प्राकृतिक सौन्दर्यको सामीप्यमा पुग्दा लाग्छ, प्रकृति नै अब्बल कलाकार। सुख, सौन्दर्य र सिर्जनाको मुहान प्रकृति। बहुआयामिक बिम्ब देख्न सक्छौँ प्रकृतिमा। अद्भुत प्राकृतिक छटाले सुसज्जित खप्तड पुग्दा सुखद आश्चर्यको अनुभूति भयो मलाई। लाग्यो, प्रकृतिसिर्जित चामत्कारिक कलाकृति हो खप्तड।
हो, सबैका आआफ्नै सोख हुन्छन्। स्वतन्त्र किसिमले पढ्न, लेख्न र सन्दर्भ अनुकूल पर्दा घुम्न सौखिन छु म पनि। स्कुले विद्यार्थी नै छँदा संयोगले फेला पारेको र रुचिले पढेको थिएँ एउटा किताब, 'म र मेरो कर्तव्य'। अलि पछि पढेँ, 'विचार विज्ञान'। यी दुबै दार्शनिक कृतिका लेखक खप्तड बाबा। खप्तडमा आश्रम बनाएर बसेकैले उनी खप्तड बाबाका नामले चिनिए। धेरै ठाउँ घुमेर खप्तड पुगेपछि उनले बाँकी जीवन त्यहीँ बिताएको सुनेको थिएँ।
सुदूर पश्चिमतिरका साथीहरू भेट्दा खप्तडबारे जिज्ञासा राख्ने गर्थेँ। उनीहरूका कुरा सुन्दा त्यहाँ घुम्न गइहालूँझै लाग्थ्यो। त्यता जाने चाँजोपाँजो भने मिलाउन सकेको थिइनँ।
पर्यटन प्रबर्द्धनका क्षेत्रमा क्रियाशील कन्सेप्ट नेपाल नामक संस्थाले यस पटक कवि, लेखक र पत्रकारको एउटा समूहलाई खप्तड घुमाउने मेलोमेसो मिलायो। 'खप्तड काव्य यात्रा- २०७५' नाम दिइएको घुमफिरे कार्यक्रमको टोलीमा आफू पनि जान पाउँने भएको हुँदा खुसीले भुइँमा खुट्टा थिएनन् मेरा। काव्य यात्रा संयोजन गर्ने जिम्मेवारी पाउँनुभएका पत्रकार अमृत भादगाउँलेले सूचित गर्नुभएकै समयमा २०७५, जेठ छ गते कलङ्की पुगेँ। काव्य यात्रामा सहभागी हुन जान लाग्नुभएका व्याकुल माइला, अभय श्रेष्ठ र आर. के. अदीप्त पनि कलङ्की पुगिसक्नुभएको रहेछ। चार भाइ गफिँदै गाडी कुर्न थाल्यौँ।
केही बेरमा खप्तड काव्य यात्राको तुल टाँसिएको घोडाघोडी यातायातको बस हामी उभिएको ठाउँ अघिल्तिर घ्याच्च रोकियो। काव्य यात्रा संयोजक भादगाउँलेजीले हामीलाई बसमा चढ्न हातले इसारा गर्नुभयो। हेमन्त विवश, चन्द्र काफ्ले, घनश्याम खड्का, सुरेन्द्र राना लगायतका साथीहरू बालाजुमा नै जम्मा भएर गाडीमा चढिसक्नुभएको रहेछ। सबै साथीहरूसँग मिठो मुस्कान र अभिवादन आदानप्रदान गरी यात्रामा जुट्यौँ।
हामी चढेको बसले सडक पुनर्निमाण नसकिएको कलङ्कीमा कुहिरीमण्डल हुँदै उड्दै गरेको धुलो र धुवालाई बाइबाइ गरेर हुइँकिँदा दिउँसोको साढे चार बजिसकेको थियो।
कतै भत्किएका र कतै मर्मत हुँदै गरेका सडक पार गरेर नागढुङ्गाको ओरालो लागेपछि मात्र बल्ल काठमाडौँको धुलोले पछ्याउँन छोड्यो। मुखमा लगाइएको मास्क खोलेर ढुक्कसँग सास फेर्न थालेँ। स्वच्छ प्राकृतिक परिवेशसँग मौन संवादको आनन्द लिँदै थिएँ। बेलाबेलामा साथीहरूबीच चलेका रमाइला गफगाफ र छेडछाडले यात्रामा उमङ्ग नथप्ने त कुरै भएन । अझ मुग्लिङमा पोखरा र दमौलीबाट आउँनुभएका साथीहरू सागर उदास, गणेश पौडेल, अमृत सुवेदी र तारानाथ पहारी पनि सहयात्रामा जोडिनुभएपछि त झनै बेहिसाब रमाइलो सुरू भयो। रसिक संवाद, गायन र नृत्य निकै नै मनोरञ्जनकारी साबित हुँदै गयो। गाडीभित्रको असीमित रोचकताकाकै कारण मुग्लिङ-नारायणगढ सडकखण्डको झन्डै डेढ घण्टा लामो जामको समय पनि छिनभरमै बितेजस्तो लाग्यो।
