तालै ताल, मैदान, सिमसार क्षेत्र, प्राकृतिक सम्पदाले भरीपूर्ण छ रामारोशन क्षेत्र।
समुन्द्र सतहदेखि २०५०देखि ३७९२ मिटर उचाईमा फैलिएको रामारोशन इतिहास, प्राकृतिक सौन्दर्यता, आध्यात्मिक र जैविक विविधताको सुन्दर बगैचा हो।
कैलाश खोलाको मुहान रहको रामारोशनमा प्रसस्तै गुफा र झरना छन्। साथै अनेकन जंगली जनावर र पंक्षीको बास्थानसमेत रहेको यहाँ थुप्रै मैदानहरू छन्, ती मध्ये मुख्य किनिमिनी, रामे र रोशन हुन्।
रामे नामको गोठालाले सुरूमा गोठ राखेको थियो। करिब आधा घण्टाको दूरीमा रमाईलो र रसिलो ठूलो मैदान छ, यी दुवै मैदान जोडेर स्थानीयले रामेरसुन भन्न थाले, पछि अपभ्रंस हुँदै रामारोशन हुन पुगेको स्थानीय बताउँछन्।
गत साल ‘खप्तड काब्य यात्रा २०७५’ को सिलसिलामा सिलगढीबाट झिंग्रानाहुँदै खप्तड पुगेको थियौं।
यसपाली अछामेली युवा खगेन्द्र साउद र रूपेश साउदले रामारोशन घुम्ने तारतम्य मिलाए।
काठमाडौंबाट धनगढीसम्म रात्री बस र फेरि अत्तरियाबाट अछामको लागि रात्री बस नै चढ्यौं। यात्रामा इन्जिनियर सुनिल सर र अध्यात्मिक युवा अभियन्ता जनक शाह पनि थिए।
रात्री यात्रा, निस्पट्ट अध्यारोमा केही देख्न पाईएन। गाडी डडेलधुरा, डोटी र अछाम जिल्लाको झिलिमिलि पहाडी सहर र गाउँ पार गर्दै अगाडि बढ्यो।
फर्किदा सुन्दर दृश्यहरु हेर्न उज्यालोमै फर्किने मनमनै सोचेँ। साँफेबगरहुँदै जयगढ पुग्दा मिर्मिरेमा बिहान भइसकेको थियो।
जयगढ सानो बजार रहेछ। त्यँहाबाट हामी जिपमा कच्ची बाटो पूर्वतिर हुँईकियौं। करिब २४ कि.मि. दूरी पार गरेपछि रामारोशन गाउँपालिकाको केन्द्र मुजाबगर पुग्यौं। त्यहाँ गाउँपालिकामा अन्तरकृया र छलफल गरेर हामी अगाडि बढ्यौं।
रामे पुग्दा झमक्क साझ परिसकेको थियो। करिब २३०० मि उचाईमा अवस्थित रामे बेसक्याम्पमा हाल सीता गेष्टहाउस, जिगाले गेष्ट हाउस, चाका गेष्ट हाउससहित ४ वटा होटल र लज सञ्चालनमा रहेछन्।
बाह्र बन्ड (ताल), अठार खण्ड (पाटन) र ताल तलैया
रामारोशनलाई १२ बण्ड (ताल) १८ खण्ड (पाटन) ले पनि चिनिदो रहेछ। बाह्र बण्डमा जिगाले ताल सबैभन्दा ठूलो, त्यसका वरिपरी केही दूरीमा बाटुल्ला, लामीदह, लिस्से डाली, ताउले, तल्लो धाउने, माथिल्लो धाउने, गाग्रे ताल, डौठे खाल, दल्याना, रामे ताल, र गेराह ताल पर्दा रहेछन्।
जिगाले तालमा माछा प्रसस्तै पाइँदो रहेछ। केही वर्ष अगाडिसम्म काठको डुंगासमेत चलेका रहेछन्। स्थानीय सुवर्ण र खडक सिंह रोकायाको पहलमा काठको डुंगा सञ्चालनमा ल्याएर पर्यटकलाई घुमाउने गरेको यो तालमा अहिले केही छैन। तर छिट्टै गाउँपालिकाले राफ्ट डुंगा सञ्चालन गर्ने योजना रहेछ।
