नेपालीहरूले सगरमाथा बेसक्याम्प घुम्न जाने उत्तम समय सिजनको अन्त्यतिर अर्थात् जेठको पहिलो हप्तातिर, यति बेला भने सुविधाजनक होटलमा बास बस्न फ्रि र अन्य सेवाहरू पनि सहुलियतमा सहजै पाइने हुँदा मध्य सिजनमा नगइ सिजनको अन्त्यमा जाँदा बेस हुन्छ।
सगरमाथाको शिरमा पाइला राख्ने मेरो ठूलो इच्छा थियो तर फेदी (आधार शिविर) सम्म मात्रै पुग्ने मौका पाएँ र अरू धेरै हिमालहरू पनि चिन्ने मौका पाएँ।
आफ्नै देशमा रहेको सगरमाथाको चुचुरोलाई एक पटक नहेरी कसरी मर्नू? भन्ने प्रश्नले धेरै पहिलेदेखि नै आफैलाई भित्रभित्रै सोचिरहन्थेँ। सगरमाथा हेर्न जाँदा धेरै हिमालहरू जस्तै: तेबुचे, अमादब्लाङ्ग, चोलत्से, थामसेर्कु, कन्तिका, आइसल्याण्ड पिक, मकालु, कुसुम काँगरु, लबुचे, ल्होत्से, नुत्से, पुमारी, मैले कहिल्यै नसुनेको सगरमाथाको अगाडिको लोला हिमाललाई पनि नजिकैबाट चिन्ने मौका पाएँ।
सगरमाथा हेर्ने तीव्र इच्छा शक्ति र बलियो आत्मबल भने अत्यधिक थियो।
-1766141440.jpg)
जेठ १६ बिहानै ३:३० मा जडिबुटीबाट बोलेरो चढियो। बीचमा खाजा र खाना खाँदै दिउँसोको १ बजे सल्लेरी पुगियो। सोलुको मिठो चिसोमा पुग्दा हामी त्यसै दंग थियौं। त्यसपछि थाम डाँडा सम्मको अर्को फोरह्विल बुलेरो तयारी थियो। हामी दिउँसोको ३ बजेतिर बोलेरोमा उकालो लाग्यौं। पहाडी कच्ची बाटो, गाडीमा यात्रु भनेको म र साथी मिरा मात्रै थियौँ।
बाटो कच्ची मात्रै होइन ध्वस्त र खाल्डाखुल्डी ज्यान हल्लिएर सम्हाल्न गाह्रो थियो। हातले गाडीलाई कस्सेर समाइरहनु पर्थ्यो। पहाडि बाटो अप्ठ्यारो भए पनि दृष्यहरू सुन्दर देखिन्थे। भुइँ स्ट्रबरी र एैँसेलु पाकेर रातै पहेँलै थियो। त्यो देखेर मन थाम्न सकिएन र एक एक अञ्जुली टिपेर मुख रसिलो बनायौँ।
साँझ छिप्पिँदै रातमा परिणत हुँदै थियो डाँडाकाँडामा बत्तीको झिल्का देखिँदै गयो। कच्ची बाटोमा गाडीको रफ्तार पनि कम हुँदै गयो। २४ वर्षे ड्राइभर भाइ रमाइलो पारामा भूत र किचकन्नीको कथा भनेर तर्साउँदै हँसाउन निकै सिपालु रहेछ। ऊ यस्तै कुरा गरिरहथ्यो। उसको कथामा मैले सानैमा सुनेका भूतका कथा कहानीहरू भनेर, गफको रङ भरिदिन्थेँ।
रातको ११ बजे मात्रै हामी थाम डाँडा पुग्यौं। अन्धकारमा आ-आफ्नो झोला बोक्यौं र मोबाइलको लाइट बालेर चिसो हावामा हिँड्नु पर्यो। दुई दिन अघि त्यहाँ ठूलो पहिरो खसेछ अब १० मिनेट हिँडेर होटलमा बास बस्न पुगियो।
भोलिपल्ट बिहानै ७ बजे हिँड्न सुरू गरियो।
बाटोमा धेरै पहिरोहरू झरेर बाटो नै पुरिएर मान्छे हिँड्नै मुस्किल र डरलाग्दो अवस्था रहेछ।
९ बजे छेउबासमा पुगेर च्युरासँग साग आलुको तरकारी अनि एक कप कफी खायौं। अनि अबको बाटो ओरालो र धेरै खुडकिलाहरू थिए, त्यसमा पनि खच्चडको गोबरे हिलो, चिप्लो बाटो। जति ओर्ले पनि नसकिने बाटो एकदमै अत्यास लाग्ने।
