नम् पन्–कम्पन्


नम् पन्।

कताकता त्यो ‘न’ र आधा ‘म’ को बीचमा ‘ह’ पनि मिसिएको हो कि जस्तो लाग्थ्यो। तर, मलाई त ‘पन्’ भन्दा अझ स्वाद मिलिरहेको थियो। किनभने त्यसको उच्चारण लयात्मक थियो। माया गरेर बोलाए जस्तो।

जब–जब गाइड सोक मा लीले नम् पन् भन्थिन्, म त्यो वाक्यमा उनले बोलेको अरुथोकमा ध्यानै दिन पाउँदिन थिएँ। दिमागमा नम् पन् मात्रै अडिन्थ्यो। एउटा अजुबा राजधानी सहरको अजिबोगरिब नाम।

‘महान’ मेकोङ नदीको किनारमा बग्रेल्ती स्वाद छरिएका थिए। अनि तिनै स्वाद भुइँबाट उठेपछि जताततै कलात्मक सुनौला पगोडामा परिणत भएका देखिन्थे। त्यसैले त म कम्बोडिया बसुन्जेल हरेक रात अबेरसम्म त्यसै नदीको किनारमा रहेको सुनौलो दरबार क्षेत्रका रमिता हेरेरै बिताउथेँ। सयौं परिवार त्यो विशाल चौरमा बसेर अबेर रातसम्म खानपिन गरिरहेका हुन्थे। उनीहरुका गतिविधि नजिकैबाट गुज्रँदा अनौठो मानेर हेर्थेँ।

संवादको कुनै पनि माध्यम भइदिएको भए म कति कुरा गर्थेँ होला! तिनीहरुको रेडियोमा बजिरहेको नारायणगोपाल र बच्चुकैलाश जमानाका रिदम र अरेन्जमेन्टकै आधारमा म सोच्थेँ, ‘भाषा मात्र बुझ्दो हुँ त तुरुन्तै रिझाइदिन्थेँ।’ तर, न उनीहरुले बोल्ने खमेर भाषामा मेरो पकड थियो न मैले जानेका कुनै पनि भाषा उनीहरु बुझ्थे। म मुसुक्क हाँस्थेँ, जवाफमा उनीहरु पनि मुस्काउँथे।

सबैभन्दा सजिलो केटाकेटीसँग रत्तिन खोज्दा हुन्थ्यो। उनीहरुलाई भाषा चाहिँदैन थियो। रमाउँदै मनिर आउँथे, खेल्न थाल्थे। भर्खर टुकुटुकु हिँड्न थालेका पनि आमा छाडेर आइपुग्थे। उनीहरुले खाँदै गरेको पनि ल्याएर दिन्थे। जवाफमा म पनि मोटरसाइकलमै सिँगो पसल बोकेर आइपुग्नेसँग मिठाइ र फलफूल किनिदिन्थेँ।

म अचानक एउटा बेग्लै संसारमा आइपुगेको थिएँ।

हो, अचानक।

त्यो साँझ सिंगापुरको कोठामा म कम्प्युटरसँग अरु नै कुरामा व्यस्त थिएँ। एकाएक ल्यापटपको कुनाबाट एउटा सन्देश टुप्लुक्क उदायो।

‘सिल्क एअरबाट कम्बोडिया यात्रा गर्न चाहन्छौ? पर्सि बेलुकीको निम्ति विशेष अफर छ। केवल दुई सय डलरमा आतेजाते।’

सस्तोमा यात्रा गराउने एउटा एजेन्टको फेसबुकले यसरी ‘पपअप’ सन्देश पठाएको थियो। सुरुमा त वास्ता गरिनँ। एकैछिनपछि दिमागमा कम्बोडियाका तस्बिर नाच्न थाले। त्यो मुलुकको विगत नाच्न थाल्यो।

पर्सिलगत्तै दुई दिन त सिंगापुरको राष्ट्रिय दिवस मनाउन सार्वजनिक विदा हुनेछ। मेरो पढाइलाई त्यसले बाधा गर्दैन थियो। त्यसपछि यो अफर कत्तिको सस्तो हो भनेर इन्टरनेटमै बुझ्ने प्रयास गरेँ। अरु दिन त झण्डै तीन गुणा बढी भाडा पर्नेरहेछ।