त्यसैगरी अठार खण्डमा किनिमिनी खण्ड, रोशन टोउका खण्ड, रोशन जिगाले खण्ड, रोशन बागफाल खण्ड, रामे रोशन खण्ड, दल्याना रामे खण्ड, पातल दल्याना खण्ड , गेराह जैदेखोला खण्ड, जिउने पातल खण्ड, चिल्फु गाग्रा खण्ड, बागफल गोरेकोट खण्ड, ददाडी पिनालेखी खण्ड, सालिमकोट कागे बर्जु खण्ड, नेटाकोट साकोट खण्ड, रामे रगाडे खण्ड, पिनालेखी टोट्के खण्ड, पातल दल्याना खण्ड, गेराह जैदेखोला खण्ड, जिउने पातल खण्ड , चिल्फु गाग्रा खण्ड , बागफाल गोरेकोट खण्ड, ददाडी पिनालेखी खण्ड, सालिमकोट कागे बर्जु खण्ड, चिर्किटे खालापोखर खण्ड, नेटाकोट साकोट खण्ड , रामे रगाडे खण्ड, किनिमिनि सिदुरे खण्ड, र पिनालेखी टोट्के खण्ड रहेछन्।
त्यस्तै ठूला साना गरी दर्जनौ मैदान छन्। जसमा रोशन मैदान, किनिमिनि मैदान, सिन्दुरे मैदान, बागफाल मैदान, रामे मैदान, रँगाडे, दनाडी, भिउमोरा, चिल्फु, गादो पाड्ने र सुइडेनी गडो रहेछन्।
झरना (छहरा) को लागिसमेत प्रख्यात यहाँ बांगे छहरा, दल्याना छहरा, किनिमिनी फिस्साने छहरा, औलाघाट कैलाशखोला छहरा, रामारोशन गगन छहरा, वडाचामल छहर र जैदेखोला दुदुल्लेबोट छहरा देख्न पाईन्छ।
चका डाँडा, डडिल्ला, गेली हाल्ने गडा, बगफाल, ददानी, चिन्डेनी, थेप्चे गोरेकोट, अमरपाटा, नदाई र सर्गको घडी प्रमुख पहाडी चुचुरा हुन्।
रामारोशन धार्मिक हिसाबले पनि महत्व बोकेको ठाउँ हो। यहाँ कालिका देवी, नन्दादेवी, जाल्पादेवी, नीलकण्ठ, मस्टो, मालिका देवी, गुण लानी, बलवान बाबछाला, आदि मन्दिर छन्।
लोठ सल्ला, सतुवा, दालचिनी, पाँचऔंले, सिलाजित, बाँजखोटो, बोजो, पदमचाल, कटुकी, सुगन्धवाल, बिसमारो, गदाल्नुलगायतका जडिबुटी यहाँ पाइदो रहेछ।
यस क्षेत्रमा प्रायः तीन तले एकनासे सुन्दर चिटिक्क परेका ढुंगे छानाका घर छन्। क्षेत्री, ठकुरी, ब्राम्हण, दलित र मगर समुदायको बसोबास छ।
कैलाश खोलाको असला माछा, लोकल कुखुरा, सिस्नो, स्थानीय चामलको भात, फिस चाउमिन, साग सब्जी र दालसहितको स्वादिष्ट स्थानीय अर्गानिक परिकारले मुख रसाउँछ।
यहाँका मुख्य पेशा कृषि नै हो। वैदेशिक रोजगारमा पनि धेरै छन्, छिमेकी मुलुक भारत यहाँका धेरै मानिसहरू जाने गर्छन्।
कृषि उत्पादनमा मकै, धान, गहुँ, जौं, उवा, कोदो आदि हुन् भने तरकारी तथा फलफूलमा आलु, लसुन, तोरी, भटमास, गहत, सिमी, नास्पाति, केरा, सुन्तला हुन्।
पशुपालनमा गाई भैसी, भेडा बाख्रा, कुखुरा, बंगुरपालन यहाँको प्रमुख व्यवसाय हो।
यहाँका मुख्य चाड पर्वमा दसैं, तिहार, पुस १५, जेठ पूर्णिमा, नयाँ वर्ष, पुतला, मालिके पुनि, हिले पयढ, भुव नाच, पुस पूर्णिमा धुमधामले मनाउँछन्।
