चुकुल खोज्नै सकस भो। अँध्यारोमा के कता के कता। बत्तीको स्विचको पनि अत्तो न पत्तो। सानो फुच्चे टर्च पनि ब्यागको कुन कुनोमा जाकिया छ कुन्नि। टर्च खोज्नै अर्को टर्च चाहिएला जस्तो। झ्वाट्ट सम्झेर छामछाम छुमछुम गर्दै सिरानी मुन्तिरबाट मोबाइल झिकेर टर्च बालेँ। बल्ल चुकुल देखियो। अर्को डसनामा सुतेका साथीलाई डिस्टर्व नहोस् भनेर बिरालोको चाल मार्दै सकेसम्म कम आवाज निकालेर चुकुल खोलेँ। ढोका खुल्यो।
बाहिरको चिसो सिरेटोले अनुहारमा झ्याप्पै हान्यो। टाउको हल्का भारी थियो। चिसोले थोरै सञ्चो गर्यो। ढोकालाई पछाडिबाट धप्काएर एउटा हात काखीमा च्याप्दै घरको पल्लो छेउमा रहेको ट्वाईलेट तिर कुदेँ। थकाई मार्ने निहुँमा चिसोलाई सुद्द परवाह नगरी धोकेको दुई बोतल बियरको करामतले गर्दा शुद्ध राति ट्वाईलेट धाउनु पर्यो। यो बियर भन्या चीजले पनि झुरै गर्ने। मनमनै सोचेँ।
चकमन्न रात। एकै बजिसक्या हुँदो हो। निष्पट अँध्यारो। पारि दक्षिण पश्चिमतिरको डाँडाको थाप्लोमा भाचोक गाउँ पो हो क्यारे। टिलपिल गर्दै दुईचारटा बत्ती बल्दै थिए त्यता। जाडोले होला किरोफट्याङ्ग्रोहरु आ-आफ्ना वासस्थानमा ‘हाईबर्नेट’मा थिए। त्यही भएर एकतमासको सन्नाटा छाएको थियो। माथि बनपाखा तिर कुन पो चरो हो, यति राति पनि नसुती दश पन्ध्र सेकेण्डको अन्तरालमा सुइट सुइट गर्दै लेघ्रो तान्दै कराउँदै थिए। पल्लो घरको गोठमा गाईवस्तु रैछ क्यारे, मधुरो घट्र्याक्क आवाज आयो। ट्वाईलेटको बाहिरै स्विच रैछ धन्न, खोज्नु चैं परेन। जिउ हल्का गरीवरी निस्केपछि ट्वाइलेटको ढोका धप्काएँ।
घरको मुन्तिर बारीको कान्ला र त्यो भन्दा पनि मुनि चैं बन। ज्याद्रो चिसोमा धेरै बाहिर के बस्नु। न्यानो ओछ्यानको कल्पना गर्दै कोठातिर फर्किंदै मात्र थिएँ कि कान्ला तिर केही कुरो सरक्क गाको जस्तो भान भो। आँखाको दाहिने कुनोले कुनै चीज सर्लक्क तल बनतिर सरेको हो कि जस्तो लाग्यो। टक्क अडिएर अँध्यारोमा नियाल्ने कोशिस गरेँ, तर हाँडीघोप्टे अँध्यारोमा के पो ठम्याउन सक्नु। आँखा च्याति च्याति हेर्दा नि कुनै मेसो लागेन।
के पो रैछ त्यो ? कुनै जनावर ? या मेरो कल्पना मात्रै ?
यस्तै सोच्दै मात्र थिएँ कि उतै मुन्तिरको बनबाट आएको मधुरो सर्याक्क आवाजले मलाई झस्कायो। हो कि हैन जस्तो गुनगुन आवाज मेरो कानमा पर्यो। जसरी कोई भुत्भुताउँछन् नि, हो, त्यसरी नै। अब भने मेरो मनमा ढ्याङ्ग्रो बज्न थाल्यो। कन्सिरी र निधार माथिको कपाल चरक्क भो। पेट अररो भा जस्तो भो। डर चढेछ, मन हुँदै दिमागमा। के हो भन्ने कौतुहलता मेटाउनु भन्दा पनि कोठाको सुरक्षा घेराभित्र आफूलाई हुल्न मन हतारियो। हत्त न पत्त कोठा छिरेर चुकुल लगाएँ। सिरक भित्र गुत्मुतिएँ।
दिमागमा प्रश्नै प्रश्न। के रहेछ त्यो ? के को आवाज हो ? यति राति कोही बनै बन किन पो हिंड्दो हो ? कतै बियरको रन्को त हैन ? दिग्भ्रमित बनाएको त हैन ? तर जाबो दुई बोतलले यति साह्रो त नहुनुपर्ने।
यस्तै यस्तै सोच्दासोच्दै निक्कै बेर पछि बल्ल तल्ल निदाउन सकेँ।
***
पाँच दिन अघि...