तुरुन्तै विश्वविद्यालयले नै दिएको भिसा कार्ड निकालेर कम्प्युटरबाटै टिकट काटेँ। केही सेकेण्डमै एयरलाइन्सले इमेलबाट टिकट पठाइहाल्यो।

अब होटलको चिन्ता थियो। लोन्ली प्लानेटमा पुगेँ। मनलागेको एउटा होटल छानेँ र त्यसै कार्डका माध्यमबाट बुकिङ डट कममार्फत् तुरुन्तै होटल पनि बुक गरेँ।

त्यो पप अप सन्देश देखेको दस मिनेटभित्रै मेरो कम्बोडिया यात्राको सम्पूर्ण तयारी बस्याबस्यै कम्प्युटरबाटै पूरा भइसकेको थियो।

नम् पन् विमानस्थल हप्प गर्मी थियो, मैलो थियो र साँघुरो भएकाले व्यस्त देखिन्थ्यो। सबैभन्दा पहिले भिसा लिन लाइन बस्नुपर्यो।

‘तपाइको फोटो ख्वै त?’

‘त्यो त ल्याइन।’

‘त्यसो भए जरिवाना लिन्छौं।’

‘हुन्छ।’

मैले अमेरिकी पचास डलरको नोट बढाएँ। भिसा शुल्क र उनीहरुले भनेको जरिवाना काटेर पनि केही पैसा फिर्ता पाउनुपर्ने थियो। मैले काउन्टरतिर चिहाउँदै सोधेँ। उता बस्नेले फनक्क मुन्टो फर्काए। त्यो पैसो फिर्ता पाइँदैन भन्ने संकेत थियो। मेरो दक्षिण एसियाली मगजले तुरुन्तै कुरो बुझ्यो र लाइनबाट निस्किहालेँ।

कुनै पनि मुलुकलाई मोटामोटी चिन्ने यस्ता ‘एनेक्डट’ असाध्यै उपयोगी हुन्छन्। अबको यात्रा होसियारीका साथ अघि बढाउनुपर्ने संकेत पनि थियो त्यो।

कार, साइकल, जिप, थोत्रा ट्रक र टुकटुकका आवाज अनि अव्यवस्थित हँकाइले भारतको कुनै सहरमा पुगेको झल्को दिइरहेको थियो।

‘तिमीले के मा सहर जाने निधो गर्यौ?’

विमानमा मसँगैको सिटमा यात्रा गरेका अष्ट्रेलियन वृद्ध एलनले सोधे।

जमानामा कुनै सामाजिक कार्यको निम्ति उनी धेरैपटक कम्बोडिया आएका रहेछन्। रहँदा बस्दा यो ठाउँ निकै मनपरेछ।

‘हिजोआज दोश्रो घरजस्तै भएको छ,’ उनी भनिरहेका थिए, ‘अलिकति पैसा जम्मा भयो कि यता आइहाल्छु।’

एलनका अनुसार यहाँ पैसाको ‘भ्यालु’ राम्रो छ। अर्थात्, सस्तोमा सेवा सुविधाहरु उपलब्ध छन्।

‘यो बुढेसकालमा यता आएर के सेवा लिँदैछौ?’ मैले जिस्केर सोधेको थिएँ, ‘टन्नै कम्बोडियाली श्रीमती पालेका त छैनौ?’

त्यतिबेला उ हाँसेको मात्र थियो। अहिले चाहिँ फेरि पनि मलाई सोध्दैछ, ‘के मा सहर जाने?’

‘ट्याक्सी त महँगो भन्दैछ,’ मैले जवाफ दिएँ, ‘दस डलरमा टुकटुकले पुर्याइदिन्छु भन्दैछ।’

यो मुलुकको आफ्नै मुद्रा भए पनि कम्बोडियामा अमेरिकी डलर नै व्यापक प्रचलनमा रहेछ।

‘लौ हिँड,’ मैले रोकेको टुकटुकमा चढ्दै एलनले भन्यो, ‘म पनि यसैमा जान्छु।’

एलन साथमा हुनुको फाइदा थियो मलाइ। उनी अगाडि देखिएका हरेकजसो दृश्य अर्थ्याइरहेका थिए।

‘यति तीब्र विकास भइरहेको सहर यो क्षेत्रमै सायदै अर्को होला,’ उनी अगाडिका गगनचुम्बी भवनहरु देखाएर भनिरहेका थिए, ‘यी सब केही वर्षभित्रै तयार भएका हुन्।’

