सिर्रसिर्र बतासले बतासे डाँडाको सही पहिचान दिँदैथियो। कवि एवं नाटककार फूलमान बलले सिर्जनाको तातो बतास ओच्छ्याइदिए - तामाङ समुदायको भाषा, संस्कृति र सौन्दर्यको स्थापित पुरानो सभ्यता नगरकोटको बयान गर्दै ‘आदिवासी गीत’ शीर्षकमा।
चित्रकार एन बि गुरूङ रातो टिसर्ट र रातै क्यापमा क्यान्भासमा क्रान्ति गर्दै गरेको देखेपछि कवि अनिताको कलम सोझियो एन.बि. गुरूङको क्यान्भासतर्फ र उनले यसरी पोखिन् गुरूङको क्यान्भासमा रूखका छेउ बिसाइएको साइकलको कथा –
यो साइकल सास फेर्दैन
तर मेरो ज्यान भरेको छ यसमा
र त यसले मात्रै देखेको छ
ममाथिका ज्यादति अपराध
यो साइकललाई मैले अलि पर...
म डुबेका आलीभन्दा पर...
मलाई छेलिएको झाडीभन्दा पर...
सिमल बोटकै छेउ बिसाएकी छु
त्यसका पाइडल, जञ्जिर, घण्टीहरूलाई
एकपटक सुम्सुम्याउँदै सोध्नू
तेरो निर्मला कहाँ छे ?
तेरो निर्मला कहाँ छे ??
कवि अनिताले जेसुम सृजना यात्राका अर्का चित्रकार लालकाजी लामाले तयार गरेको फहराइरहेको दज्र्यु, थाङ्का कलाको रेखांकन सहितको प्राकृतिक दृश्यलाई समेत कवितामा उतार्न भ्याइन्।
चित्रकार डिबी राईले गाउँका बस्तीहरूमा टल्किएको जस्तापातालाई दुरुस्तै उतारे भने रसीला चित्रकार बाबु साईलाले प्रकृतिको मीठा रंगहरू सजाए। डिबी राईको गीत र बाबु साईलाको गजलले रसिकता छरिदियो यात्रामा। यात्रामा रमेश कँडेल, रङ्गकर्मी शान्ति वाइबा र अस्मिता अधिकारीले आ–आफ्ना अनुभूतिलाई प्रकट गरे। सुजन भण्डारीले दृश्यहरूलाई फोटोग्राफीमा उतारे।
केही कवि, चित्रकार तथा रंगकर्मीहरूले स्वतन्त्र रूपमा साहित्य, कला र रंगमञ्चका माध्यमबाट स्थानीय कला संस्कृति, भाषा, सामाजिक रहनसहनसँग सम्बन्धित रही त्यसको प्रवर्द्धन र सामाजिक सहिष्णुता र सकारात्मक ऊर्जा प्रदान गर्ने उद्देश्यसहित ‘जेसुम यात्रा’ को थालनी गरेका थिए।
तामाङ भाषाबाट जेसुमको अर्थ गहना, सौन्दर्य भन्ने बुझिन्छ। यही नामाकरणसहित धुलिखेलबाट अघिल्लो महिना आरम्भ भएको यो यात्राको दोस्रो श्रृङ्खला काठमाडौंको जरसिंहपौवाबाट हाइकिङ सुरू गरी सुनडोल कात्तिके भञ्ज्याङ हुँदै काभ्रेको नगरकोट बतासेडाँडामा पुगी ६ घण्टाको हाइकिङसहितको यो जेसुम सृजना यात्रा समापन भएको थियो।
यो यात्राका क्रममा लेखिएका रचनाहरू तथा चित्रहरूको एकमुष्ठ प्रदर्शन हुने यात्राका अभियन्ता अनिता लामाले बताइन्।