भाषाको पर्खाल र कुराकानी


थिएटर ओलम्पिक्स यात्रा भाग– २

(भारतमा भएको आठौं थिएटर ओलम्पिक्समा मण्डला थिएटरको नाटक ‘एन्टिगोनी’ मञ्चनमा सहभागी हुन गएका सुरज सुवेदीको यात्रा श्रृंखला।)

गुवाहाटीको पहिलो बिहान।

अडिटोरियममा सेट लगाउने काम हुँदैछ। तर त्यसको लागि सबैजनाको आवश्यकता छैन। जो–जो जिम्मेवारीमा थिए सबै काममा लागिसकेका छन्। बाँकी भएका जति बाहिर बसिरहेका छौं।

त्यसबेलै बिजित आउँछ र भन्छ, ‘इधर घुम्न चाहते हो तो लैजासक्ता हुँ।’ उसलाई घुमाउन लैजानु भनिएको हुनसक्छ वा ऊ आफैंले हामीलाई त्यसै राख्नुभन्दा यसो घुमाएर ल्याउँदा ठीक हुन्छ भन्ने सोचेको हुनुपर्छ। जे होस् त्यो कुराले हामीलाई उत्साहित बनायो। हामी उसलाई पछ्याउँछौँ।

गुवाहाटीमा हिन्दी निक्कै कम बोलिँदो रहेछ। बाटोका बोर्डहरूमा पनि अङ्ग्रेजी र आसामी भाषा मात्र लेखिएका छन्। हामीसँग कुराकानी गर्नु नपरेको भए बिजित पनि सायद हिन्दी वा अङ्ग्रेजी बोल्दै हुन्थ्यो। आयोजक  बेलाबेला सल्लाह गर्दा ऊ आसामी नै बोल्छ।

उसको हिन्दी र हाम्रो हिन्दी मिल्छ। अङ्ग्रेजी पनि खासै जान्दैन तर आसामिज भाषा गज्जब बोल्छ। उसले पर्फर्मेन्स आर्टमा मास्टर्स गरेको छ। गुवाहाटीमा डेरा लिएर बसेको ऊ कुनै थिएटर समूहमा आबद्ध नभई फ्रिलान्स कामहरू गर्छ।

‘कसरी चल्छ त जीविका?’ बाटोमा हिँड्दै गर्दा म उसलाई सोध्छु।

‘सरकारले पैसा दिन्छ। एउटा सो गरेको पाँच हजारसम्म पाउँछु। एउटा नाटक लगभग पचास सो गैहाल्छ। वर्षमा २-३ वटा गर्न पाएँ भने गुजारा त चलिहाल्छ’ ऊ भन्छ।

म मनमनै हिसाब गर्छु। उसको कमाइ कला क्षेत्रमा लाग्नको लागि पर्याप्त छ। ऊ खुसी देखिन्छ। अनि सम्झिन्छु हाम्रो देशको थिएटर र त्यसमा भएको सरकारी लगानी। थिएटरहरू धन्नले चलेका रहेछन् नेपालमा। त्यसमा लाग्नेको ऊर्जा नहुँदो हो त खोज्नुपर्ने अवस्थामा पुगिसक्थ्यो होला अहिलेसम्म।

कवि विप्लप प्रतीक दाइले भनेको कुरा याद आउँछ– ‘भारतमा कलाकार हुनु र नेपालमा कलाकार हुनुमा आकाश जमिनको फरक छ।’

हुन त जमिन र आकाश पनि आपसमा परिपुरक नै छन्। जे जस्तो भए पनि नेपाली नाटक थिएटर ओलम्पिक्ससम्म पुगेका त छन्।

हुन त खेलकुदको ओलम्पिक्समा पनि त जान त गएकै छन्। त्यहाँ पनि अरू देशका त्यस्तै खेलाडी भेटिँदा हुन् जसले कुराकानीमा बिजितले जस्तै भन्दा हुन्, ‘मलाई केवल खेलको चिन्ता छ, मेरो चिन्ता त देशले गरिहाल्छ नि।’ त्यो सुनेर खेलाडीको मनोबल खेल सुरु नहुँदै हार्दो हो।

