तनहुँको पवित्र तीर्थस्थल हो–छाब्दी बाराही। व्यास नगरपालिका–१४, मा अवस्थित मन्दिरमा बाराहीको मूर्ति छ। सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ। मन्दिर बाहिर खोलामा पनि हजारौं माछा छन्।
छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबै खाले पापबाट मुक्त भइन्छ र मनोकामना पुरा हुने जनविश्वास छ। तीर्थारुले मन्दिर क्षेत्रमा कुखुरा, बोका र परेवा बलि चढाउँछन्।
साउन महिनाभर, औँसी र एकादशीमा छाब्दी बाराहीमा पूजा चल्दैन। त्यतिबेला मन्दिर बन्द हुन्छ। यहाँ मगर समुदायका पूजारीले सेवा गर्दै आएका छन्। मन्दिरलाई धार्मिक पर्यटनको नमुना गन्तव्य बनाउने काममा ‘छाब्दी बाराही विकास कोष’ क्रियाशील छ।
छाब्दी बाराही यात्रामा दमौली बजारको व्यास गुफा, पराशर आश्रमसहित पराशर मन्दिर पनि घुमफिर गर्नुपर्छ।
दमौलीका गीतकार सागर उदास भन्छन्, ‘एक रात दमौलीमा र एक रात छाब्दीमा बस्ने गरि यात्रा योजना बनाउँदा सजिलो हुन्छ।’
छाब्दी बाराही नजिकै नजिकै बजारमा खाना र बासका लागि रेष्टुराँ, होटल तथा लज सुविधा छ। त्यस्तै फूलप्रसादी बेच्ने थुप्रै पसल पनि छन्। बजारबाट कोसेलीस्वरुप गेडागुडी, केरा, सुन्तलालगायत फलफूल र ताजा तरकारी ल्याउन सकिन्छ।
कसरी पुग्ने ?
काठमाडौं–दमौली १५० कि.मी. बसमा ५ घन्टा। दमौली–छाब्दी बाराही ७ किलोमिटर पक्की सडक। दमौलीको गणेशमान चोकबाट छाब्दीसम्म सार्वजनिक गाडी चल्छन्।
मनोकामना पुर्याइदिने देवी
डोलबहादुर आले, पूजारी छाब्दी बाराहीको महिमा ठुलो छ। तीर्थालुहरू मनले चिताएको कुरा पुरा होस् भनेर देवीको पूजा गर्छन्। कोही सुस्वास्थ्यको कामना गदर्छन्। कोही सन्तान माग गर्दछन्। कोही लाहुरे बन्ने कामना गर्दछन्। देवीले मनोकामना पुरा गरिदिनु हुन्छ। भाकल पुरा भएपछि कुखुरा, बोका र परेवा ल्याउँछन्। काठमाडौं, पोखरा र नारायणगढलगायत देशैभरबाट तीर्थालु आउँछन्।











