गुवाहाटी पुर्‍याउने त्यो बाटो


थिएटर ओलम्पिक्स यात्रा भाग

(भारतमा भएको आठौं थिएटर ओलम्पिक्समा मण्डला थिएटरको नाटक ‘एन्टिगोनी’ मञ्चनमा सहभागी हुन गएका सुरज सुवेदीको यात्रा श्रृंखला।)

यसपटकको नाटक यात्रा मेरो लागि विशेष हुनेवाला थियो। म भारतमा भइरहेको थिएटर ओलम्पिक्समा सहभागी हुन गइरहेको मण्डला थिएटरको नाटक ‘एन्टिगोनी’ को टिममा सहभागी थिएँ। नाटकको समीक्षा मात्र लेखिरहेको म यसपल्ट नाटकसँगै लामो यात्रामा जाँदै थिएँ।

भारतको नाटक सँस्कृति नजिकबाट नियाल्ने मौका त थियो नै केही राम्रा नाटक हेर्ने अवसर पनि बनाउनु थियो। धेरैले कुरा गर्ने गरेको ‘नेसनल स्कुल अफ ड्रामा’ पुग्ने सपना छदैं थियो। सँगै नेपाली नाटकलाई दर्शक भएर हेर्दा नाटकको फाइनल स्वरूप मात्र देखिरहेको मलाई नाटक कसरी तयार हुन्छ र खेल्नेहरू कसरी प्रेरित हुन्छन् भन्ने पनि बुझ्नु थियो।

बिराटनगरको पहिलो सो सकिएको दिन राजन दाइको जन्मदिन मनाउने बेलामा कवि विप्लव प्रतीकले भनेको सम्झिन्छु ‘रङ्गकर्मीहरू नाटक गर्दा जुन प्रक्रिया भएर गुज्रिन्छन् त्यसको मज्जा कला र साहित्यको अर्को कुनै विधामा पाइन्न।’

मलाई यही प्रकृयाको धेरै नजिकसम्म जानु थियो।

+++

‘एन्टिगोनी’ को बिराटनगरमा भएको चारवटै सो सफल भएपछि अब हामीलाई भारत जानु छ। भारतमा पहिला गुवाहाटीमा र त्यसपछि नयाँ दिल्ली पुग्ने सेड्युल छ। बिराटनगरको अन्तिम सो सकिएको दिन बेलुका सानो मिटिङमा सबैजना छौं। नाटकका निर्देशक राजन खतिवडाले ब्रिफिङ गर्दै भन्नुभयो ‘भोलि बिहान ३ बजे हामी यहाँबाट हिँड्नेछौं। ६ बजे बोर्डर पार गर्नेगरी काकडभिट्टा पुग्नुपर्छ। ढिलोमा ३:१५ मा सबैजना गाडीमा आइपुग्दा सजिलो हुन्छ।’

बिहान ३ बजे नै सबैजना गाडीमा आइसकेका छौं। गाडी हिँड्यो।

काकडभिट्टा बसपार्कमा गाडी भाडामा लिने विषयमा केहीबेर लफडा भयो। ठूलो हैन तर एउटाको पालो अर्कोले मिचेको वा एउटा गाडीले यात्रु पाएको रिस अर्कोले पोखेको। दसैंमा घर जाँदा यस्तो खाले लफडा देखिरहेको मलाई खासै ठूलो कुरा लागेन। बरु ध्यान अन्तै मोडेँ।

बसपार्कको भित्तामा सुन्दर चित्र बनाइएका छन्। एउटा युवक भित्तामा केही लेखिरहेको जस्तो देखिने चित्र। बिहान हुने बेलाको समयमा पर्खालको ऊ मूर्त भित्तामा केही लेखेर मानिसहरूका सोचाइका अमूर्त भित्ता भत्काउन खोजिरहेको छ? जे होस् त्यो युवकले हाम्रो ध्यान केहीबेर भुल्याइदियो। चिया पिउन्जेल सुदीप, अनुप तथा साथीहरूले त फोटो खिचाउन पनि भ्याए।

