अफिसको कामले जुम्ला जानुपर्ने।
करिब चार दिन लामो यात्रा र बसाइको तय एक दिन मै भयो। पुस र माघको जाडो, एकदमै चिसो ठाउँ त्यैमाथि हिउँले ढपक्क ढाकेको संयोग। हतार-हतारमा न्यानो लुगा कपडा सबै तयारी भैसकेपछि भोलिपल्ट हुने दिनभरिको यात्रा, सेता संग्ला डाँडा पखेरा अनि नौलो अनुभव सम्झिँदै कोल्टे फेरियो। मन भने जुम्लामा बिताइने चार दिनको कार्यतालिका कोर्नमै व्यस्त थियो, जसोतसो निन्द्रा पर्यो।
सधैझैं बिहान ५ बजे रेडियो नेपालमा बज्ने बिहानी धुनसँगै निन्द्रा खुल्यो, हात-मुख धोइवरी क्यामेरा अनि झोला तयार गरेर करिब ५:३० बजे सुर्खेतबाट जुम्लाको लागि भनेर सहकर्मी साथीहरूसहित हिंड्यौं। सुर्खेतबाट जुम्ला पुग्न गाडीमा करिब १०/११ घण्टा अझै सार्वजनिक बसमा हो भने त १२/१३ घण्टा नै लाग्दो रहेछ।
अँध्यारो नै थियो, हामी मुख्य कर्णाली राजमार्ग नभई माथि गुराँसे अनि दैलेख भएर जाने निधो गर्यौं। बिहान सबेरै भएर बाहिर पुरै अँध्यारो थियो, सुर्खेत उपत्यकाबाट उकालो लागिसकेपछि माथि छेडा भन्ने ठाउँ पुगिन्छ। त्यहाँबाट सुर्खेत उपत्यकाको दृश्य एकदमै मनमोहक देखिन्थ्यो। उपत्यकाभरि बिजुली बत्तीको झलमल्ल अनि पूर्वी डाँडामा सूर्यको बिहानी लाली।
करिब २ घण्टाको यात्रापछि हामी कर्णाली राजमार्गमा मिसियौं। चिया नास्ता गरी अगाडी बढ्यौं। कर्णाली नदी भने अझै देख्न सकेको हैन। चिसो बिहानीमा कुहिरोको सेतो च्यादर ओडेर कर्णाली नदी सुतेको प्रतीत हुन्थ्यो। म भने कतिबेला कुहिरो हट्ला र कञ्चन कर्णालीलाई नयन स्पर्श गर्न मिल्ला भनेर आतुर थिए।
हामी अझै दैलेखमै गुडिरहेका थियौं, केहीबेरको यात्रापछि झलमल्ल घाम लाग्यो, सोचे अब त कर्णाली माथिको च्यादर हट्छ होला। मन धेरै धैर्य गर्न सक्ने अवस्थामा थिएन। नभन्दै त्यस्तै भयो, दुई/तीन मोडपछि हामी ओरालो लाग्यौं कुहिरो माथि-माथि रहेछ, हामी भने कर्णाली तिरैतिर पस्यौ।
म भने तस्बिर कैद गर्नमै व्यस्त थिएँ। म हरेक पलहरू कैद गर्न चाहन्थे। एक ठाउँमा बसेर अनुभव गर्ने अनि नियाल्ने समय थिएन। हरेक दृश्यहरू एकपछि अर्को गर्दै पछाडि छुट्दै थिए।
जाँदाजाँदै एक ठाउँमा अनौठो दृश्य देखें, एउटा भीमकाय चट्टान अनि त्यसको मुनि ओडार अनि धुवाँ निस्किरहेको। म गाडीबाट झरें अनि सरासर त्यो चट्टानतिर गएँ, भित्र त घर जस्तै रहेछ। भान्छा, सुत्ने खाट अझ भनौ एउटा परिवार नै बस्दो रहेछ। सानोतिनो चिया व्यापार गरेर बस्दा रहेछन् बुढा बाजे।
‘विदेश पनि गयो मेरा फुटा भारा कैयौं सब भैसक्यो, क्यार्ने बुढाबुढी हामी थियौं, अहिले बुढी बिमारी भएर अलिमाथि घर छ, याँ अलि चिसो भएर’ पसले बाजेले सुनाउनुभयो।
