जिरी, कुरी र हिउँको स्पर्श


विभिन्न समयमा नसुनिएका होइनन् जिरीबारे। कतिपय प्रसङ्गमा धेरथोर पढिएका पनि हुन् जिरीका कुरा। प्राकृतिक छटाले सुसज्जित जिरी घुम्न मन नगर्ने त को पो होला र! लामो समयदेखि यथावत् नै थियो मभित्र पनि त्यो उत्सुकता। माघ १८ गते साँझ निवासतिर फर्कने क्रममा पत्रकार अमृत भादगाउँलेले मेरो मोबाइलमा फोन गर्नुभएको रहेछ। थाहा पाइनँ। कलेजको विद्यार्थी छँदादेखिकै चिनारु उहाँ सधैं मेरा प्रेरक र आत्मीय व्यक्तित्व हुनुहुन्छ। घर पुगेपछि पुनः उहाँको फोन आयो। उठाएँ। बिनाभूमिका भन्नुभयो,” माघ १९ र २० गते जिरीमा लाटोकोसेरो उत्सव हुन लागेकोले भोलि बिहान सबेरै हामी जिरी जान लागेका छौं, तपाईँ पनि हामीसँग जानुहुन्छ भने बिहान ६ बजे नै नयाँ बानेश्वर आइपुग्नुहोला।” यो रमाइलो मौका थियो मेरो लागि। सामान्य अस्वस्थताका बाबजुत पनि नाइँनास्ति गर्न सकिनँ र जिरी यात्रामा सहभागी हुने निश्चय गरियो।

कार्यक्रममा सहभागी हुने पक्का भएको केही क्षणपछि नै काठमाडौँमा रहनुभएका जिरीका लीलाराम खड्काको पनि फोन आयो र बिहान भेट्ने स्थान र समयका साथै थप जानकारी पाएँ। उहाँले नै भ्रमण दलको संयोजन गर्दै हुनुहुँदो रहेछ। पछि थाहा भयो उहाँ जिरी क्षेत्रको पर्यटकीय विकासका लागि युवा सामाजिक अभियन्ताका रूपमा पनि क्रियाशील हुनुहुँदो रहेछ। सल्लाह अनुसार बिहान सबेरै नयाँ बानेश्वर चोकमा जम्मा भएर कार्यक्रम प्रयोजनका लागि व्यवस्था गरिएको जिपमा चढ्यौँ। त्यो दिन घरमा नै रहनु पर्ने केही जरुरी काम आइपरेर हाम्रो यात्राको सूत्रधार भादगाउँलेजी आफूचाहिँ सहयात्रामा सहभागी नहुने हुनुभयो। उहाँको अभाव महसुस गर्दै हामी यात्रामा जुट्यौँ। लेखक हेमन्त विवश, सेतोपाटीका पत्रकार चन्द्र काफ्ले, नेपाल आज अनलाइनका रमण पौडेल र जिरीका खड्काजीसँगै भएँ म। गाडीका चालक पनि रसिक प्रकृतिका नै रहेछन्। उनी पनि हामीसँग खुलेर नै कुरा गर्न थाले। मीठामीठा गफ, ठट्यौली र गीत मिसिए पछि यात्रामा रौनक नथपिने कुरै भएन। यात्रा सोचेभन्दा  सहज हुँदै थियो। बी.पी. राजमार्गको काभ्रेखण्ड पार गर्दै रामेछापको भूभाग छोएर जिरी पुग्ने योजना मुताबिक हाम्रा सवारीचालक गाडी हुइँक्याउँदै थिए। काभ्रेखण्ड पार गर्नै लाग्दा गाडी कट्याककुटुक गर्न थाल्यो र अन्ततः बिग्रियो। चालकले सक्दो कोसिस गरे केही उपाय लाग्ला कि भनेर तर सम्भव भएन। पुनः अर्को गाडीको व्यवस्था भयो र गाडी हामी अलपत्र परेको स्थानमा नआइपुगुन्जेल नजिकैको होटल खोजेर भोजन गर्नपट्टि लाग्यौँ।

केही समयको प्रतीक्षापछि अर्को गाडीले हाम्रो यात्रालाई फेरि निरन्तरता त दियो तर  दिउँसो २ बजे नै गन्तव्यमा पुगिसक्ने इरादा चाहिँ पूरा नहुने छाँटकाँट आयो। प्राकृतिक सौन्दर्य र स्वच्छ पहाडी परिवेश अवलोकन गर्दैगर्दै दिन ढल्किसके पछि मात्र जिरीलाई स्पर्श गर्न सक्यौँ। जिरीको अद्भुत आकर्षण मानसबिम्बमा सजिएको चित्रजस्तै विशिष्ट लाग्यो। जिरीमा रहेको होटल जिरेल गाबिलाको आतिथ्यसत्कारले हाम्रा दिनभरिका सबै थकान एकैछिनमा गायब भए।