यहाका सांस्कृतिक कार्यक्रमहरू भुव, पुतला, न्याउले, होरी, हुड्के र देउडा हुन्।
युद्व पर्यटनको सम्भावना
अछामको पूर्वी भागमा अवस्थित यहाँ क्षेत्र १० वर्षे माओवादी सशस्त्र जनयुद्वका बेला सुदूर पश्चिमकै आधार इलाका थियो।
२०५२ सालदेखि ने.क.पा (माओवादी) ले सुरू गरेको सशस्त्र जनयुद्व २०५४-५५ सालमा सुदूर-पश्चिमतिर कालिकोटहुँदै अछाम जिल्ला प्रभावित हुन पुग्यो।
यहाँका गाउँलेले विस्तारै माओवादीलाई साथ दिए। खाना खुवाए र आश्रयस्थल दिएको स्थानीय बताउँछन्।
देशमा बिभिन्न हमलामा यहाँका फोर्स सहभागी भए। धेरै सहिद र घाइते भए। अनि कैयौ विस्थापित।
२०५८ सालमा साँफेबगर र मंगलसेन आक्रमण पछि राज्यको नजरमा रामारोशन सुरक्षा दृष्टिले सम्बेदनशील क्षेत्रमा पर्यो।
तत्कालिन जनयुद्वसँग जोडिएको र सुदूरपश्चिम क्षेत्रको हेडक्वार्टरको रूपमा चिनिएको उक्त स्थानहरू संरक्षण र निर्माण गरी युद्व पर्यटनस्थल बनाइने योजना रहेको गा.पा. अध्यक्ष झंकर बहादुर साउँदले जानकारी दिए।
यहाको भौगलिक बनावट- किनिमिनि मैदान, रोशन मैदान र ठूला ठूला प्राकृतिक चट्टाने गुफाहरु जनयुद्वकालमा छापामार लुक्न, युद्व अभ्यास गर्न, सेल्टर लिन र माओवादी गतिबिधि सञ्चालन गर्न उपयुक्त भुगोल भएको गा.पा. उपाध्यक्ष सरस्वति रावलले बताइन्।
द्वन्द्वकालमा सर्गेको डाँडाबाट रेडियो गणतन्त्र पनि सञ्चालनमा आएको थियो। त्यसबेला सूचना प्रवाह गर्न र पार्टीका गतिविधि जनता माझ पुर्याउने एक मात्र माध्यम थियो।
त्यसैगरी संक्रमणकालिन न्यायका सम्बन्धमा स्थानीय सरकार र द्वन्दपीडितको धारणा सम्बन्धी अध्ययनका लागि भर्खर मात्र रामारोशन पुगेका द्वन्द्व विज्ञ तथा त्रिवीका उपप्रध्यापक चिरन्जिबी भण्डारीले माओवादी द्वन्द्वकालका महत्वपूर्ण अवशेषहरू, तालिमस्थलका रुपमा परिचित किनिमिनि र रोशन मैदान, युद्वकालिन जनअदालत, बाल केन्द्र अहिले पनि जस्ताका तस्तै रहेको बताए।
आन्तरिक र बाह्य पर्यटकलाई युद्वकालिन समयमा स्थानीयले अनुभव गरेका र स्मरणहरु जानकारी हुनुको साथै प्राकृतिक सुन्दरातामा रम्न मद्दत पुर्याउने विचार ब्यक्त गरे।
समाजसेवी चक्र रावलले धार्मिक, सांस्कृतिक र युद्व पर्यटन समग्र रामारोशनको पर्यटकीय परिचय भएको जानकारी गराए।
जिल्लाबाट आन्तरिक पर्यटकहरु दिनहुँ घुम्न आउँछन्, तर, २-४ घण्टा ताल, मैदान र वरिपरि घुमेर फर्किने गर्छन्। बास बस्ने कमै हुन्छन्। हामी त्यही हुँदा एक हुल आन्तरिक पर्यटक मंगलसेन र साँफेबगरबाट घुम्न आएका भेट्यौं। तर, बेलुका फर्किए।
