म कालीगण्डकीको किनारमै जन्मेर हुर्केको मान्छे। बिहान सबेरै जब सूर्यका किरण पहाडको टुप्पोबाट निस्केर हाम्रो गाउँमा पर्थ्यो, गण्डकीको सुसाउने आवाजसँगै म निद्राबाट ब्युँझिन्थेँ। त्यो आवाज मेरो लागि निदाउने धुन पनि थियो र उठाउने अलार्म पनि। हाम्रो बाल्यकालको खेलमैदान भनेकै कालीगण्डकीको किनार थियो।
त्यहीँ हामी नुहाउँथ्यौं, पौडिन्थ्यौं, गाई चराउँथ्यौं, पानीमा ढुंगा हान्दै कसले टाढा पुर्याउने भन्दै खेल्थ्यौं, तातो बालुवामा सुत्थ्यौं। पानीको छालसँग खेल्दा समय कसरी बित्थ्यो, थाहा नै हुँदैनथ्यो। त्यो बेला हामीलाई थाहा थिएन, यो केवल हाम्रो रमाइलोको स्थान मात्र होइन, धार्मिक र ऐतिहासिक दृष्टिले पनि अति महत्त्वपूर्ण भूमि हो। सायद सबैका यस्तै कुराले त उखान बन्यो होला- 'नजिकको तीर्थ हेला!'
गाउँमा ठूलो चहलपहल हुने दिनहरू एकादशी, माघे सङ्क्रान्ति र वैशाखे संक्रान्ति। ती दिन बिहानै उठेर हामी आमाको पछि लागेर गण्डकी नुहाउन पुग्थ्यौं। पानी चिसो हुन्थ्यो, तर केटा-केटीमा त्यो चिसोपन खास्सै वास्ता हुँदैनथ्यो। डुबुल्की मारेपछि बगरको बालुवामा खेल्ने, अनि फर्किँदा हातमा शालग्राम लिएर आउने। तर त्यतिबेला मैले सोचेकै थिइनँ यी सबै हाम्रो आस्थासँग जोडिएका संस्कार हुन् भनेर।

वर्षौंपछि मात्र थाहा पाएँ आफ्नै गाउँको त्यो स्थान उत्तरवाहिनी हो भनेर। कालीगण्डकी उत्तर तर्फबाट उत्पत्ति भएर यहाँ आउँदा फेरि उत्तरतर्फ नै फर्केर बग्दछ। शास्त्रमा यस्तो स्थानको विशेष महत्त्व हुन्छ। स्कन्दपुराणमा लेखिएको छ- गण्डकीको उत्तर तटमा स्नान गर्दा सबै पापहरू मेटिन्छन् र करोडौं गुणा पुण्य प्राप्त हुन्छ। यहाँको जललाई गंगास्नान बराबर मानिन्छ।
स्थानीय विश्वासअनुसार युगौंदेखि ऋषि-मुनीहरूले यहाँ तपस्या गरेका थिए, भगवान रामले पनि वनवासको क्रममा गण्डकी किनार हुँदै यही क्षेत्र पार गर्नुभएको थियो। पौराणिक वचनअनुसार, पिण्डदान, श्राद्ध तथा तर्पणका लागि यो स्थान अत्यन्त फलदायी छ। गयामा श्राद्ध गर्दा भन्दा धेरैगुणा पुण्य यहाँ प्राप्त हुन्छ भन्ने मान्यता छ।
धार्मिक विश्वासअनुसार, यो भूमि भगवान विष्णुलाई अत्यन्त प्रिय छ। यहाँ पाइने शालिग्राम शिला धार्मिक परम्परामा पवित्र मानिन्छ।
यो क्षेत्रको भूगोल पनि अनौठो छ, कालीगण्डकीले तीन तिरबाट घेरेर बग्ने र बीचमा शिवालिङ्गको जस्तो आकारको भूभाग। यही कारण पहिले यो क्षेत्रलाई 'महालिङ्ग' भनिन्थ्यो रे। पछि बोलचालमा अपभ्रंश हुँदै 'मालुङ्गा' बन्यो। तर आज पनि बुढापाकाहरू गर्वका साथ भन्छन्- यो मालुङ्गा होइन, महालिङ्गधाम हो।
नाममा जे भए पनि यसको आस्था र महत्त्व भने जस्ताको तस्तै छ।
उत्तरवाहिनीको किनारमा एउटा अनौठो पिपलको रूख छ, जसलाई शंखे पिपल भनेर चिनिन्छ। जब हावा चल्छ, यसको पात र हाँगाबाट निस्कने आवाज शंख फुक्दा आउने आवाज जस्तो लाग्छ। बाल्यकालमा हामी यो आवाज सुन्दा अचम्म मान्थ्यौं, र बुढापाकाहरू भन्थे- 'यो रूखमा भूतले शंख बजाउँछ।'
रातको सुनसान समयमा त्यो आवाज अझ प्रष्ट सुनिन्थ्यो। आज विज्ञानले भन्छ- यो केवल हावाको खेल हो, तर त्यो रहस्य र कौतुहलताको अनुभूति अझै पनि मेरो मनमा जीवितै छ।
उत्तरवाहिनीको किनारमै अर्को अद्भुत चक्रशिला पनि अवस्थित छ, जसलाई हेर्ने जो कोही अचम्मित हुन्छन्। कतिपय समयमा यसलाई छुँदा यो अस्वाभाविक रूपमा तातो महसुस हुन्छ, जसले यहाँ कुनै अदृश्य शक्ति वा चमत्कारिक ऊर्जा प्रवाहित भइरहेको अनुभूति गराउँछ।
कतिपयले यसलाई धार्मिक चमत्कार मान्छन्, त कतिले संयोग हो भन्छन्। जुनसुकै व्याख्या होस्, यो चक्रशिला उत्तरवाहिनीको रहस्यमयी आकर्षणमध्ये एक महत्वपूर्ण प्रतीक बनेको छ।
बाल्यकालमा खाडाघाट भन्दै गाई चराउने खाली मैदान अहिले धार्मिक आस्थाको केन्द्र बनेको छ।
हिजोसम्म दिउँसै जान डर लाग्ने स्थान आज झिलिमिली बत्तीले सजिएको छ। गण्डकीको किनारमा बस्दा बग्ने पानीको सुसाहट, त्यहाँको प्राकृतिक वातावरण यी सबैले मनमा अचम्मको शान्ति ल्याउँछ। यहाँ बस्दा लाग्छ यो स्थान पृथ्वीमै रहेको कुनै स्वर्गको एक टुक्रा हो।

