अनुहार कहाँ प्रस्ट देखिनु हिँड्नेको? तै पनि लामो न लामो लर्को बाटोमा।
झिसमिसे हुनै लाग्दा कोही मोबाइलको उज्यालोले बाटो ठम्याउँदै, कोही टर्चलाइटको उज्यालो बाटोतिर सोझ्याउँदै अनि कसैको भने छामछाम छुमछुमकै पारा।
निकै तलदेखि भेटिएको लर्को अन्तुडाँडाको टुप्पोमा पुगेर घन्चमन्चको रूप लिँदै थियो। गज्जबकै आकर्षण रहेछ यो डाँडाको। हुन त नेपालको मानचित्र पल्टाउँदा सुदूरपूर्वी विन्दु यतै पर्छ। यसको मतलब यहीँबाट दैलो खोल्छ घामले नेपाल पस्न। यतैबाट छरिन सुरू हुन्छ उज्यालोका किरण देशैभरि।
चमकदमक विशेष नै थियो हामी पुगेको बिहान पनि तर हुस्सुको पाखीले छिनभरमै गम्लङ्ग छोपिदियो घामको झुल्कोलाई। राम्ररी नियाल्न नपाई हरायो आँखै अघिल्तिर त्यो अलौकिकझैं देखिने उज्यालोको डल्लो। झुलुक्क दर्शन दिएर र पलभरका लागि मात्र मुस्कुराएर अनुहार लुकायो घामले त्यो बिहान।
अहँ, तृप्त हुनै पाएनन् आँखाहरू। एउटा तस्बिरसम्म पनि खिच्न नभ्याइएकोमा मन थक्थकाउनु स्वाभाविकै थियो। मामुली कुरा कहाँ हो र त्यहाँ घाम उदाउँदा देखा पर्ने प्रकृतिको त्यो दिव्य मुस्कान?
अग्लाअग्ला पहाड, डाँडाकाँडा र हिमचुचुराहरूले सिँगारिएका छन् नेपालका धेरै भूभाग। पहाडी भूबनोटको एउटा आकर्षक परिवेशमा सजिएर बसेको छ इलाम पनि। इलामलाई चिनाउने कुराहरूमध्ये एक हो, अन्तुडाँडामा उदाउने घामको झुल्को। यहाँको नगरपालिकाको नाम नै सूर्योदय नगरपालिका। यसले पनि संकेत गर्छ त्यहाँको झुल्के घामको प्रसिद्धि। अझ लोकगीत नै गाइन्छ, ‘रेसमैको पछ्यौरी अल्झेछ जंगली काँडैमा, झुल्के घाम हेर्न कान्छी जाऊँ अन्तुडाँडैमा।’
नेपालको पूर्वी पहाडका केही पर्यटकीय गन्तव्यतिर डुल्न निस्केका थियौं हामी कात्तिकको अन्तिमतिर। घुमफिर तालिका सुरू भएको थियो इलामबाट नै। घुमफिरको मेलोमेसो मिलाएको थियो प्रकृतिप्रेमी समूहले। आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् र सहरका मान्छेलाई गाउँबारे अनि सुगमका बसेकालाई दुर्गमबारे प्रत्यक्ष जान्ने मौका मिलोस् भन्ने ध्येयले यस समूहले बेलाबेला घुमफिर गराउने गरेको छ।
कतै गाडीमा हुइँकिनु र कतै घन्टौं पैदल हिँडेर रमाउनु। प्रकृतिका अनेक छटालाई स्पर्श गर्नु र शारीरिक सबलता वृद्धिमा जोड दिन सिकाउनु। यस समूहले गराउने घुमफिरका आफ्नै विशेषता हुन्छन्। यसपटक केही लेखक, पत्रकारसमेत सहभागी भएर १० दिने भ्रमणमा जुटेका थियौ हामी। फरकफरक अनुभूतिका अध्याय त हरेक यात्रामा जोडिएका हुन्छन् नै। यो यात्रामा पनि आफ्नै प्रकारका रोचकताका रङहरू मिसिँदै थिए।