राति बेस्सरी हिमपात पर्यो। बिहान रामारोशन बेहुली झैं सिंगारिएको थियो। हामीले दिल खोलेर हिउँ खेल्यौं, र भरपुर सेताम्मे दृश्यमा रामायौं।
चैत-वैशाखमा रंगिबिरंगि गुराँस फुल्ने यहाँ वर्षामा तालहरू भरिभराउ हुन्छ, वन पाखा हरियाली हुन्छ।
तर केही तालहरू पुरिइसकेका र केही जिर्ण अवस्थामा रहेछन्। यसमा सम्बन्धित निकालय समयमै ध्यान पुर्याएर संरक्षण र सम्बर्धनको आवश्यकता देखिन्छ।
यस क्षेत्रमा अन्य पर्यटकीय गतिबिधिहरु डुंगा सयर (बोटिङ), फिसिङ, रक क्लाइम्बिङ, हनी हन्टिङ, जंगल एण्ड नेचर वाक, भिले टुर, प्याराग्लाइडिङ, क्यानोनिङ, योगा मेडिटेसन, पदमार्ग आदिको सम्भावना छ।
सुन्दर गाउँहरु डुल्नुको साथै स्थानीय अर्गानिक परिकारको स्वाद लिँदै स्थानीय रहनसहन र संस्कृति अवलोकन र अध्ययनको लागि केहि उपयुक्त गाउँमा नमुना होमस्टे सुरु गर्नुपर्छ।
यस्ता गतिविधिले पर्यटकको चहलपहल बढ्नेछ, घुम्न आउनेहरुको बसाई लम्बिने छ। र स्थानीयलाई थप आयआर्जन गर्न सहयोग पुग्छ।
हाल रामेमा ४ वटा लज र होटलहरु खुलेका छन्, खाना बासको यहाँ राम्रो सुविधा छ।
२०६२ सालको शान्ति बार्तापछि देशमा द्वन्द्व अन्त्य भएको दशक नाघिसक्यो। देश संघीय लोकतन्त्र गणतन्त्रमा गयो। प्रचुर पर्यटन सम्भावना हुँदाहुँदै पनि रामारोशन क्षेत्र अझै ओझेलमा छ।
यसै वर्ष सरकारले घोषणा गरेको १०० गन्तब्यमा रामारोशन पर्न सफल भयो। अब रामारोशनको पर्यटन पूर्वाधार, विकास र प्रचार प्रसारमा स्थानीय निकाय र ७ नम्बर प्रदेश सरकारले ढिला गर्न हुन्न।
सरकारले सन् २०२० मा पर्यटन वर्ष मनाउँदै गर्दा, यस क्षेत्रमा मनग्गे पर्यटक भित्र्याउने लक्ष्य राख्दै अहिले देखिनै कम्मर कस्न पर्छ।
करिव ५ दिन रामारोशनका गाउँ, मैदान, ताल, पूर्वयुद्वस्थल र गाउँ सेरोफेरो घुमियो र अनुभव बटुलियो।
हामीलाई मुजाबगर, रामे, किनिमिनि, रोशन, तालहरु, माडु, नेटाकोट, सनानि गाउँ, सैनाबजार, भटाकाटियाँ, खालबजार, सन्तडा लगायत क्षेत्र घुमाउने कमान सिंह साउँद, हर्क बहादुर बुढा, खडक सिंह रोकाया र ईन्द्र बहादुर रोकायालाई धन्यबाद ।
कसरी पुग्नेः
काठमाडौंबाट धनगढी (१६ घण्टा) बस यात्रा या हवाई सेवा (१ घन्टा १५ मिनेट), ६५० कि.मि.। धनगढीबाट दिपायाल, साँफेबगरहुँदैहुँदै जयगढसम्म बसयात्रा (८-१० घण्टा),२८० कि.मि.। जयगढबाट रामारोशन करिब ४३ कि.मि. कच्चि बाटो।
सुर्खेतबाट मध्य पहाडी लोकमार्गहुँदै मंगलसेन पनि पुगिन्छ। नेपालगञ्जदेखि साँफेबगर हवाई सेवा छ, तर निरन्तरता छैन।
सम्पर्कः
- जिंगाले जंगल कटेज, रामे- ९८४८६२१८९६, ९८४८४११३४७
- सिता गेष्ट हाउस, रामे- ९८६५६३१४४७
हेर्नुहोस् केही तस्बिरहरू