साँच्ची केही महिना पहिला प्रतिभावान् खेलाडी केशरी चौधरी पनि त खाडी मुलुक भासिइन्।

म बरालिएँ। बिजितको कुरा गर्दै थिएँ। त्यतै फर्किन्छु।

बिजित।

बिजितले हामीलाई नजिकैको सांस्कृतिक क्षेत्र ‘श्रीमान्थ शंकरादेव कलाक्षेत्र’ घुमाउन लगेको छ। त्यो ठाउँ र अडिटोरियम भएको ठाउँको कम्पाउन्ड जोडिएका छन्। क्षेत्र ठूलो छ। एउटा कलाको ठूलो राज्य जस्तो। उसले हामीलाई विभिन्न सँस्कृतिक पहिरन झल्कने लुगाहरू लगाएका मूर्ति राखिएको ठाउँमा पुर्‍याउँछ।

आसामका विभिन्न ठाउँहरूमा बस्ने विभिन्न खाले जातिहरूले लगाउने परम्परागत पोसाक लगाएका छन् तिनले। मलाई धेरै लुगाहरू हाम्रो राष्ट्रिय संग्राहलयमा भएका त्यस्तै मूर्तिहरू र तिनले लगाएका लुगाजस्तै लाग्छन्। सांस्कृतिक रूपमा आसाम हामीसँग धेरै मिल्दो रहेछ।

त्योभन्दा अर्को कोठामा ‘गिफ्ट–सप’ पनि छ। बाँसले बनेका सामानहरू सँगै विविध परम्परागत कपडाहरू बेच्न राखिएको छ। हिजो रेलमा बेच्न राखेको गम्छा पनि त्यहाँ छ। म त्यसको दाम सोध्छु। रेलमा भनेको मूल्य भन्दा महँगो छ। बिजित भन्छ ‘यसलाई नकिने हुन्छ। भरे तिमीहरूलाई आयोजकले लगाइदिइहाल्छन्।’

हामी सबै हाँस्छौं। अरूलाई लगिदिने भनेर रेलमा गिफ्ट किनिदिएका साथीहरू भन्छन् ‘यहाँबाट जाने सबैले उस्तै लगेपछि त सित्तैमा पाएको सामान ल्याइदियो भन्ने भए अब।’

बिजित त्यहाँबाट निकालेर हामीलाई सानो डाँडा घुमाउन खुड्किला चढाउँछ। पशुपतिबाट गुह्वेश्वरी जाने बाटो जति छ दुरी। त्यहाँ एउटा सानो मन्दिर छ। मन्दिरको बाहिर भित्तामा विष्णुका दश अवतारहरूको तस्बिर बनाइएका छन्। ती अवतारहरू मैले देखिरहेका अवतारहरू भन्दा फरक छन्। भूगोलअनुसार भगवानका तस्बिरहरू पनि फेरिँदा रहेछन्।

त्यसको नजिकै एउटा ओपन थिएटर छ। प्राचीन ग्रिसमा हुने मोडलको थिएटर। स्टेडियमको आधा भाग जस्तो बस्ने ठाउँको सबैभन्दा तल गोलो स्टेज छ। नाट्यकर्मी सोमनाथ खनाल दाइ भन्नुहुन्छ, ‘खासमा एन्टिगोनी नाटक यो थिएटरमा मञ्चन हुनुपर्ने हो। यसको ग्रिसेली मञ्चन त यस्तै ठाउँमा भएको थियो।’

हामी त्यहाँबाट ओर्लिएका छौँ। तल आइपुगेपछि आसामका चर्चित गायक भुपेन हजारिकाको जीवन झल्किने सानो संग्राहलय देखिन्छ। रातोपाटीका नरेश ज्ञवाली दाइ हजारिकाको प्रशंसक हुनुहुँदो रहेछ। केही गीतहरू त उहाँलाई कण्ठै रहेछन्। उहाँलेनै बिजितलाई त्यहाँ लैजान भन्नुभएको छ।