अन्तुडाँडाको झुल्केघाम हेर्न पुगेको बिहानभन्दा अघिल्लो बिहान गाडीबाट ओर्लिएका थियौं हामी कन्याममा। चिया बगान र प्राकृतिक सौन्दर्यका कारण चिनिएको छ यो ठाउँ। चियाका बुटाहरूले छोपिएका औधी राम्रा थुम्काथुम्कीहरू। आँखाले भ्याउन्जेल हरियाली नै हरियाली। भिरालाभिराला परेका जमिनको कलात्मकताले त्यत्तिकै मन हर्ने।
निकै चित्ताकर्षक परिवेश। घुमूँघुमूँ र हेरूँहेरूँ नै लागिरहने। यही कारण त इलाम घुम्न निस्कनेहरू कन्याम नपुगी फर्कने भेटिन गाह्रो पर्छ।
चियाका बुटा समातेर तस्बिर खिच्न पाउँदाका खुसी नाचिरहेका देखिन्थे त्यहाँ पुगेका मान्छेका अनुहारभरि। चियाका मुनालाई छुँदै चियाबारी डुल्दाको रमाइलो अर्कै। सोचेँ, यसैले त प्रकृतिवादीहरू भन्दा रहेछन्, ‘आनन्द खोज्न प्रकृतितिरै फर्क, प्रकृतिमै छ जीवनलाई चाहिने सबै कुराको मुहान।’
यसपटक हाम्रो इलाम घुमफिरका तीन गन्तव्य थिए, कन्याम, अन्तु र माईपोखरी। डेढ घन्टा जति समय कन्याममा बिताएपछि हामी लाग्यौं अन्तुतिर। बास बस्न पुग्नु नै पर्ने थियो अन्तुमा। त्यहाँ बास बस्न पुग्ने पर्यटकको एउटै उद्देश्य हुन्छ, भोलिपल्ट बिहान माथि डाँडामा चढेर सूर्योदयको भव्य सौन्दर्य नियाल्नु। हामी त्यता लाग्नुको ध्याउन्न पनि त्यही।
बिहानको खाना खान पुगिया बाटोमै पर्ने फिक्कलमा। पूर्वी इलामको व्यापारिक केन्द्र बनेको छ फिक्कल। छुर्पी, घिउ, अदुवा, अकबरे खुर्सानी, अलैंचीजस्ता कृषिजन्य सामग्रीहरू पनि खुब बिक्दा रहेछन् त्यहाँका पसलहरूमा। ती सबै स्थानीय उत्पादन। हरेक गाउँठाउँ त्यसरी नै उन्नतिमा लाग्नु राम्रो कुरा हो, आफ्नै उत्पादनको चिनारीमा जोडिएर।
नागबेली बाटो। पहाडी परिदृश्य। प्रकृतिका अनेक बिम्बहरूमा नजर डुलाउँदै अघि बढ्दा बिहानको ११ बज्नै लाग्दा पुगियो सिद्धिखोला। त्यो दिनको गाडीको यात्रालाई त्यहीँ बिट मारेर पदयात्रा सुरु गर्ने भयौं हामीले।
पदयात्रासम्बन्धी जानकारी दिँदै यात्रासंयोजक उमेश श्रेष्ठले भने, ‘साथीहरू, अब तीन घन्टाजति पैदल हिँड्ने छौं हामी यहाँबाट। करिब ९ किलोमिटर टाढा रहेको अन्तु डाँडा नजिकैको होमस्टेमा हुनेछ आजको हाम्रो बास।’
यात्रा गर्दा पैदल हिँड्नेले अझ नजिकबाट पढ्न सक्छ प्रकृतिलाई। सम्भव भएसम्म हरेक दिनजसो केही घन्टा हिँड्न नै जोड दिइएको थियो यस पटकको घुमघाममा पनि। पदयात्रामा लिन सकिने मज्जा नै छुट्टै। लाभैलाभ मात्र। अनेक फाइदा छन्, हिँडेर पुग्न सकिने ठाउँमा हिँडेर नै पुग्दाका। पदयात्राको अनुभवबाट मैले सिकेको पाठ यो।