तीनवटा सुमो रिजर्व गरेर मेचीपुल पुग्यौं। पुल मर्मत हुँदै गरेकाले गाडीको भिड छ। जाम बढ्ने सम्भावना बढ्दैछ। हाम्रो लेनतिरै बनाइरहेको भएकाले गाडी दायाँ लेनतिर पुग्दा उताबाट हर्न चर्को स्वरमा बज्छ। मेची नदी सानो भए जस्तो लाग्छ। नदीमा बालुवा चालिरहेको पनि देखिन्छ। त्यो पुल कहिलेबाट मर्मत गर्न थालिएको होला, कहिले सकिने होला? सीमानाको पुल मर्मत हुन ढिलो हुनुले कति धेरै मानिसलाई कष्ट दिँदो हो? यी र यस्ता प्रश्नहरू अनुत्तरितै छन्।

सुमो ड्राइभर भारतीय हुन्। उनैले उ त्यो सीमाना हो भनेर देखाइएको पिलर हेर्दै छु। पुलको आधा भागमा गाडी हुँदा पिलर कटेपछि म भारत पुगेँ भन्ने महसुस भयो। आफ्नो देशको सीमाना काट्दा त कुनै अपरिचित गल्लीमा छिरेजस्तो लाग्नेरहेछ।

पारिपट्टि भारतीय सीमा सुरक्षा बलले रोक्न सक्छ भन्ने कुरा हुँदै थियो। तर हामीभन्दा अगाडि गएको गाडीले नाटक गर्न हिँडेको भनेपछि रोकेन। हामी भारत छिर्‍यौं र सिधै लाग्यौं सिलगुडी रेल स्टेसन। मेचीपुल कटेको पाँच मिनेट नपुग्दै बाटो चौडा हुन थाल्यो। ओभरहेड ब्रिज बन्दै गरेको देखिन थाले। सिलगुडी जति नजिक हुँद गयो त्यस्ता दृश्य त्यति नै बाक्ला बने। भारत बन्दै छ भन्ने कुरा प्रमाणित गर्न पर्याप्त थिए ती दृश्य। अघिल्लो पल्ट यात्रा गरिसकेको सुदीप पनि भन्दै छ ‘पहिला आउँदाभन्दा धेरै फेरिएछ बाटो।’

मैले मनमनै सोचेँ हामीले महेन्द्र राजमार्ग हेरेर त्यस्तो भन्ने दिन कहिले आउला? काठमाडौंबाट बिराटनगर आउँदा बल्खु-कलङ्कीको जाम र धूलो ३ घण्टाभन्दा धेरै खपेको मलाई त्यस्तो सोचाइ आउनु स्वाभाविक हो। साँच्चै हरेक दिन हुने त्यो बाटोको जाम र धूलोले एउटा मानिसको जीवनको कति समय खाइदिन्छ होला?

सिलगुडीको न्यु जलपाइगुडी रेल स्टेसनपुगेर झोला बिसाउँदा ७:३० बजिसकेको छ। हाम्रो रेल ८:१५ मा आउने भनेको छ। त्यही बाटो भएर केही दिन पहिला भारत हिँडेको नेपालको अर्को नाटक ‘थाङ्ला’ टोली १७ घण्टा रेल ढिलो भएर त्यहीँ रोकिएको थियो। हाम्रो रेल पनि ढिलो हुने हो कि भन्ने शंका बढ्यो। पुग्नासाथ जोसमा गरेको फेसबुक लाइभ तथा फोटोसेसन गलेका थकित अनुहारमा परिणत नहून् भन्ने कामना मनमनै गर्यौं। कामना पूरा भयो। समयमै रेल आइपुग्यो र केहीबेर रोकिएर हिँड्यो पनि।

रेलको यात्रा पहिलोपल्ट गर्दैछु म। यसको सिट देखेर पहिला त अचम्मै परेको थिएँ। स्कुलको होस्टेलका जस्ता सुत्ने सिटहरू। एउटामाथि अर्को र अर्कोमाथि अर्को। यदि २४ जनाको समूह न हुँदो हो र एउटा मात्र सिट बुक गर्ने हो भने त पुरै १२ घण्टा सुतेरै यात्रा गर्नुपर्ने। हामीलाई भने स्वतन्त्रता छ। उठेर उताको समूहमा गयो र एक छिन मिसियो। फेरि यता आयो र मिसियो। जता गएपनि आफ्नै साथीहरु।