स्टेज बन्दै। फोटोः बिप्लप प्रतिक

हामी ढोकाबाट भित्र छिर्दै हजारिकाको सुमधुर आवाज बजिरहेको सुन्छौं। मझौला क्षेत्रफलको कोठामा हजारिकाको जीवन झल्किने धेरै चिजहरू राखिएका छन्। उनले बजाएको बाजा, लगाएको लुगा, लास राखिएको कफिन, विभिन्न व्यक्तिहरूसँग खिचेका फोटोहरू, टोपी, बाल्यकालका फोटोहरू सबै । शिखर चुमेको एक व्यक्तिका सबैथोक कति धेरै महत्त्वपूर्ण हुँदा रहेछन्।

के यी यसरी जतन गरिएकाले महत्त्वपूर्ण लागेका हुन् त? हामीले पनि विभिन्न कालजयी गायकहरूको सम्मान यसरीनै गर्न सके कति राम्रो हुन्थ्यो?

त्यहाँबाट निस्किएर हामी नजिकैको ‘सिल्पग्राम’ पुगेका छौँ। शिल्पग्रामको बीचमा ठुलो मैदान छ र त्यसको वरपर सानासाना सटरहरू बनाइएका छन्। ती सटरहरूमा आसामको विभिन्न भेगका संस्कृति झल्किने लुगा कपडा, हस्तकलाका सामानहरू सजाइएको छ। गुवाहाटी घुम्न आउनेले आसामका सबै गिफ्टहरू एकैठाँउमा किन्न सकुन् भनेर त्यस्तो बनाइएको हुन सक्छ। त्यहाँ कलाकार पशुपति राई र सृजना सुब्बा दिदी साडी किन्न खोज्दै हुनुहुन्छ। अलिअलि नेपाली बोल्न जान्ने पसले दिदी उहाँहरूलाई साडीहरू देखाउनुहुन्छ।

गुवाहाटी पुगेपछि समालोचक महेश पौड्याल सरकी दिदी डा. गोमा शर्मालाई फोन गरेको थिएँ। मैले सिलगुढीको स्टेसनबाट गरेको फेसबुक लाइभमा गुवाहाटी जान लागेको भनेर बताएपछि महेश सरले कमेन्टमा मेरो दिदीलाई भेट्नु भनेर नम्बर दिनुभएको थियो। गोमा म्याम आउँछु भन्नुभएको छ।

बिजितसँग फेरि एक छिन भलाकुसारी गरिरहेको छु। ऊ आसामको चाडहरूको बारेमा बताउँदै छ। धेरै विचार गरेर मात्र आपसमा बोल्थ्यौँ हामी। भाषा नबुझ्ने भएपछि निक्कै निखारिएर र बोल्नैपर्ने बेलामा मात्र बोलिने रहेछ। ऊ भन्दै छ त्यहाँ ‘बिहु’ नामको चाड धूमधामले मनाइँदो रहेछ। मनाउने पनि तीन चरण। पहिलो चरणलाई ‘रंगाली’ भनिँदो रहेछ। त्यो खेती गर्नुभन्दा पहिला मनाइने रहेछ। यस्तै ‘लुगाले’ खेती सकिएपछि र ‘काती’ धान पसाउने बेलामा अन्नलाई स्वागत गर्दै मनाइने रहेछ।

गोमा म्यामलाई पर्खिँदै गर्दा स्ट्रीट नेपालका फोटोग्राफर नवीन दाइ र म बाहिर बसेर गफ गरिरहेका छौँ। नवीन दाइ सम्भवत काठमाडौंको त्यस्तो फोटो पत्रकार हुन् जसले लगभग सबै नाटकहरूको फोटो खिच्नुभएको छ। उहाँसँग सय वटा भन्दा धेरै नाटकको फोटो तयार भइसकेको रहेछ। मैले आफूले लेखेका सत्ताइस वठा नाटक रिभ्युहरूको पनि कुरा गरेँ। दुवैलाई एकैठाउँ मिसाउन पाए? हामी केही सल्लाह पनि गर्छौँ।