१२ बजे बल्ल हामी सुर्के ओर्लियौं। सुर्केमा ३० मिनेट थकान मारेर उकालो लाग्यौं। केहीबेरमा एक माने भएको दोबाटोमा पुगियो। यहाँबाट दाहिने उकालो लागेमा २ घण्टामा लुक्ला पुगिने र देब्रे तेर्सो उकालो लागेमा छोप्लुङ्ग हुँदै ( माथि लुक्ला बाट मिसिने दोबाटो ) हुँदै बेसक्याप जान उकालो लाग्न सकिन्छ।
साँझमा घाट भन्ने ठाउँमा बास बसियो। केही कपडा र सरसामान त्यही होटलमा छोडेर हिँड्यौं। यसले हाम्रो झोला केही हलुका भयो।
बिहानै ६ बजे चिसो थियो।आज नाम्चे पुग्नै पर्थ्यो। यो बाटोमा फाक्दिम भन्ने ठाउँ अलिक ठूलो एरियामा फैलिएको रहेछ।
मञ्जोमा पुगेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेशको लागि १०० रुपैयाँको टिकट लिएँ। प्रवेशद्वार अगाडि रहेको नक्सा अध्ययनबाट भूगोल सम्बन्धी रूचिरहेकाहरूको लागि निकै जिज्ञासाको विषयवस्तुहरू रहेछ। यहाँ मलाई रमाइलो लागेको चाहिँ खुम्बुमा रहेका धेरै हिमालय क्षेत्रको अध्ययन हो, जुन टेबुल नक्साको अध्ययनद्वारा ज्ञान लिन पाइन्छ।
अहिले हामी कहाँ छौं, हामी गन्तव्यसम्म पुग्न के कस्ता भूगोल पार गर्नुपर्छ, बाटोको छेउछाउमा कुन र कस्ता हिमाल देख्न सकिन्छ भन्ने कुराको जानकारी चाखलाग्दो माटोचित्र हेर्न पाइन्छ। दिउँसोको खाना जोरसल्लेमा खाएपछि हामी नाम्चेतिर लाग्यौं। यसपछि कुनै घर होटलहरू छैनन्।
नाम्चे बजार पुग्दा दिउँसोको करिब ३ बजिसकेको थियो।
-1766141440.jpg)
शुक्रबारको दिन भएको हुनाले त्यसदिन हाट बजार लागेको देखियो। नाम्चेबाट भोलिपल्ट बिहानै हुस्सुलाई छिचेल्दै पाङ्बोचे पुग्ने गरी लाग्यौं।
बाटोमा पर्ने, पूर्वी नेपालको खुम्बु क्षेत्रमा रहेको तेङ्बुचे गोम्पा जसलाई दावा चोलिङ गोम्पा पनि भनिन्छ। यो शेर्पा समुदायको तिब्बती बौद्ध विहार हो। समुन्द्र सतहदेखि ३,८६७ मिटरमा अवस्थित यो गुम्बा नेपालको खुम्बु क्षेत्रको सबैभन्दा ठूलो गोम्पा हो।
बेलुकीको ४ः३० मा पाङ्बोचे पुगियो। ३९८५ मिटरको उचाइमा यहाँ आलु खेती प्रशस्त देख्न पाइन्थ्यो।
बसेको होटलमा बेलुकी टुरिजम क्षेत्रका संचालक दावा लामा र प्रतीकसँगको मित्रताले यात्रामा अझ खुसी थपियो।
दावा भन्दै थिए- तपाईंहरू एकदमै सही समयमा आउनुभयो। २० दिन अघि मात्रै आउनु भएको भए यहाँ बास बस्न र खानपिनको निकै समस्या हुन्थ्यो, किनकि सिजनमा यहाँका व्यवसायीहरू विदेशी पाहुनासँगको सत्कारमा व्यस्त हुनाले नेपाली पाहुनासँग बोल्ने समेत फुर्सद हुँदैन। दावाबाट हिमाली भेगको बारेमा धेरै जानकारी पाइयो।
