‘ओहो! आज त मेडमको पहिलो सब वे यात्रा! ल है! यो यात्रालाई कैद गर्नुस्,’ चीनमा चार/पाँच वर्ष बसेका एक जना नेपाली मित्रले भने।
हुन पनि मेरो पहिलो सब वे यात्रा थियो अर्थात् जीवनमै पहिलो पटक यति लामो सुविधा सम्पन्न सब-वे चढ्दै थिएँ। त्यसैले भर्खरै मात्र ओप्पो मोबाइल पाएको थिएँ, म पनि के कम? सेल्फी लिइहालेँ। वरिपरिको वातावरण र यात्रीहरूसँग टन्नै फोटो खिचेँ।
त्यो दिन म बेइजिङको लाइन १ चढेर हाइतेन जिल्लामा मेडिकल चेकजाँचको लागि जाँदै थिएँ। उतिबेला रेल हेर्न कि रक्सौल जाने गरिएको थियो, कि त फिल्म नै हेरिन्थ्यो। बारा, निजगढस्थित घरबाट रक्सौल नजिक पर्ने हुनाले किनमेल गर्न आवतजावत भैरह्न्थ्यो। त्यहीं हो रेल देख्न पाएको।
मैले त्यहाँ देखेको रेल काला, पुराना, खिया लागेका हुन्थे। अनि रेल आउने समयमा हुने त्यो भीड ओहो! सम्झदा पनि कहाली लाग्छ। यदि बाटो काट्न भ्याएन भने घन्टौँ कुर्नुपर्ने। बाटो उस्तै साँघुरो अनि कच्ची। कति मान्छे त बाटोमा ठेलमठेल भएर लड्थे पनि।
रेल चढ्ने बेला बाहिरबाट हेर्दा त एउटा एकतले सानो कोठा जस्तो घरबाट छिरेको थिएँ। भित्र गएपछि त मान्छेको जनसागर उर्लेको। शायद चीनको जनसंङ्ख्या नै बढी भएर होला।
ती सागरहरूको रफ्तार पन्छाउँदै हामी नि आफ्नो गन्तव्य पथमा लम्कियौँ। सब वे चढ्न लागि लाइनमा बस्यौँ। रेल नदेखुन्जेल मनमा निकै खुलदुली मच्चिरह्यो। वर्षायामको भेलजस्तै कौतुहलताका लहरहरू उर्लिरहे मनमा।
कस्तो रंगको होलाॽ सिट कस्तो हुन्छ होलाॽ उही रक्सौलमा देखेको जस्तो थोत्रो छ कि नयाँॽ सिठी बजाउँदै आउँछ कि कसरीॽ के बाट चल्छ होलाॽ कसरी रोक्छ होलाॽ....यस्तै यस्तै।
जब रेल हुँइँय हुइँकिदै आयो तब मेरो दिमागले शान्ति पायो। विचरा दिमाग केही समयदेखि सोच्नमै निकै व्यस्त थियो।
सब वे भन्नाले भूमिगत रेलवे प्रणाली हो। जुन नगरक्षेत्रभित्र धेरै संख्यामा यात्रुहरूलाई एकै समयमा यात्रा गराउनका लागि प्रयोग गरिने यातायातको छरितो साधन भनेर बुझिन्छ।
सब वे प्राय: जसो शहरको बाटोमुनि बनाइन्छ तर यहाँ त कतै कतै वस्तुस्थिति हेरेर जमिनभित्रबाट फुत्त बाहिर पनि निस्किँदो रहेछ।
विश्वको सब वे इतिहासलाई खोतल्दा यसको सुरूवात सन् १८६३ मा लन्डनमा भएको थियो। यो नै संसारको पहिलो सब वे जुन रेलको उद्घटनकै दिनमा ३०,००० यात्रुहरूलाई स्वागत गरिएको थियो। यस दिनलाई इन्जिनियरिङ्ग क्षेत्रकै सफल दिन मानिन्छ।
सन् १९६९ मा चीनको मुख्यभूमि बेईजिङमा सब वे सञ्चालन भएको थियो। जुन सब वेलाई अहिले विश्वकै निकै व्यस्त सब वे भनिन्छ।
यस सब वेले हाल १२ वटा नगर तथा उपनगरभित्र यातायात सेवा दिईरहेको छ। कूल ३९१ स्टेशन रहेको बेइजिङको सब वेले एक दिनमा करिब १०.३५ मिलियन ट्रिप यात्रु ओसारपसार गर्छ।
यो शाङहाइपछिको विश्वकै सबैभन्दा लामो सब वे प्रणाली हो।
मैले सानै हुँदा रेलको आवाज छुकछुक आउँछ, रेलमा त कोइला पनि हालिन्छ भन्ने सुनेको थिएँ। त्यसैले मैले यहाँ रेललाई नियालेँ एकछिन। यहाँको रेल त विद्युतबाट चल्ने रहेछ। गीतमा सुनेजस्तो छुकछुक आवाज पनि आएन, यहाँको रेल त छुकछुके नभएर हुइँय हुइँकिने पो रहेछ।