फर्किंदा चिया खाएर जाउँला भनेर बिदा भए उहाँसँग। बाटोमा अनेकन दृश्य देखिए। गाउँले जीवन अनि संघर्षहरू। एक जना वृद्ध दम्पति कर्णाली तीरमा ढुंगा-गिट्टी कुटिरहेको दृश्यले मन छोयो। भन्नुहुन्थ्यो, ‘छोराहरू विदेशमा छन्, खै कमाउँछन् होला हामीले त पेट पाल्न यही ढुंगागिट्टी गर्नैपर्छ।
हामीलाई कालिकोटको सुन्दर दृश्यले स्वागत गर्न लागिसकेको थियो, तल कलकल बगिरहेको कर्णाली बीचमा कालिकोट सदरमुकाम मान्मा अनि माथि सेता हिमाल, मनै लोभ्याउने दृश्य थियो। एकछिनमै हामी माथि मान्मा पुग्यौं। सुन्दर पलहरू क्यामेरामा कैद गरेर हामी अगाडि बढ्यौं। केही किलोमिटर अघि बढेपछि पिली भन्ने ठाउँ पुग्यौं।
दस वर्षे युद्धकालको बेला समाचारमा सुनिन्थ्यो फलानो ठाउँमा यति सैनिकले वीरगति प्राप्त गरे, फलानो ठाउँमा यस्तो भयो, उस्तो भयो, पिली यस्तो ठाउँ रहेछ, जहाँ एक कहालीलाग्दो घटनासँगै दस वर्षे युद्धको अन्त्य भएको रहेछ। त्यही सम्झना स्वरूप पिलीलाई युद्ध पर्यटकीय क्षेत्रको रूपमा स्थापना गरिएको रहेछ। यो ठाउँमा पुग्दा मन एक किसिमले तरंगित भयो। मनमा धेरै कुराहरू उठे। सानोछँदाका दिनहरू याद आए। एउटा डरलाग्दो समयको झझल्को आयो। हुन त अब समय धेरै परिवर्तन भइसकेको छ।
फेरि पनि म सोच्न बाध्य भएँ, त्यो कहालीलाग्दो दस वर्षे युद्धकाल सकिएको करिब १२/१३ वर्ष हुन आटेछ। देशले चाहेको परिवर्तन अनि ती शहीदहरूको बलिदानले सम्मान पायो कि पाएन? देशले समृद्धिको बाटो भेट्टायो कि भेट्टाएन? मन कताकता अन्तै डोरिँदै थियो। आफैंलाई सम्झाए अनि प्रकृतिका अनुपम दृश्यमा फेरि मन बहलाउने कोशिस गरे।
हामी कालिकोटबाट ओरालो झरिरहेका थियौं। जुम्लाले स्वागत गरिसकेको थियो। कर्णाली नदीमाथि बनेका काठका पुलहरू देखिन्थे। अनि ती पुलमाथि सजाइएका काठका मूर्तिहरूले मलाई लोभ्यायो। मलाई त्यो काठका मूर्तिभित्र थोरै कला अनि धेरै रहस्य लुकेको भान हुन्थ्यों।
स्थानीय मानिसहरूलाई सोध्दा पुरानो बाइसे-चौबिसे राज्य कालका राजारानीहरूको सम्झनामा र गाउँलेहरूले आफ्नो ठाउँ छोड्दा सम्झनामा निर्माण गरिने चलन थियो भन्ने जानकारी पाएँ। तर मलाई यी मूर्तिहरू भने अझै रहस्यमय लागिरहे।
दिउँसोको करिब ४ बजिसकेको थियो। स्थानीय तर प्रसिद्ध व्यापारिक नाका नाग्मा हुँदै हामी अगाडि बढ्यौं। जुम्ला उपत्यका प्रवेश हुनु ठीक अगाडि पतारासी भन्ने ठाउँ पर्दो रहेछ। अति सुन्दर ठाउँ आफ्नै अगाडि देखा परेपछि प्राय: धेरैले स्वीट्जरल्यान्डको उपमा दिने गरेको सम्झना आयो। गाडीबाट ओर्लियौं।
मैले फोटो खिच्न हतार गरिनँ, दृश्यहरूलाई आफ्नो आँखा र मन भरुञ्जेल कैद गरिरहें। त्यहीबेला केही नानीहरूले लुकीलुकी पुलुक्क पुलुक्क हेरिरहेका थिए। उनीहरूसित डोको र गाग्री थिए। म कुरा नगरी बस्न सकिनँ भने, ‘नानीहरू कता हिँडेको?’