मलाई भने बगैँचायुक्त फराकिलो सडकले लोभ्याइरहेको थियो।

‘यो त कहाँ यिनीहरुले बनाएका हुन् र!’ उनले थपे, ‘यस्ता पूर्वाधार सबै उतिबेला शासन गर्ने फ्रान्सेलीहरुले तयार पारिदिएका हुन्।’

गफ गर्दागर्दै म ओर्लने ठाउँ पहिले आइपुग्यो। एलनले टुकटुकको भाडा आफैले ब्यहोर्ने कर गर्दै मलाइ विदा गर्यो।

म झोला बोकेर ठम् ठम् अघि बढेँ। एउटा पसलमा पुगेर होटलको ठेगाना सोधेँ। साहुनीले भाषै बुझिनन्। त्यसपछि मोबाइलमा वाइफाइको पासवर्ड हालिदिन अनुरोध गरेँ। हालिदिइन्। होटल त छेउकै अर्को गल्लीमा रहेछ।

कोठामा पुग्नेबित्तिकै म झण्डै ढलेँ। होटल उही थियो, लबी उही थियो, स्वीमिङपुल उस्तै थियो, रेष्टुरेन्ट पनि दुरुस्तै। तर, मैले बुक गरेको कोठा त यो थिएन। फोटोमा एउटै बेड राखेको कोठा देखिए पनि यहाँ त कम्तीमा दसवटा बेड थिए।

‘तपाईंले सायद राम्ररी हेर्नुभएन,’ स्टाफले भने, ‘बुक गरेको डोरमेटरी रुम यही हो।’

त्यसपछि बल्ल मैले यति राम्रो होटलमा कसरी दिनको १२ डलरमै कोठा पाएको रहेछु भनेर चाल पाएँ। मसँग कुनै महत्वपूर्ण सामान थिएन। त्यसमाथि आधाभन्दा बढी बेडमा पश्चिमा युवतीहरु नै पल्टिरहेका थिए। त्यसैले सुरक्षितै होला भन्ठानेँ र लकरमा सामान राखेर निस्किएँ।

‘जोन, उ पनि दरबार क्षेत्र घुम्न जान्छु भन्दैछ,’ रिसेप्सनिस्टले हाफपाइन्ट लगाएको अगाडिको खैरेलाई सुनायो र मतिर हेर्दै भन्यो, ‘उसँग जाउ। यहीँको पाहुना हो।’

‘हाइ जोन’ मैले भनेँ। ‘कम’ उसले इसारा गरेपछि म पछि कुद्न थालिहालेँ।

‘के गर्न आयौ?’ जोनले सोधे। ‘घुम्न। अरु के हुन्छ?,’ मैले सोधेँ, ‘तिमी नि?’

‘रमाइलो गर्न,’ उसले उत्तर दियो।

‘ओहो, तिम्रो उद्देश्य मभन्दा ब्यापक रहेछ,’ मैले भनेँ, ‘आकर्षक पनि।’

त्यस रात जोनले मलाई दरबार मात्र होइन, वियर बार पनि देखायो। असाध्यै सस्तोमा पाइने कम्बोडियाली वियर र राति अबेरसम्म रमिता लाग्ने बार। अनि छेउमा जाने नजानेका अनेक प्राणीको मासु पोलेर बेचिरहेका लहरै टहरा। वीरगन्जमा जन्मे हुर्केको मान्छेका हिसाबले भन्ने हो भने सेकुवा खानेका लागि संसारकै राजधानी सायद नम् पेन् नै होला। साँझ पर्नुहुँदैन सडकका दुवै किनार लहरै सेकुवा पसल।

वीरगन्जकै मिनाबजार पनि थियो नम् पेन्मा। ठीक उस्तै। मान्छे हिँड्न पनि साँघुरो हुनेगरि रास लगाइएका सामानहरुको बजार। एकाविहानै लाग्ने यस्ता बजारमा भिक्षाटनका लागि आएका भिक्षु पनि देखिन्थे। यस्ता बजार जुनसुकै ठाउँमा भए पनि छोरी बुहारीकै भीडभाड त हो।

सडक भएर गुज्रँदा हरेकजसो ठोक्किन आउने आँखाहरु लगत्तै ओँठमा मुस्कान ल्याउँथे। मानौँ यति रमाइलो ठाउँ आजसम्म बिथोलिएकै थिएन।
तर, होइन।