हरिया पाखापखेरा। रमाइला रनवन। फटाफट हिँडियो उकालोतिरको बाटो। स्वच्छ र सुन्दर प्राकृतिक परिवेशमा रमाउँदै हिँड्दा जति हिँडे पनि थोरै जस्तो लाग्ने। प्रकृतिको मनोहारी कलाकरिताले कसको पो मन नभुलाउला र? हिँड्नुको आनन्द लिइयो मज्जैले।
अन्तुडाँडाको केही तल बाटोनजिकै रहेछ चिटिक्क परेको अन्तुपोखरी। त्यहाँका दृश्यमा पनि भुलियो केही बेर। वरपर घारीले घेरिएको दलदले माटोबीच सानो पोखरी थियो रे पहिले त्यो ठाउँमा। गाउँलेकै पहलमा खनेर पछि विस्तारित रूप दिइएको रहेछ। अन्तुडाँडा जाने पर्यटकहरू त्यहाँ केही बेर डुंगामा सयर गर्दै वरपरको सुन्दरता नियालेर रमाउँदा रहेछन्। हामीले पनि डुंगा चढेर एक फन्को लगायौं। अन्तुपोखरी संरक्षण समितिसमेत गठन गरेर व्यवस्थित गरिएको रहेछ यो ठाउँलाई।
‘सरसफाइलाई धेरै ध्यान दिएका छौं, कसैलाई थुक्न पनि दिँदैनौं हामी त यहाँ। शैक्षिक भ्रमण, अवलोकन भ्रमणका रूपमा विद्यालय, क्याम्पस र विभिन्न संघसस्थाहरूबाट समेत मान्छेहरू आइरहन्छन्, हेर्न, घुम्न र रमाउन। माथि डाँडामा पुगेर सूर्योदय हेर्न आउँने पर्यटकहरू यता पनि आउन छुटाउँदैनन्,’ त्यहीँ भेटिएकी अन्तुपोखरी संरक्षण समितिकी सदस्य कुमारी आले हामीसित गफिइन्।
त्यहाँबाट केही माथि रहेछ हामी बास बस्न पुग्नुपर्ने अन्तुडाँडा होमस्टे। उज्यालैमा पुगेका कारण गाउँको रमाइलो वातावरण अवलोकन गर्ने समय पनि मिल्यो। गाउँमा यताउता छरिएका चार दर्जन घरमा होमस्टे सुविधा रहेछन्। होमस्टेकी दिदीले स्नेह दर्साउँदै माला लगाइदिएर स्वागत गर्दा मन प्रसन्न भयो। गाउँ भनेको स्वच्छ मन भएका सरल मान्छेको बस्ती हो जस्तो लाग्छ। यस्ता गाउँघर पुग्दा आत्मीयताको आभास हुन्छ मलाई।
भोलिपल्ट बिहान ५ बजे नै उठेर लागियो अन्तुडाँडाको टुप्पोतिर। हिँडेर आधी घन्टा जतिमा पुगिने ठाउँ। घुइँचो जम्मा भइसकेको थियो हामी पुग्दा। सबैको व्यग्र प्रतीक्षा एउटै थियो, असामान्य लालित्यसहित त्यहाँ उदाउने घाम हेर्नु। कुहिरो अलि बाक्लैसँग निस्कियो त्यो बिहान। सूर्योदयको दृश्य राम्ररी देख्नै पाइएन। पलभरका लागि मात्र अनुहार देखाउन दिएर छोपेको छोपै गर्यो कुहिरोले उदाउँदै गरेको घामलाई।
धीत मर्ने गरी घाम उदाएको हेर्न नपाएपछि डाँडाका अग्लाअग्ला धुपीका रूखहरूसित बिदा मागेर ओरालो झरियो।
इलाम पुगेका बेला छुटाउँनै नहुने अर्को पर्यटकीय गन्तव्य हो, माईपोखरी। अन्तुडाँडाबाट इलाम बजार हुँदै माईपोखरीतिरै सोझियो हाम्रो यात्रा।