लामै पदयात्रामा निस्किने सल्लाह भए अनुसार बेसीशहरबाट पोखरा निस्किने गुरुङ्ग हेरिटेज ट्रेल छिचोल्ने तय भो। अन्दाजी पाँच छ दिनको ट्रेकिङ्गमा सहभागी हुने भए हिंड्न जाँगर चलेका विभिन्न उमेरकाहरुको समूह - जसलाई पछि हामी यात्री द हाईकर्स भन्न थाल्यौं।
असोज महिना। कोजाग्रत पूर्णेको दिन यात्रा शुरु भो। दशैं भर्खरै सकेको। चाड मानेर फर्किनेहरुको भिडभाड कलङ्कीतिर तड्कारै देखिन्थ्यो। हाम्रो यात्रा आठ नौ बजेतिर त्यहीँबाट शुरु भो। पृथ्वी राजमार्गको डुम्रे बजारबाट छुट्टिएर उत्तरतिर लाग्यो हामी चढेको गाडी। दाहिनेतिर गोरखाको लिगलिगकोट डाँडा अनि लमजुङ्गको राइनासकोट डाँडाका टुप्पोहरुलाई बादलले ढाकेका थिए। धानका हरिया बालाले छपक्कै ढाकेका खेतहरुको छेवैछेउ गुड्दागुड्दै गाडीले हामीलाई एक बजे तिर पुर्यायो लमजुङ्ग जिल्लाको सदरमुकाम - बेसीशहर।
यहाँबाट मर्स्याङ्गदी तिरैतिर उत्तरतर्फ लागे खुदी बजार पुगिन्छ। त्यहाँबाट पनि उत्तरै लागेर कार्तेदेखि पश्चिम लागे चामे पुगिन्छ। एड्भेन्चर खोज्नेहरु त्यहाँबाट पिसाङ्ग अनि मनाङ्ग हुँदै संसारको सबैभन्दा उचाईमा रहेको ताल तिलिचो पुग्छन्, अनि उतै उतै उत्तरतिर थोरुङ्ग ला पास काटेर मुक्तिनाथ हुँदै जोमसोम झर्छन्। हामी चैं घलेगाउँ जानेहरु देब्रेतिर मोडियौं।
उतैबाट गाडी भनिराख्या थियौं फोनमा। आई पनि पुग्यो। अनि एकैछिनको अलमल पछि हामीलाई बोकेर हुईंकियो नै पनि। साथमा उतैका स्थानीयहरु दुईचारजना पनि बसे। ठाउँ थियो, हामीले नाइँनास्ती गरेनौं। गाडी उकालै उकालो चढ्दै गर्दा बाग्लुङ्गपानी नपुग्दैको डांडाबाट तल्तिर हेर्दा पूर्वतिर मर्स्याङ्गदीको किनारमा बेसीशहर गुच्चमुच्च परेको देखियो।
कपुरगाउँमा हामीसंगै आएकाहरु उत्रे। सम्साँझ तिर घले गाउँ पुग्दा मौसम धुम्म थियो। गाउँमा सिष्टम चैं राम्रो बसालेको रैछ। अतिथिहरुलाई स्थानीय समिति मार्फत् पालो मिलाएर गाउँका घर घरमा होमस्टेका लागि व्यवस्था गरिने रैछ। यसको राम्रो पक्ष भनेको हरेक घरले अतिथि सत्कारको बराबरी अवसर पाउने त भए नै, ग्राहक तानातानले निम्तिन सक्ने आपसी मनमुटाव पनि रहेन।
डाँडा भरि उस्तै उस्तै देखिने दुई तल्ले माटोको गारोले बनेका घरहरुको झुण्ड। खिया परेका जस्ताका छानोहरु टाढाबाट हेर्दा झिङ्गटीका छानो झैं लाग्ने। नयाँ छानो छाउने क्रममा ठाउँ ठाउँमा प्रयोग भएका नीला जस्तापातो के नमिल्या के नमिल्या जस्तो। टालिटुली गर्र्या जस्तो। सिनित्त परेका ढुङ्गा छापिएका गोरेटाहरु भने गाउँ भरि सबैतिर उस्तै।
कोदोको ढिंडो - रातिको हाम्रो डिनर। खानपानपछि आफ्ना आफ्ना गुँडमा गुडुल्कियौं।