नारायणगढबाट भूपिन, निमेश निखिल, उदय अधिकारी र हेमन यात्री पनि यात्रामा सहभागी हुनुभयो।हामी सङ्ख्यामा बाइस पुग्यौँ। सबै युवा, सबै जोसिला। गफ र गीत दुबै रसिला। गैँडाकोट पुगेर बेलुकीको खाना खाँदा रात छिप्पिसकेको थियो।
रातभर र बिहानभर गाडीमा हुइँकिएपछि धनगढी पुगियो। होटल दिनेशमा सुन्दर सुदूर पश्चिम अभियानका परिकल्पनाकार एवम् समाजसेवी गोपाल हमालले हामीलाई स्वागत गर्नुभयो। केही बेर आराम र भोजन गरेपछि उहाँका केही अनुभव र विचार सुन्यौँ। सुदूर पश्चिम क्षेत्रको सम्भावना उजागर गर्न उहाँबाट भएका प्रयासहरू प्रशंसनीय लागे।
क्याप्टेन वेद उप्रेतीले उहाँको निजी लगानीमा स्थापित धनगढीको वायुयान सङ्ग्रहालयको अवलोकन गराउँनुभयो। वायुयानका बारे जानकारी लिन चाहनेका लागि उपयोगी होस् भन्ने उद्देश्यले उहाँले यो सङ्ग्रहालय स्थापना गर्नु भएको रहेछ।वायुयान सम्बन्धी हाम्रा पनि केही जिज्ञासा हल भए।
धनगढीको दिउँसोको उखर्माउलो गर्मीमा पसिना पुछ्दै हामी डोटीतर्फ अघि बढ्यौँ। साहित्यकार टोपेन्द्र शाह र पत्रकार आरजु हमाल पनि खप्तड यात्राका लागि हाम्रो गाडीमा थपिनुभयो। उकालो बाटो, जता हेरे पनि हरियो जङ्गल। पहाडी परिदृश्यमा आँखाहरू एकटकले डुलिरहे। झ्यालबाट शीतल हावाको स्पर्श लिँदै बेलुका दिपायल पुगेर बास बस्दा आनन्द आयो।
जेठ आठ गते बिहान सिलगढीको शैलेश्वरी मन्दिरको प्राङ्गणमा कन्सेप्ट नेपालद्वारा आयोजित कार्यक्रममा सुदूर पश्चिमका तीन जना अग्रज स्रष्टाहरू पत्रकार एवम् संस्कृतिकर्मी धनबहादुर मल्ल, देउडा गायक गोपाल पार्की र हुड्केली कलाकार पदम नेपाली दसदस हजार नगदसहित सम्मानित भए। हामी सबै उत्साहप्रद रूपमा कार्यक्रमा सहभागी भयौँ। दूरदराजमा गुमनाम रहेर पनि लोकसस्कृति र कलाको क्षेत्रमा समर्पित सर्जकहरू सम्मानित गरेर अनुकरणीय कार्य गरेकोमा मनमनै आयोजकलाई धन्यवाद दिएँ।
खप्तडतर्फ लाग्ने क्रममा डोटीको झिग्राना भन्ने स्थानसम्म मात्र गाडीमा पुग्न सकियो। त्यहाँबाट दिउँसो साढे दुई बजे जङ्गलै जङ्गलको बाटो उकालो लाग्यौँ। भिराला जङ्गलका रूखमा फुलेका लालीगुराँसको मधुरताले हाम्रो यात्रालाई स्वागत गरेझैँ लाग्थ्यो।
बाटोमा भेटिएका डोटीको सायलका पदमबहादुर बिकले 'झल्का रह्या पिरतीका' गीत गाएर एकछिन रनवन गुञ्जायमान बनाए। गीतको लयमा पाइला चाल्न पाउँदा बाटोको अप्ठ्यारो बिर्सिइदो रहेछ। हाम्रो टोली बिचपानी भन्ने स्थानमा पुग्दा रातीको आठ बज्न लागिसकेको थियो। उकालो र अप्ठ्यारो बाटो भएको हुँदा त्यहाँका स्थानीयका तुलनामा हाम्रो हिँडाइ केही ढिलो नै भएछ। बिचपानीमा सामान्य खालको एउटा होटल भेटियो र त्यहीँ बास बस्ने प्रबन्ध मिलाइयो।