यसपटकको घुमफिरमा केही नयाँ साथीहरू पनि बने। विभिन्न पृष्ठभूमि, रुचि र उमेर समूहका मान्छेलाई प्रकृतिप्रेमी समूहको पहलमा भ्रमण गराइएको थियो। मूर्तिकलासम्बन्धी काम गर्ने ललितपुर निवासी तन्नेरी रितेश महर्जनको यो पहिलो भ्रमण रहेछ। उनी भन्दै थिए, ‘म यसरी टाढाको यात्रामा निस्किएको यो पहिलोचोटि होे। नितान्त नयाँ अनुभव मेरा लागि। प्रकृतिको काखपोल्टामा यसरी रमाउँन पाउँदा मानसिक रूपमा पनि राहत मिलेजस्तो महसुस भएको छ। दैनिक गरिने कामबाट केही दिनका लागि छुटकारा मिलाएर कहिलेकाहीँ यसरी घुम्नु राम्रो कुरा रहेछ।’
‘म २०७० देखि यात्रामा निस्कन थालेको हो। उपत्यकाका विभिन्न ठाउको हाइकिङ अनुभव भए पनि प्रकृतिप्रमी समूहसँग हिँडेको लामो यात्रा चाहिँ यो तेस्रो। यसअघि कास्की र गोरखातिरका केही ठाउँ घुम्दा पनि यस्तै रमाइलो लागेको थियो। आन्तरिक पर्यटनका दृष्टिले हेर्दा घुम्नलायक गन्तव्यहरू धेरै छन् हाम्रो देशमा। पर्यटन प्रवर्द्धनलाई टेवा पुग्ने यस्ता अभियानहरू चल्नु राम्रो संकेत हो,’ ललितपुरकै निर्माण सामग्री व्यापारी कञ्चन थापाले आफ्नो अनुभव सुनाए।
अन्तुबाट इलाम बजार पुगेर बिहानको खानपिन गर्दा केही बेर अलमल भयो। इलाम बजारबाट केही परसम्म गाडीमा हुइँकिएपछि फेरि पदयात्रामा नै जुटियो। अलि माथितिर लागेपछि देखिए चिटिक्क परेका काठे घरहरू। घरआँगन फूलैफूलले सजिएका। सफासुग्घर त्यस्तै। कतै पढेको वा सुनेको कुनै दार्शनिकले कुनै बेला, कुनै सन्दर्भमा भनेको भनाइ झलक्क सम्झिएँ, ‘यदि तिमीसित दुई पैसा छ भने एक पैसाले रोटी किन्नू, अर्को पैसाले फूल। रोटीले जीवन मिल्छ र फूलले जीवन बाँच्ने कला सिकाउँछ।’
कागतेपानी, जस्बिरे, चाँपगैरी, दारीभञ्ज्याङजस्ता रमाइला गाउँबस्तीहरू हेर्दै पुगियो माईपोखरी। इलाम बजारबाट १५ किलोमिटर जति उत्तरमा पर्ने रहेछ यो ठाउँ। आकाशतिर यसो हेर्दा बाँकी नै थियो एक जुवा घाम।
विशाल पोखरी र छेउछाउतिर हरियाली नै हरियाली। परिवेशले नै मोहित बनायो मनलाई। आराम गरेर बस्ने र हिँडेको थकाई मेट्नेतिर लाग्नुभन्दा पनि पोखरीकै छेउछाउतिर टहलिने आतुरी बढ्यो।
माईपोखरी नजिकै रहेछ शेर्पाजीको होटेल। कोठामा झोला बिसाएपछि अँध्यारोले बाटो नछेकुन्जेल माईपोखरीको किनार पछ्याइरह्यौं।
प्राकृतिक सुन्दरता र जैविक विविधताका दृष्टिले विशेष छ, माईपोखरी क्षेत्र। नौवटा कुना भएको र तारा आकृतिको छ भनिन्छ यो पोखरी। पोखरी यसरी फैलिएको छ कि एक कुनाबाट अर्को कुना देख्न सकिन्न। पहाडी थाप्लोको अडिएको यति विशाल र आकर्षक जलाशयलाई हेरेर हत्तपत्त को अघाउनु?