रेल गुड्दै गर्दा वरपरका धेरैठाँउ उर्वर देखिए। कतै आलुका बोराहरू खेतमा भरिभरि पारेर ठड्याइएका । कोही आलु खोस्रिरहेका त कहीँ कहीँ ट्रकमा बोराहरू भरिरहेका। गुवाहाटी पुगुन्जेलसम्म धेरै पल्ट मैले यस्ता दृश्य देखेँ।

अनि सम्झिँए, मैले काठमाडौंमा खाने आलु पनि यस्तै कुनै ठाउँबाट पो आएको हो कि?

रेल बेलाबेला स्टेसनमा रोक्छ। साथीहरू फुत्त फुत्त बाहिर निस्किन्छन् र बाहिर पाएको केही मिठो चिज बोकेर फर्किन्छन्। कसैले चट्पटे त कसैले काँक्रो। त्यहीबेला अरू धेरै सामान बेच्नेहरू पनि रेलमा चढ्छन्। आफूसँग भएको सामान देखाउँछन्, मूल्य सुनाउँछन्। कोही बेच्छन्, कोही फर्किन्छन्। यस्तो ध्यान दिएर हेर्‍यो भनेपनि ‘लिने हो?’ भन्दै देखाइहाल्छन्। मलाई यी सबै दृश्य मन परिरहेको छ। त्यो सबै गरेर मानिसहरू आफ्नो जीविका चलाउने ठाउँ खोजिरहेका छन्। र सबैतिर यस्तै हुन्छ। आफूसँग भएको चिज सबैले लिन्छन् भन्ने छैन, लिने मान्छे भेट्टाउन सङ्घर्ष त गर्नैपर्छ।

घरिघरि मादल बजाएर गीत गाउने र पैसा माग्ने पनि चढ्छन्। केही तेस्रोलिंगी पनि आए। उनीहरूसँग माग्ने निश्चित समय छ। त्यो समयमा कसैले पैसा दिइहाल्यो भने ठीक छ दिएन भने सुन्न नहुने गाली गर्छन्। गाली सुन्नुभन्दा पैसा दिनु नै ठीक। फेरि थोरै पैसा दियो भने पनि गाली पाउने सम्भावना। यिनीहरूसँग डराएर यात्रा गर्नुपर्ने।

मलाई त्यो कुराले धेरैबेर सोच्न लगाउँछ। यो उनीहरूको सशक्तिकरण हो कि निर्वलीकरण। ती सामान बेचेर जीविका चलाउनेहरू र तिनीहरूमा के फरक छ? वा तिनीहरूबीच एकअर्कामा चिनजान हुन्छ कि हुँदैन? आपसमा कुराकानी गर्दा कसरी गर्दा हुन्? उनीहरूको घर कहाँ हो? कोलाकाताबाट आएर सिलगुडीमा हामीलाई टिपेर हिँडेको यो रेलमा उनीहरू कहाँबाट चढे? कहाँ ओर्लिन्छन्?

साँच्चै यति धेरै डिब्बामा हजारौं मान्छे बोकेर गुडिरहेको यो रेलले के-के बोकेको होला?

म झ्यालबाट बाहिर हेरिरहेको छु। बाहिरका दृश्य फेरिइरहेको छन्। कतै नयाँ लिकहरू बनाउने काम भइरहेको छ। कतै सानासाना झुप्रा छोडिइरहेका छन्। कतै स्टेसनमा चट्पटे बनिरहेको छ। कतै रेल कटुन्जेलसम्मको लागि थुनिएका गाडी रोकिइरहेका छन्। रोकिएको एउटा बाइकको पछाडि बसेकी सानी नानी खेलिरहेकी छन्। उनले रेल कुरून्जेल पर्खिनुको कारण, हुर्किँदै गर्दा कति तरिकाले बुझ्छिन् होला?

यो रेल नहुँदो हो त कति धेरै चिजहरू आपसमा नजोडिँदा हुन्?  रेल भएर कति धेरै चिजहरू आपसमा छुट्टिँदा हुन्?