उनीहरूले भने, ‘पानी थाप्न जान लाको’, मैले कुरा अगाडि बढाएँ ,‘यो ठाउँ त यति सुन्दर छ, यहाँका मान्छे कति राम्रा होलान है?’
एउटी बहिनीले भानिहाली, ‘हैन दाई हामी त राम्रा छैनौं त, खोलाको पानी खान्छौं, देख्नमा नि यस्ता छौ ई हात-खुट्टा हेर्नुस् न।’
भित्र-भित्रै त मलाई कस्तो कस्तो लागिरहेको थियो। त्यो बैनीको कुराले, तर मैले हाँस्दै भने, ‘त्यस्तो हैन नि, मान्छे राम्रो नराम्रो त मनले हुने हो नि, मन ठूलो हुनुपर्छ, राम्रो हुनुपर्छ अनि मान्छे त त्यसै राम्रो नि।
उनीहरू हाँसे मात्रै।
मलाई ती भाइबैनीहरूको फोटो लिन मन लाग्यो। लजाइराथे तर लिएँ एउटा फोटो, अनि देखाए उनीहरूलाईनै, हाँसे सबै।
अर्की बैनीले सोधी फेरि, ‘दाई अनि यो फोटोले के गर्नुहुन्छ ?’
मसित उत्तर त थिएन, तै पनि भने, ‘केही गर्दिनँ आफैंसित राख्छु, जुम्ला यात्रामा भेटिएका राम्रा मनहरू भनेर सम्झिन हुन्छ नि! फेरि हाँसे उनीहरू। अन्त्यमा मैले त्यो ठाउँ अनि ती सुन्दर मनहरू बाट बिदा हुनुथियो। र बिदा हुँदै भने, ‘ल राम्ररी पढ्नू, असल मान्छे बन्नू, बाईबाई’ भने अनि हामी अगाडि बढ्यौं, उनीहरू भने अझै हामीलाई हेरिरहे।
एकैछिनमा हामी जुम्ला पुग्यौं, साँझ परिसकेको थियो, दिनभरिको यात्राको थकानले गर्दा हामी सिधै होटल गयौं अनि आराम गर्ने निधो गर्यौं।
भोलिपल्ट बिहानै निन्द्रा खुल्यो। जुम्ला उपत्यकाभित्रका मुख्य ठाउँहरू मैले पहिलेनै पत्ता लगाइसकेको थिएँ, यात्राको दोस्रो दिन अनि जुम्ला बसाइको पहिलो दिन चन्दननाथ मन्दिर हिँडे।
बिहान एकदमै चिसो हुँदो रहेछ, चारैतिरको डाँडा हिउले ढकमक्क थियो। धारा अनि सडक छेउको पानी समेत जमेर बरफ भएको थियो। कान्जिरोवा होटलबाट चन्दननाथ मन्दिर पुग्न पैदल करिब १५ मिनेट हिँड्नु पर्दो रहेछ। मन्दिर आकर्षक कलात्मक शैलीमा बनाइएको रहेछ।
एकजना स्थानीय पुजारीका अनुसार चन्दननाथ भनेका एक जना महापुरुष हुनु हुँदो रहेछ। उहाँले दत्तात्रेयको चरणपादुका स्थापना गर्नुभएको भएर मन्दिरको नामनै चन्दननाथ रहेको जानकारी दिनुभयो। शिवपद्धती अनुसार पूजा हुने यस मन्दिरमा कृष्णाअस्टमी, शिवरात्री र मार्गशिर्षपूर्णिमाको दिन दत्तात्रेय जयन्ती गरी मुख्य तीन वटा पर्व मनाइँदो रहेछ।
