पोखरा मुलुककै पर्यटकीय गन्तव्यमध्ये एक प्रमुख आकर्षणको केन्द्र हो। त्यसैले त पोखराले सुन्दरी पर्यटकीय नगरीको उपमा पाएको छ। तालतलैया, मनोरम हिमशृङ्खला, हरिया डाँडाकाँडा, प्रशस्तै घुमघामका ठाउँहरू आदिले गर्दा पोखरा पर्यटकको पहिलो रोजाइको गन्तव्य बनेको हो।
बाह्य र आन्तरिक दुबै पर्यटकहरू बराबरी मात्रामा पोखरा घुमघामका लागि आउने गर्दछन्।
तर कोरोना भाइरसका कारण सुनसान बनेको पर्यटकीय नगरी पोखराको मुख्य पर्यटकीय हब लेकसाइड करिब ६ महिनादेखि नतमस्तक भएर सुतिरहेको छ। कोरोनाका कारण सबभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन हो।
त्यसैले त अरू क्षेत्रमा सामान्य चहलपहल सुरू भइसक्दासमेत यो क्षेत्र अहिले पनि सुनसान छ।
पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड सरसर्ती चक्कर लगाउँदा मनमा अनेक तर्कवितर्क उत्पन्न हुनु स्वभाविकै हो।
सुनसान सडक, सधैं चहलपहल हुने होटलका गेटमा भोटे ताल्चा, सबै प्रकारका व्यवसाय ठप्प, ट्राभल, ट्रेकिङ, प्याराग्लाइडिङ, बन्जी जम्प, जीप फ्लायर, अल्ट्रालाइट प्लाइट, बोटिङ, र्याफ्टिङलगायत पर्यटक भुल्याउने सबै गतिविधिमा शून्यता छाएको छ। लेकसाइडको यो पछिल्लो दृश्य वास्तवमै मन वेचैन बनाउने खालको छ।
होटल र रेष्टुरेण्ट मात्र होइन लेकसाइड केन्द्रित सबै व्यवसाय ठप्प प्राय: छन्। सामान्यतया किराना र तरकारी पसलमा केही चहलपहल देखिए पनि त्यस बाहेकका सबै व्यवसाय सामान्य हुन सकेका छैनन्।
विभिन्न किसिमका व्यवसायहरू जस्तै: ग्यास सप्लायर्स, पानी वितरक, फेन्सी पसल, इलेक्ट्रोनिक्स पसललगायत लेकसाइड केन्द्रित सबै व्यवसाय खर्च धान्न सक्ने अवस्थामा छैनन्।
लेकसाइडमा व्यवसाय गर्ने यस्ता व्यवसायीले पनि आफूहरूलाई कोरोना भाइरसका कारण पूर्णरूपमा प्रभावितको सूचीमा राखी सोही अनुसारको सहुलियत दिनुपर्ने माग गर्दै आइरहेका छन्।
होटल, रेष्टुरेण्ट र पर्यटनसँग जोडिएका प्रत्यक्ष व्यवसायलाई मात्र अति प्रभावितको सूचीमा राखेको र पर्यटकीय क्षेत्रमा व्यवसाय गर्ने आफूहरूलाई बेवास्ता गरेको उनीहरू गुनासो छ।
त्यतिमात्र होइन लेकसाइडमा सञ्चालित निजी विद्यालय समेत अन्य क्षेत्रका तुलनामा बढी प्रभावित हुने देखिएको छ।
अधिकांश व्यवसायी तथा मजदूरहरू बेरोजगार रहेकाले कतिपय पलायनसमेत हुने अवस्थामा त्यस्ता अभिभावकले आफ्ना बालबच्चालाई अहिलेको विद्यालयबाट अन्यत्र सार्ने सम्भावना रहेकाले त्यसको असर निजी विश्वविद्यालयमा समेत पर्ने देखिएको हो।
सधैंजसो पर्यटकले चहलपहल भइरहने फेवाताल अहिले सुनसान छ। डुंगाहरू पर्यटकको पर्खाइमा थन्किएर बसेका छन्।
तालको बीचमा रहेको तालबाराही मन्दिरको अवस्था पनि उस्तै छ। फेवाताल अहिले भरिभराउ छ। वर्षाको समय पानीको बहाव बढी हुने भएपछि फेवातालको पानी निकास हुने डेभिस फल यतिबेला हेर्नका लागि आकर्षक देखिन्छ। तर डेभिस फलको अवस्था पनि अन्य घुमघामका गन्तव्यको हालत भन्दा फरक छैन।