गोमा म्याम आइपुग्नुभएको छ। आउनासाथ भन्नुभयो ‘महेशले मेरो एक विद्यार्थी आउँदै छ, फोन गर्छ होला भनेको थियो।’ हिन्दी भाषाको प्राध्यापक तथा नेपालीको समालोचक हुनुहुँदो रहेछ। ‘भारतीय नेपाली साहित्यको विष्लेषणात्मक इतिहास’ नामको समालोचनाको कृति भर्खरै निकाल्नु भएको रहेछ। नेपाली साहित्य सँगै गुवाहाटीको संस्कृतिको बारेमा पनि उहाँसँग कुराकानी गर्ने अवसर मिल्यो।

मैले उहाँलाई चोयाको त्यो रंगीन टोपीको विषयमा सोधेँ।

त्यसलाई ‘जापी’ भनिँदो रहेछ। कृषि पेसामा लाग्ने मानिसहरू धेरै भएको आसाममा खेतमा काम गर्दा घाम छेक्न लगाउने परम्परागत टोपीको स्वरूप रहेछ त्यो। साथै त्यो सँगै पाहुना आउँदा पेय पदार्थ अफर गर्ने ‘हेराइ’ जसलाई मैले थिएटर ओलम्पिक्सको ठूलो ब्यानरको अगाडि राखिएको देखेको थिएँ त्यसको बारेमा पनि उहाँले बताउनुभयो।

गुवाहाटीमा कृषि पेसामा आधारित सामानलाई विशेष मान्यता दिइएको छ। त्यहाँको मुख्य चाड तथा चिनोहरू पनि कृषिमै आधारित भएर बनेको देखेँ।

अनि सानो हुँदा पढेको सम्झिएँ ‘नेपाल कृषिप्रधान देश हो।’

++

बेलुका ६:३० मा हाम्रो नाटकको प्रदर्शन हुँदैछ। त्योभन्दा पहिला माधवदेव अडिटोरियमको आँगनमा तयार भएको सानो स्टेजमा सांस्कृतिक लुगामा सजिएका सङ्गीतकारहरू तयारी गर्दै छन्। उनीहरूको सांस्कृतिक प्रस्तुति छ। एकैछिनमा आफ्नो सांस्कृतिक लवज र आवाज मिसिएका गीतहरू गाउन थाल्छन्। गीतका शब्दहरू नबुझे पनि हामी ध्यान दिएर सुन्छौँ। आखिर भाषा नबुझे पनि त नाटक हेर्न मानिसहरू आउँदै छन्।

स्टेज सो सकिएसँगै मानिसहरू हलभित्र आउने तयारीमा लागेका छन्। त्यहाँ दुईवटा घण्टी लगाउने चलन रहेछ। पहिलो घण्टीमा तयार रहने र दोस्रो घण्टीमा भित्र छिर्ने। म पहिलो घण्टी लाग्दा भित्र छिरिसकेको छु। कलाकारहरू अन्तिम वार्मअप गर्दै छन्। एकछिनमा नेपालको राष्ट्रिय गीत ‘सयौँ थुँगा फुलका हामी’ गाउँन थाल्छौँ। छाती चौडा भएको महसुस हुन्छ। राष्ट्रिय गीतले देशमा गाउँदा भन्दा विदेशमा गाउँदा अर्कै झङ्कार दिने रहेछ। हामी एक अर्कालाई अल दि बेस्ट भन्यौँ।

नाटक सुरु हुने बेलामा मलाई ढुकढुक भइरहेको छ। आफ्नो ठाउँमा देखाउनु र हेर्नुभन्दा फरक रहेछ फरक देशमा नाटक देखाउनु। यसअघि नेपाली नाटक विभिन्न देशहरू पुगेको समाचार पढेको थिएँ तर वास्तवमै कस्तो हुँदो रहेछ पहिलोपल्ट भोग्दै छु। विप्लव दाइले भनेको सम्झिन्छु ‘देशबाट निस्किएपछि एकजना मानिस पनि सिङ्गो देशको प्रतिनिधि हुन्छ।’