चन्दननाथ मन्दिरसँगै भैरवनाथको मन्दिर रहेको छ। मन्दिरसँगै बाइसे-चौबिसे राज्यकालको इतिहास समेत जोडिएको जानकारी उहाँले दिनुभयो। मेरो दिउँसोभरिको समय भने अफिसकै काममा व्यतित हुन्थ्यो भने बिहान फुर्सदको समयमा मैले जति सक्दो बढी जुम्ला एक्सप्लोर गर्ने, नियाल्ने र अनुभव गर्ने कोशिस गरें।
जुम्ला बसाइको तेस्रो दिन बिहानै करिब ६:३० बजे नै माथि डाँडामा गएर जुम्ला उपत्यका र हिमालको अवलोकन गर्ने भनेर हिँडें। बिहानको कठ्याँग्रिदो चिसो, सबै सुतिरहेका थिए होलान् सायद, बाहिर प्राय: सुनसान थियो। बिहानको चिसोले होला मलाई साह्रै थकाई लागेको थियो। तै पनि उत्साहित थिएँ। माथि डाँडामा पुगिसके पछि जुन दृश्य देखियो, मेरो थकान एकैछिनमा हरायो।
जुम्ला उपत्यकाको दृश्य एकदमै मनमोहक थियो। मैले धेरैभन्दा धेरै फोटो अनि भिडियो लिएँ अनि शान्त मनले अनुभव गरें। एकनासले बनेका ती घरहरू, बीचमा फराकिला फाँट अनि उत्तरतिर देखिने हिमालको दृश्यले मनै लोभ्यायो। बिहानी सूर्यको किरण पर त्यो हिमालमा ठोक्किँदा साँच्चै सुन्दर अनि मनमोहक देखिँदो रहेछ। मीठो अनुभवसँगै मेरो त्यो दिनको सुरूआत एकदमै रमाइलो भयो। म केहीबेर पछि तल फर्किएँ।
जुम्ला बसाइको अन्तिम दिन थियो।
त्यै दिन लोसार नि रहेछ, होटलका मालिक लामादाइले बिहानै ढोकामा आएर बोलाउनु भो र भन्नु भो ‘आज बिहानको खाना हामी सबैसँगै खाने है?
हामीले ‘हुन्छ’ भन्यौ अनि सँगै खाना खायौं। २०/२५ जना थियौं विदेशी पर्यटकसहित गरेर, शुभकामना आदानप्रदान गर्यौं अनि रमायौं। नगरपालिकासँग सम्बन्धित बाँकी अफिसियल काम सकाएर सुर्खेत फर्किने भनेर हामी होटलबाट बिदा भयौं। सबै काम सक्दा त्यस्तै १ बजिसकेको थियो। तर एउटा महत्वपूर्ण स्थान बाँकी थियो घुम्नलाई। उपत्यकाको पश्चिमतिर अवस्थित छ भर्खरै निर्मित दुदुल चैत्य शान्ति स्तुपा।
यो चैत्य हिन्दु अनि बौद्ध अनुयायीहरूको प्रमुख गन्तव्य स्थल रहेछ भने जुम्ला उपत्यकाको मनमोहक दृश्य समेत अवलोकन गर्न सकिने ठाउँ रहेछ। हामी लगत्तै त्यहाँबाट सुर्खेतका लागि फर्कियौं, तर फर्किंदा एकै दिनमा पुग्न सकिने अवस्था थिएन। कालिकोटको सदरमुकाम मान्मामा त्यो साँझ बास बसेर भोलिपल्ट सुर्खेत पुग्यौं।
मनभरि अनुभवनै अनुभवका छायाप्रतिहरू थिए, हरेक क्षणहरूको झझल्को आइरह्यो। मेरो यात्राका हरेकपल अनि कर्णाली प्रदेशको पर्यटन सम्भावनालाई कसरी उजागर गर्न सकिन्छ, कसरी नयाँ सम्भावना अगाडि सार्न सकिन्छ भन्ने कुराले मलाई झक्झक्याइ रह्यो।