***
बिहान सखारै चटारोमा उठियो। चटारोमै कुदियो। केही माथि डाँडामा रहेको भ्यू प्वाईन्टबाट सूर्योदयको नजारा हेर्ने जमर्को जो गरियो।
सफा मौसम। झिसमिसेको अँध्यारो बिस्तारै हट्दै जाँदा उत्तरको हिमाली परिदृश्य मनै लोभिने गरी अगाडि छ्याङ्ग देखियो। सूर्यको किरण पर्दै जाँदा शिखरहरु पालैसित जाज्वल्यमान हुन थाले। सबैभन्दा नजिकको लमजुङ्ग हिमाल। त्यसको देब्रेतिर अन्नपूर्ण। दाहिने पृष्ठभूमिमा मनास्लु र हिमालचुली। यी दुईका बीचमा ङादी चुली, जसलाई नेपालका विख्यात मानवशास्त्री तथा भूगोलविद्को सम्मानमा पुनः नामाकरण गरियो - डाक्टर हर्क गुरुङ चुली भनेर। लम्जुङ्गमा जन्मिएका डाक्टर साहेब यस जिल्लाका मात्र नभै देशकै शान हुन्। दुर्भाग्यवस यिनको सन् २००६ मा हेलिकप्टर दुर्घटनामा मृत्यु भयो।
ब्रेकफाष्टमा भने कहिल्यै नदेखेको अनि नचाखेको कोदोको सेलरोटीले हाम्रो मन लोभ्यायो। बिदावारीको बेला घरका ठालुहरुले सेतो चामलको टिका अनि बनफूलको माला लगाएर बिदाई गरे। अतिथिको सत्कार कसरी गर्ने कोही यिनीहरुसँग सिकुन्।
गाउँको बाहिर रहेको उत्तरकन्या देवीको दर्शन पश्चात् प्रसन्न चित्त सहित हामीले शुरु गर्यौं हाम्रो पदयात्रा।
घमाइलो मौसम। पारिलो घाम। तेर्सो बाटो। उत्तर तर्फ हिमाल टलक्कै थियो। काठमाण्डौतिर तुँवालोले छोपिएका धमिला पहाड देख्दै आएका हामी यताका सफा अनि निख्खर हरिया पहाडहरु देख्न पाउँदा आँखाले पाउनु शीतलता पायो।
हामी मध्येका एक पदयात्री यो रमणीय वातावरणमा बहकिँदै आफ्नै तालमा भाका हाल्न थाले।
तालकोपानी, चिसोनचिसो, पिउनसारोभो
बैनीकोबोली, मिठोनमिठो, नबोल्नगारोभो
कहिल्यै नसुनेको गानाको भाका टिपेर हामी पनि उनैसँग तालमा ताल मिलायौं। अर्का एक त फनफनी नाचि नै पनि हाले।
गाउने हुन् हँसमुख काशीराम। साह्रै रमाइलो गर्नुपर्ने। रसिक मिजाजका अनि बिरलै रिसाउने। नाच्ने चैं सन्तोष। उनकै भाषामा भन्नु पर्दा यिनी ‘भिषा क्यान्सिल’ भाको मान्छे। छ वर्ष जति अगाडि भयङ्कर बाईक एक्सिडेन्टबाट बाँचेको हुनाले बोनसमा पाएको जिन्दगी भरपूर जिउन खोज्छन्।
पदयात्राका अर्का मित्र हुन् अशोक। खाँटी भेजिटेरियन अनि योगा फ्रीक। साह्रै मिजासिलो। अन्तिम चैं हामी सबैका भाइ। राजु। दुब्लो दुब्लो खिरिलो ज्यान। झ्वाट्ट हेर्दा हिंड्ने खालको देखिन्न, तर नपत्याउने पाराले हिंड्न खुब सक्छन्।
बाटो भन्दा थोरै मास्तिर रैछ घनपोखरा। यहाँसम्म आएपछि पसेरै जाम भन्ने कुरो भो र हामी लाग्यौं उकालो। सानो मनोरम गाउँ। दक्षिण फर्केर हेर्दा भर्खर छोडेर आको घलेगाउँ प्रष्टै देखियो। होमस्टेहरु यहाँ पनि रैछन्। पँधेरोमा पानी थाप्दै गरेका नानीहरु फरासिला। एकै छिन पानी खाने निहुँमा बसिबियाँलो पनि गरियो। ‘यतै पो बस्न आउनु पर्ने रैछ’, घनपोखराको ओरालो झर्दै गर्दा हामी मध्येका एकले जिस्किंदै भन्दा सबैमा हाँसो छायो। बाटो काट्ने मेलो।