देशको प्रतिनिधि हुनु बहुतै बोझको काम रहेछ।

नाटक सुरू भयो। मलाई नाटकको हरेक डायलग र दृश्यमा यो कुरा अरूले बुझेकि बुझेनन् होला भन्ने कुराले उत्सुक बनाइरहेको छ। म त्यस्तो ठाउँहरूको विशेष चिन्ता लिँदो रहेछु जहाँ बोलिएका वाक्यहरू कथा बुझ्न महत्त्वपूर्ण छन्। यी मानिसहरूले यदि त्यो वाक्य बुझेनन् भने नाटक कसरी बुझ्लान्? तर पनि मानिसहरू एक टकले नाटक हेरिरहेका छन्। सबैले बुझ्ने शरीरको भाषा कति महत्त्वपूर्ण हुँदो रहेछ भन्ने कुरा मैले त्यो अवस्थासम्म सोचेर बुझेको रहेनछु।

ब्रह्मपुत्रको पुलमा।

मैले बुझेको भाषाभन्दा बलियो अर्को भाषा रहेछ।

तीनसय जनाभन्दा धेरै मानिस अट्ने हलमा खचाखच मानिसहरूको बीचमा नाटक सुरू भयो र सकियो। सबै जना स्टेजमा भएको बेला आयोजकले नाटकका सम्पूर्ण टिमलाई स्टेजमा बोलाएर सम्मान गरे। हामी सबैको काँधमा रेलमा देखेको तथा गिफ्ट पसलमा नकिनेको त्यही सेतो गम्छा।

ब्याकस्टेजमा पुगेर बाहिर निस्किँदा लगभग हल खाली भइसकेको छ। नाटक कस्तो लाग्यो भनेर दर्शकहरूसँग कुरा गर्न मन थियो तर पाइन।

आयोजकमध्येकै एक जना दिदी त्यहाँ नै छन्। उनलाई मैले सेट बनाउन थालेदेखिनै देखेको थिएँ तर बोलेको थिइन। भेटेँ। नाटक कस्तो लाग्यो सोधेँ। उनले नाटकमा मन परेका केही पक्षहरू सुनाइन्। मैले नाटकको सेटमा प्रयोग भएको साङ्लीलाई दरबार बुझेको थिएँ उनले जेल बुझिछिन्।

भाषाको पर्खाल नाघिसकेपछि नाटक अरू नै केही बन्दो रहेछ। मान्छेले बुझ्ने ठाउँहरू फरक फरक हुँदा रहेछन्।

नाटक सकेर सोम दाइसँग नाटकको यही पक्षको बारेमा कुराकानी गर्दैछु। देश र भूगोल छोडेपछि नाटक आफैं फरक धारको बनिसक्ने रहेछ। म नाटक हेर्दै गर्दा त्यहाँको दर्शक भएर पनि यी कुराहरू महसुस गर्न खोज्छु। बिना कुनै सबटाइटल, बिना कुनै भाषाको ज्ञान, मानिसहरूलाई फरक देश र भाषाको नाटक हेर्नको लागि के कुराले प्रभावित गर्दो हो?

सुनिल पोखरेलले विराटनगरका युवाहरूसँग झन्डै ६ वर्षअगाडि भनेको एउटा कुरा सम्झिन्छु, ‘नाटकलाई भाषाले थुन्दैन।’ म भाषा नाघेर हिँडेको एक नाटकसँगको यात्रामा त्यो भनाइको गहिराइ बुझ्दै छु।

आफ्नै बुझाइलाई सम्झिन्छु। मैले पनि काठमाडौंमा हेरेको भन्दा विराटनगरमा र विराटनगरमा हेरेको भन्दा गुवाहाटीमा नाटकलाई फरक तरिकाले हेरेको रहेछु।

+++

गुवाहाटीको अन्तिम बिहान।

हामी नौ बजेतिर निस्किएका छौं। साइट घुमाइदिन भनेर सोम दाइले गाडीको व्यवस्था गर्नुभएको छ। गुवाहाटी आएको मौकामा यहाँका केही ठाउँहरू घुम्न हामीलाई मन लागेको छ।

फेसबुकमा म गुवाहाटी छु भन्ने थाहा पाएका र गुवाहाटी पुगिसकेकाहरूले ‘कामाख्या’ मन्दिर जसरी पनि पुग्नु भनेका छन्। हामी पहिलो लटमा कामाख्या मन्दिर नै जाँदै छौं।

