकालो। पाइलटबाबा आश्रम–डोलेश्वर महादेव ५ किमी ओरालो। जम्मा पदयात्रा दूरी १२ किमी । समयः करिब ४ देखि ५ घण्टा।
(जनस्वास्थ्यविद् महर्जन ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक हुन्।)