कवि बिप्लप प्रतीक पल्लो सिटमा बस्नुभएको छ। म उहाँको उपन्यास ‘अविजित’ हातमा बोकेर पढ्न खोजिरहेको छु। लगभग ६० पेज पुगेपछि मलाई नजिक जान मन लागेको छ। कुराकानी गर्न मन लागेको छ। म पुगेर उहाँलाई बोलाउँछु र केही प्रश्न सोध्छु।

उहाँ भन्नुहुन्छ ‘जीवनको दर्शन आजभन्दा पाँच वर्ष पहिले पनि त्यही थियो र अहिले पनि त्यही छ। त्यस्तो चिजहरू कहिल्यै पनि परिवर्तन हुँदैनन् र एउटा असल मान्छेको बारेमा कहानी लेख्यो भने त्यसलाई केहीले पनि फरक पार्दैन।’

म सोध्छु ‘असल मान्छे पनि त कुन समयमा बाँचेको भन्ने हुन्छ होला। एउटा समयको असल मान्छे अर्को समयमा खराब हुन सक्दैन र? वा उसले गर्ने निर्णय पनि फरक पर्न सक्छ?’

भन्नुहुन्छ ‘मुख्य कुरा त नेपालमा लेखकहरू परिपक्व भएर लेख्न सकिरहेका नै छैनन्। उनीहरूको दिमागमा छिन छिनमा आइडियाहरू आइरहन्छन् र बदलिरहन्छन्। २० वर्षभन्दा पहिला सोचेको र आज सोचेको फरक हुन्छ। तर मुख्य विषय वा फिलोसपी समात्ने हो भने त २० वर्ष पहिला र आज पनि खासै फरक पर्दैन। हामीले त्यसलाई समात्न सक्नुपर्छ।’

सोच्छु ‘त्यसो भए परिवर्तन कसरी आउँछ त?’

‘ती परिवर्तहरूको बीचमा पनि समाजलाई हेर्ने तरिका वा दृष्टि त उही नै रहन्छ नि। भन्ने शैली फेरिएला तर हेर्ने दृष्टिकोण उही नै रहन्छ। त्यो दृष्टिकोणमा अन्योलता आउनु हुँदैन।’

म सँग प्रश्नहरू सकिन्छन्। उत्तरहरू निकैबेर सोच्न पर्याप्त छन्। फर्किन्छु ।

खाना आइसकेको छ। सुरुमा चिकेन खाना खाने कुरा थियो। चिकेन सकिएको भन्ने खबर आएपछि अण्डा खाना मगायौं। देख्दा राम्रो बट्टामा प्याक भएपनि खाना पटक्कै मिठो छैन। मसँगै खाना मगाएकोमा चुकचुकाउनेहरू धेरै छन्। प्याकेट राम्रो भएका सबैचिज मिठा हुँदैनन्।

रेल गुड्दै जाँदा वरपरको सिटमा बसेका केही अपरिचित मानिसहरू परिचित भएका छन्। कसैसँग बोलिएको छ भने कसैको अनुहार याद भएको छ। पल्लो सिटमा बसेका एक जना भारतीय दाइ ओप्पो फोनको मार्केटिङ गर्छन्। उनी धेरैपल्ट नेपाल पनि आइसकेका रहेछन्। उनीसँग मार्केटिङको बारेमा पनि केहीबेर गफ गर्छु। ओप्पोको मार्केटिङ गर्ने मान्छे उनीसँग फोन भने अर्कै कम्पनीको छ। म त्यसो भन्दै जिस्काउँछु । उनी हाँस्छन् र भन्छन् ‘मार्केटिङमा मान्छेलाई यो चिज तपाईंको लागि हो भनेर भुल्याउनुपर्छ।’

मार्केटिङ कति खाले हुन्छ होला?