निकैबेर तेर्सोमा गुडेपछि बाटो उकालो लाग्न थाल्यो। बिल्कुलै हाम्रो नेपालमा जस्तै उकालो लाग्नुपर्ने बाटो। तर बाटो चिल्ला छन्। मन्दिर आउनुभन्दा पहिला बस्तीहरू आउँछन्। अनि बस्तीको बीचमा मन्दिर। मनकामना मन्दिर वा बुढासुब्बा गएजस्तै।

कामाख्या मन्दिर।

चप्पल खोल्ने ठाउँमा भीड छ। सृजना सुब्बा दिदीले टोकन लिनुभएको छ। उहाँको जुत्ताकै छेउमा हामीलाई पनि जुत्ता खोल्नु भनेका छन् एक जना दाइले। त्यस्तो खुल्ला ठाउँमा राख्दा अर्कोले टिपिदियो भने? म यस्तो पनि सोच्दै छु, सँगै सोच्छु यत्रो मन्दिरमा आइपुगेर पनि मानिसले त्यस्तो गर्लान्?

भित्र छिर्‍यौँ। मन्दिरमा सबैभन्दा पहिला भेटिए फोटो खिचिदिनेहरू। उनीहरूसँग मन्दिरलाई पर्दामा राखेर खिचिएका देखाउने केही फोटोहरू छन्। त्यस्तै खिच्छौ त भनेर हामीलाई सोध्दै पनि छन्। मलाई भने फोटोले भन्दा पनि मन्दिरमा सजाइएका फुलहरूले ताने। फरक–फरक फुलहरूले भव्य रूपमा सजाइएका भित्ताहरू। तर भुँडबाट नभेटिने छानोमा भने प्लास्टिकको फुलहरू लगाइएको छ। तलतल भेटिने ठाउँहरूमा भने वास्तविक फूलहरू नै। अलिकति गहिराइमा छ मन्दिर। मानिसहरू त्यहाँ पुगेर वरपर घुमिरहेका छन्।

फूलहरूलाई पछाडि पारेर फोटा खिचिरहेका। त्यस्तै त्यहाँ आफूले चिताएको पुगोस् भनेर पैसा टाँस्ने चलन पनि रहेछ। मानिसहरू दर्शन गर्नको लागि बिहान ६ बजेदेखि लाग्दारहेछन् लाइन। हामी आइतबार गएकाले पनि होला। मानिसहरू लाइन लाग्दै भुईंमा बसेका छन्। छिटो दर्शन गर्न चाहनेहरूको लागि भने छिटै दर्शन गर्ने व्यवस्था छ। तर त्यो दर्शन चेन गेटको अलिक परबाट मात्र पाइन्छ। देवीलाई हेर्न भने सकिने। त्यस्तो भिडमा पनि पण्डितहरू मानिसहरूलाई शपथ खुवाउनमै व्यस्त देखिन्छन्।

त्यहाँबाट फर्किएर खाना खाइसक्दा बाह्र बज्न लागिसकेको छ।

खाना खाएपछि ब्रम्हपुत्र नदी जाँदै छौं। ड्राइभरले पुलवारि गाडी रोकेका छन्। हिँडेर पुल तर्नेहरू ओर्लिएका छन्। म राजन खतिवडा, विकास जोशी र सोमनाथ खनाल दाइ भने गाडीमै बसेका छौँ। पारि पुगेर गाडी रोकेपछि भने हामीलाई पनि पुलमा हिँड्न मन लागेको छ। गाडी चढ्ने पुलमा अरू साथीहरू आउँदै थिए हामी रेल र गाडी दुवै दौडिने पुलबाट पारि फर्किन थाल्यौँ। सत्रवटा पिलरमा अडिएको विशाल पुल रहेछ ब्रम्हपुत्रमा। नदी पनि उस्तै विशाल। मैले गुगल म्यापमा हेर्दा पुल बनाएको ठाउँमा नदी सबैभन्दा सानो भएको रहेछ। सबैभन्दा ठुलो भएको ठाउँमा कत्रो होला?