२० गते बिहान जिरीको निर्मल आकाशमा सूर्योदय हुनपूर्व नै ब्युँजिसकेका हामी छिटोछिटो नित्यकर्म सकी जिरी बजार नजिकै ढुङ्गेओडारभित्र अवस्थित जिरेश्वर मन्दिर पुग्यौँ र अलि परको चियाबगान पनि हेर्न छुटाएनौँ। बिहानको खाजा खाएर केही बेर जिरी प्राविधिक शिक्षालयको स्थलगत अवलोकन र जानकारी पनि लिन भ्यायौँ। देशको विविध भूभागबाट प्राविधिक शिक्षा हासिल गर्न सयौँ विद्यार्थी यहाँ आउँदा रहेछन्। साँच्चै हाम्रो देशको भौतिक उन्नयनका लागि प्राविधिक शिक्षा व्यापक बनाउनुको विकल्प नै छैन।

दुई दिने लाटोकोसेरो उत्सवको दोस्रो दिनको विशेष कार्यक्रममा हामी सहभागी भयौँ। रूपलावण्यले धपक्क

देखिने आकर्षक जिरीलाई यो  उत्सवको सिँगारपटारले पनि शोभा बढाएझैँ लाग्थ्यो। उत्सवस्थल वरपर लाटोकोसेरोको महत्त्व झल्किने प्रचार सामग्रीका साथ कैयौँ युवायुवतीहरू आफ्नो अनुहारमा लाटोकोसेरोकै आकृति झल्किने पेन्टिङ गरेर लाटोकोसोरोमय माहौल बनाउन तल्लीन देखिन्थे। लाटोकेसेरो संरक्षणमा हातेमालो गरौँ भन्ने नाराका साथ आयोजित उत्सवमा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, विभन्न संघसंस्थाका प्रतिनिधि, किसान, कलाकार, विद्यार्थीलगायतको उपस्थिति थियो। कार्यक्रममा प्रस्तुत लाखेनाच, तामाङसेलो, स्थानीयता झल्किने अन्य नृत्य, गीत, कविता सबै संरक्षण चेतना बढाउनेतर्फ केन्द्रित थिए। प्रकृतिका साथीहरू नामक संस्था र युवा सञ्जाल जिरीद्वारा उत्सव आयोजना गरिएको थियो। यो सातौँ लाटोकोसेरो उत्सव रहेछ। यसअघि अन्य ६ जिल्लामा पनि यसै गरी प्रकृतिका साथीहरूले लाटोकोसेरो उत्सव गरिसकेको कुरा प्रकृतिका साथीहरूका नेपाल प्रतिनिधि राजु आचार्यबाट थाहा पाइयो।

पृथ्वी मानिसलगायत जीवजन्तु, चराचुरुङ्गी आदि सबैको साझा वासस्थान हो। यहा सबैको बाँच्ने र आफ्नो अस्तित्व जोगाउँने हक छ। पर्यावरणीय सन्तुलन कायम राख्न पनि सबैको अस्तित्व अत्यावश्यक हुन्छ। संरक्षण चेतना र पर्यावरणीय सन्तुलनसँग सम्बन्धित यस्ता उत्सव आयोजना हुनुले निश्चय पनि सकारात्मक सन्देश जान्छ। नेपालमा मात्र २३ प्रजातिका लाटोकोसेरो पाइने रहेछन्। अवैध व्यापार, वनविनाश, चोरीशिकारीजस्ता कारण दिनप्रतिदिन लाटोकोसेरो लोप हुँदै जानथालेकोले यसको संरक्षणतर्फ सचेत बन्नुपर्ने अवस्था आएको हो।

यस वर्षको लाटोकोसरो उत्सवमा सहभागी हुने संयोगसँगै सुन्दर जिरी भ्रमण गर्न पाउँनु हाम्रो लागि सुखद पक्ष थिए। युवा अभियन्ता लीलारामजीकै अग्रसरतामा हाम्रो भ्रमण अघि बढेको थियो। हाम्रो लागि दिवाभोजको व्यवस्था समेत उनले जिरीस्थित आफ्नै घरमा मिलाए। जिरी पुगेका बखत दोलखाकै कालिन्चोक पुग्नु हाम्रो अर्को ध्याउन्न थियो। त्यसै अनुरूप हाम्रो भ्रमणको दोस्रो रात कालिन्चोकमा बिताएर त्यसको भोलिपल्ट बिहान कालिन्चोकको डाँडामाथि रहेको प्रसिद्ध कालिन्चोक भवगतीको पनि दर्शन गर्ने र त्यस वरपरका हिमाली सौन्दय हेरेर मात्र फर्कने निधो गरियो।