यो रमाइलो ठाउँमा एकपटक जंगली हात्ती पसेको थियो। पोलपोट नामको जंगली हात्ती जसको विनाशलीलाले आज पनि संसार तर्सिन्छ।

माओको नामलाई अघि सारेर बन्दुकको बलमा कब्जा जमाएको त्यस जंगली हात्तीले चार वर्षको अन्तरालमै यस मुलुककै एक चौथाइ जनसंख्यालाई मारेको थियो। धेरै अघि पनि होइन, केवल चार दसक पहिले।

सत्तरीको दसक प्रारम्भकै कुरा हो। अमेरिकाले दोश्रो विश्वयुद्धभर युरोपमा जति बम बर्साएको थियो त्योभन्दा बढी बी ५२ बमवर्षकले कम्बोडियामा प्रहार गरेको थियो। त्यसैको आक्रोश र भय अनि निकै अघिदेखि फ्रान्सेली शासक बेहोर्दैआएको मुलुकलाई सजिलै झुक्याएर पोलपोटले सारा मुलुकलाई बन्दी बनाएका थिए। ‘राष्ट्रवादी’ मोहमा राजा पनि खमेररुजकै पक्षमा लागे जसलाई सत्तामा आउनेबित्तिकै तिनै खमेररुजले मुलुकबाटै धपाइदिएका थिए। ठूलाबडाका त के कुरा हजारौं कलिला केटाकेटीको समेत हत्या गरिएको थियो।

पोलपोटले नेतृत्व गरेको खमेररुजले १९७५ को अप्रिल १७ तारिखका दिन नम् पन् कब्जा गरेको थियो। उनीहरुले मुलुकभर ‘शून्य वर्ष’ घोषणा गर्नुका साथै भएभरका जनसंख्यालाई गाउँ लगेर बन्दीका रुपमा कृषि मजदुर बनाउने नीति लिएका थिए। वर्गविहीन समाज बनाउने चेष्टामा त्यसो गरिएको थियो। तत्कालीन कम्बोडियाली जनतालाई तीनवटा तहमा बाँडिएको थियो। त्यसमध्ये सहरी वासिन्दा, भूमिपति, पूर्व सैनिक अफिसर, कर्मचारी र ब्यापारीहरु सबैलाई ‘अयोग्य’ घोषित गर्दै सजाय दिने, भोकै राख्ने र खेतमा कडा परिश्रम गर्न लगाउने नीति लिइयो। धर्ममाथि प्रतिबन्ध लगाइयो। परिणामतः राजधानी कब्जा गरेको तीन दिनमै यो सिंगो सहर मसानघाट बन्न पुग्यो।

पढेलेखेका तमाम जनसंख्या पोलपोट र उनको खमेररुजको साझा दुश्मन बन्न पुगे। पढेलेखेका एक एक मानिसलाई समात्दै जेलमा हाल्न र मार्न सुरु गरियो।

भोकमरी ग्रस्त पोलपोलकालमा अन्न चोर्ने, अर्को भाषा बोल्न जान्ने, पढाउने शिक्षक, उपचार गर्ने डाक्टर, वकिल सबै एकै कोटाका अपराधी बन्न पुगे।

सनकपूर्ण सपनाका भरमा लाखौं निर्दोष कम्बोडियालीको हत्या गरेका पोलपोटको शासन चार वर्षभन्दा बढी टिकेन। उनी अनेक तिरको खेलौना बन्न बाध्य हुँदै गए। र, अन्त्यमा छिमेकी भियतनामको सेना र कम्पुचियन युनाइटेड फ्रन्ट पसेर उनको शासनको अन्त्य गरिदिएको थियो। उनीहरुले पोलपोटलाई धपाएर १९७९ को जनवरीमा नम् पन् कब्जा गरेका थिए।

त्यसयता भागेको भाग्यै पोलपोटको निधन थाइल्याण्डको सिमावर्ती इलाकामा १९९८ को अप्रिल १५ तारिख भएको थियो। उनलाई अन्तर्राष्ट्रिय अदालतले सजाय सुनाउनै लागेको बेला भएको यो निधनलाई आत्महत्याको आशंकाका रुपमा पनि लिइन्छ।