नौ गते बिहान चराचुरुङ्गीका आवाजसँगै ब्युँझिएर गन्तव्यतिर लाग्यौँ। रूख र बोटबुट्यानहरूसँग साक्षात्कार गर्दै हिड्यौँ। केही बेर हिँडेपछि खप्तडका पाटनहरू देखिन थाले। भुइँघाँसले ढाकिएका चरणक्षेत्रमा जताततै गाईवस्तु चर्दै र उग्राउँदै थिए। डोटी, बझाङ, बाजुरा र अछाम चार जिल्ला जोडिएको खप्तड क्षेत्रमा जेठ, असार र साउन तीन महिना गाईवस्तु चराउन ल्याइँदो रहेछ। तीन महिनाका लागि अस्थायी प्रकृतिका छाप्राछुप्रीहरु बनाएर गोठालाहरू आफ्ना गाईवस्तु हेर्न यतै बस्दा रहेछन्। जताततै घाँसे भूमि र ठाउँठाउँमा तालतलैया भएका कारण पशु चरणका लागि यो ठाउँ अति नै उत्तम देखियो। भदौ लागेपछि मात्र उनीहरू आआफ्ना गाई, भैँसी, बाख्रा लिएर घर फर्किँदा रहेछन्। हिउँदमा अत्यधिक जाडो हुने र जताततै हिउँले ढाकिने हुँदा यता हिँडडुल गर्न गाह्रो हुने बाटोमा भेटिएका पशुपालकले बताए।
छिन्टे ढुङ्गामा पुग्दा देउडा गीत गाउँदै गरेका किशोरकिशोरीहरू भेटिए। निकै रमाइला उनीहरूले गीतमै आफ्नो परिचय दिए र गीतबाट नै 'ओके टाटा बाइबाइ' भन्दै हामीसँग बिदा मागे। उनीहरूका गायनकलामा छुट्टै मिठास, मौलिकता र स्थानीयताको सुगन्ध भेट्यौँ। बाजुराको मालिका मा.वि.बाट शैक्षिक भ्रमणमा खप्तड घुम्न आएका यी भाइबहिनीहरूका उज्ज्वल भविष्यको कामना गर्दै हामी अघि बढ्यौँ।
अपराह्नतिर खप्तडको त्रिवणी पुग्दा त्यहाँको प्राकृतिक सौन्दर्यका अघि हाम्रो हिँडाइको थकाइ कता हरायो कता। मेलाका लागि टाढाटाढाबाट ओइरिएका मानिसहरू यत्रतत्र थिए। दुई दिनका लागि बनाइएका छाप्रोको होटलमा भोजन गर्न पाइयो। मेलाका समयमा बाहेक अन्य समयमा मानवीय चहलपहल नहुने हुँदा यता कुनै स्थायी प्रकृतिका होटल, गेस्ट हाउस बनेका रहेनछन्।
दशहरा मेलाकै अवसर पारेर खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले आयोजना गरेको दुई दिने खप्तड पर्यटन महोत्सव पनि त्यसै दिन अवलोकन गर्न पाइयो।विविध सांस्कृतिक झाँकी, नृत्य, गायन, खेलकुदले त्यहाँको आकर्षण र चहलपहल बढाउँदै थियो। मन्त्रमुग्ध भएर हेर्नेहरूको कमी थिएन। पुतला, हुड्केली,चाँचरीजस्ता लोकलय अझै सुदूर पश्चिममा हराइसकेका रहेनछन्। घोडादाउन भन्ने विशाल पाटनमा प्रत्येक वर्ष गङ्गादशहरा मेलाको अघिल्लो दिन घोडादौड प्रतियोगिता सञ्चालन गर्ने र पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कृत गर्ने परम्परा रहेछ। निकै नै चुनौतीपूर्ण लाग्यो यो प्रतियोगिता। आँखैअघि दुई जना प्रतिस्पर्धी घोडाचालक घोडाबाट लडेको देख्दा नमज्जा पनि लाग्यो। फोटो खिच्न तछाडमछाड गरेका केही मानिस झन्डै किचिएका। अर्को वर्षदेखि दौडक्षेत्रलाई अझै व्यवस्थित बनाउन सम्बन्धितको ध्यान पुगोस्!