पैदल यात्राको चौथो दिन। हामी बिहान ७:४५ मा लम्कियौं दिङबोचेतिर। जति माथि उक्लियो, उति चिसो बढ्दै जान्थ्यो। विस्तारै उक्लिँदै जाँदा अनि ज्यान तातेर आउँथ्यो। तर पनि हावा र हुस्सु कुदिरहेको थियो। चारैतिर चकमन्न थियो। हिँडेको डेढ घण्टामा समारे पुगियो। हामिसँग भएका खजुर, खुर्पानी, चकलेट र थर्मसमा बोकेको तातो पानी पियौं र तागत महसुस गर्यौं। अनि पुन: लम्कियौं। दूधकोशी नदीको तिरैतिर हिँड्नु पर्छ।सुसाइरहेको नदीको आवाजले ध्यान तानिरहन्थ्यो।
दिङ्बोचे पुग्दा बिहानको ११ बज्यो हामी ३ घण्टामा पुगेछौं। चिसो हुस्सु र कुहिरोले ढपक्कै ढाकेर कहीँकतै केही देखिन्थ्यो। चारैतिर सेत्तै अन्धकार। होटल पत्ता लाउनै कठिनाइ भयो त्यहाँ मान्छेहरू पनि देखिन्न थियो। जाडोले लुगलुग काम छुटिरहेको थियो। बल्ल एक जनालाई सोधेपछि माउन्ट हेरिटेज होटल बाटो छेउमै रहेकाले त्यही बसियो।
यो होटल निकै लक्जरी भएको त्यहाँको सुविधा सम्पन्न थियो। तातो लसुनको सुपले ज्यान ततायौं। बस्नलाई फ्रि भयो। सादा खाना भने ७०० मा पाइयो अन्य खानुपर्दा मेनु अनुसार थियो। कोठा प्राय: खाली भएकाले १ जना कुक स्टाफ र होटल साहु मात्रै थिए। सिजन सकिँदै थियो। केही दिन पछि त १ जना कुकले होटल कुरेर बस्ने चलन रहेछ। भदौको १५ तिर भने होटल साहु र थप स्टाफहरू पुन: काममा फर्कने रहेछन्। यता अफ सिजनमा टुरिष्ट नआउने हुनाले प्राय: सबैले यसैगरी सिजन लाग्ने बेलामा मात्रै फर्कने गर्दा रहेछन्। वर्षको ९ महिना भने घोडा, खच्चर याकबाट आवश्यक खाद्य सामग्री र निर्माण सरसामान ओसारपसार गर्ने रहेछन्।
त्यसदिन अल्टिच्युटसित घुलमिल हुनका लागि दिङ्बोचेमै आराम गरियो र दिउँसोको समयमा दावा र प्रतिक सहित त्यहाँको वरिपरिको डाँडामा हाइकिङ गएर फोक्सो फुलायौं।
भोलिपल्ट बिहान ८ बजे हामी उकालो लाग्यौं।
-1766141439.jpg)
१०:३० बजे हामी थुक्ला पुग्यौं। यो समुन्द्री सतहबाट ४६०० मिटरमा थियो। थुक्लामा ३ होटलहरू मात्रै थिए। हामीलाई भोक लागिरहेको हुनाले अर्डर अनुसार रायोको सागमा थोरै मात्रा आलु राखेर रस बनाउन लगायौं र तातो भात खायौं। खाना खाएर केहीबेर आराम गर्यौं। थुक्लाबाट ठाडो उकालो पास ४८०० मिटरमा थियो। यो ठाडो उकालो निकै गाह्रो थियो। हामीले निकै सुस्त सुस्त पाइला बढायौं।
थुक्ला पासमा केही सम्झनाको बिम्बहरू थिए, सगरमाथा चुम्न जाँदा देहान्त भएका नागरिकहरूका नाममा उनका परिवाजनहरूले मृतकको सम्झनामा केही मानेहरू बनाएको रहेछन्। त्यो दृष्य देख्दा मेरो मन निकै भावुक भयो।
लबुचे समुन्द्री सतहदेखि ४९५० मिटरको उचाइमा अवस्थित थियो। यहाँ पुगेपछि केही थकान महसुस भयो र शेर्पा होटलमा पस्यौं। शेर्पा होटलको डाइनिङमा झोला बिसाएर एक कप कफीको चुस्कीले ज्यानलाई ताजा बनाउन सकेन। र पुन: गोरखसेपमै बस्ने गरी बाटो लम्कियौं।