गन्तव्य अबको - भुजुङ्ग। मोटरै गुड्ने बाटो हुँदा हुँदै पनि गाडी एउटै चलेको छैन। बीच बीचमा बाटो बिग्रेको हुँदो हो भन्ने अनुमान गरेँ। हुन पनि हो रैछ। ठाउँ ठाउँमा गाडी पार गर्न नसकिने खाल्डाखुल्डी रैछन्।
साढे चार घण्टाको हिंडाई पश्चात् एक बजेतिर हामी भुजुङ्गको पूर्वी गेट छिर्यौं। यतै पनि चियाबारी रैछ। देख्दा अचम्म लाग्यो। कोदोबाली त बाटै भरि देखियो। खुम्चिएका मुट्ठी हात जस्ता देखिने गाढा हरिया कोदोका झुप्पोहरु खेतै भरि झुल्दै थिए। गाउँ पसेपछि बस्ने चाँजोपाँजो मिलाउनै पर्यो। हामीले छान्यौं, एक्यापका टिक गुरुङको होमस्टे नम्बर दश।
भुजुङ्ग हेर्दा घलेगाउँ जस्तै, तर ठूलो। पछि घुम्दै पल्लो डाँडा पुगेर त्यताबाट हेर्दा पो गाउँ पूरै देखियो। स्लेट र जस्ताले छाएका उस्तै देखिने घरहरुको गुच्चुमुच्चु परेको बस्ती, हल्का भिरालोमा। गाउँ साह्रै राम्रो, तर एउटै खट्किने कुरो के भन्दा’नि यो अलि खोँचमा पर्ने भएकोले घलेगाउँबाट जतिको हिमाल चैं नदेखिने। उत्तरतिर पहाडको माथि घाँटी तन्काउँदै गरेको कांग गुरु हिमालको चोसोसम्म देखिँदो रैछ।
संयोग नै भनूँ, त्यो दिन गाउँ बिउँतेको थियो। दुई भिन्न ठाउँका नाचगानले माहौल संगीतमय थियो। तर दुई ठाउँका भिन्न माहौल... भिन्न नाच। एक ठाउँमा जीवनको नौलो शुरुआतको खुशियालीको ठट्यौली नाच - बिहेको नाच। अर्कोतिर भने जीवन अन्त्यको दुखेसो भुलाउन नचाईएको घाटु नाच। दुई गुरुङसेनीहरु जिउलाई अररो पाराले मर्काई मर्काई सुस्त सुस्त गतिमा नाच्दै थिए। पहिलो चोटि देख्दै थिएँ घाटु नाचेको। संगीतको तालले मन कटक्कै खायो।
भोलिपल्ट यहाँ पनि उस्तै बिदावारि। टिकोटालो - लाहुरै लाग्याहरुलाई झैं गरी। रातो फूल कानमा सिउरेर हामी ओरालो लाग्यौं। मिदिम खोला तरेपछि बाटो ठाडो उकालो। डाँडाको टुप्पो पुग्दा नपुग्दै ओसले भेट्न थालेपछि अनगिन्ती जुकाहरु सल्बलाउन थालिहाले। हुँदा हुँदा वाकिङ्ग स्टिकमा सुद्द बित्ता नाप्दै उक्लिने। डाँडाको टुप्पो पुगेपछि बल्ल त्राण पाईयो। पौने दुई घण्टा ओर्लेपछि पसगाउँको मूल द्वार छिचोल्यौँ।
यताउति सोधखोज गरेर पदम बहादुर गुरुङको होमस्टेमा बास माग्ने भयौं। दिदी भाइ मिलेर खोलेको रहेछ यो होमस्टे। दिदी चैं अविवाहित। पदम दाइका सन्तान भने आ-आफ्ना सपना पछ्याउँदै को कता को कता। आखिरमा आएर बुढेसकालका सहारा बालाका आफन्त - दिदी अनि भाइ। एक सन्तानै नभएका, अर्का भएर पनि नभएका।