त्यहाँबाट पल्लो सिटमा धेरै भारतीय केटाकेटीहरू बसेका छन्। उनीहरू जोड जोडले हल्ला गर्दै, रमाउँदै यात्रा गरिरहेका छन्। कोही सिटको भर्यांगमा चढ्छन् र ओर्लिन्छन्। एकछिनमा पशुपति राई, सुदीप खतिवडा, सागर दहाल, अनुप न्यौपाने लगायत नाम पनि उनीहरूको गफमा मिसिन्छन्। एक अर्काको देशको बारेमा कुराकानी हुन थालेको छ। यताबाट सगरमाथा सोधिँदै छ, उताबाट केटाकेटीहरू सगरमाथा भारतमा पर्छ भन्दै छन्। यताबाट भारतमा हैन नेपालमा भनिँदै छ, उताबाट नेपाल पनि त भारतमा नै पर्छ भनिँदै छ।

नेपाल भारतमा पर्छ भनेर सिक्दै छन् भारतका सानासाना बालबालिकाहरू। हुनसक्छ त्यहाँको किताबमा त्यस्तै पढाइँदैछ। किताब पढ्दै गर्नुभएकी सृजना सुब्बा दिदी झोक्किनुभएको छ। भन्नुहुन्छ ‘यहाँ सगरमाथा नै हाम्रो हो भन्न थालिसकेछन्। हामी बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै हिँडेका छौँ।’

गुवाहाटीमा हामीलाई रिसिभ गर्ने जिम्मा पाएका व्यक्तिसँग सोमनाथ खनाल दाइले मेरो फोनबाट कुराकानी गर्नुभयो। पूरा टिममा इन्डियाको सिम भएको म मात्र छु। भर्खर दिल्लीबाट फर्किएकी साथी दीपाको सिम बोकेर आएको काम लागेको छ। इन्डियाको फोन नम्बर हुँदा रेलको हरेक स्टेसनमा हाइ स्पीड इन्टरनेट चलाउन पाइने रहेछ। एकजनाले हैन तीन जनाले। स्ट्रिट नेपालका फोटोग्राफर नवीन बावु गुरुङ दाइ र कलाकार विकास जोशी दाइले जोड्नुभएको छ। स्टेसन बाहिर इन्टरनेट चलाउँदा पनि त्यसमा भएको डाटा प्याकले मनग्गे काम गर्छ।

महिनाको २५० रुपैयाँमा हो क्यारे दिनको १ जीवी डाटा आउँछ। त्यसबाट हटस्पट खोलेर वरपर वाइफाई चलाउन पनि पुग्छ। म बेलाबेला त्यसो पनि गर्छु। मैले हटस्पट खोलेको थाहा पाउनेको सङ्ख्या बढिरहेको छ।

म नेपालको इन्टरनेट सम्झिन्छु। पानी पिएजसरी पैसा पिउने डाटा प्याकहरू पनि सम्झिन्छु। कुनै गुनासो गर्नु छैन।

बिहान रेल चढ्दाको जस्तो रोमाञ्चकता अब झ्याल बाहिर छैन। दृश्यहरू दोहोरिन थालेका छन्। त्यसो भएसँगै हाम्रा आँखा पनि बाहिरभन्दा भित्रै अडिन थालेका छन्। वरपर जोक्स भन्ने कार्यक्रम सुरु भएको छ। नवीन दाइ फोटो खिच्दै हुनुहुन्छ। हामी हाँस्दै छौं। रेलको नाम ‘गरिब रथ’ पनि जोक भएर आइसकेको छ।

निदाउनेहरू निदाइरहेका छन्, ननिदाउनेहरू निदाउनेलाई उठाउन खोज्दैछन्। मलाई भने अरू सुतेको देखेर सुतौं पनि लाग्छ, अरू उठेको देखेर उठौं पनि लाग्छ। सिंगो घरमा बसेर कतै दौडिरहेको जस्तो लागिरहेको छ।

सामान बेच्न आउनेसँग सामानको मोलमोलाइ सुरु हुन्छ। नवीन दाइले गाम्छा किन्नुभभयो। सेतो गाम्छाको दुवै छेउतिर रातो बुट्टा कोरिएको। पहिलो मान्छेसँग उहाँले किनिसक्नुभएको छ। एकछिनमा आएको अर्को मान्छेले त्यो भन्दा सस्तो भन्दैछ। उहाँलाई पहिलोसँग किनेकोमा चुकचुक लाग्छ। रेलमा सामान किन्न गाह्रो रहेछ। खास दाम कति हो र उसले कति सम्म दिन सक्छ भन्ने थाहै नहुने।