डेभिसफलको पानीको कलात्मक दृष्यलाई कैद गर्न यतिबेला पर्यटकको तछाडमछाड नै चल्ने गर्दथ्यो। पानी सानो भ्वाङबाट निकास हुन खोज्दा निस्किने बाफले छुट्टै रोमाञ्चकता थप्ने गर्दथ्यो। सँगे रहेको गुप्तेश्वर गुफामा पनि शून्यता कायमै छ।
त्यति मात्र होइन लेकसाइडका मुख्य क्षेत्र, गौरीघाट, बाराही चोक, बसुन्धारा पार्क क्षेत्रका बाटोहरू यतिबेला सुनसान देखिन्छन्।
सडकका दायाँबायाँ सञ्चालित पसलका सटरहरू समेत खुलेका छैनन्। पर्यटकको पर्खाइमा बस्ने ट्याक्सीहरू आफ्नो स्ट्याण्डमा देखिँदैनन्। हरियो प्लेटका सवारी साधन त अझै कति समय ग्यारेजमै थन्किने हुन्।
केही होटलका गेट त खोलिएका छन् तर कोठामा एक जना पनि पाहुना छैनन्। साउन १५ गतेपछि सञ्चालन गर्न दिने भनिए पनि फेरि सरकारले होटल तथा रेष्टुरेण्टबाट टेक–अवे सेवामात्र सञ्चालन गर्नु भनेकाले यतिबेला झन् अन्यौलता छाएको छ। रेष्टुरेण्टका टेबल खाली छन्। उपस्थित सीमित कर्मचारीहरू पनि कामविहीन भएर बस्नु परेको अवस्था छ।
प्याराग्लाइडिङ, बन्जीजम्प, अल्ट्रालाइट, ट्राभल र ट्रेकिङका कार्यालय अहिलेसम्म खुलेका छैनन्। आगामी सिजनका लागि यतिखेर होटलहरूले धमाधम बुकिङ लिने समय हो।
ट्राभल र ट्रेकिङ कम्पनीहरूले प्याकेज बनाएर बेच्ने समय हो, तर यी सबै ठप्प छन्। विगतका वर्षहरूमा यतिबेलासम्म आगामी सिजनका लागि ५० प्रतिशत भन्दा धेरै बुकिङ भइसक्थ्यो।
अबको एक डेढ वर्ष व्यवसाय र रोजगारी सामान्य अवस्थामा नफर्कने देखिएपछि आफूहरूको गुजारा कसरी चल्ला भन्ने चिन्ताले सबैलाई सताएको छ।
होटल रेष्टुरेण्टमा कार्यरत अधिकांश मजदूरहरू अहिले बेरोजगार भएर बसेका छन्।
व्यवसाय ठप्प हुँदा यतिबेला व्यवसायीहरू यो क्षेत्रको भविष्यप्रति चिन्तित देखिएका छन्।
अझै लामो समय यही अवस्था रहिरहे कसरी यो क्षेत्रमा टिकिरहने भन्ने प्रश्न खडा भएको छ।
बैंकबाट लिएको ऋणको किस्ता, घरभाडा, मजदूर समस्याप्रति सञ्चालक सबभन्दा बढी चिन्तित देखिन्छ्न्।
मजदूरहरू पनि यस्तो कहिलेसम्म भन्ने चिन्तामा छन्। कतिपयलाई गुजारा चलाउनसमेत धौधौ भइसकेको छ।
कालो बादलमा चाँदीको घेरा भनेजस्तै अहिलेको समस्या छिट्टै समाधान भएर लेकसाइडको चहलपहल पुरानै अवस्थामा फर्केला कि भन्ने आशमा यतिबेला व्यवसायीहरू छन्।
लामो समय घुमघामका लागि निस्किन नपाउँदा गुम्सिएर बसेका पर्यटक अवस्था सहज भएपछि अझ धेरै घुमघामका लागि निस्किने अनुमान छ। तर आम्दानीको स्रोत खुम्चिएकाले घुमघामलगायत मनोरञ्जनका लागि अधिकांशले खर्च कटौती गर्ने सम्भावना रहेकाले त्यसको प्रत्यक्ष प्रभाव पनि यही क्षेत्रमा पर्ने निश्चित छ।
यहाँ लेकसाइडकलाई प्रतिकात्मक रूपमा मात्र चित्रित गरिएको हो।
यस्तै, व्यवसाय र देशभरका पर्यटन क्षेत्रको अवस्था अहिले लेकसाइडको जस्तै छ।
विश्वव्यापी यो परिस्थितिको सबैले एकसाथ सामना गर्नु परिरहेको छ। धैर्यता गर्नुबाहेक अर्को विकल्प कसैसित पनि छैन।