अर्को दिन यानि हाम्रो चौथो दिनको यात्रा भने अविष्मरणीय रह्यो।
झिसमिसेमै पसगाउँबाट बिदाई भएर ओरालो लाग्यौं। दाहिनेतर्फ अर्को डाँडाको काखमा लमतन्न सुतेको सिङदी गाउँ, यता तिरको डाँडाको छाँयाले छपक्कै छोपेको थियो। हेर्दा हेर्दै दिन चढ्दै जाँदा घामले भेट्दै गयो, छाँया हट्दै गयो। गाउँको लाम्चो बनोट प्रष्टियो। खोँचतिर फाट्ट फुट्ट हुस्सुका पोकाहरु यत्र तत्र देखिन्थे। ढुंगाले छापिएका गोरेटो झर्दै झर्दै चौतारो पुग्दा भर्खर सात बजेछ। यहाँ नेर बाटो दुई तिर बाँडिदा हामी अक्मकियौं। जानु पर्ने बगैंचा भन्ने ठाउँ। कुन बाटो भनेर सोध्नलाई किरोमुसो थिएन, न साइनबोर्ड नै थियो।
जे पर्ला पर्ला भनेर देब्रे लाग्ने निर्णय गर्यौं। तर हामीलाई के थाहा निर्णय गलत थियो भनेर। ओर्लिंदै जाँदा बल्ल भेउ पाउन थालियो। मान्छे नहिंड्ने बाटो, चिप्लो अनि झारपातले असरल्ल। फर्किनलाई पनि निक्कै तल झरिसकेका थियौं। त्यसमाथि खोँच तिर परेको सेपिलो ठाउँमा त जुकाको रजाईं नै चल्दै रैछ... स्याउँ स्याउँ। जुकाको गुजुल्टो छल्ने भाको सन्तोष तीन बल्ड्याङ्ग खाए। रुखको टोड्को नाघ्ने हुँदा म पनि पछारिएँ। लड्दा घडी हातबाट फुत्किसकेछ। फेदीमा मिदिम खोला पुग्दा पो याद भो। धन्न, जाँगरिला अशोक र सन्तोषले भेट्टाएर ल्याईदिए। बाटो कता हो कता... झ्याङ्ग छिर्दै, खोलो तर्दै बल्ल तल्ल बगैंचा पुगियो। फर्केर हेर्दा माथि डाँडाको थाप्लोमा पसगाउँ हाम्रो हविगत देखेर खुचिङ्ग गर्दै हाँसे झैं लाग्यो।
थिलथिलो ज्यान लिएर पाँच बजेतिर हामी नागीधार पुग्यौं। पदयात्राकै बाटो छेउछाउ रहेको सानो गाउँ - डाँडाको थुम्कोमा। उत्तर तिर मिजुरे डाँडा। पश्चिमतिर भाचोक। तल फेदतिर कतै पहरे खोलो बग्दै थियो।
होमस्टे एउटै रैछ। तर घरवालाहरुकै पाहुना लाग्या भएर दुईटा सिवाय कोठा पाउने भएनौं। एउटा कोठा पुगेन। खाना यतै खाने गरि अरु कुनै घरमा बास मिलाईदिने भएपछि कुरो मिल्यो। एउटा फुच्चे केटोलाई अह्राई पठाई होमस्टेकी दिदीले। म र अशोक पछि लाग्यौं। चार घर जति तल बनको छेवैको घरमा फुच्चेले पुर्र्यायो। हामीतिर औंला सोझ्याउँदै कुन्नि के पो कुरा गरे, त्यहीँ घर छेउ टुसुक्क बसेकी बूढी आमैसँग। लगत्तै खुरुरु कुद्दै फर्कि पनि हाले। हाम्रो नमस्कार फर्काउने झञ्झटै नगरी आमै ठसठस कन्दै उठेर गई छिँडीको कोठा खोल्दिई। कोठा छरपष्ट रहेछ। भुइँमै दुईटा डसना लाग्या थिए। लाग्या के भन्नु, फालिया थिए भन्दा नि भो। रात जसरी भए पनि गुजार्नु थियो। तानतुन पारेर डसनालाई सुत्न लायक बनायौं।