पहिले पहिले यहाँ पनि कोइलाबाट रेल चलाइन्थ्यो रे! त्यसैले आगोबाट चलाइने हुनाले चिनियाँमा रेललाई ‘होछ’ अर्थात् ‘हो’ भनेको आगो र ‘छ‘ भनेको गाडी भनिएको रहेछ।
सब वे रेल चढ्न हुलका हुल मान्छे थिए, हामी पनि त्यहीँ हुलका प्रतिनिधि। सब वेमा पहिलो अनुभव बोक्ने म जस्तो अरू पनि विदेशी थिए कि? तिनीहरू मजस्तै पहिलो अनुभव गरेका भए त विचार साँट्न पनि कति रमाइलो हुन्थ्यो होला। रेलभित्र सबै आ-आफ्नै ध्यानमा मस्त थिए, न त उनीहरूलाई कसैको बारेमा जान्नु नै थियो।
सबै प्राविधिक दुनियाँ अर्थात् मोबाइलमा व्यस्त देखिन्थे। कोही कोही चाहिं हामी विदेशी भएकाले हेर्थे। कोही चाहिँ प्रेमालाप गर्दै मायालुसँग गालामा गाला जोडेर बसिरहेका।
हाम्रो समाजमा खुल्लमखुल्ला त्यसरी नबस्ने हुनाले त्यस्तो दृश्य देख्दा आफैँले नदेखेको जस्तो गर्नुपर्छ कि जस्तो लाग्यो मलाई। रेल भित्री बाटो भएर जाँदो रहेछ, म भने झ्यालबाहिरको दृश्य हेर्न आतुर।
हाम्रोमा अहिले काठमाण्डौं उपत्यकाको रत्नपार्क, सातदोबाटो र नारायणगोपाल चोकको रूटमा मेट्रो रेलको निर्माण प्रक्रिया अघि बढेको सुनेर रोमाञ्चित भएकी छु। यस मेट्रो रेल निर्माणका लागि चिनियाँ कम्पनीसँग पनि सम्झौता भैसकेको र उक्त निर्माण कार्यका लागि बजेट पनि विनियोजन गरिएको सुनेकी छु। आशा छ, यो योजना सफल हुनेछ।
‘सम्वृद्ध नेपाल, सुखी नेपाली’भन्ने नारा घन्किएको एक वर्ष हुनलाग्यो। कति सम्वृद्ध भयो नेपालॽ कति सुखी भए नेपालीॽ त्यो त जो कोहीले पनि अनुमान गर्नसक्छ।
मैले अहिलेसम्ममा भोगेको यातायात जीवन सारै नै कष्टकर छ। कतै यात्रामा निस्कनु पर्यो भने मलाई रातिदेखि नै पेट पोल्ने गर्छ। सायद मलाई गाडी चढ्दा वान्ता हुने भएर हो कि? बाटो त्यस्तै खाल्डाखुल्डी परेकोले हो कि? सडक निर्माणमा हुने मनोमानी प्रचुर छ।
आज चिल्लो देखिने सडक भोलिपल्टै गिटी उक्केर छताछुल्ल। ठेकेदारहरू धनी बन्ने प्रक्रिया जस्तो बुझिन्छ; सडक निर्माण पनि।
अस्तव्यस्त राजनीति, भ्रष्ट ठेकेदार, सबैको मिलोमतोले गर्दा आज हाम्रो देशको कुनै ठाउँको सडक गतिलो देख्नपाउनु सौभाग्यकै कुरा हुन्छ। जब कुनै अन्तर्राष्ट्रिय सभासम्मेलन आयोजनाको तयारी गरिन्छ, त्यतिबेला लाज ढाक्नका लागि कालोपत्र गरिन्छ।
दुईचार दिने टालटुलले कतिन्जेल चल्नसक्छॽ काठमाण्डौको मुटु ठमेल जहाँ दिनमा हजारौँ पर्यटकहरू हिँड्छन्। के सोच्दो हुन उनीहरूले? छिनह्वाङताउ, बेइजिङको छिमेकी हपै प्रान्तको शहरकी एकजना चिनियाँ पर्यटकले नेपाल अनुभव सुनाइन्। उनले भनिन्, ‘नेपाली सडकमा खाल्डाहरू धेरै हुन्छन्। यात्रा गर्न ठूलो हिम्मत चाहिने रहेछ।’
के नेपालमा सब वे बनाउँदा पनि यस्तै लापरवाही भयो भने लगानी नडुब्ला? निर्माण गर्नु एउटा चुनौती र त्यसको उचित हेरचाह गर्नु अर्को चुनौती हो। बनाएर त्यसको चेकजाँच गर्नु, अनुगमन गर्नुपर्दछ। घुस्याहा र कामचोर प्रवृत्तिको जबसम्म अन्त्य गरिन्न, तबसम्म नेपाली भूमिमा रेल गुडेको गीत गाउन सकिन्नः
पूर्वपश्चिम रेल!
छुक् छुक् छुक् छुक् ......।
बेइजिङ, चीन