गङ्गादशरहराको अघिल्लो रात खप्तडमा जम्मा भइसकेका थिए हजारौँका भीड। केदारढुङ्गा र त्रिवेणी धाम वरपर खुट्टा राख्ने ठाउँ पाउन पनि गाह्रो थियो। रातभर खुला आकाशमुनि तपतप चुहिएको शीत र मुटु काम्ने जाडोको कुनै पर्वाह थिएन, नाचगानमा झुम्दै थिए सुदूरपश्चिमबासी। ठूलाठूला गोलाकार घेरामा एकआपसमा हातलाई साङ्लोजस्तो बनाएर खुटटा चाल्दै उनीहरूले गुन्जाएको देउडा लयमा सुदूर पश्चिम क्षेत्रको मौलिक सुवास झल्किन्थ्यो।
पहिलो पटक सुदूर भूमिको सांस्कृतिक चहलपहल देख्न पाउँदा दङदास भयौँ हामी। गीत, नृत्य, पहिरन,बोलीचाली सबैमा उस्तै मौलिकता। यहाँका मानिसहरूका सांस्कृतिक, आर्थिक र सामाजिक अवस्थाको प्रतिबिम्ब देख्न पायौँ।
केही बेर रौनक र रमझम हेरेपछि नौ गते राती सुत्ने सुरसारमा लाग्यौँ हामी। मेलास्थल नजिकै टेन्टभित्र आआफ्ना स्लिपिङ ब्यागले शरीर ढाकेर निदाउँने कोसिस गरे पनि निद्राको साथ पाउँन त्यति सजिलो कहाँ थियो र! चिसो ठाउँ, त्यसमाथि आकाशले अभिषेक गरेको सिमसिमे पानी । जाडोमाथि जाडो, ठण्डामाथि ठण्डा। रातभरजसो जागा रहे पनि कुनै गुनासो गरिएन किनकि प्रकृतिको यस्तो दिव्य सामीप्य जहिलेसुकै पाउन सकिने कुरा पनि थिएन।
दस गते बिहान ब्युँझिएर आँखा डुलाउँदा त्रिवेणी धाममा नुहाउँने र पूजा गर्नेको घुइँचो थियो। सुदूर पश्चिमेलीको आस्था, आकर्षण र आत्मीयता जोडिएको रहेछ यो पवित्र स्थलसँग।
जता हेरे पनि आँखा नअघाउँने स्वर्गको आभास। जति हिँड्यो उति हिँडिरहूँझैँ लाग्ने परिवेश। भूस्वर्ग नै रहेछ खप्तड। त्रिवेणी धामबाट सहस्र लिङ्ग अवलोकन गर्न दश गते बिहानै हिँडेका हामी त्यहाँ पुग्दा बिहान बितिसकेको पत्तो नै भएन। अजङ्गको ढुङगामाथि निर्मित सहस्र लिङ्गको स्वरूप आफैमा कलामय लाग्यो।
कतै जङ्गलको बाटो, कतै ठूलाठूला पाटनहरू छिचोल्दैछिचोल्दै खप्तड दहमा पनि पुग्यौँ हामी। चारैतिर जङ्गल, बीचमा दह। आँखाको नानीजस्तै सुन्दर यो विशाल दह कुनै कलाकारले फुर्सदमा बनाएको कलाभन्दा कम लागेन।
पचासभन्दा धेरै फराकिला पाटनहरू र ठाउँठाउँमा तालतलैयाहरू रहेका खप्तड क्षेत्र सबै घुम्न त हाम्रो यो घुमाइ र समय पर्याप्त थिएन, तैपनि दस गते दिनभरजसो खप्तडका पाटनहरू डुलेर नै बिताइयो। प्रकृतिको विशिष्ट कला झल्किने अति नै आकर्षक फराकिला पाटनहरू घुम्दा हामीले कल्पना गर्ने गरेको स्वर्ग यही हो कि जस्तो अनुभूति हुन्थ्यो। आहा, प्रकृतिको कस्तो भव्यता, कस्तो दिव्यता!