बेलुकी ६ बजे गोरखसेपको दर्शन पाउँदा धन्य भएझैं लाग्यो। ९० सालअघि गोरखसेपमा हिमताल रहेछ त्यो तालको छेउमा होटलहरू रहेछन्। तर त्यो ताल ९० सालको भूकम्प आएपछि तालको पानि विलय भएछ र त्यहाँ अहिले बालुवा मात्रै छ। तालको देब्रेतिर कालापत्थरको थुम्को, कालापत्थरको पछाडि सेते अग्लो सफा सुन्दर टल्किने पुमारी हिमाल।
गोरखसेपमा बुद्ध होटलमा बास बसियो। यहाँ पनि नेपालीलाई बस्न फ्री थियो भने सादा खानाको ८०० र मिनरल वाटर प्रति बोतल तातो गर्दा रु ५०० थियो अरू मेन्यू अनुसार। अन्य ठाउँमा लोकल पानी सफा र पिउन लायक थियो तर गोरखसेपमा भने हिउँ पगालेको पानी भएको हुनाले खानका लागि भने मिनरलको बोतल नै प्रयोग गर्नुपर्छ।
बिहान ६ बजे कालापत्थरको उकालोतिर लागियो। जति उकालो लाग्यो त्यसको अगाडि उति ठूलो सेतो अग्लो पुमारी हिमाल देखिन्थ्यो। दाहिने पट्टि लहरै उभिएका नुत्से सगरमाथा र लोला हिमाल। यस्तो दृष्य देखेर कता कता हेर्ने हो, म त एकछिन रनभुल्ल भएछु।
३० मिनेटमा हामी जलवायु परिवर्तनले विश्वलाई परेको असरबारे ०६६ सालमा विश्वको ध्यानाकर्षण गर्नका लागि मन्त्रिपरिषदको बैठक बसेको स्थानमा ठूलो नेपाली झण्डा गाडिएको ठाउँमा पुगेर फोटोहरू संकलन गर्यौं। त्यहाँबाट हेर्दा सूर्यका किरण सगरमाथाको टुप्पोबाट उदाए झैँ देखियो।
-1766141439.jpg)
बिहान ४ बजे हामी यहाँ आउन सकेको भए अझ प्रष्ट र सुन्दर हिमालहरू देखिने रहेछ।
कालापत्थरबाट ओर्लिएपछि हामी बेसक्याम्पतिर लाग्यौं। गोरखसेपबाट बेसक्याम्पको दुरी १५०० सय मिटर मात्रै थियो। पुग्न पनि १ घण्टा ३० मिनेट लाग्थ्यो। बाटो उस्तै ढुङ्गिन ग्लेसियर, अप्ठ्यारो भएकाले समय पनि धेरै लाग्ने रहेछ। ठाउँ ठाउँमा जमेका स-साना पानीका तालहरू धेरै नै देखिन्थे। धेरैजसो जमिन भासिएको देखिन्यो। जमेको हिँउ पग्लिएर बनेको स-साना तालहरू भित्रभित्रै रसाएर बग्दै , नदीको रूप लिई दूधकुण्डमा मिसिएको रहेछ।
बिहानको १० बजे हामी बेसक्याम्प लेखिएको ठूलो ढुंगामा पुग्यौं। वास्तवमा यहाँको भू-भागहरू धेरै ठाउँमा भासिएको देखिन्थ्यो। बेसक्याम्पको त्यो ठूलो ढुंगा पनि जमिन भासिएर ढल्केको देखेँ। सगरमाथा बेसक्याम्पको त्यो ठूलो ढुंगा माथि पलेँटी कसेर, केही समय सुख आसनमा रही विपश्यना ध्यान गरेँ। जसले मनमा शान्ति र आनन्दको अनुभूति गरायो। शान्तिका दूत गौतम बुद्ध जन्मेको हाम्रो देश नेपालमा, विश्वकै उच्च स्थानमा रहेको सगरमाथाको काखमा, तन र मनको प्रकियाद्वारा बुद्धत्वको सूत्रलाई एक पटक पुन: यो विद्यालाई अभ्यास गर्न पाउँदा मैले आफूलाई भाग्यशाली ठानेँ। वास्तवमा सगरमाथा यात्रा चानचुने होइन।
-1766141438.jpg)
-1766141437.jpg)
-1766141437.jpg)