हामी सहरकै मध्य भागमा रहेको तोल स्लेङ जिनोसाइड म्यूजियम घुमिरहेका थियौं। फ्रान्सेलीहरुले शासन गर्दाताका यो स्कुल भवन बनाएका थिए। नम् पेन् कब्जागर्नेबित्तिकै केटाकेटी पढ्ने त्यसै भवनलाई पोलपोटले रातारात बन्दीगृहमा परिणत गरिदिए। यसै बन्दीगृहमा १७ हजार जना कैद गरिएको थियो। ती सबै नै कलाकार, बुद्धिजीवी, शिक्षक र प्राविधिक थिए। चार वर्षपछि पोलपोट शासन अन्त्य हुन्जेल यहाँ थुनिएका केवल सातजना मात्र जीवित फेलापरेका थिए।

त्योबेला यस्ता बन्दीगृहहरु अन्यत्र पनि थिए।

‘बुवा र दाइलाई खमेररुजले लिएर गएको दृश्य म अहिले पनि सम्झन्छु,’ आफैँ पनि एक पीडित पात्र रहेकी मेरो गाइड सोक मा ली भित्तामा झुण्ड्याइएका हजारौं मृतकहरुको तस्बिर हेर्दै भनिरहेकी थिइन्, ‘आमा र मलाइ चाहिँ नम् पन्भन्दा निकै परको गाउँ बटामबोंग लगियो।’

सोक मा लीलाई उनको बुवा र दाइको हत्या कहिले, कहाँ र कसरी गरे भन्ने आजसम्म पनि थाहा छैन।

‘वा ज्यूँदै पो हुनुहुन्छ कि,’ फेरि भनिन्, ‘के थाहा?’

सन् १९७६ मा हिरासतमा लिइएको उनको बुवाको एउटै दोष भनेको उनी शिक्षक थिए।

‘त्यो बेलामा केहि बोल्नै पर्दैन थियो,’ उनले भनिन्, ‘मानिस पढेलेखेको छ भने उ स्वतः अपराधि साबित हुन्थ्यो।’

पोलपोट शासन अन्त्य हुनासाथ अर्थात् १९८० मा उनीहरु फेरि नम् पन् फर्काइए। १९८१ देखि सोक मा ली लाई संस्कृति मन्त्रालयले काम र खानेकुरा दिन थाल्यो।

‘सायद यतै ल्याएर मेरो बुवा र दाइलाई मारेको पनि हुनसक्छ,’ उनले बन्दी कक्ष र त्यहाँ ओछ्यानमै करेन्ट लगाएर मारिएको एक मृतकको तस्बिर देखाउँदै भनिन्, ‘मैले मेरो बुवा र दाइको हड्डी मात्र भेटिए पनि सदगत गर्थेँ भनेर लाख कोशिस गरेँ। तर फेलै परेन।’

कुनै समय कलिला विद्यार्थीहरु पढ्नेगरेको यो भवनलाई कालान्तरमा पोलपोटले मानव सभ्यताकै कलंक बनाइदिए। यातना दिन अपनाइएका तरिकाहरु, कक्षा कोठामै पर्खाल लगाएर बनाइएका साँघुरा बन्दी कक्षहरु र अहिले पनि उस्तैगरि राखिएका नेल अनि हथकडी हेर्दा यहाँ दिइने गरिएको कठोर सजाय अनुमान लगाउन सकिन्छ।

‘आज यस म्यूजियममा ८७ वर्षीय चुम मे पनि आउनुभएको छ,’ सोक मा लीले जानकारी दिइन्, ‘उहाँसँग भेट्ने अवसर छ।’

यस बन्दीगृहमा पोलपोटले थुनेका कैदीहरुमध्ये केवल सात जना मात्र जीवित मुक्त हुनसकेका थिए। त्यसमध्ये अहिलेसम्म बाँचेका केवल दुइजना मात्र छन्। त्यसैमध्येका एक चुम मेलाई भेट्ने अवसर मेरो निम्ति महत्वपूर्ण थियो।

सामुन्ने देखापर्नेबित्तिकै ती ८७ वर्षे नमस्ते गर्दै कुर्सीबाट उठे। म हत्तपत्त उनको नजिक पुगेर बस्ने अनुरोध गरेँ।

मेकानिक काम गरेर गुजारा चलाउँदै आएका चुम मेले सीआइए भनेको के हो सुनेका पनि थिएनन्।

‘तर, जब यो बन्दीगृहमा ल्याएर चरम यातना दिन थालियो त्यसको दस दिनपछि चाहिँ मैले हो म सिआइए नै हो भनेर स्वीकारेँ,’ उनले थपे, ‘ म अमेरिकाको जासुसै हो भनेर सुनाएँ।’

नभएको कुरा किन स्वीकारेको त?