राजन दाइ र म कुराकानी गर्दै छौं। उहाँसँग कुरा गर्दा अर्कै आनन्द हुन्छ। सानोसानो विषयमा पनि गहन कुराकानी हुन्छ। म भन्दै छु ‘बाटो बढ्दै जाँदा दुरी बढ्दै जाने रहेछ।’ मैले कामाख्यबाट फर्किँदा विचार गरेँ। बाटो साँघुरो भएको ठाउँमा मानिसहरूको जमघट थियो। त्यहाँ पसलहरू थिए। खरबुजा बेच्ने मानिस त्यहीँ, पकौडा बेच्ने त्यहीँ, ठेलामा बिर्यानी पनि पाकिरहेको। अरू सामान बेच्नेहरू पनि त्यहीँ। तर जब बस त्यो ठाउँलाई छोडेर अगाडि बढ्यो, बाटो चौडा हुँदै गयो। बाटो चौडा भएसँगै मानिसहरू टाढा हुँदै गए। भारतीय कवि मुनब्वर राना भन्छन् ‘मंजिल करिब आते ही एक पाउ कटगया, चौडी हुइ सडक तो मेरा गाउँ कटगया।’

राजन दाइ भन्नुहुन्छ ‘सबै थोकको एक कारण र प्रयोजन हुन्छ। ती सबै चिजहरू पनि कुनै कारण र प्रयोजनको लागि भएका हुन्।’ म उहाँको कुरामा सहमत हुन्छु।

त्यहाँबाट हामी सिधै गुवाहाटी एयरपोर्ट जाँदै छौँ। फ्लाइट ७ बजेको भए पनि त्यहाँ ५ बजेसम्म पुग्ने हाम्रो योजना छ। नाटकको सामान धेरै भएको तथा समूह पनि ठुलो भएकाले बरु छिटै जाँदा राम्रो भन्ने सल्लाह भएको छ।

चेक इन भएर भित्र छिर्दा ६ बज्न लागेको छ। जहाज आउने समय अझै धेरै बाँकी छ।

नवीन दाइ र म रेस्टरुममा छौँ।

हात धुँदै गर्दा नेपालीमा केही कुराकानी गर्‍यौँ। हामी नेपालीमा कुरा गरेको सुनेपछि ट्वाइलेटमै भएका एक जना अर्का दाइले हामीलाई बोलाएका छन्:

‘तपाईँहरू नेपालबाट हो?’

‘हो’

नेपालीमा हो भन्ने जवाफसँगै उनी पनि नेपाली बोल्न थाले। नेपाली मूलका नै रहेछन्। उनको हजुरबुवा नेपाल छोडेर आसाम गएका रहेछन्।

हामी त्यहाँबाट एकछिन बोल्दै फर्कियौँ। नेपाली बोल्ने मान्छे भेटिँदा पनि रमाइलो लाग्ने रहेछ।  एकछिन कुराकानी गर्‍यौँ।

म वेटिङ सिटमा बसिरहेको छु। म बसिरहेको ठाउँमा अर्का एक जना मानिस आएर बसेका छन्। उनको हातमा एउटा पत्रिका छ जसको हेडलाइनमा ‘रंगाली बिहू कि जन्मभूमी है शिवसागर’ लेखिएको छ। बिहू भनेपछि मलाई बिजितले भनेका कुराहरूको सम्झना भएको छ। त्यसकै कारण म उनलाई बोलाउँछु। परिचय गर्छु।

उनी कोलाकाता जाँदै छन्। कोलकातामा सेनामा काम गर्छन्। उनको परिवारपनि उतै छ। छोरा छ र ऊ पढ्दै छ।

‘के बनाउने त छोरालाई?’ म हिन्दीमा सोध्छु।

‘के बनाउने थाहा छैन। सेना चाहिँ नबनाउने। बरु मान्यो भने डाक्टर बनाउँने’ उनी जवाफ दिन्छन्।

‘सेना किन बनाउने नि?’