आँगनमा चार जना स-साना नानीहरु खेल्दै थिए, अन्दाजी चार देखि दश वर्षका झैं लाग्थे। सबभन्दा ठूली चैं लाई बोलाएर कुरा गर्दा ती बूढी आमै तिनका हजुरआमा रैछिन् भन्ने थाहा भो। बाउ नयाँ बजार गाका छन् रे। आमाको बारे सोध्दै थिएँ, खै किन हो ठुस्केर पो गई।
थाकेको ज्यानलाई आराम दिने निहुँ न चाहिया हो। खानपिन शुरु भो होमस्टेको एउटा कोठोमा। खाना भन्दा पिनामा जोड। दुई दुई बोतल बियरको रमरमले थकाईलाई थान्को लगाउँदै म र अशोक तल्तिरको हाम्रो बासमा फर्क्यौं। डसना अप्ठेरो भएर हो क्यारे निद्रा पर्ने नामै लिएन। साथी निदाई हाले। मेरो पो बिजोग। बियरको प्रताप, ट्वाईलेटले अचाक्ली बोलायो।
ढोकाको चुकुल खोज्नै सकस भो। अँध्यारोमा के कता के कता। मोबाईलको टर्चको सहायताले चुकुल खोलिवरि ठिही सहँदै ट्वाईलेट पुगेर फर्किंदै गर्दा तल बनतिर बाट आएको सर्र्याक सुरुक अनि खासखुस आवाजले जिउमा चढेको नशा स्वाहा पारिदियो। सातो लियो। दिमाग भरि प्रश्नै प्रश्न लिएर कोठाभित्र कुदेँ। के रैछ त्यो ? के को आवाज थियो ? यति राति कोही बनै बन किन पो हिंड्दो हो ? कतै बियरको रन्को त हैन ? दिग्भ्रमित बनाएको त हैन ? यही सोच्दासोच्दै निक्कै बेर पछि बल्ल तल्ल निदाएको थिएँ।
बिहान हुँदा अघिल्लो रातको घटना सपना जस्तो लाग्यो। तर कुराको रहस्य खोतल्ने हुतहुतीले मनमा बास गर्र्यो। त्यही भएर अरु साथीहरु गाउँ मुनिको सत्यदेवी मन्दिर दर्शन गर्न जाउञ्जेल म भने होमस्टेकी दिदीसँग भलाकुसारी गर्न तिर लागेँ।
रातिको कुरो सुनाएँ। अप्ठेरै लागेपनि आफू डराएको कुरो नढाँटी बताएँ। त्यो घरमा तर्साउने पो गर्र्या छ कि भनेर सोधेँ। मेरो कुरो सुनेर उनी छक्क परि। अनुहारको भाव भने लुकाउन खोजिन्। अनि फेरि कुरो टार्न खोजी। तर मैले सोधी सोधी र्र्याख र्र्याखै पारेपछि आजित भएर उनले जुन कुरा सुनाई, त्यो सुनेर म झसङ्ग भएँ।
***
‘नाम त क्या हो कुन्नि, तर सपैले माईली भन्थे। हामी नि तेई भन्थेम्।’ होमस्टेकी दिदीले कुरो शुरु गरी। ‘पान दिदीबैनीमा माईली चै भएर होला। म भन्दा दशै वर्षले कान्छी होली। गहतेकी थीन्। बिहे भएर यता आ’को बार वर्ष पैला। त्यो बेला यो होमस्टे खुलेकै थेन। मलाई खुप सघाउँथी। दिदीबैनी झैं थियम्। साह्रै जाती। खुप मिल्थेम्। बच्चाखुच्चा नउँदाखेरि निकै चन्चले थी। मेलापात भनेसि हुरुक्कै। लगालग दुईटी छोरी जन्मेपछि भने सुक्न थाली।’
हिजोको घटनासँग यो फेहरिस्त कसरी गाँसिने हो मैले कुनै भेउ पाईनँ। म सुन्दै गएँ।