‘मैले त्यसो नभनिदिएको भए मलाइ बकाउनको निम्ति खटिएका मानिसहरुलाई असक्षम भनेर मारिदिन्थे। मैले त छुटकारा पाउने कुरै थिएन। यो सब आपत झेल्नुभन्दा स्वीकार गरिदिएँ। त्यो परिस्थितीमा मैले अर्को कुनै बाटै देखेको थिइँन।’

सुरुमा त उनलाई किन समातिएँ भन्ने पनि थाहा थिएन। आँखामा पट्टी लगाइदिए र दुवै हातलाइ पछाडि लगेर बाँधिदिए। त्यसपछि लगेर फोटो खिचे। अनेक कागजपत्र गरे र यसै बन्दीगृहमा ल्याएर कोचिदिए।

‘दिनको तीनपटक निकालेर सजाय दिने कोठामा लैजान्थे र फेरि यहाँ ल्याएर थुनिदिन्थे,’ उनले सुनाए, ‘सजाय दिने कोठामा काँडेतारले बेरेको लौरोले हिर्काइन्थ्यो। त्यतिले नपुगेर औंलाबाट नङ निकालिदिन्थे। एकदिन त करेन्ट लगाउने कोठामा लगे। त्यहाँ कानभित्र पसाएर करेन्ट बगाइदिए।’

उनका अनुसार त्यो सजाय चाहिँ सबैभन्दा भयावह थियो। आफूले अहिले पनि एउटा कानले नसुन्ने उनले बताए।

बन्दीगृहमा शौचालय थिएन। एउटा डब्बाजस्तो दिन्थे।

‘त्यसबाट चुहिएर यताउता शौच खसेको छ भने चाटेर सफा गर्न लगाउँथे,’ उनले भने, ‘घिन मान्नेलाई तान्दै करेन्ट लगाउन लगिन्थ्यो।’

हरेक दिन आँखामा पट्टी बाँधिन्थ्यो। घुँडा टेकाएर बस्न लगाइन्थ्यो। त्यसपछि सुरुहुन्थ्यो सजाय। त्यो कहाँसम्म पुग्छ भन्ने थाहै पाइँदैन थियो। यसै क्रममा धेरै मानिस त यहीँ मारिए। जो बाँचेका हुन्थे उनीहरुको आयु पनि बढीमा छ महिनाको हुन्थ्यो। किनभने त्यसपछि सबैलाई ट्रकमा खाँदेर दस किलोमिटर परको किलिंग फिल्डमा लगिन्थ्यो।

त्यहाँ हुने हत्याको निर्ममता भनेर साध्य छैन। गोली खर्च हुन्छ भनेर टाउकामा घनले हिर्काएर मारिन्थ्यो।

ती खबरहरु यातनागृहसम्म आइपुग्थे। यता पनि एकपछि अर्को मृत्यु चलिरहन्थ्यो। आँखामा पट्टि बाँधेर लगेको मानिस कहिल्यै फर्किँदैन थिए।
‘अब मेरो पनि पालो आउँछ भन्ने त्रासले बरु अहिल्यै मारिदिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो,’ चुम मेले दोभाषेमार्फत् भने, ‘मलाइ जंजीरले बाँधेर राखेको थियो र नेल पनि लगाइएको थियो।’

चुम मेको पनि कालो बादलमा एक दिन चाँदिको सानो घेरा देखियो। त्यस जेलका जेलरको एउटा टाइपराइटर मेशिन थियो। त्यो बिग्रियो। बनाउन कसैले जान्दैन थिए।

‘मेरो खोजी सुरु भयो,’ उनले भने, ‘मेरो निम्ति त्यो टाइपराइटर बनाउनु सजिलो काम थियो।’

यसरी जेलरको टाइपराइटरले गर्दा चुम मे ‘तत्काल मारिनु नहुने कैदी’ मा दरिन पुगे।

‘मेरै अगाडि थुप्रै साथीहरु निर्ममतापूर्वक मारिए,’ चुम मे भन्छन्, ‘मेरो चाहिँ उनीहरुलाई आवश्यकता पर्ने भएकैले ज्यान जोगियो।’

अनि परिवार?