पाटनहरूलाई माला लगाइदिएजस्ता छेउछाउतिर घेरिएका हरिया जङ्गल। मसिनामसिना अनेक भुइँघाँस र रङ्गीचङ्गी भुइँफूलहरूले छोपिएका पाटनहरू। सिपालु कलाकारका हातले मिलाइएका जस्ता कलात्मक थुम्कीहरू। यस्तो सौन्दर्यले कसको पो मन लट्ठ नहोला र! आँखा झिमिक्क नै नपारी एकतमासले हेरिरहूँझैँ लाग्यो खप्तडलाई।
दिनभर प्रकृतिसँग सङ्गत। साँझ केदारढुङ्गा नजिकै रहेको खप्तड राष्ट्रिय निकुञ्जको पाहुना घरमा बास पाउँदा हाम्रो बसाइ सहज भयो। निरन्तरको हिँडाइडुलाइले शरीर थाके पनि मन थाकेको थिएन, आरामले निदाइयो।
खप्तडबाट फर्किने दिन बिहान केही बेर यात्राको अनुभूति सुनियो र सुनाइयो पनि। खप्तडलाई कसैले प्रकृतिले फुर्सदमा बनाएको कलाकृति भने। कसैले खप्तडमा आएपछि स्वतः प्राकृतिक चिकित्सा भएर मन र शरीरको मिलन भएको बताए। कसैले जीवित अवस्थामा नै देख्न सकिने स्वर्गका रूपमा खप्तडलाई चिनाए। पर्यटकीय विकासका लागि खप्तडलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन आवश्यक रहेको प्रसङ्ग पनि उठ्यो। सरोकारवालाका आँखा खुलेमा सुदूर पश्चिमलाई समृद्ध बनाउने आधार खप्तड क्षेत्र बन्न सक्नेमा यात्रामा सहभागी सबैको मतैक्य रह्यो।
खप्तडबाट फर्किँदा बिहान सबेरै निक्लियौँ, बाटोमा अलमल गरेनौँ र फटाफट हिड्यौँ। वनबुट्यान र पाखापखेराहरसँग आत्मीयता साट्दै मध्याह्न बिचपानी नै पुग्यौँ खाना खान। बिचपानीबाट ओरालैओरालो बाटो, कतैकतै हिँड्दाहिँड्दै सिलिली पनि खेलियो। झिग्राना पुग्दा दिउँसोको साढे चार बज्यो। त्यहाँबाट जिप चढेर डोटीको पुन्नास्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रमा यात्राको छैटौँ रातको बास बस्न पुगियो। बेलुका भोजनपछि नाचगानको रमाइलो, बिहान मित्र घनश्यामबाट सिकेको ध्यानको आनन्द। पुन्नाको बसाइ पनि सुखद रह्यो।
जेठ बाह्र गते बिहान उद्योग वाणिज्य सङ्घ डोटीले हामी काठमाडौँ फर्कने क्रममा रहेका खप्तड यात्रामा सहभागी समूहका लागि चियापान र बिदाइ कार्यक्रम आयोजना गर्यो। सङ्क्षेपमा नै भए पनि त्यहाँ हाम्रा यात्रा अनुभूतिहरू आदानप्रदान भए । उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष नरेन्द्रबहादुर खड्कालगायत डोटीका साथीहरूसँग बिदा भएर हामी त्यसै दिन काठमाडौँतिर हुइँकियौँ।
फर्किदा पनि रसमय संवाद, गायन र उत्साहउमङ्ग उस्तै। सबै साथी रम्न र जम्न सिपालु। बसको लामो यात्रा भए पनि फिटिक्कै पट्यार लागेन।
खाना, खाजा र शौचको प्रयोजनका लागि बाहेक बाटोमा कतै गाडी रोकिएन। चितवन ओर्लनु पर्ने साथीहरू नारायणगढमा र पोखरातिर लाग्नु पर्ने साथीहरू मुग्लिङमा ओर्लिनुभयो। पूरा एक रात र अपूराअपूरा दुई दिनजसो गाडीमा सर्रसर्र हुइँकिँदैहुइँकिँदै हामी पनि जेठ तेह्र गते उज्यालोमा नै काठमाडौँ आइपुग्यौँ।
सकुशल र उल्लासपूर्वक आठौँ दिन घर पुगेपछि मनमा लाग्यो, यात्रा होस् त
यस्तो पो। सोचेभन्दा पनि सफल, कल्पना गरेभन्दा पनि सुन्दर।
सबै तस्बिरहरूः चन्द्र काफ्ले