‘फेरि पनि छोरी जन्माईन्। अनि त ईन्का दशा सुरु भै’गो। लोग्ने छोरोका लागि मरिहत्ते गर्ने। ईन्का पोल्टाँ छोरो नपर्ने। लस्करै तिन्तिन्ता छोरीका आमा बने’सि यसका स्वास्थे कुन गतिलो हुन्थ्यो नि बाबै। सुकेनासले छोको जस्तै लिखिर लिखिर पर्न थाली। बूढो सारै अलछिन। संधै रद्दाको। रक्सीको सुराँ संधै मारपिट। दुई छाक मीठोमसिनो आँताँ परेपो बचेरोलाई दूधले पुग्थ्यो। सुक्या लाम्टाले के पेट भरिनु। सानी छोरी पनि सुकेनासे भैनिस्की।’
‘चौथो पल्ट’नि छोरी पाएसि ईन्लाई लोग्ने र सासू मिलेर खुपै पिटेछन्। भागेर मकाँ बस्न आ’थीन्। मैनादिन त राखेँ, हेर्चार’नि गरेँ। तर आर्का स्वास्नी संधै काँ राख्न मिल्नु। फर्काएँ। हेलपोशको नानीले त भन्या थी ईन्लाई। अब आमा बने जोकिम छ भनेर। जिउ तेस्तरी गलिसक्या थ्यो। तर लोग्नेको छोरोको रहर मरेन। जसरी भेनि छोरो त चाइयो चाइयो। कुलै तुहिन त दिनु भएन। सौता नै सम्म हाल्ने कुरा गरेसि माईलीको हँसले ठाम छोडेछ। लोग्नेसँग बिन्तीभाउ गरिछ। अन्तिम चानस दिनु भनेर।’
दिदीले खुईय्य गरेको सुनेर पुलुक्क उनको अनुहार हेरेँ। अनुहारमा पीडा प्रष्टै देखिन्थ्यो। ‘अनि के भो दिदी ?’ मैले सोधेँ।
‘के हुनु सर। अन्तिम चानसले माईलीको ज्यान लियो। बच्चो उल्टो रैछ। जन्माउन नसकी मरी। आमा र नजन्मेकी अर्की छोरी - दुवै। हेलपोशसम्म लान पाको भए नि बाँच्थे कि। तर लोग्ने रक्सीले मात्तेर सुत्या बेलाँ राति बेथा लागेछ। आफ्नै घराँ छट्पटाई छट्पटाई मरिछे। कठै!’
कुरो सुनेर मन खिन्न भो। पुत्रमोह सर्वत्र व्याप्त छ। यो गाउँ किन पो अछुतो हुन्थ्यो। छोरा र छोरीमा अन्तर राख्नु हुन्न भन्दै ठूलाठूला कुरा हुन्छन्। गाउँ शहर जताततै ठूलाठाला कुर्लन्छन्। तर खै त यसको प्रभाव ? किन अझै अनाहकमा यसरी मर्दैछन् आमाहरु ? छोरी जन्माएकोमा किन महिला हिँसा रोकिन्न ? यी सबै प्रश्न अनुत्तरित छन्।
अँ, माईलीको कथाको गुढ कुरो भने अझै खुलेको थिएन। सोधेँ,
‘तर यो सपै सुनाउनुको मतलब मैले त बुझिनँ नि, दिदी।’
‘तपाईं हिजो सुत्नुभाको घर त्यै माईलीको हो नि।’
म हेरेको हेर्यै भएँ।
‘नराम्रो नमानुस्, सर। सारै दुखेसोमा परेकाहरु छन्। आमा नभाका चार चार्टा बच्चाहरु पाल्नु पर्ने। त्यही सम्झेर यता बढी भाको ग्राहक म उतै पठाम्छु। दुई चार पैसा आम्दानी गरून् न बिचरा।’
अनि एकै छिन टोलाएर भनी, ‘खै, पत्याउनु कि नपत्याउनु। आफ्ना छोरीहरुको मायाले माईली अझै आईबस्छ भन्छन्। सुन्छु सासू चैंले देख्ने गर्या छ रे। सातो लिन्छिन् रे। त्यही भएर होला बूढीले बेला बेलाँ छँटाइ पारा ल्याउँछे। एक्लो भा’बेलाँ फत्फताउँछिन्। उहिले बुहारी कुट्या पाप ला’होला नि बरा।’
हुन पनि यस्तो कुरा पत्याउनु कि नपत्याउनु। के साँची मायामोहको जालोले आत्मालाई मुक्त हुनबाट वञ्चित गर्छ त ? कल्पिने सोच्ने भौतिक दिलोदिमाग नष्ट भएपछि पनि सांसारिक आसक्तिमा अल्झि बस्नलाई आत्माको नै पनि छुट्टै दिलोदिमाग हुन्छ त ? आफ्नै छुट्टै पद्धति हुन्छ त ? प्रश्नै त हो। अनुत्तरित रहनु आफ्नो ठाउँमा। पत्याउनु नपत्याउनु पनि आफ्नै ठाउँमा।