माई अर्थात् आमा वा देवी र पोखरी अर्थात् तलाउ। माईपोखरीलाई परापूर्वदेखि नै श्रद्धाका साथ हेरिँदै आइएको छ। यहाँ मन्दिर, कुटी, चौतारी, फूलका बगैँचा, पैदल मार्गजस्ता आकर्षणहरू पनि छन्।
माईपोखरी आसपास ९० हेक्टर जमिनमा फैलिएको सिमसार क्षेत्र। त्यसैको १० हेक्टर जतिमा छ मनमोहक जंगल। वरपर नियाल्दा विभिन्न प्रजातिका गुराँस, चाँप, कटुस, लौठसल्ला, गलैँचे झ्याउ लगायतका धेरै वनस्पति देख्न सकिन्छ। किसिम-किसिमका जीवजन्तुको वासस्थान। आ-आफ्नै तानामा गाइरहेका भेटिन्छन् अनेकौं रङ र आकृतिका चराचुरुंगीहरू। प्रकृतिको खुला पाठशालामा छु जस्तो लाग्छ त्यहाँ पुग्दा।
थरीथरीका पर्यटकका रोजाइमा पर्छ माईपोखरी। धार्मिक आस्थाभाव प्रकट गर्न पुग्छन् कोही, प्राकृतिक सुन्दरताको अवलोकन गर्न जान्छन् कोही अनि कसैको रुचि चाहिँ त्यहाँको भव्य पर्यावरणीय पक्षको अध्ययन गर्नु हुने गर्छ।
प्रकृतिप्रेमी समूहकी शर्मिला श्रेष्ठ पहिलोचोटि माईपोखरी पुग्दा दंगदास देखिइन्। काठमाडौंमा जन्मेहुर्केकी उनले आफ्नो मनको पोयो फुकाइन्, ‘शान्त, स्वच्छ र सुन्दर यस्ता ठाउँमा आइपुग्दा मानसिक शान्ति मिल्छ मलाई। खुसी हुन्छ मन। मनोबल बढाउन र स्वास्थ्य राम्रो राख्न पनि बेलाबेला घुम्ने गर्छु। आहार, विचार र विहारलाई ध्यान दिए मात्र स्वस्थ र खुसी जीवन बाँच्न सकिन्छ।’
आहा, राम्रा कुरा पो गरिन् त शर्मिलाले! हो, कृत्रिम र यान्त्रिक जीवनमा मात्र सीमित हुन लागियो भने शान्तिको श्वास फेर्न कहाँ सकिन्छ र? स्वास्थ्य नै मुख्य धन, खुसी नै प्रमुख प्राप्ति। यति भए पो जीवन जीवनजस्तो हुन्छ।
पोखरी क्षेत्रको वरपर डुल्दा दुई घन्टा बितेको पत्तै पाइएन। हेरेर अघाएकै थिएनन् आँखाहरू। घुमेर थाकेकै थिएन मन। बाक्लिँदै गरेको साँझले छेकबार लगायो र मात्र फर्किनुपर्ने भयो।
माईपोखरीको पानी शिरमा चढाएर फर्किएँ म त्यो साँझ बास बस्ने ठाउँमा।