‘त्यो त उतिबेलै मारिदिइ हाले नि!’ चुम मेले कुनै सामान्य कुरा बताएजस्तै गरेर सुनाए, ‘मेरै अगाडि मेरी श्रीमति र काखे छोराको गोली हानेर हत्या गरिएको थियो।’

म स्तब्ध भएँ। चुम मेको अनुहार हेरिरहेँ। सायद लाखौंपटक रसाइसकेको उनका आँखामा अब पानी पनि बचेका थिएनन्।

‘सबै कुरा यो किताबमा छ,’ उनले मलाई पुस्तक थमाउँदै भने।

जेल मुक्तभएको तीन दसकपछि २०११ मा लेखिएको उनको पुस्तक ‘सर्भाइभर’ अहिले उनको जीवन चलाउने माध्यम पनि बनेको छ। प्रत्येकको दस डलर मूल्य राखिएको यसैको कमाइबाट गुजारा चलिरहेको उनले सुनाए।

पुस्तक हातले थामिसकेपछि असह्य भएर एउटा प्रश्न स्वतः निस्कियो, ‘तपाईका श्रीमति र नावालक बच्चालाई किन मारेका होलान्?’
‘बाउलाइ त मार्नु नै छ, बदला लिने पनि कोहि नबाँचोस् भनेर मारिएको थियो,’ उनले थपे, ‘त्यतिबेला उनीहरुको वाधा विरोध गर्ने कुनै पनि बन्दीका श्रीमति र बालबच्चा बचेनन्।’

त्यसै दिन सहरभन्दा करिब दस किलोमिटर परको ‘किलिङ फिल्ड’ जाँदा एउटा विशाल चिहानको छेउमा उभिएको रुख देखाउँदै गाइडले त्यतिबेलाको भयावह अवस्था सुनाएका थिए।

‘केटाकेटीको खुट्टा समात्दै यसै रुखमा टाउको ठोकेर मारेपछि यस चिहानमा फालिन्थ्यो,’ उनले भनेका थिए, ‘त्यस्ता हजारौं केटाकेटीका शव यहाँ भेटिएका थिए।’

आफूले देखेको भोगेको त्रासदी कम्बोडियाका नयाँ पुस्ता र विश्वलाई नै सुनाउनु अब आफ्नो एक मात्र चाहना रहेको चुम मेले सुनाए। फेरि यस्तो कसैलाई नहोस् भनेर यो सन्देस दिनखोजेको उनले बताए। मैले भर्खरै नेपालमा पनि उस्तै घटना घटेको बारे जिज्ञासा राख्दा उनले त्यसबारे आफू जानकार नरहेको सुनाए।

उनको मनमा कुनै बदलाको भाव छ कि भनेर सोधेँ।

‘मैले बदला लिएर पनि अब केहि फिर्ता हुनेवाला छैन,’ उनले भने, ‘जसले यो नरसंहार मच्चाए उनीहरु अहिले पनि बाँचेका छन्। तिनीहरुले सजाए पाएको देखेर मर्न मन छ।’

कम्बोडियामा नरसंहार मच्चाएका खमेररुजहरुमाथि अन्तर्राष्ट्रिय अदालतले बयान लिने र युद्धकालीन अपराधको सजाय दिने काम सुरुगरिसकेको छ।

चुम मेलाई यसरी जेलमा राखेर यातना दिने कमरेड डचलाई २००९ मा ३५ वर्षको कैद सजाय सुनाइएको थियो। त्यसलाई पछि फेरि आजीवन कारावासमा बदलिइसकेको छ। थप दोषीहरुले पनि धमाधम मानवता विरुद्धको अपराधका लागि कैद सजाय पाइरहेका छन्।

‘मेरी नावालक बोकेकी श्रीमतीलाई भाग्न लगाएर गोली हिर्काउँदै मारिएको थियो र बच्चा रोएको सुनेपछि फेरि गोली दागिएको थियो,’ चुम मे भन्छन्, ‘अहिले पनि उनीहरुको अनुहार याद आउँछ।’

हिँड्ने बेला चुम मे हाँसिरहेका थिए। मलाई चाहिँ हाँस्नै अप्ठेरो भइरह्यो। मलाई घुमाउने टुकटुक सहरमा भौतारिरह्यो।

म उतैतिर अड्किरहेँ…

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.