यस क्षेत्रलाई संसारमाझ चिनाउने र यसको वास्तविक महत्त्व उजागर गर्ने श्रेय आचार्य चैतन्य कृष्णलाई जान्छ। उहाँले स्थापना गर्नुभएको श्रीकालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानमार्फत् गुरूकुल शिक्षा, प्राकृतिक अस्पताल, सुविधासम्पन्न धर्मशाला, धार्मिक सम्मेलन र सांस्कृतिक गतिविधिहरूको सुरूआत गर्नुभयो। उहाँको प्रयासले यहाँको स्वरूप मात्र बदलिएको छैन, यसको पहिचान र गौरव पनि नयाँ उचाइमा पुगेको छ।
अब यहाँ सयौँ बालबालिका गुरूकुलमा शिक्षा पाउँछन्। वृद्ध आमा/बुबाहरू गण्डकी किनारमा टहलिँदै प्राकृतिक उपचार गर्नुहुन्छ। जुन ठाउँलाई म सानोमा गाई चराउने स्थानका रूपमा चिन्थेँ, त्यसलाई आज हजारौँ मानिसले धार्मिक स्थलका रूपमा पूज्छन्। 'उत्तरवाहिनी मेरो घर हो' भन्नासाथ गर्वको अनुभूति हुन्छ। यो मेरो जन्मस्थान भएकोले मात्र होइन, यो साँच्चै सुन्दर भूमि भएकोले पनि हो।
स्याङ्जाको गल्याङ-१ मालुङ्गा र पाल्पाको रम्भा-१ असेर्दीको संगमस्थलको रूपमा उत्तरवाहिनी क्षेत्र अवस्थित छ। यो ठाउँ १८० किलोमिटर लामो सिद्धार्थ राजमार्गको मध्यबिन्दुमा पर्दछ, जुन पोखरा र सुनौलीलाई जोड्ने मुख्य मार्ग हो। यसको भौगोलिक स्थिति र धार्मिक महत्त्वले गर्दा उत्तरवाहिनी केवल धार्मिक क्षेत्र मात्र नभई यातायात र पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण केन्द्र बनेको छ।
विगत केही वर्ष यता वार्षिक रूपमा असोज शुक्लपूर्णिमादेखि कार्तिक शुक्लपुर्णिमासम्म एक महिना यहाँ भव्य धार्मिक महामेला हुँदै आइरहेको छ। देश-विदेशबाट आएका भक्तजनले गण्डकी स्नान, पिण्डदान, भजन-कीर्तन, धार्मिक प्रवचन र सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुनेछन्। त्यो बेला गण्डकी किनार बत्तीको उज्यालोले झल्मलाउनेछ, करौडौ बत्ती एकैपटक जल्नेछन्। भजनको स्वर गुञ्जिनेछ र गण्डकी किनारमा मेलाको चहलपहल देखिनेछ।

मलाई लाग्छ, यदि हरेक व्यक्तिले आ-आफ्नो माटो, आफ्नो भूगोल, आफ्नो देशलाई केही योगदान गर्न सके, हाम्रो देशलाई स्वर्ग बन्न धेरै समय लाग्दैन। योगदान ठूलो-सानोको कुरा होइन, आचार्य चैतन्य कृष्णले जस्तो आफ्नो जन्मभूमिको सेवा गर्ने भावना हरेक नेपालीमा पलायो भने, हाम्रो भूगोलको सौन्दर्य र गौरव अझ उज्यालो बन्नेछ।
गण्डकीको किनारमा बसेर म फेरि त्यो त्यै बाल्यकाल सम्झन्छु- जहाँ न त कसैले ठूलो महत्व दिएको थियो, न त मैले बुझेको थिएँ। आज भने यो स्थान मेरो लागि जन्मस्थान मात्रै होइन, आस्थाको केन्द्र र संस्कृतिको गौरव बनेको छ। गण्डकीको सुसाउने आवाजसँगै बग्ने यी कथाहरू, मेरा लागि केवल विगतको सम्झना होइनन् यी त भविष्यलाई प्रेरणा दिने मेरा सम्पदा समेत हुन्।