‘सेनाको जागिर बाहिरबाट ठिक छ तर भित्रबाट छैन। त्यहाँ जहिल्यै कुरा सुन्नु पर्छ। आफ्नो सेन्स सबै मारेर जागिर खानुपर्छ।’

‘तपाईँको घर यतै हो कि?’ म सोध्छु। उनी हो भन्छन् र उनले हो भनेको सुनेर हामी बसे पछाडिबाट एक दाइ आसामीमा केही सोध्छन्। उनले दिएको जवाफ सुनेर अनुमान गर्छु ‘यहाँ घर कहाँ हो?’ भनेर सोधेछन् क्यार। म फर्किएर हेर्छु। सोध्ने दाइ ट्वाइलेटमा भेटेका दाइ हुन्।

‘दाइको घर यतै हो कि नेपाल हो त?’ म उनलाई सोध्छु।

‘मेरो हजुरबुवा ७० वर्ष पहिला नेपालबाट आउनुभएको रे।’

‘अनि नेपाल जाँउजस्तो लाग्दैन?’

‘मन लाग्छ तर तीन दिन पहाड हिड्नुपर्छ भनेर गएको छैन।’

उनको नाम भेषराज कटुवाल। घर आसामको तेजपूर । पहिला उनको घर र खेत ब्रम्हपुत्र नदी नजिकै थियो। त्यहाँ धेरै नेपालीहरू घर र खेत जोडेर बसेका। एक दिन ब्रम्हपुत्र नदी पसेर सबै गाँउनै उठाएर लग्यो। उनीसँग भएको २५ बिघा जमिनमा केवल ३ बिघा बाँकी रह्यो। त्यसपछि उनीहरू त्यहाँबाट तेजपूर आएका रहेछन्। पहिलाको बस्तीमा नेपाली मात्र भए पनि अहिलेको बस्तीमा सबैखाले मानिसहरूको बसोबास रहेछ। उनीहरू दसैँ र तिहार पनि मनाउँदा रहेछन्। देउसी पनि खेल्छौ भन्ने सुनाउँदा उनको आँखामा खुसी थियो।

उनी पनि बैंगलोरमा काम गर्छन् । परिवारलाई सँगै राख्ने र छोराछोरी पढाउँदा रहेछन्। उनको कमाइ लगभग ५० हजार पुग्दो रहेछ तर खर्च लगभग ३० हजार। उनलाई पनि छोरालाई राम्रोसँग पढाउनु छ। आफूले भोगेको दु:ख भोग्न दिनु छैन।

दुबैजनालाई आफ्नो छोराछोरी आफूजस्तो बनाउनु छैन। उनीहरूको राम्रो भविष्य होस् भन्ने चाहन्छन् दुबैजना।

‘सबैले यस्तै सोच्ने हो भने त समग्र देशले पनि प्रगति गर्छ होला नि त हैन?’ म सोध्छु।

‘हामी त सोच्छौँ  नि तर नेताहरू हामी भएर कहाँ सोच्छन् र?’ ती दाइ जवाफ दिन्छन्।

भर्खरै नेपालमा पास भएको शिक्षा विधेयक सम्झिन्छु। साँच्चै नेताहरू हामी साधारण मान्छेले जसरी सोच्दै सोच्दैनन्।

६:३० बज्यो। अब उनीहरू जाँदै छन्। म भेषराज दाइलाई भन्छु ‘हजुरबाको पालमा जस्तो छैन दाजु अहिले नेपाल। आउनुहोस् एकपल्ट घुम्न।’ उनी फिस्स हाँस्छन् र भन्छन् ‘एकपल्ट परिवारलाई लिएर पशुपति आउनु छ।’

दुई घण्टा ३० मिनेट भारतको आकाशमा उडेपछि हामी नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छौँ। नेसनल स्कुल अफ ड्रामाबाट बस लिन आइपुगेको छ। बससँगै आएका दाइसँग कुराकानी भएको छ। उनी नाटक निर्देशक बिमल सुवेदीका क्लासमेट रहेछन्। उनले हामीलाई सिधै अशोक होटेल पुर्‍याएका छन्। त्यहाँबाट भोलि नेसनल स्कुल अफ ड्रामा जानु छ।

क्रमश:

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.