हाम्रो रेल समयमै हिँडेको भए पनि पुग्न ढिलो गर्दैछ। बीचमा एकछिन लिक मर्मत गरिरहेको भनेर केहीबेर रोकियो। त्यसपछि अलि धेरै रोक्न थालेको छ। त्यस्तैमा एक जना नेपालीभाषी दाइ हामीबीच आइपुगे। उनी कोलकाताबाट आएका रहेछन् र हामीमध्ये कसैलाई नेपाली जस्तो लागेर बोलाएका रहेछन्। उनले फोनमा इन्टरनेट खोलेर रेल कहाँनेर पुग्यो र अब कति समय बाँकी छ भनेर भनिदिए। उनले भनेको १ घण्टा हामीलाई लामो लाग्न थालिसकेको छ। बाहिर साँझ परिसकेको छ। उनी भन्दै छन्, ‘खासमा पुग्नुपर्ने बेला भइसकेको हो। यो रेल एक्सप्रेस नै हो तर पनि बीचमा अलि ढिलो गरेको कारण अब अझै ढिलो हुन्छ। यदि यो समयमा आएको भए अर्को रेलले पालो छोडिदिने थियो। यसले ढिलो गरेपछि अब समयमा दौडिएका अरू रेलले प्राथमिकता पाउँछन्।’

रेलको जीवन र मान्छेको जीवन पनि उस्तै उस्तै हुन्छ होला।

यसैबीच रेलले ब्रम्हपुत्र नदी तर्यो। नदी तरेपछि गुवाहाटी पुगिन्छ भन्ने सुनेको छु। ठाँउ आइपुग्न लागेपछि उत्सुकता झनै बढ्यो। म डिब्बाको ढोकामा गएर केहीबेर उभिन्छु। सपना चौधरी बहिनी पनि त्यहीँ छिन्। हामी ढोकाबाट बाहिर हिँड्यौं। ढोकामा बस्दा रेलको खास गति थाहा हुने रहेछ। भित्र हुँदा त दौडिएको होला जस्तै नलाग्ने।

गुवाहाटी आइपुग्न लागेको भनिएपछि हामी उठ्यौं र सामान मिलाउन थाल्यौं। नाटकको सेटको सामान सबैको सिटमुनि थिए। अनि हाम्रा झोला पनि। बाहिर उज्यालो छ। बत्तीहरू चम्किन थालेका छन्। पर भित्तामा पनि बत्ती देखिएको छ। भित्तामा भनेपछि बुझ्नुभयो होला। त्यतिन्जेलसम्म बाटोभर कतै पहाड नदेखेको मलाई पर भित्ता देख्दा रमाइलो लागेको छ। हेटौंडा, वा चितवन वा इटहरीबाट पर भित्तो देखेजस्तो।

लिन आएको मान्छेलाई फोन गर्दै हुनुहुन्छ सोमनाथ दाइ। ऊ स्टेसनमा आएर उभिएको २ घण्टाभन्दा धेरै भइसकेछ। हामी उत्रिँदा लगभग ८ बज्यो। रेलमा १२ घण्टाभन्दा धेरै समय यात्रा गरिएछ। हामीलाई लिन एक जना युवक थिएटर ओलम्पिक्सको सानो प्लेकार्ड बोकेर उभिएका थिए। प्लेकार्डमा ‘वेलकम टु थिएटर ओलम्पिक्स’ लेखिएको। म उनको फोटो खिच्छु र नाम सोध्छु। विजित उनको नाम। उनले हामीलाई स्टेसनबाट बाहिर लगे र गाडीमा बसाए। गुवाहाटीको त्यो रेल्वे स्टेसनबाहिरको सानो पार्कमा एउटा पुरानो रेल लिकमा राखिएको छ। ब्रिटिसको पालामा बनेको रेल हो जस्तो देखिन्छ। भर्खर पानी परेको भएर सडक भिजेको छ। त्यहाँबाट सिधै अडिटोरियम पुगेर सामान राख्ने र होटेल जाने योजना विजित सुनाउँछन्।