तर यी दिदीले भने मेरो रातको अनौठो घटना पत्याउने नै भए। अनि त माईलीको कथा सुनाए।
साथीहरु फर्केर आए। हिँड्ने तरखरमा लाग्यौँ। त्यो दिन पोखरा पुग्नु थियो। लामो न लामो बाटो। अलमलिने बेला थिएन। रात बिताएको छिँडीको कोठामा गुन्टा लिन गएँ। माईलीको घरमा। बच्चाहरु कोही थिएनन्। कोठा छिर्दा सोच्न पुगेँ कि कतै यही त हैन माईलीले त्यो रात तड्पी तड्पी प्राण त्यागेको ठाउँ ? म सुतेको यही डसनामै पो हो कि लमतन्न परेकी ? सिकसिक लाग्दो विचारलाई भाँजो हाल्दै कोठाबाट निस्केँ।
साथी भित्र गुन्टा कस्दै थिए, त्यही भएर कुर्न पिँढीमा टुसुक्क बसेँ। उति नै खेर हिजोकै जस्तै भुत्भुताएको आवाजले मन भरङ्ग भयो। तल बनतिर बाट आवाज आउँदै थियो। हिजोको घटना स्मृतिमा बुर्कुसी मार्न थाल्यो। आँगनमा ओर्लेर यताउति हेर्न थालेँ। एउटा मलसाँप्रो झ्याङमा सर्र्याक गर्दै पस्यो। आवाज अनवरत आईरहेकै थियो। घरतिर फर्केँ। माथिल्लो तलाको झ्यालमा बूढी आमै एक्लै फत्फताउँदै रैछिन्। उनकै आवाज तल कान्लातिर ठोक्किएर फर्किंदा तल बनबाट आवाज आएको भान पर्ने रैछ। हिजो रातिको सर्याक सुर्युक अनि भुत्भुताएको आवाजको रहस्य खुल्यो। एक्लै हाँसेँ, हिजो राति आफ्नो सातो गाको सम्झेर। डरले मान्छेको सुधी हराउँछ भनेको हो रैछ।
लगत्तै हिंडी नै पनि हाल्यौं। पाखुरीकोट, गहते हुँदै थुम्सिकोट पुगेर खाना खाँदा दिउँसोको तीनै बज्न आँटिसक्या थियो। सौरे भञ्ज्याङ् पुग्दा त झन् साँझै पर्र्यो। बाईस किलोमिटरको हिँडाईले लखतरान परिसक्या थियौं। तर यहाँबाट बेगनास ताल देखिएपछि भने जाँगर चल्यो। पोखरा ठ्याक्कै पुग्न नसके पनि खुदीमै भए पनि बास बस्न पाउने कुरोले थकित खुट्टो रमायो। बेगनासको ओरालो गम्ल्याङ गुम्लुङ झर्ने क्रममा म पछाडि परेँ।
म भन्दा केही अगाडि एक महिला सुस्त तालले हिँड्दै थिई। साथमा तीन स-साना नानीहरुलाई माला बनाएर डोर्र्याउँदै लग्दै थिईन्। साँघुरो गोरेटोमा उछिन्न नमिलेर पछि नलागी सुखै भएन। यसो हेर्दा तिनी दुई जिउकी जस्ती देखिन्थी। पछि पछि हिंड्दै गर्दा मनमा कुरो खेल्यो। तीन तीन वटी छोरीहरुकी आमा यिनी आफ्नो चौथो सन्तान छोरै होस् भनेर भाकल गर्दी पो हो कि ? सायद यिनलाई पनि यिनका लोग्नेले अन्तिम ‘चानस’ दिएका पो छन् कि ? थोरै तल पुगे पछि तिनीहरु दाहिनेतिर मोडिए। म साथीहरुलाई भेट्टाउन छिट्छिटो पाईला चाल्दै ओरालो झर्न थालेँ। अनुत्तरित प्रश्नहरुले भने मलाई पछ्याईरह्यो।
*समाप्त*