जिरीबाट दोलखाको सदरमुकाम चरिकोट हुँदै  उकालो र अप्ठ्यारो बाटो पार गरेर झम्केसाँझमा हामी बास बस्न कालिन्चोकस्थित कुरी बजार पुग्यौँ। कुरीसम्म मोटरबाटो पुगेको रहेछ। हिउँ खस्ने बेला परेको कारण हिउँसँग खेल्न टाढाटाढाबाट आएका धेरै युवायुवतीको जमघट त्यस साँझ कुरीमा देखिन्थ्यो। हिउँ खेल्न र रमाइलो गर्न आएका युवायुवती छपक्कै भएकोले होटलमा सुत्ने कोठा पाउँनु समेत हम्मेहम्मे पर्लाजस्तो भयो। धन्न एक जना तामाङ दाइको होटलमा दुई वटा कोठा खाली रहेछ र फुस्सफुस्स हिमकण खसिरहेको ,चिसो न चिसो सिरेटो चलिरहेको त्यस कठ्याङ्ग्रिदो रात न्यानो ओत र आतिथ्य पाउन सक्यौँ।

कालिन्चोक भगवतीको मन्दिर नजिकै रहेको कुरी बजारमा प्राय काठका फलेकहरू प्रयोग गरी बनाइएका चिटिक्क परेका घरमा होटल र लजहरू रहेछन्। हिउँ खस्ने समय परेका कारण घरआँगन र बाटो वरिपरि जताजतै हिउँका रासहरू देख्न पाइयो। हामीले पनि रहरैरहरमा हिउँलाई छुन त छोयौँ तर त्यहाँ चिसोको तीव्रता झेल्न सजिलो चाहिँ पटक्कै थिएन। निबन्धकार रोशन शेरचन पनि जिरीबाट हामीसँगै कुरी पुग्नुभएको थियो। उहाँका गहिरा तर्क, कवि हेमन्त विवशको लोकगीत प्रस्तुति, पत्रकार चन्द्र काफ्लेका मीठा गफ काफी भयो हामीलाई कुरीमा पुगेर आफ्नै महफिल महसुस गर्न। बेलुकीको भोजनपछि पनि खुलेर गफियौँ केही बेर।जतिसुकै चिसो रात भए पनि हामीले निकै न्याना अनुभूतिहरू साट्यौँ र आरामसँग रात कटायौँ।

एक्काइस गते बिहान झिसमिसेमै कुरीबाट उकालो चढ्यौँ। करिब एक घण्टा उकालै उकालो हिँडेर पहाडको टुप्पामा रहेको कालिन्चोक भगवतीको मन्दिर पुग्यौँ। भगवतीलाई दर्शन गरेर सकिँदा झलमल्ल घाम लागिसकेको थियो। अघिल्तिर फर्केर हेर्दा स्वर्गको आभास दिँदै चम्किन थालिसकेका थिए सेता हिमालहरू।

यात्राको उत्कर्ष अर्थात् गन्तव्यबिन्दुमा पुगेर प्राकृतिक सौन्दर्य अवलोकन र धार्मिक आस्थाभाव प्रकट एकै साथ गरियो। यस्तो सुन्दर परिवेश जो आँखा नै नझिम्क्याई हेरिरहूँझैँ लाग्ने खालको थियो। नीलो र स्वच्छ आकाश, कलात्मक हिमशृङ्खला , वरिपरि जताततै हिउँका थुप्रा। कालिन्चोकको उचाइमा पुगेर निबन्धकार रोशन शेरचन घोरेपानीबाट पुनहिल जाँदाको आफ्नो  यात्राअनुभव पनि हामीलाई सुनाउँदै हुनुहुन्थ्यो। त्यहाँ पुग्ने हामी सबै दङ्ग थियौँ। आफ्ना हँसिला चेहरासँगै त्यहाँका अद्भुत सौन्दर्यलाई आआफ्ना क्यामरा र मोबाइलमा कैद गर्न हामी सबै आतुर देखिन्थ्यौँ। कहिले एकल त कहिले सामूहिक तस्बिर लिँदै हामी हाँसोठट्टा र रसिक गफलाई निरन्तरता दिँदै बेलुका बास बसेको कुरीतर्फ फर्कियौँ। फर्किदा अलि तल बाटोमा चन्द्रजी र हेमन्तजीले हिमाली जडिबुटी पदमचाल र स्थानीय चौरी गाईको दूधबाट बनेको लामालामा छुर्पी किन्नुभएको देखेपछि मैले पनि किनेँ। यी यहाँका नामी उत्पादन रहेछन्।

पैदल हिँडेर कुरी झरेपछि बिहानको खाजा खाइ हामी काठमाडौँतर्फ फर्कियौँ। फर्किने क्रममा चरिकोटमा केही बेर रोकिएर दोलखाको अर्को प्रसिद्ध दोलखा- भीमेश्वरको मन्दिरमा पनि दर्शन गर्न पुग्यौँ। त्यसपछि चरिकोटमै भोजन गरेर काठमाडौँतिर लाग्यौँ। साहित्य, राजनीति, समाज, गीतसङ्गीतदेखि आफ्ना व्यक्तिगत प्रसङ्गका समेत कुरा गर्दै आरामसाथ यात्रा गर्दा समय कटाउँन निकै सजिलो र रमाइलो भयो। साँच्चै सुखद रह्यो भ्रमण। अविस्मणीय यादहरू बोकेर काठमाडौँमा ओर्लियौँ र साँझ नछिप्पिदै आआफ्ना निवास पुग्यौँ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.