नाटकले कहिल्यै नपुगेको ठाँउमा कहिल्यै नभेटेको एउटा मान्छेसँग भेट हुने अवसर मिलाइदियो। जीवनमा यस्ता चिनजानहरू कति हुने हुन् थाहा छैन।

गाडी रेल्वे स्टेसनबाट धेरैपल्ट फ्लाइओभरमा चढ्दै र ओर्लिँदै अडिटोरियममा आइपुग्यो। गुवाहाटी पस्नासाथ बाटाहरू जमिनबाट माथि उक्लिन थालेको देखेर मलाई रमाइलो लाग्यो। अनि सडकमा झलमल्ल बलेका रंगीचंगी उज्याला पोललाइटहरू। म बल्लबल्ल कलङ्कीमा बन्न लागेको सबवे सम्झिन्छु। गुवाहाटीमा जस्तै फ्लाइओभर हाम्रोमा कहिले बन्लान्।

अडिटोरियम छिर्ने बाटो सजाइएको छ। विभिन्न जनावर र किराको टाउको अंकित कलात्मक मूर्ती र रङ्गहरूको सुन्दर संयोजन मिलाएर सजाइएका नाटकका ब्यानरले हामीलाई स्वागत गरे। हामी त्यहाँ भएका ब्यानरमा नेपाली नाटकको ब्यानर खोज्छौं। कोहीकोही फोटो पनि खिच्छन्।

अडिटोरियमको मुख्य गेटमा त्यहाँ प्रस्तुति दिन आउने नाटकका ब्यानरलाई चोयाको मान्द्रोको फ्रेममा सजाइएको छ। माथि उज्यालो बलिरहेका पहेँला बल छन्। बाहिर गेटमा चोयाले नै बनेका राता बुट्टा भएका घुमाउरा साना-ठूला टोपी सजाइएका छन्। ती के होलान् भनेर म उत्सुक हुन्छु। त्यहाँ दुईवटा नेपाली नाटकका पोस्टर भेटिए। ‘ज्युँदो आकाश’ नाटक प्रस्तुति दिएर फर्किसकेको छ।

हाम्रो ‘एन्टिगोनी’ भोलि प्रस्तुत हुँदैछ।

अडिटोरियम छिर्छु। भर्खरै एउटा नाटक सकिएछ। त्यसको सेट निकाली सकेपछि भोलि एन्टीगोनीको सेट लगाइनेछ। ओलम्पिक्स भइरहुन्जेल यसरी नै सेट फेरबदल भइरहन्छ। र त्यससँगै परिवर्तन भइरहन्छन् नाटक, कथा, पात्र र भाषा। दर्शक पनि त फेरबदल हुँदा हुन्।

सेटका सामान झारेपछि हामी होटलतर्फ हिड्यौं। विजितले नजिकैको एउटा होटलमा खाना खान लगेको छ। काँसका ठूल्ठूला थालमा १० वटा भन्दा धेरै बटुकाहरू सहित खाना आयो। खानेकुरा के के हो भनेर सोध्ने फुर्सद कसैलाई छैन। सबै जना भोकाएका छन्। लगभग १० बजिसकेको छ। होटल पुगेर सुत्नु छ। बिहान चाँडै उठ्नु पनि छ।

होटलमा चेक इन गरेर कोठमा गयौं। सोमनाथ दाइ मेरो रुममेट।

खाना खाएको होटलमा पनि र सुत्न गएको होटलमा पनि अडिटोरियमको गेटमा भएको जस्तै चोयाले बनेको रंगीन टोपी सजाइएको देखेँ। त्यसलाई दिँउसो नवीन दाइले किनेको जस्तो गम्छा ओढाइएको पनि छ। त्यो पक्कै पनि गुवाहाटीको कुनै विशेष चिज हुनुपर्छ। त्यसबारेमा मलाई बुझ्नु छ।

छोटो समय बसुन्जेल गुवाहाटीको बारेमा धेरै कुरा बुझ्नु छ। नाटक प्रस्तुत गर्नुछ, छुटाउन नहुने ठाँउहरू पुग्नुछ र पर्सि बेलुका दिल्ली उड्नुभन्दा पहिला धेरै सम्झनाहरू कमाउनु छ।

क्रमश:

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.